समयमै काम नगरेपछि सप्तरीका तीन सडकको ठेक्का रद्द

सप्तरी जिल्लाका तीन महत्वपूर्ण सडक आयोजनाको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय, लहानले रद्द गरेको छ । राजविराज–छिन्नमस्ता, राजविराज–रूपनी तथा राजविराज–हनुमाननगर–भारदह सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीसँगको सम्झौता अन्त्य गरिएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयले सूचना जारी गर्दै ठेकेदार कम्पनीले सम्झौताअनुसार निर्धारित समयमा काम सम्पन्न नगरेको, पटक–पटक ताकेता गर्दा पनि अटेरी तथा लापरबाही गरेको उल्लेख गरेको छ । सोही आधारमा सार्वजनिक खरिद ऐन, २०६३ (संशोधनसहित) अन्तर्गतको व्यवस्था अनुसार ठेक्का सम्झौता रद्द गरिएको जनाइएको छ ।

उक्त सडकहरूको स्तरोन्नति तथा नाला निर्माणको ठेक्का साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि, शम्भुनाथले लिएको थियो । तर निर्माण कार्यमा निरन्तर ढिलासुस्ती हुँदा स्थानीयवासीले सास्ती भोग्दै आएका थिए । सडकको दयनीय अवस्थाप्रति असन्तुष्टि जनाउँदै स्थानीयले पटक–पटक सडक अवरुद्ध गर्दै चक्काजामसमेत गरेका थिए ।

डिभिजन कार्यालयको २०८३ जेठ ७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐनको दफा ५९ (२) को खण्ड (क), दफा ५९ (७) र दफा ५९ (८) बमोजिम ठेक्का सम्झौता अन्त्य गरिएको जनाइएको छ ।

ठेक्का रद्द भएसँगै निर्माण कार्य तत्कालका लागि अन्योलमा परेको भए पनि ढिलासुस्ती गर्ने ठेकेदारमाथि कडा सन्देश गएको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । राजविराज नगरपालिकाका पूर्वनगरप्रमुख शैलेश चौधरीले अब निर्माण कम्पनीहरू समयमै काम सम्पन्न गर्न थप जिम्मेवार बन्नुपर्ने बताउँदै अधुरा सडक निर्माणको प्रक्रिया शीघ्र अघि बढाउन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया