पछिल्लो २४ घण्टामा १ हजार ६८७ चालक ट्राफिक कारबाहीमा

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ६८७ चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व सङ्कलन भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८५ जना चालकलाई कारबाही गरिएको छ । यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६३, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४२ तथा तीव्र गतिमा सवारी चलाउने ११७ जना चालक कारबाहीमा परेका हुन् ।

त्यसैगरी, लेन अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा सवारी पार्किङ गर्ने ९८ तथा एकतर्फी सडकमा सवारी चलाउने १२१ जनामाथि पनि कारबाही गरिएको प्रहरीले जनाएको छ ।

अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ८०४ जनालाई समेत कारबाही गरिएको कार्यालयले जानकारी दिएको छ । ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न नियमित निगरानी तथा कारबाहीलाई थप कडाइ गरिएको जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया