चार महिनामा ३ सय ६१ फरार समातिए
बाँके प्रहरीले फरार अपराधी तथा अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालय बाँकले अदालत तथा प्रहरीमा रहेको मुद्दामा फरारहरुको खोजीलाई तिव्रता दिएको छ ।
जिल्लामा विभिन्न अपराधमा सजाय पाएका तथा मुद्दा परेपछि प्रहरी तथा अदालतमा हाजिर नभएकाहरुलाई प्रहरीले खोज्ने अभियान नै सुरु गरेको हो । प्रहरीले अदालतबाट सजाय तोकिएका तथा मुद्दा परेपछि भागेकाहरुको धमाधम खोजी गर्दै पक्राउ गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चार महिनाको अवधीमा मात्रै ३ सय ६१ जना फरारलाई पक्राउ गर्न सफल भएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिएका छन् । प्रहरी नायब उपरीक्षक खड्काले अदालतबाट फरार ३ सय १५, मुलतबीका २३, चालु मुद्दाका २३ जना फरार पक्राउ गरेको बताए ।
बाँके प्रहरीका अनुसार, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, लागु औषध, जबर्जस्ती करणीका मुद्दाका फरार पक्राउमा परेका हुन् । पक्राउ परेका फरारहरुबाट ९८ बर्ष २ महिना २० दिन कैद असुल गर्नुपर्ने र ११ लाख ६८ हजार ५ सय ८६ जरिवाना गर्नुपर्ने देखिएको छ ।
बाँके प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार, सबैभन्दा बढी फरार भदौ महिनामा पक्राउ परेका छन् । प्रहरीले भदौ महिनामा मात्रै २ सय ४१ जनालाई पक्राउ गरेको हो । जसमध्ये अदालतबाट फैसला भएका २ सय २८, मुलतबीमा राखिएका ७ र चालु मुद्दाका ६ जना रहेका थिए ।
प्रहरीले असारमा असारमा अदालतबाट फैसला भएका १, मुलतबीमा राखिएका ६, चालु मुद्दामा रहेका १ गरी ८ जना पक्राउ गरेको थियो भने साउनमा अदालतबाट फैसला भएका ३४, मुतलबीका ८, चालु मुद्दाका १४ गरी ५६ जनालाई पक्राउ गरेको थियो ।
बाँके प्रहरीले दिएको जानकारी अनुसार, असोजमा ५६ जना फरार पक्राउ परेका छन् । अदालतबाट फैसला भएका ५२, मुलतबीका २ र चालु मुद्दाका २ जना फरारलाई प्रहरीले पक्राउ गरेको हो ।
बाँकेमा अझै पनि कुल २ हजार ३ सय ५८ जना फरार रहेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीले अदालतबाट फैसाला भई फरार २ हजार २ सय १० र प्रहरीमा मुद्दा दर्ता भई फरार रहेकाको संख्या १ सय ४८ जना रहेको जानकारी दिएको छ ।
सात बर्षपछि समातिए बब्लु
कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक प्रतिवादीलाई बाँके प्रहरीले सात बर्षपछि सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार २०७० असोज १ गते बाँके उढरापुरका गोलु चमारलाई लाठी समेत प्रहरी गरी कर्तव्य गरी मारेको कर्तव्य ज्यान मुद्दामा फरार सोही ठाउँका बब्लु बेहना भन्ने रहमत अली बेहनालाई प्रहरीले पक्राउ गरेको हो ।
बाँके प्रहरीले उक्त मुद्दामा बाँके उढरापुर निवासी बिधिया यादव, राजेश पासी कारागारमा रहेको र नुर हसन खाँ र पलेरु बेहना हालसम्म फारार रहेको जानकारी दिएको छ ।











