लकडाउन अन्त्यसँगै अधिकांस क्षेत्र सञ्चालनमा आएपनि धार्मिक क्षेत्र भने सञ्चालनमा आउन सकेको छैन । सार्वजनिक सवारी साधन, हवाई यातायात सञ्चालनमा आइसकेकाले मन्दिरहरु पनि खोलिनु पर्ने माग गर्न थालिएको हो । नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर लकडाउनसँगै गेटमा ताल्चा लगाइएको छ । मन्दिर दर्शनका लागि पुग्नेहरु मन्दिरको मूलगेटबाटै दर्शन गरेर फर्किने गरेका छन् । मन्दिर व्यवस्थापन समितिले पुजा सामाग्री लिएर गेटबाटै पुजा गर्ने व्यवस्था मिलाएको छ ।
‘सबै ठाउँ खुल्दा धार्मिक आस्थाको केन्द्रलाई बन्द गरिरहनु उचित होइन’, सोमबार मन्दिर दर्शनका लागि पुगेका रामेश्वर शर्मा भन्छन्, ‘कोरोनाको जोखिम सबै क्षेत्रमा छ, अन्य क्षेत्र खुले पछि आस्थाको केन्द्र किन बन्द गरिरहनु उचित होइन ।’
मन्दिर पुग्ने दर्शनार्थीहरुले मन्दिर भित्र जान दिन अनुरोध गरेपनि गेटमै रोकिने गरेका छन् । ‘मन्दिर खुल्दै भीडभाड हुन्छ नै भन्ने होइन’, हरिश अधिकारी भन्छन्, ‘शारीरिक दुरी कायम गरेपनि पुजाआजाको व्यवस्था गर्न सकिन्छ ।’
लकडाउनका बेला पर्व पर्दा धेरैले मन्दिर दर्शन गर्न पाएनन् । अब हिन्दुहरुको सबैभन्दा ठूलो पर्व विजयादशमी नजिकिंदैछ । नवदुर्गाका बेला मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । ‘त्यसैले अहिलेदेखि नै नियम बनाएर शारीरिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था मिलाइनु पर्छ’, बबिता पौडेल भन्छिन् । होटल, व्यवसाय समेत सञ्चालनमा आउँदा मन्दिर नखोलेर आस्थाको अवहेलना गरिएको भन्दै आलोचना गर्ने गरिएको छ । सरकारले नै निर्णय नगर्दासम्म स्थानीय स्तरबाट धार्मिक स्थल खुल्ने सम्भावना नरहेको प्रशासनका अधिकारीहरु बताउँछन् ।
मन्दिर खोल्न माग गर्दै कसौंधन वैश्य समाजले आज प्रशासनमा ज्ञापन पत्र बुझाउन लागेको छ । समाजका अध्यक्ष नन्दलाल वैश्यले सामाजिक दुरी कायम गरेर मन्दिरहरु दर्शनका व्यवस्था मिलाउन माग गरिने बताएका छन् । ‘अब मठ, मन्दिर दर्शनका लागि रोकिनु हुँदैन, बरु शारीरिक दुरी कायम गर्ने गरी दर्शन गर्ने व्यवस्थापन गरिनुपर्छ’, अध्यक्ष वैश्यले भने ।











