नेपालगन्जमा पर्यटन बोर्डको युनिट कार्यालय प्रस्ताव

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोरोना कहर सकिएलगत्तै नेपालको पर्यटन व्यवसायले नयाँ उचाई लिने बताएका छन् । देशै भरिको पर्यटन पूर्वाधारको अध्ययन र कार्यक्षेत्रको विकास विस्तारका लागि अध्ययनका क्रममा नेपालगन्ज आइपुगेका डा। रेग्मीले सरोकारवालाहरुबीच मंगलवार भने, ‘त्यसको लाभ लिनका लागि तयारी अवस्थामा बस्नुपर्छ ।
नाटा नेपालगन्जको समन्वयमा पर्यटन बोर्डले स्थानीय सरकारका प्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायीहरुसँग छलफल गरेको हो । पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका नाममा मेला महोत्सवका लगानी निरर्थक देखिएको भन्दै अब परिणाममूखि क्षेत्रमा लगानी गर्ने कार्यकारी प्रमुख डा. रेग्मीको भनाइ छ ।
नेपालगन्जमा बोर्डको युनिट कार्यालय राख्ने योजनामा डा. रेग्मीले नेपालगन्ज उपमहानगरपालिकासँग प्रस्ताव गरेका छन् । नगर प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापामगर सहभागी छलफलमा पर्यटनको बोर्डको प्रस्ताव नेपालगन्जका हितमा भएको भन्दै स्वीकृत गर्न सकिने जनाउ प्रमुख/उपप्रमुखले दिएका छन् । ‘पर्यटन नेपालगन्ज विकासको महत्वपूर्ण पिलर हो,’ क्यासिनो सिटीको अवधारणा सुनाउँदै डा. राणाले भने, ‘पर्यटनका लागि हामी पुरै सहकार्य गर्छौं ।’
पर्यटन मन्त्रालयका सल्लाहकार लक्ष्मण गौतम, पर्यटन बोर्डका अधिकृत सहित आएका डा। रेग्मीले नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीसँग छलफल गरे । ‘पर्यटनका क्षेत्रमा धेरै गर्नुपर्ने छ,’ कोरोना कालले पारेको पीडा सुनाउँदै होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेल लगायतले पर्यटन बोेर्डसँग सहजीकरणको अपेक्षा गरे ।
नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले ‘टुरिज्म मार्ट’ देखि गन्तव्यमा पश्चिमका सम्भावना बारे बोर्डको ध्यानाकर्षण गराए । ‘बोर्ड नेपालगन्ज आयो भने धेरै सम्भावनाको खोजी हुन्छ,’ नेपालगन्ज उपमहानगरपालिका सँग त्यसका लागि सहजीकरण गरिरहेका अध्यक्ष सिग्देलले दैनिक नेपालगन्जसम्ग भने, ‘दुवै पक्ष सकारात्मक भएकाले मंगलवारको छलफलले सकारात्मक बाटो लिएको छ ।’











