कोरोना विशेष अस्पतालका लागि ५ सय ८३ जना जनशक्ति र जनशक्तिका लागि आवश्यक तलबभत्ता ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंयाँ निकासा गर्ने मन्त्रीपरिषद्को निर्णय
ऋषिराज गैरे/बुटवल
प्रदेश ५ सरकारले नेपालगन्जस्थित भेरी अस्पतालका लागि कोरोना विशेष अस्पताल सञ्चालन गर्न थप जनशक्ति र बजेट दिने निर्णय गरेको छ ।
प्रदेश सरकार मन्त्री परिषद्को विहीवार बसेको बैठकले प्रदेशभित्रका चार वटा अस्पताललाई कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति र वजेट दिने भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले ३ महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती कर्मचारीलाई प्रदेश निजामति सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेर बहादुर केसीले जानकारी दिए ।
‘मन्त्रीपरिषद् बैठकले आइसोलेसन अस्पतालहरुको जनशक्ति र बजेट स्वीकृत गरेको छ,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले दैनिक नेपालगन्जसँग भने, ‘जसअनुसार ५ सय ८३ जना जनशक्ति र जनशक्तिका लागि आवश्यक तलबभत्ता ३ करोड ९६ लाख ३२ हजार २८० रुपैंयाँ निकासा गर्ने निर्णय गरेको छ ।’ सल्लालहकार केसीका अनुसार, यो तीन महिनाको लागि हो । करार सेवामा भर्ना भएका जनशक्तिले प्रदेश निजामति सेवा अन्तर्गतका कर्मचारीले पाए सरहको सेवा सुविधा पाउने छन् ।
प्रदेश सरकारको यो निर्णयबाट भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राखिनेछन् । भेरी अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछन् । बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको प्रेस सल्लाहकार केसीले जानकारी दिए । केसीका अनुसार, एचडी बेड आईसीयूभन्दा केही कम सुविधा हुने किसिमको ‘सेमी आइसियु’ को हुनेछ ।
‘प्रदेश सरकारको यो निर्णयले ठुलो राहत भएको छ,’ जनशक्ति अभावले छट्पटिएका बेला विहीवार प्रदेश सरकारको निर्णयबारे भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले भने, ‘हामीलाई औपचारिक जानकारी नआइसकेकाले डेप्थमा केही भन्न सकिएन, तर हाम्रो माग र आवश्यकतालाई मध्यनजर सरकारले निर्णय लिएको हुनुपर्छ ।’ यसैसाता सञ्चालनमा ल्याउने गरि भेरीले कोरोना विशेष आइसोलेसन वार्ड बनाइरहेको छ । त्यससँगै खजुरास्थित क्यान्सर अस्पतालको आइसोेलेसन बन्द गरिनेछ ।
कोरोना विशेष अस्पतालका लागि विभिन्न तहमा सहयोग जुटाइरहेको भेरीले जनशक्ति र आइसियु तथा भेन्टिलेटरका लागि सरकार गुहारेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र केन्द्र सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुविधा थप गर्न अनुरोध गरिहेको भेरीले प्रदेश सरकारको पछिल्लो निर्णयले राहत दिएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल मातहतको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले जानकारी दिएका छन् । यो अस्पतालमा आईसीयू बेड १८, बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड थपिनेछन् ।
प्रदेश सरकारको निर्णयअनुसार, भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति थप गरिनेछ । भीमले आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड थप सुविधा पाउनेछन् ।











