अधिकारकर्मी भन्छन्, ‘आइसोलेसन–क्वारेन्टाइन सुधार’

क्यारेन्टाइन र आइसोलेसन केन्द्रमा अधिकारकर्मीको अनुगमनका क्रममा मापदण्ड अनुसार क्यारेन्टाइन र आइसोलेसन संचालनमा जोड दिइएको छ । पीसीआर गरेर मात्र डिस्चार्ज गर्न उनीहरुको माग छ ।

कोभिड १९ मा मानव अधिकारको अवस्था बुझ्न बाँके जिल्लामा गठित मानव अधिकार अनुगमन समितिद्वारा बिभिन्न स्थानमा निर्माण गरिएका क्यारेन्टाइन र आइसोलेसन केन्द्रको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा खजुरा क्यान्सर अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र चिसापानीको आइसोलेसन केन्द्रमा रहेका कोरोना संक्रमितहरुको अवस्था अवलोकन गरिएको हो । ‘त्यहाँको सेवा सुबिधा राम्रो रहेको र मापदण्ड अनुसार आइसोलेन संचालन रहेको पाइयो,’ अनुगमनमा संलग्न अधिकारकर्मीले भने, ‘गनापुर स्थित खुला कारागारको आइसोलेसन केन्द्र र होटल ह्वाइट हाउस लगायतका क्वारेन्टाइनमा बसेकाहरुले उपलब्ध सेवा सुबिधा बारे गुनासो गरेका छन् ।’
गनापुर स्थित खुला कारागारको आइसोलेसन केन्दमा महिला संक्रमित भए पनि त्यहाँ महिला सुरक्षाकर्मी ब्यवस्था नभएको, अस्पतालको बेड मात्र उपलब्ध गराई तन्ना, तकिया उपलब्ध नगराएको गुनासो पाइएको छ । ‘रुचि अनुसारको खानाको ब्यवस्थापन नभएको गुनासो गरिएको छ,’ अनुगमनमा संलग्न राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत द्धारिका अधिकारीले जानकारी दिइन् । कतिपय आइसोलेसन र क्वारेन्टाइन केन्द्रमा समय कटाउने खेलकुद ब्यायामको ब्यवस्था, मनोरञ्जनका साधन टिभि, टेलिफोन, वाईफाईको ब्यवस्था नभएको पाइएको अनुगमन गएका अधिकारकर्मी वसन्त गौतमले बताए ।
कतिपय सकारी कार्यालय, बैंक, बित्तीय संस्था लगायतका निकायले कोरोना संक्रमण भएका आफ्ना कर्मचारी राख्न सुबिधा सम्पन्न होटल, गेष्टहाउस, अस्पतालमा ब्यवस्थापन मिलाएका छन् । ‘आमसर्वसाधारण कोरोना संक्रमितलाई सो अनुसारको ब्यवस्थापन हुन सकेको पाइएन,’ अनुगमन टोलीले भनेको छ ।
बाँकेमा रहेका क्वारेन्टाइन र आइसोलेसन संचालनको अवस्था बुझि सरकारी मापदण्ड अनुसार संचालनमा गराउन वकालत गर्ने उद्देश्यले बुधवार बाँकेका अधिकारकर्मीहरुले दुई वटा समुह बनाएर अनुगमन गरेका हुन् । राष्ट्रिय मानव अधिकार आयोग अधिकृत द्धारिका अधिकारी र अधिकारकर्मीहरु वसन्त गौतम, प्रभात कुमार ठकुरी र रबिन्द्र कर्ण सम्मिलित टोलीले ह्वाइट हाउसमा रहेको क्वारेन्टाइन, गनापुर स्थित खुला कारागारमा बनाइएको आइसोलेसन केन्द्र, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र सोही संस्थाको चिसापानीमा निर्माण गरिएको आइसोलन केन्द्र लगायतका स्थानको अनुगमन गरेका थिए । अधिकारकर्मी सुरेश कुमार गौतम, बिश्वजित तिवारी, नमस्कार शाह र आलम खाँनको अर्काे टोलीले खजुरा र नेपालगन्ज आसपासका क्वारेन्टाइन र आइसोलेसन केन्द्रको अनुगमन गरेका थिए ।
अनुगमन पश्चात आइसोलेसनमा रहेकाहरुको पिसिआर नगरी घर पठाएको पाईएकाले पिसिआर परिक्षण गरेर मात्र घर पठाउने ब्यवस्था मिलाउन आग्रह गरेका छन् । अनुगमनका क्रममा कोरोना संक्रमितहरुलाई १४ दिन पछि पीसीआर परिक्षण गरेर मात्र डिस्चार्ज गर्ने ब्यवस्था मिलाउनु पर्ने अधिकारकर्मी ठकुरीको भनाइ छ ।
अनुगमनमा संलग्न गैरसरकारी संस्था महासंघका अध्यक्ष नमस्कार शाहले कोरोना संक्रमण समुदायमा पुगिसकेको स्थिति भएकाले सम्भावित संक्रमित स्थानहरुको सघन अनुगमनका आधारमा त्यस्ता क्षेत्रहरुमा लक्षित गरी परीक्षणको दायरा व्यापक बनाउनु पर्नेमा जोड दिए ।
आइसोलेनमा ड्युटी गरी रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सरसफाईकर्मीहरुको १५÷१५ दिनमा पीसीआर गर्न र स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई सरकारले दिने भनेको प्रोत्सहान भत्ता समेत उपलब्ध गराएको नपाइएकोले सरकारको निति अनुरुप प्रोत्सहान भत्ता उपलब्ध गराउन अनुगमन टोलीले सुझाव दिएको छ ।
प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पतालहरुलाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै संक्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन अपिल गर्दै अधिकारकर्मीहरुले समुदायमा संक्रमण विस्तारसँगै ज्येष्ठ नागरिकहरु संक्रमित हुँदा मृत्यु दर बढेको र बिरामीको संख्या पनि बढ्दो देखिएकाले कोभिड–१९ को उपचारमा सम्बन्धीत निकायलाई गम्भीर हुन जरुरी रहेको बताएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया