इच्छा शक्तिको एउटा सफल बिम्ब

उनी एक यस्ती एकल महिला जो बुर्काभित्र रही आफ्नो बच्चाहरुप्रतिको जिम्मेवारी निभाउन हर सम्भव प्रयास गरिन् र सफल पनि भइन् । सही समयमा सही निर्णय लिएकी साकरा आज आफ्नो उचित फैसलाले परिवार र समाजसेवालाई एकसाथ अगाडी हाँकिरहेकी छन् ।

भारत उत्तरप्रदेशको नवाबगंज स्थित माइत रहेको ४२ वर्षीया साकरा बेगम १७ वर्षको उमेरमा २५ वर्ष अघि नेपाली बुहारी भइ नेपाल (नेपालगन्जको परसपुर) आइन् । विवाह पश्चात जीवन सामान्य थियो पतिले कमाएर ल्याउने उनले बच्चा र पति र पतिका आमा बुवाको हेरचाह गरी घरबार चलाउने । एक हिसाबले भन्ने हो भने जीवन ठिकठाकै चलिरहेको थियो । तर, साकराको जीवनमा ठूलो तुफान त तब आयो जब विवाहको ५ वर्षमंै उनको पतिको अल्पायुमा स्वर्गवास भयो । पतिको स्वर्गवास हुने बेला उनका दुई छोरा थिए जेठो छोरा ३ वर्ष र कान्छा छोरा १ वर्ष । उनको कांधमा दुई बच्चाहरुको जिम्मेवारी थियो । जुन समाजमा महिलालाई त्यसै गाह्रो हुन्छ एकल भएपछि झन् बस्न गाह्रो थियो । अझ दुईटा बच्चा सहित अब के गर्ने भनी उनीसंग कुनै विकल्प र बाटो थिएन् । उनीसंग माइत गएर बस्ने अवस्था पनि थिएन् किनभने माइततिरको परिवार आर्थिक रूपले तीन जनाको खर्च धान्न सक्ने थिएन् । अर्को विवाह गरेमा बच्चाहरुको भविष्य धरापमा पर्थ्यो । उनले धेरै मष्तिष्क मन्थन पछि पतिकै घरमा परिवारसंगै बस्ने निर्णय गरिन् ।
तर, जीवन यसरी घरभित्र बसेर चल्नेवाला थिएन् बच्चाहरुको भविष्य उज्जवल बनाउन आफुले केही त गर्नु पर्यो भनी उनी सोच्ने गर्थिन् । यद्यपि उनी त्यतिखेर तय गर्न सकिरहेकि थिईन्न् कि जीवनमा आखिर गर्ने त गर्ने के ? उनी अगाडि भनिन् “ पतिको परिवारको साथ र सहयोगले नै म यहां सम्म पुग्न सफल भइन् । परिवारले साथ र सहयोग नगरेको भए सायद उनी घरभित्र घरायसी कामकाजमा नै सीमित रहने थिइन् । काका ससुरा कलामुद्दीन इद्रीसी र काकी सासु किस्मतजहां इद्रीसीले साकरालाई धेरै हौसला दिन्थे । उनीहरुले नै पतिको देहान्तपछि उनलाई आफ्नो पढाई पुनः सुरु गर्न यो भनेर उत्साहित गरे कि पढाई बिना केही गर्न सकिदैन् पढाई गर्यो भने जीवनमा जहाँं रहे पनि सफल हुन सक्छौं भनिकन मानसिक रुपले तयार पारे जसको फलस्वरूप उनले पढाई सुरु गरिन् । उनी परीक्षा दिन भारत गएको समयमा जहिलेसम्म परीक्षा सक्दैन्थ्यो त्यति महिना दिन सम्म काका कलामुद्दीन र काकी किस्मतजहांले बच्चाहरुको हेरचाह गर्नु हुन्थ्यो ।“
साकराको एकल जीवनमा दुई छोराको जिम्मेवारी पुरा गर्ने र एउटा संस्थाको उपाध्यक्ष बन्ने सम्मको यात्रा कस्तो रह्यो भनी जानकारी लिन उहाँंकै गांउघर पुगेर छलफल गरियो । छलफलका क्रममा भएका कुराकानीको केही अंश उनको अनुमतिले दैनिक नेपालगन्जको आजको अंकमा प्रस्तुत गरिएको छ ।

तपाईले पतिको स्वर्गवास भएपछि तपाईको उमेर खासै गएको थिएन् चाहेको भए अर्को विवाह गर्न सक्नु हुन्थ्यो या माइत जान सक्नुहुन्थ्यो । सो माइत फिर्ता न गइकन र अर्को विवाह नि नगरीकन पतिकै घरमा बस्ने निर्णय लिनुको कारण थियो ?
मसंग भएका विकल्प माइत फिर्ता जानु वा अर्को विवाह गरी घरजम गर्नु वा बच्चासंग बस्नु मध्ये पतिकै घरमा बसेर बच्चाहरुको पालनपोषण गर्नु नै उचित लाग्यो । किनभने माइत गरिब थियो सो फर्किन सक्दैन्थे अर्को विवाह गर्दा बच्चाहरुको बिचल्ली हुन्थ्यो त्यसकारण यहीं परिवारको बीच बसी उनीहरुकै रेखदेखमा बच्चाहरुको पालनपोषण गर्ने सोच बनाएंँ । जुनकी मेरो र बच्चाहरुको हकमा सहि थियो ।

पतिको स्वर्गवास पछि शिक्षाको अभाव किन महसुस भयो र अध्ययन सुरु गर्नुको कारण के थियो ?

पतिको देहान्तपछि शिक्षा हासिल गर्ने मुख्य कारण मेरो काका ससुरा कलामुद्दीन र काकी सासु किस्मतजहांको उत्प्रेरणा, साथ सहयोग र उनीहरुले दिएको उत्साह थियो । जसले गर्दा मलाई पनि लाग्यो कि जीवनमा केही गर्नु छ भने मैले आफ्नो पढाई पुरा नै गर्नुपर्छ ।

तपाईले पुनः शिक्षा हासिल गर्दा सजिलो गाह्रो के कस्तो अवस्था रह्यो ?

मलाई पढाई गर्दा खासै गाह्रो साह्रो परेन् किनभने यसमा काका ससुरा कलामुद्दीनले धेरै सहयोग गर्नु हुन्थ्यो उहाँं आफु शिक्षक भएकोले होला मेरो शिक्षाप्रति धेरै लगाव थियो । तर पढाई सुरु गरेकै दिनमा म परीक्षा दिनका लागि भारत गएको बेला मेरो छोराहरु जो संधैं झै परीक्षा दिन जांदा काका ससुरा काकी सासुसंग बस्थे ती मध्ये कान्छो छोरा असाध्यै बिरामी भयो । हुन् त काकाकाकीले राम्ररी हेरचाह गरिरहेका थिए तर कालले कसलाई छाड्छ मेरो छोरा पनि त्यसै बिच बित्यो । पुत्र शोकका कारण म पुरै परीक्षा दिन सकिन र त्यो वर्ष मेरो बेकार गयो । तर काकाकाकी कै अनुरोधमा मैले फेरि पढाइ सुरु गरें अहिले इन्टर पास गरिसकेछु ।

सामाजिक क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
म करिब २०६५ साल देखि सामाजिक क्षेत्रमा जुडे त्यतिखेर मैले स्याक नेपालबाट किशोरी शिक्षा तालिम संचालन गरें । त्यसपछि फातिमा फाउंडेशन नेपालको आयोजना र केयर नेपालको सहयोगमा संचालित कार्यक्रम शान्ति प्रवर्धन केन्द्रमा सदस्य भए जसमा बसेर हामी बचत समुह पनि चलायौं । यसै गरी फातिमाबाट संचालित परियोजना (नागरिकता बनाउने ) मा सहजकर्ता भएर काम गरें । त्यस पछि जिल्ला शिक्षा कार्यालय र फातिमा फाउन्डेशन नेपालको कार्यक्रम गृहणी शिक्षा कक्षा संचालन गरें । संकल्प (काठमाडौं को परियोजना ) अन्तर्गत अभियानकर्ता भइ महिला सशक्तिकरण र महिला अधिकारका लागि सकृय भएर समुदायमा काम गरें ।

फातिमा फाउन्डेशन नेपालसंग जोडिएपछिको अनुभव कस्तो रह्यो ?

फातिमा फाउंडेशन नेपालसंग सकृय सदस्य भइ जोडिएपछि म धेरै तालिमहरुमा सहभागी हुने अवसर पाएँं । त्यहांका सबै पदाधिकारी राम्रा थिए । मलाई मैमूना सिद्दीकीले मलाई यसरी अगाडि आउन धेरै साथ र सहयोग गर्नुभयो । उनले मलाई पाइला पाइलामा सहयोग गरिन् समाजमा कसरी बोल्ने, कसरी सभालाई सम्बोधन गर्ने, फिल्डमा कसरी काम गर्ने यी सबै कुरा मैले मैमूना सिद्दीकीजीसंग नै सिकें । फातिमा फाउन्डेशन नेपालका सदस्यले मेरो सकृयता लगनशीलता देखेर मलाई कार्य समितिमा बस्ने अवसर दिए । ४ वर्ष जति मैले कार्य समितिमा रही संस्थालाई अगाडि बढाउन आफु सक्दो योगदान दिएँं । मेरो योगदान कै कदर गरेर फातिमा फाउन्डेशन नेपाल परिवारले मलाई संस्थाको उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गर्यो । विगत एक वर्ष देखि म संस्थाको केन्द्रीय कार्यसमितिको उपाध्यक्ष पदमा रही आफ्नो कार्यभार र जिम्मेवारी सम्हादै आइरहेकीछु ।

एउटा सहजकर्ता हुँदा र कार्य समिति सदस्य भइसकेपछिको अनुभव के कस्तो छ ?
एउटा सहजकर्ता वा कर्मचारी भएर कुनै संस्थामा काम गर्नुको अनुभव छुट्टै हुन्छ । त्यतिबेला मात्र आफ्नो काम र परियोजनाको माग अनुसार लक्ष्य ध्येय र उपलब्धीका लागि काम गर्नुपर्छ । आफ्नो जिम्मेवारी पनि परियोजना सम्म नै सीमित रहन्छ । कर्मचारी हुदां मेरो पनि त्यतिबेला त्यस्तै जिम्मेवारी थिए र मैले आफ्ना जिम्मेवारीहरु सहर्ष समयमा नै पुरा गर्ने प्रयत्न गर्थें र सकभर पुरा नि गर्थें ।
तर, संस्थाको समितिमा बसेपछि जिम्मेवारी बढेर आयो । कार्य समितिमा बसेपछि पुरै संस्थाको जिम्मेवारी आयो जसलाई बखुबी निर्वाह गर्दै आइरहेकी छु । मेरो यही जिम्मेवारी बहन गर्ने क्षमता दक्षतालाई मध्येनजर गरेरै मलाई उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गरियो हाल म उपाध्यक्ष भएर जिम्मेदारी निभाउदैंछु ।

यदि तपाईले अन्यथा लिनुहुदैंन भने एउटा प्रश्न सोधौं लागेको छ । कि बुर्का कहिले देखि लगाइ रहनु भएको र बुर्का लगाएर कसरी संस्थाको काम कर्तव्य पुरा गर्नुहुन्छ ? कठिन हुँदो होला ।

बिहे भए देखि नै बुर्का लगाउन सुरु गरेकी थिएँ र आज सम्म पनि लगाउदैं आएकी छु । मलाई बुर्काले कति पनि बाधा अवरोध गरेको छैन । स्थानीय सहजकर्ता हँुदा पनि म फिल्डमा बुर्का लगाएर आफ्नो कार्य र जिम्मेवारीहरु पुरा गरें । कार्य समिति सदस्य हुँदा पनि बुर्का लगाएरै संस्थाप्रतिको आफ्नो दायित्वहरु पुरा गर्दै आएँं । हाल संस्थाको उपाध्यक्ष भइसक्दा पनि म संस्था वा भ्रमण, फिल्ड अनुगमनमा जाँदा बुर्का लगाएरै जाने गर्छु । उपाध्यक्ष भइसक्दा पनि संस्थाबाट कहिले बुर्का लगाउन मनाही गरिएन । त्यस कारण बुर्का लगाएर नै म संस्थाको उपाध्यक्ष जस्तो गरिमामय पदमा रही विगत एक वर्ष देखि कार्यभार सम्हाल्दै आइरहेकी छु ।
अन्तमा तपाईको तर्फबाट केही ?

अवश्य , म यति मात्र भन्न चाहन्छु कि जीवनमा जुन परिस्थिति आए पनि हौसला बनाइ राख्नुपर्छ । बुर्काभित्र रहेर पनि घरपरिवार र समाजका लागि योगदान पुर्याउन सकिन्छ । मैले बुर्काभित्र रही संस्थाको जिम्मेवारीहरु त निभाउदैंछु साथै परिवार प्रतिको पनि आफ्नो दायित्व निभाउदैं आएँं जसको फलस्वरुप आज मेरो छोरा ल्याब टेक्निसियनको पढाई पुरा गर्न सफल भयो । वास्तवमा उसको सफलता नै मेरो सफलता हो । किनकि आफ्नो बच्चालाई राम्रो शिक्षादिक्षा दिई उसलाई सफल बन्न आफुले सहयोग गर्नु एउटी आमाको जिम्मेदारी हो जुनकि म एकल भएर नि पुरा गरें ।
जहाँं महिलालाई संधै कमजोर र कायर कातर भनी प्रस्तुत गरिन्छ । त्यहीं हरेक पुरुषको भाग्य , उसको सफलताको उचाई अकसर महिलाको योगदानमा भरपर्छ । अनि पुरुषको भाग्य चम्काउने ती महिला एक आमा हुन् सक्छिन् , एक अर्धांगिनी हुन् सक्छिन् , एक दिदी एक बहिनी हुन् सक्छिन् , एक छोरी हुन् सक्छिन् एक असल साथी हुन् सक्छिन् ।
आफ्नो छोरा जो कि एक पुरुष हुन् उनलाई सफल बनाउन सक्षम बनाउनका लागि साकराले जुन उमेरमा जस्तो सम्झौता गरिन् त्यो बलिदानी एक आमा नै गर्न सक्छिन् । यदि साकराले उतिखेर आफ्नो खुशी, चाहना र आफ्नो सुनौलो भविष्यका बारेमा मात्र सोच्थिन् भने आज उनको छोरा ल्याब टेक्निसियन बन्न सक्दैन्थे । उनी एक यस्ती एकल महिला जो बुर्काभित्र रही आफ्नो बच्चाहरुप्रतिको जिम्मेवारी निभाउन हर सम्भव प्रयास गरिन् र सफल पनि भइन् । सही समयमा सही निर्णय लिएकी साकरा आज आफ्नो उचित फैसला परिवारको साथ सहयोग र फातिमा फाउन्डेशन नेपालको प्रोत्साहनबाट अभिप्रेरित भइ आफु संस्थाको उपाध्यक्ष र छोरालाई उच्च शिक्षा दिलाउन सफल भइन् ।

प्रतिक्रिया

प्रतिक्रिया