नेपालगन्जः प्रोटोकलमा रहेर व्यवसाय

नेपालगन्जमा बजार व्यवसाय सञ्चालनका लागि नेपाल सरकारको स्वास्थ्य प्रोटोकल कडिकडाउका साथ पालना गर्ने निर्णय गरिएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघले शनिवार आफ्ना सबै बस्तुगत सदस्यहरुलाई भेला गरि स्वास्थ्य प्रोटोकल पालनामा प्रतिबद्ध बनाएको हो ।

‘बैठकमा सहभागी सबै बस्तुगत संघसंस्थाहरुले सरकारले जारी गरेको स्वास्थ्ज्य प्रोटोकल आफ्नै हितमा रहेको निष्कर्ष निकाल्दै पालनामा प्रतिबद्ध हुने निर्णय गरेका छन्, ’ नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी ओलीले दैनिक नेपालगन्जसंग भने, ‘यसलाई अब थप प्रभावकारी बनाएर अगाडी बढिनेछ ।’ उनले महामारीमा स्वास्थ्य प्रोटोकलको समीक्षा र आगामी रणनिति सम्बन्धी छलफलमा व्यवसायीहरुले खुलेर सहभागिता जनाएको बताए ।
बैठकले स्वास्थ्य प्रोटोकल अझ प्रभावकारी तरिकाले अपनाउनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताएका छन् । ‘अहिले निषेधाज्ञा नभएकाले पसल, व्यवसाय सन्चालनमा समस्या छैन, यसलाई अवसरका रुपमा लिंदै स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्ने अहम् जिम्मेवारी हामीलाई आइलागेको छ,’ मन्सुरीले भने ।
महासचिव ओलीका अनुसार, बैठकले स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्नुपर्ने निष्कर्ष सहित प्रहरी, प्रशासनसंग हालको भन्दा अझ सहज रुपमा व्यापार, व्यवसाय गर्ने वातावरण निर्माणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । बजार सन्चालनका विषयमा अन्योलता पाइएकाले उद्योगी, व्यवसायीका सुझावका आधारमा प्रशासनसंग छलफल गर्ने निर्णय पनि भएको बताइएको छ ।
संघका अध्यक्ष मन्सुरीको अध्यक्षतामा भएको बैठकमा निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले प्रमुख अतिथिका रुपमा आवश्यक विषयमा आफ्ना धारणा राखेका थिए ।
बैठकमा बजार अनुगमन समितिका संयोजक भिम रानाभाटले बजारमा हालसम्म स्वास्थ्य प्रोटोकल पालनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकमा संघमा आवद्ध रहेको विभिन्न वस्तुगत संघरसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि र संघका पदाधिकारी एवम् कार्यसमिति सदस्यहरुको उपस्थितिमा रहेको महासचिव ओलीले जानकारी दिए । ‘हामीले आफुले गरेका प्रयास र संघले गर्नुपर्ने काम पारे धारणा राखेका छौं ’, साइकल व्यवसायी संघका पदाधिकारी मो. शरिफ वागवानले व्यवसायीहरुलाई स्वास्थ प्रोटोकलमा प्रतिबद्ध बनाउँदै संघले पनि आइपरेका तत्कालिन समस्यामा सक्रियता देखाउन सुझाव दिएको बताए । वागवानका अनुसार, नेपालगन्ज भन्सारमा निकै समस्या भइरहेको गुनासो आफु कहाँ आइरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया