नेपालगन्ज भन्सारः क्यारिंग घट्यो, राजस्व बढ्यो

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले आइतवार आफ्नो फेसबुक पेजमा एउटा स्टाटस् लेख्दै साउन महिनाको भन्सार लक्ष्य १७७ प्रतिशतले उपलब्धिमूलक रहेको जानकारी दिए । उनको स्टाटसमा प्रतिक्रिया दिने दर्जनौं आश्चर्य व्यक्त गरेनन्, बरु सुझाव दिंदै भनेका छन्, क्यारिंग पूर्णतः बन्द भयो भने ३०० प्रतिशत उपलब्धी हासिल हुन्छ ।
दैनिक नेपालगन्जले यो उपलब्धीलाई लिएर नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शान्तिराम निरौलासँग सोध्यो, यो अपेक्षित उपलब्धी हो ? निरौलाका अनुसार, श्रावण महिनामा ९४ करोड ७५ लाख ६ हजार रुपैयाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्यभन्दा ७३ करोड २५ लाख अर्थात १७७ दशमलव १५ प्रतिशत बढि राजश्व संकलन भएको हो । दैनिक नेपालगन्जको सवालमा केन्द्रीत हुँदै निरौलाले भने, देशभरिका भन्सारमा यो उपलब्धी देखा परेको छ ।
सीमानाका बन्द भएपनि भन्सार कार्यालयले दैनिक रुपमा आफ्ना गतिविधिहरु सञ्चालन गरिरहेको छ । पछिल्लो समय उद्योग तथा कलकारखाना सञ्चालनमा आएपछि कच्चापदार्थ ल्याउने क्रम ह्वात्तै बढेकाले उत्साहजनक रुपमा राजश्व संकलन भएको निरौलाको भनाइ छ । लकडाउनका कारण लामो समयसम्म बन्द रहेका उद्योगधन्दा सञ्चालनमा आएसँगै राजश्व संकलनमा बृद्धि भएको हो । किनकी अघिल्लो आर्थिक वर्षमा लक्षित उपलब्धी हासिल गर्न नसकेको भन्सारले लक्ष्यको ७६ दशमलव २८ प्रतिशतमात्र परिणाम हात पार्यो । निरौला भन्छन्, तीन चार महिना भन्सार बन्दप्रायः जस्तो रहँदा पनि मुलुकका अन्य भन्सारको तुलनामा नेपालगन्जको उपलब्धी प्रतिशत राम्रो हो ।
सीमानाकाबाट हुने अवैध चोरी निकासी नियन्त्रण राजस्व राजश्व संकलनको अर्काे कारण हो । भन्सार प्रमुख निरौलाले भन्सार दररेटको उचित मूल्यांकन, सन्तुलित कार्यान्वयन र व्यवस्थापनले पनि राजस्व संकलनमा योगदान दिएको जानकारी दिंदै भने, मुख्य कुरा सीमानाकाको कडाइनै हो । मुल्यांकन र वर्गिकरणलाई पनि यथार्थपरक बनाउन खोजिएको निरौलाको भनाइ छ ।
लकडाउनबीच पनि नेपालगन्ज भन्सारबाट औद्योगिक कच्चा पदार्थका अलावा, खाद्यान्न, औषधि तथा अत्यावश्यक सामग्री भित्रिने गरे । तर, फलफुल तथा तरकारी जन्य पदार्थ र मानिसहरुको आवागमनमा भने पूर्ण रुपमा रोक लगाइएको छ । भन्सारबाट पनि व्यक्तिगत प्रयोजनका नाममा हुने सीमावर्ती बजारको खरिददारी पूर्णतः रोक लाग्दा सीमा नियमन प्रभावकारी हुनुका साथै व्यक्तिगत रुपमा चल्दै आएको अबैध असुलीसमेत रोकिएको छ ।
नेपाल भारत सीमानामा तारबारका लागि भन्सार चुहावटकै पैसाले पुग्छ, भन्सार कर्मचारी भन्छन्, यो ५ महिनाको अवस्थाबाट सरकारले चेत खोल्ने हो भने, औपचारिक भन्सार बाहेक कांडेतार लगाए हुन्छ । भन्सार प्रमुख निरौलाले यसअघि निकै कममात्रामा भन्सार गरिंदै आएको साडी, कुर्ता लगायतका कपडा पनि यसबीच ठुलो परिणाममा भन्सार प्रक्रियामा आएको छ । सम्बद्ध व्यापारीका अनुसार, खाद्यवस्तुदेखि कपडा अधिकांश क्यारिंगमार्फत ल्याइने गरेको थियो ।
कोरोना कहरका कारण भन्सार राजस्व निकै कम हुने सरकारी अनुमान छ । तर, भन्सार अधिकारी भन्छन्, सीमामा सुरक्षा कडाइ गरिंदै गयो भने राजस्व चुहावट, तस्करी कम भइ राजस्व उल्लेख्य मात्रामा संकलन हुने सम्भावना देखिएको छ । भने, भन्सार प्रमुख निरौलाले दैनिक नेपालगन्जको एउटा जिज्ञासामा चोरी पैठारीबाटै धेरै सामान नेपाल आउने रहेछ भन्ने देखिएको छ ।
नेपालगन्ज भन्सार प्रमुख निरौलाका अनुसार, चालु आर्थिक वर्षका लागि नेपालगन्ज भन्सारबाट राजस्व असुली लक्ष्य १५ अर्ब १८ करोड तोकिएको छ । चालु आर्थिक वर्षको भन्दा यो लक्ष्य २५ करोड कम हो । अघिल्लो वर्षको भन्सार राजस्व असुली लक्ष्य १५ अर्ब ४३ करोड थियो ।

रोकिएन मोवाइल तस्करी
सीमानाका पुरै सिल गरिंदा पनि भारतबाट अबैध रुपमा मालसामान ल्याउने क्रम रोकिएको छैन ।
दिनहुँजसो नेपाल प्रहरीले सीमावर्ती क्षेत्रबाट चोरी पैठारीका मालसामान समातिरहँदा सशस्त्र प्रहरी बाँकेले अहिलेसम्मकै ठुलो परिमाणमा स्मार्ट मोबाइल फोन बरामद गरेको जनाएको छ ।
कालाबन्जार बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष डांगीको कमान्डको टोलीले भारतबाट नेपाल ल्याँउदै गरिएको ११ लाख रुपैयाँ बराबरकोस्मार्ट मोबाइल फोन बरामद गरेको हो । आइतबार बिहान ३ बजे गस्तीमा रहेको टोलीले डुडुवा २ बेतहनीबाट ८५ थान स्मार्ट मोबाइल फोन बरामद गरेको जनाएको छ ।
बाँकेको नरैनापुर क्षेत्रबाट तस्करी भइरहेको समाचार दैनिक नेपालगन्जले प्रकाशित गरेको थियो । सशस्त्रको टोलीले राप्ती तटीय क्षेत्रमा साइकलमा मोबाइल बोकेर आउँदै गरेको देखेपछि नियन्त्रणमा लिन खोज्दा सामान फालेर भागेका थिए । मोबाइलको साथमा ९३ थान लेडिज कुर्ता समेत बरामद गरिएको सशस्त्रले जनाएको छ । बरामद सामान भन्सार पठाइएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया