मनको कुरालाई बाँधी नराख

कोभिड रोग लाग्यो भन्ने पीडा भन्दा पनि यसले उत्पन्न गरेको जुन त्रास छ त्यो भयावह
छ । मान्छेले मान्छेलाई नै छुन नमिल्ने । हरेक ब्यक्तिलाई भेट्दा यो त संक्रमित छ कि ? भनेर आतंकित हुनुपर्ने अवस्था डरलाग्दो छ । अझ भनौं संक्रमित ब्यक्ति र उनीहरुको घरपरिवारलाई समाजले हेर्ने जुन दृष्टिकोण छ यसले झनै मर्माहत बनाएको छ ।

“भगवानको फैसला जे हुन्छ सहन मन्जुर हुनुपर्छ । चाहे रुन परोस् चाहे हाँस्न सबै भरपुर हुनुपर्छ ।“ कोभिडको जुन हाउगुजी थियो त्योबाट सामना गर्ने ताकत म भित्र एक बलियो हतियार भएर जम्मा भयो । जुन दिन मैले आफु कोभिडको भाइरसबाट संक्रमित भएको कुरा सबैमाझ ब्यक्त गरे । तब देखि मनमा एक किसिमको आनन्द र हल्का अनुभूति भएको थियो । मनको पीर होस् या खुसी दुबै कुरालाई बाँड्न पर्दोरहेछ ।
त्यसै गाइएको रहेनछ , “मनको कुरालाई बाँधी नराख गाँठो परि जाला चट्ट सुनाइदेऊ ।“ भनिन्छ, नदेखिएको कुराको त्रास बढी हुन्छ । हो त्यस्तै त्रासले मलाई जगडेको रहेछ । कोरोना लागेपछि त मरिन्छ कि ? भन्ने मनोभावनाले आशंका भ्रम र त्रासले बढी प्रभाव पारेको रहेछ । संसारमा अहिले सम्म शंकाको औषधि या भ्याक्सिन उत्पादन भएको छैन । जुन रोग सबैभन्दा भयङ्कर छ जसले मान्छेको जिन्दगीलाई नै तहसनहस पारेको छ । यो रोगको उपचारमा त ठूलाठूला नाम चलेका विशेषज्ञहरू पनि फ्लप भएका छन् ।

कोभिड लाग्दैमा मरिहाल्ने भन्ने होइन । नेपालीको हकमा कुरा गर्ने हो भने हाल सम्मको तथ्यांक हेर्दा हजार जना कोभिड संक्रमित मध्येमा पाँच छ जनाको मृत्यु भएको पाइएको छ । त्यसमा पनि अत्यन्तै बयोबृद्ध र दीर्घ रोगिहरुको संख्या बढी परेको छ । एकाध रुपमा अन्य उमेर समूहका ब्यक्तिहरु पनि मर्ने गरेको तथ्यांक छ । बाताबरण अनुकूल मिल्दा कुनै पनि भाइरस हामी भित्र प्रवेश गर्न सक्ने रहेछ । तर जुन ब्यक्तिको इम्युनिटी सिस्टम कमजोर हुन्छ । जुन ब्यक्ति पहिले देखि नै कुनै दीर्घ रोगी छ । लगातार औषधि सेवन गर्छ त्यस्तो ब्यक्तिलाई चाहिं धेरै अप्ठ्यारो पर्न सक्छ ।
कोभिड रोग लाग्यो भन्ने पीडा भन्दा पनि यसले उत्पन्न गरेको जुन त्रास छ त्यो भयावह छ । मान्छेले मान्छेलाई नै छुन नमिल्ने । हरेक ब्यक्तिलाई भेट्दा यो त संक्रमित छ कि ? भनेर आतंकित हुनुपर्ने अवस्था डरलाग्दो छ । अझ भनौं संक्रमित ब्यक्ति र उनीहरुको घरपरिवारलाई समाजले हेर्ने जुन दृष्टिकोण छ यसले झनै मर्माहत बनाएको छ ।

म मेरै अनुभवलाई शेयर गर्छु । आइसुलेसनमा बसेको सातौं बिहान म सुतिरहेकै हुन्छु मोबाइलको घन्टी बज्छ । छिटोछिटो मोबाइलमा हेर्छु । सानो छोराले फोन गरेको रहेछ । दईवटा म्यासेज पनि गरेको रहेछ । मामु धेरै सम्झिएको छु । छिटोछिटो फोन गरिस्यो न । तुरुन्तै वाइफाइ कनेक्ट गर्छु र भिडियो कल गर्छु । सानो बावुले आफ्ना सानासाना हातहरुले आँसु पुछ्दै रुँदै रुँदै भन्यो “मामु मेरो साथीलाई बार्दलीबाट बोलाएको तर उसले तेरो मम्मीलाई त कोरोना रोग लागेको छ । म तँ सँग बोल्दिन भन्यो । हजुरलाई कहिले सन्चो हुन्छ ? छिटो सन्चो भएर आइस्यो न । म कतै निक्लेको छैन । पसलमा गएको पनि ए बाबू ! अलि पर पर बस, यता नछोऊ भन्छन् । मामु म त घर भित्रको भित्रै छु । कसैसँग देखिन मन पनि लाग्दैन । हाम्रो त नेगेटिभ रिपोर्ट आको होइन र फेरि पनि साथीहरूले अरु अरुले किन यस्तो भन्छन् ?“

उफ् ! सुन्नु त ! कति दर्दनाक अवस्था छ । उसको कोमल मुटुमा कस्तो प्रभाव परेको छ ? उसका मासुम आँखाहरुबाट आँसुका अनगिन्ती धाराहरु बरबरती झरिरहँदा भन्नुस् त एउटी आमाको मनमा के बित्छ होला ? जो लाचार छ । आफु आफै केही गर्न नसक्ने अवस्थामा छ । छट्पटी हुन्छ । मनमा बेचैनी हुन्छ । अनेकौं प्रश्नचिह्न खडा हुन्छन् । तर पनि म उसलाई सम्झाउँछु । अहिले केही समय सुरक्षित रहनको लागि हामी यसरी नै बस्नुपर्छ चिन्ता नगर । घरमै बस । तिम्रो साथीले नबुझेर भनेको होला । म छिट्टै आउँछु अनि तिम्रो साथीलाई पनि सम्झाउँला हस् ।
उससँग छुट्टि सकेपछि मनमा अनेकौं कुरा खेलिरहन्छन् । घन्टौंसम्म घोत्लिन्छु । फेरि शरीरमा सनसनी हुनथाल्छ । भित्र कतै दुख्न थालेझै अनुभव हुनथाल्छ । घाँटीमा केही अड्केझै हुन थाल्छ । तातो तातो भित्रैबाट फेरि यो के भइरहेको ? आफैलाई झक्झक्याउँछु । पछि आफु धेरै कुरा सोचेर फेरि चिन्तामा डुब्दै गरेको कुरा बुझ्छु र तुरुन्तै आफ्नो सोचाइलाई परिवर्तन गर्छु । एक्लै सोच्दा सोच्दै धेरै पटक टोलाएको छु यो बसाइमा । सोचाइ परिवर्तन हुन बित्तिकै सबै कुरा नर्मल हुँदै गएको महशुस गर्छु । मुवाबुवालाई फोन गर्छु । हाँसीहाँसी कुरा गर्छु । अनि ठूलो ठूलो स्वरमा गीत गाउँछु । मोबाइलमा गीत बजाउँदै नाँच्न थाल्छु । सुर्य नमस्कार गर्छु । योगा गर्छु । ध्यान सकाउँछु । फेरि बावुलाई फोन गर्छु । मोबाइल खेल्दै हुन्छ । उसलाई पनि एकछिन सँगसँगै नाँच्न आग्रह गर्छु । सानो बाबू पनि नाँच्न थाल्छ । किचेनमा काम गर्दै गरेको ठुलो छोरा पटकपटक आउँछ र हात हल्लाउँदै मुस्कुराउँछ । भन्छ । ग्रेट मम ! ग्रेट । हो यसरी नै रमाउँने हो । मैले जन्माएको त्यो छोरा सानो बालक जस्तै लाग्छ मलाई त सँधै, तर ऊ त मेरो आत्मिय मित्र जस्तै छ । मेरा हरेक अनुभुतिहरुलाई सजिलै अनुभुत गर्छ र मलाई हमेशा हिम्मत दिइरहन्छ । यस्ता सन्तानहरुलाई हेर्छु र भगवान प्रति आभारी हुन्छु ।
यहाँनेर म किन यी प्रसंगहरुलाई जोडिरहेको छु भने । सबै सबै ब्यक्तिहरुका मेरा जस्तै अनुभूतिहरु हुन्छन् होला । कोरोना संक्रमित हुँदा उसको आफन्त र घरपरिवारलाई समाजले गरिने ब्यवहार कस्तो रहन्छ ? यावत कुराहरू शायद सबैले यस्तै गरेर भोगेका होलान् भन्ने लाग्छ । हुन त ब्यक्ति बिशेष समाज र समुदायको चेतना स्तरले कतिपय कुराहरू फरक त अवश्य पार्छ नै तर पनि कोभिडको त्रास यस्तो छ कि, जो कोही महावीर, सन्त ,महन्त ,महा ज्ञानीहरुले पनि डराउँनुपर्ने अवस्था आएको छ । किनभने विश्वमा देखिएको कोविदको जुन भयावह छ त्यो अनौठो प्रकारको छ । न त औषधि छ न कुनै भ्याक्सिन छ नत यसको सराइ र लक्षणमा एकरुपता छ न त अहिलेसम्म छ कुनै निश्चित आकंडा । हो यसकारण पनि यो कहालीलाग्दो भएको हो जस्तो मलाई लाग्छ । विभिन्न शक्तिशाली राष्ट्रहरु दिनरात लागिरहेका छन् कोरोना बिरुद्धको भ्याक्सिन बनाउनमा । कामना छ छिटोभन्दा छिटो यसको दवाइ बनोस् र यो भयावहबाट सबैलाई मुक्ति दिलाओस् ।
सधैं परिस्थिति र मनस्थिति एउटै रहँदै । ऋतुले त छ छ महिनामा आफ्नो रंग फेर्छ भने हामीले कसरी यो रोगबाट मुक्ति नपाउँलार ? इतिहासका पानाहरु पल्टाएर हेर्यो भने थाहा हुन्छ के त्यस्ता डरलाग्दा रोगहरु हिजो आएका थिएनन् र ? औलो, हैजा, कालाजार, स्वाइन फ्लु , टिबि , एचआईभीएड्स जस्ता रोग हरुले पनि त विश्वमा तरंग त ल्याएकै त हो नि । विभिन्न रोगका कारण मृत्युु हुनेको संख्या पनि कम थिएन । एचआईभीएड्सको आधिकारीक दवाइ भ्यक्सिन त अहिलेसम्म पनि त निक्लेको छैन । तर पनि सबै कुरा बिस्तारै साम्य हुँदै गएकै हुन् । त्यसैले यो समय पनि धेरै दिन सम्म हामीसँग रहने छैन । भन्ने कुरामा विश्वस्त छु । रात पछि सुनौलो बिहान आएझै अवश्य पनि त्यो दिन आउनेछ । यसको प्रभाव पनि कम हुँदै जानेछ ।

हो यो साँचो हो कि, मानिस अत्यन्तै भोग विलासमा रमायो । हामीले हाम्रो जीवन र जगतलाई चिन्न सकेनौं । धेरै धन कमाएर सुख सयल गर्ने सोचमा हामी स्वार्थी भएकै हौं । त्यसैको परिणाम हो यो । आज पवित्र गंगाजल छोडेर हल्कोहल अर्थात सेनिटाइजरले हात धुन परिरहेको छ । केही पाप त अवश्य गरेका छांै धर्ती मातासँग नत्र यति सुन्दर चेहरा लुकाएर हिड्न किन पर्थो । प्रकृतिमा बहने शीतल हावाको अक्सिजन लिन पनि गाह्रो भएको छ । मुख बन्द, नाक बन्द , मर्दाका मलामी र पर्दाका छिमेकीहरु पनि छुटेका छन् । बाफरे यस्तो भयावह स्थिति किन आयो त ? विज्ञानको आँडमा जतिसुकै घमण्ड गरेपनि प्रकृतिसँग जो कोहीले पनि झुक्नुपर्ने रहेछ भन्ने कुरा प्रष्ट भएको छ । नत्र निमेशमा पूरा विश्वलाई नै तहसनहस पार्न सक्ने अमेरिका चाइना , जापान जस्तो देश पनि आज किन नतमस्तक भएका छन् त ??
हो केही गल्ती अवश्य भएको छ । हामीले महशुस गरिसकेका छांै । हाम्रो जीवन शैलीलाई हमेसा एकदम ब्यालेन्समा राख्नुपर्ने जरुरी देखिन्छ । जोसँग पनि जतिखेर पनि नजिक हुन खानपिन भेला समारोह गर्नको लागि पनि अत्यन्तै सजगता अपनाउनु पर्ने अवस्था आएको छ । अस्वाभाविक तडकभडक , देखावटीपन गर्न जरुरी छैन । यो धर्ती यो जीवन के का लागि त ? हामीले अर्वौ संगालेर राखेपनि के गर्नु ? त्यो धन ! जुन कुरा यो समयले प्रष्ट पारेको छ । एउटा सानो भाइरसको आतंक र त्रासमा महिनौंसम्म घरमै थुनिएर रहेका छौ । ठूलाठूला अपार्टमेन्टहरु, डिपार्टमेन्टहरु, सुपमार्केटहरु , पाँच तारे होटलहरु , सिनेमा हलहरु , ठूलाठूला उद्योग कारखानाहरु सबै सबै बन्द भएका छन् ।
मान्छेको नजिकै जान नमिल्ने अवस्था आएको छ । एक दिन मात्र बन्द गर्नुपर्दा पनि खर्बौको घाटा बेहोर्नु पर्ने देशहरूले पनि त कैयन दिन सम्म बन्द रहनुपरेको छ । दिन के हो ? रात के हो ? छुट्टाउन नसकिने देशहरूमा पनि दिउँसै सन्नाटा छाएको छ । आखिर किन त ? कत्रा कत्रा विश्व युद्ध गर्न तयार हुने देशहरू पनि किन चुपचाप रहन सके त ? धनी र गरीब बिचको यति ठूलो खाडल किन ? आखिर के का लागि यो यत्रो घमण्ड ? महिनौंसम्म थन्क्याएर राख्न सकिने रहेछ त करोडौं अर्वौका जहाज हेलिकप्टर र चिल्ला कारहरु ? तेल खानी, कोइला खानी, हिरा मोती सुनचाँदी आखिर के का लागि ? जीवन भन्दा बहुमुल्य कुरा अरु रहेछर ? मृत्यु सबैको जीवनको अकाट्य सत्य हो थाहा छ तर पनि त्यो सत्यलाई किन स्वीकार गर्न डराउँछ त मान्छे ? धेरै प्रश्नहरू अनुत्तरित छन् । तर सत्य यही हो कि, मान्छेलाई आफ्नो जीवन प्यारो छ र सर्वश्रेष्ठ कुरा पनि यही हो । अब कुरो यहाँनेर आउँछ । यदि जीवन प्यारो छ सर्वश्रेष्ठ छ भन्ने कुरा थाहा छ भने हामीले हाम्रा रहनसहन बानी ब्यवहार र दैनिकीलाई सन्तुलनमा किन नराख्ने त ?
अब के गर्ने त ? जीवन कसरी बिताउने ? अबको समाज कस्तो हुने ? हामीले कस्ता कर्महरु गर्ने ?
अब हामीले आफ्ना दैनिकीहरुलाई बदल्नै पर्छ । हरेक कुराको पङ्च्युलिटी हुनैपर्छ । हरेक दिनको दैनिकीलाई बिहान चार र पाँच बजे देखि नै सुरु गर्ने । यसको लागि साँझको खानपिन र निद्राको पनि ब्यालेन्स मिल्न जरुरी छ । बिहान चार र पाँच बजे उठ्नको लागि त साँझ दस बजे सम्ममा सुत्नु पर्यो । हाम्रो शरीरलाई खाना जत्तिकै आवश्यक निद्रा पनि त अनिवार्य छ । दुई घन्टा शारीरिक ब्यायाम, योगा ध्यान आसनहरु गर्ने । योगलाई मानव जीवनको अभिन्न अंग जस्तै बनाउन जरुरी छ । योग मात्र एउटा यस्तो विज्ञान हो जसले मन र शरीरलाई हमेसा सन्तुलन बनाएर राख्छ । शरीरको स्फूर्ति र मनको स्वच्छता बनाई राख्छ । हाम्रा सोचाइहरु असल भए मात्रै कर्महरु असल र सफल हुन्छन् । जीवनलाई सदैव १८० डिग्रीको कोणको ब्यालेन्समा सन्तुलित राख भन्छ गणितले पनि । त्यो भन्दा माथि पनि जान नदेऊ र तल पनि झर्न नदेऊ । तल झरे लो , माथि चढे हाइ , हो यति खाआंै जति पचाउन सक्छौं यो होइन कि, खाइहालौं पचाउन नसके देखा जाएगा । यस्तै सोचाइले आज यो अवस्था आएको हो जस्तो मलाई लाग्छ ।
इतिहासको कुनै काल खण्डमा धर्तीमा धेरै पाप अधर्म र अपराधहरु बढ्दै गएपछि , भगवान रामले जन्म लिनु भएको थियो, श्रीकृष्णले अवतार लिनुभएको थियो । बुद्दले उपदेश दिनुभएको थियो । यो सत्य हो कि अहिले पनि कोरोना भाइरसको नामबाट विश्वका हामी मानव जातीलाई ठूलो सन्देश दिन भगवानले यो सब गर्नुभएको हो जस्तो मलाई लाग्छ । हो कोही त छ यो चराचर जगतमा कि, हाम्रा हरेक क्रियाकलापलाई नियालि राख्नुभएको छ । केही त अदृश्य शक्ति छ जसलाई हामी दैवीय शक्ति भन्ने गर्छौ । जसले हाम्रा कर्महरुको हिसाब किताब मज्जाले गरिरहेको छ । नत्र विश्व बिज्ञानले के गरेको छैन र ? वायुयान बनायो , चन्द्रमामा बस्ती बसायो , अनु, प्रमाणु, अनुबम , यटमबम अस्त्र सस्र क्षेप्यास्त्र सबै बनायो । मान्छेकै प्रति रुप बनायो , रोबर्ट बनायो तर पनि खै त ? त्यो मुटुको धमनी हुँदै नसा नसामा बग्ने रगत बनाको ?? सबैभन्दा ठूलो कुरा महशुस गर्ने मन बनाको ? खै किन सकेन विश्व विज्ञानले ? किन डरायो सानो जीवाणुसँग ? किन पस्यो महिनौं दुलो भित्र ? धर्म संस्कृति र भगवान छैनन् भन्नेहरु पनि किन आत्तिए त ? विज्ञान र औषधिले मात्रै मान्छेलाई बचाउन सकिने भए किन मरे त यतिका मान्छेहरु ?
आज एक्काइसौं सताब्दी विज्ञानको युग होइन यो ? कुरो धेरै गम्भीर छ । तर सरल रुपमा यत्ति बुझे भयो कि,भगवानको मर्जी बिना एक पत्ता पनि हल्लिंदैन रहेछ यो धर्तीमा । हामीले चाहँदैमा रातमा दिन हुने र दिनमा रात पर्ने होइन रहेछ । फूल फुल्नु र झर्नुमा मात्र प्रकृतिको हात रहेनछ । प्रकृति भन्दा पनि माथि अर्को एउटा तत्व छ जसले प्रकृतिलाई पनि आफ्नो इसारामा चलाउँछ । चलाइरहेको छ र चलाइरहने छ । यति कुरामा चाहिँ ढुक्क भए हुन्छ ।
अर्बौं खर्बौ बैंक ब्यालेन्स हुनेहरुले पनि औषधि किनेर आफु र आफ्नालाई बचाउन सकेनन् भने के गर्नु तेत्रो धेरै धन ? किन सधैं धनि बन्ने चाहमा दौडिरहेने ? के गर्यो त्यो लाखले ? के गर्यो अरब र खरबले ? मृत्यु त जुनसुकै रुपमा जतिबेला पनि त आउँन सक्ने रहेछ त ! फेरि किन यो लालच ? किन हत्या हिंसा ? किन सत्ता र शक्तिको दम्भ ? किन काटमार लडाइँ झगडा ? आखिर के का लागि ? एकमुठ्ठी खान र एकसरो लाउन कै लागि पापै गरेर बिध्वंसै गरेर बाँच्नु पर्ने आखिर के का लागि ? ज्ञान कहिल्यै लड्दैन । एक आपसमा गीत र कुरान कहिल्यै लडेनन् । लड्ने भनेका त मान्छेका सोंचहरु हुन् । लडाउँने भनेको हाम्रो समाजको विज्ञान हो । नत्र ज्ञान त आँफैमा पूर्ण छ । यो कहिल्यै लड्दैन । ( आइसोलेसनमा रहेकी उद्यमी शाहको अनुभूति )

आइसुलेसनका यी चौध दिनहरूले धेरै कुरा सिकाएको छ । अहिलेको यति सजिलो टेक्नोलोजीको जमानामा त हामीलाई चौध दिन एक्लै बस्न यति कठिन भयो भने त्यो युगमा रामलाई कति कठिन भयो होला ? राम राज्यको सुख सयल छोडेर एक अवला नारी र मासुम भाइको साथमा बनवास निक्लदा उनलाई कस्तो भयो होला ? बनवासका ती दिनहरूमा पनि पत्नी गुमाउनु पर्यो । शक्तिशाली रावणसँग युद्ध लड्नुपर्यो । उनले चौध बर्ष बनवासमा बसेर कठिन जीवन यापन गरेको संघर्षरत जीवनीले गर्दा नै त आज सम्म रामको महिमा हामीमाझमा जिवन्त छ । भनिन्छ सबै हुरी बतास तहसनहस पार्नको लागि मात्रै आउँदैन । कतिपय हुरी बतास कसिङ्गर र धुलो मैलो उडाउनलाई पनि आउँछ । बस् यत्ति भएको हो । यो समयले यति चाँहि सिकायो सबै आफ्ना आफ्ना हुँदैनन् सबै पराइ पराइ हुदैनन् ।
आत्म मुल्यांकन गर्ने र आत्मालोचना गर्ने समय प्रसस्त मिलेको छ । आभारी छु यो समय प्रति ।

अब कोरोनासँग डराएर होइन डटेर बाँच्नुपर्ने बेला आएको छ । आफु सुरक्षित छु तर अरु ब्यक्ति सुरक्षित नहुनसक्छन् भन्ने सोच हमेसा मनमा राख्नुपर्यो । बाहिर निक्लँदा माक्स लगाउने , हरेक पटक पटकमा हात धुने, सरसफाइमा ध्यान दिनुपर्यो । घर बाहिरबाट घरमा जाँदा साबुनपानीले हात खुट्टा धोएर , सकेसम्म कपडानै सर्लक्क फेरेर सेनिटाइजर लगाएर मात्रै किचनमा, बेडरुममा जाने । सन्तुलित भोजन निद्रा देखि लिएर हरेक कुरालाई ब्यालेन्समा राख्न अत्यन्तै जरुरी छ । सिजनेवल रुघाखोकी ज्वरो जस्ता कुराहरूले आत्तिहाल्नु पर्दैन । आफुलाई कोरोना लागेको छ कि ? छैन भनेर घरमै बसेर हामीले स्वजाँच पनि गर्न सक्छौ । हाम्रा इन्द्रीयहरुले महसुुस गर्नसक्ने कुरा जस्तै गन्ध सुगन्ध नाकले सधैं झै थाहा पाइरहेको छ कि छैन ? खानाको स्वाद अमिलो गुलियो जिब्रोले छुट्याएको छ कि छैन ? नर्मल समयमा जस्तो स्वास प्रश्वासमा केही कठिनाइ भएको छ कि ? यस्ता लक्षणहरुको बारेमा आफु सचेत हुन जरुरी छ । यस्ता लक्षणहरु देखिएका छन् । कमजोर अनुभव हुँदै गएको छ भने तुरुन्तै स्वास्थ्यकर्मी कहाँ जानसक्छौँ । पिसिआर जाँच गरेर पोजेटिभ आइहाल्यो भने पनि आत्तिहाल्नु पर्ने केही छैन । जतिबेला पनि तातोपानी पिउने , गुर्जो, अदुवा , टिम्मुर, बेसार , कागती जस्ता कुराहरू प्रयोग गर्ने । सकारात्मक सोचाइ राख्ने आफु आफै सचेत रहेर घरपरिवार र अरुको सम्पर्कमा नजाने । शरीरबाट पसिना निकाल्ने योग गर्ने । शारीरिक ब्यायाम गर्न अत्यन्तै जरुरी छ । यति गरेपछि कोरोना हाम्रो शरीरमा प्रवेश गरेकै भए पनि केही दिनमा सहजै निष्कृय भएर जाने छ ।

कोरोना संक्रमितलाई अवहेलना गर्ने , तुच्छ ब्यवहार गर्ने गर्नुहुँदैन । यो अदृश्य भाइरस हो जसलाई पनि सर्न सक्छ । रोग लाग्यो भन्नू भन्दा पनि यसको प्रकृतिले निराश बनाएको छ । कोरोना संक्रमितको घर भन्दै उनिहरुलाई औल्याउने कुरा काट्ने काम गर्नु मानवता होइन । सक्नुहुन्छ भने राम्रो कुरा गरौ हौसला दिनुस् नत्र नराम्रो पनि नभन्नुहोस् । तपाईहरुका राम्रा वचनहरुले संक्रमितलाई हौसला मिल्छ भने नराम्रो ब्यवहारले डिप्रेसनतिर लैजान्छ । त्यसैले एशि…….!

चौध दिनको एकान्त बास पछि अब भोलि म घरमा जानेछु । मेरो दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । मैले कोरोनालाई पराश्त गरेर बिजयी भएको छु । खुसीले प्रफुल्ल भएको छु । यसमा यहाँहरुको दुवाँ र आशिर्वादले धेरै ठूलो भुमिका खेलेको छ । मेरो जीवनका जिउँदा भगवान बुवा मुवा ससुरा बुवा र मुवाहरुको असिम आशिर्वाद सवभन्दा ठूलो शक्ति भयो । त्यसपछि हाम्रो जीवनमा घर नै सबैभन्दा ठूलो कुरा हो । संसार साथमा भएपनि घर साथमा छैन भने मान्छे एक्लो एक्लो हुन्छ यो सत्य हो । मलाई हरपल आफु साथैमा भएको आभाष दिलाउँदै साथ दिइरहने जीवन साथी प्रति प्रेमिल छु , आभारी छु , कृतज्ञ छु । छोराहरु जो आँफु रुँदै पनि मलाई हँसाउन हरपल प्रयत्नशील रहे । कम्पनीका दाजुहरु सम्पूर्ण स्टाफहरु , उधोग ब्यवसायका सहपाठी समकक्षी साथीहरू , संघ संस्थाका सहपाठी साथीहरू , साहित्य जगतका अनन्य मित्रहरू, चीरपरितित सबै सबै आफन्त इष्टमित्रहरु , दाजु भाइहरु अति नजिकका या दुरका साथीहरू सबै सबै जना यो बेला अत्यन्तै नजिक रहनुभयो । सबै जनाले हौसला दिइरहनुभयो । शु स्वास्थ्यको कामना गरिरहनु भयो । मलाई नजिक अँझ नजिकैबाट नियालेर मलाई बुझेर मेरो अन्तस्करण सम्म पुगेर हरपल कामना गरिरहनु भयो जो ब्यक्तित्वहरु अत्यन्तै स्पेसल रहनुभयो । उहाँहरुको यो गुण जीवन्त भुल्न सक्ने छैन । मेरा लेख र पोष्टहरु पढेर जुन जुन ब्यक्तित्वहरुले सम्झिरहनु भयो । उहाँहरु सबै सबैलाई कसरी भुल्न सक्छु र ??
कतिपय ब्यक्तित्वहरु जो दैनिक जीवनमा अत्यन्तै नजिक रहनुहुन्थ्यो तर यतिबेला धेरै टाढा भएको अनुभुती दिलाउँनु भयो । मलाई पढेर पनि देखेर पनि अन्देखा गर्नुभयो । शुभेच्छाका केही शब्दहरु पनि दिनसक्नु भएन । यतिबेला क कसले सम्झनु भयो ? भनेर खुव चासो हुँदोरहेछ । उहाँहरुलाई पनि धेरै धेरै धन्यवाद छ । उहाँहरुले नै जीवनको खास अर्थ बुझ्न प्रेरित गराउनुहुन्छ यो चाहिँ सत्य हो । यो समयमा विभिन्न खानेकुरा फलफूल मेरो नाममा काउन्टरमा छोडेर जानुभएको छ कतिपय साथीहरूले उहाँहरु प्रति अत्यन्तै आभारी छु । जसले आफ्नो नाम पनि नभनेर मेरो नाममा फलफूल अन्य सामग्री छोडेर जानुभएको छ । उहाँहरुले आफै आफैले मम भनेर ग्रहण गर्नुहोला धेरै धेरै धन्यवाद पठाएको छु । पुस्तक केही अत्यावश्यक सामाग्री र आयुर्वेर्दिक औषधि जडिबुटी पठाएर सहयोग गर्नुहुने साथीहरू प्रति झन् धेरै आभारी छु । प्रत्यक पानीका घुटहरुसँगै अनगिन्ती सम्झेको छु । पुराना स्कुल कलेजका साथीहरू , शिक्षक गुरुवर्गहरु जसले सम्झनुभयो । फोन र म्यासेन्जर ,फेसबुक, टुइटर , ह्वाटसपबाट निरन्तर शु स्वास्थ्यको कामना गर्नुहुने सबै सबै प्रति नतमस्तक छु ।

मृत्यु शैयामा मात्रै मान्छे एक्लै जाने रहेछ नत्र साथीहरू त जहाँ पनि भेट्दो रहेछ मान्छेले । चौध दिन सम्म आइसुलेसनमा बसेका सहपाठीहरु सबैलाई धेरै सम्झिने छु । हरेक दिन साँझ बिहान खाना बोकेर माथि उक्लने भाइहरु, किसान अन्नदाताहरु , हरेक साँझ र बिहान चौबीसै घन्टा खटिएका स्वास्थ्यकर्मीहरु , पहरेदार भएर तैनाथ रहेका सुरक्षाकर्मीहरु सबै जनालाई धेरै सम्मान छ । बाँकी जो जताबाट सम्बन्धित हुनुहुन्छ सबै प्रति आभारी छु ।

मान्छेको मन पनि कति बिचित्रको छ है ? चौध दिन पहिले घर छोड्दा रोएको थिएँ अब यो कोठा नं ५१७ छोड्दा रोएको छु । जुन कोठामा म एक्लै सबैभन्दा लामो र कठिन समय बिताउन सफल भएँ । जुन कोठामा बिछ्याइएको तन्ना भरी मेरा आँसुहरु खसेका छन् र कोठाभरी हाँसोहरु गुन्जिएका छन् । एउटा तकियालाई बेसरी प्यापेर अरु सान साना कुसनका डल्लाहरुलाई वरिपरि राखेर सुतिरहँदा छोराछोरी घर परिवार सँगै छु जस्तो लाग्थ्यो । दुईवटा कुर्सी र टेवल दुई खापा भएको दराज , दुईवटा गिलास , दुईवटा चम्चा र कचौरा दुई दुईवटा थिए । कोठामा चप्पल दुई जोडी थिए । एकजोडा जेन्स एक जोडा लेडिजमा सबै दुईवटा तर म एक्लो थिएँ । कुनै एक जोडि भएर भ्रमणमा आएका यात्रीहरु बस्थे भने यही कोठा कति प्रेमिल हुन्थ्यो होला सोचिरहन्छु । म पालैपालो दुबै जोडी चप्पलहरुलाई लगाउँछु र यतै कतै अरु कोही भएको आभाष गर्छु । कोठाको भित्तामा अडिएकी टि भी रिसाइछिन् मसँग चौध दिन सम्म बोल्दै बोलिनन् । जबर्जस्ती बोलाउँन पनि चाहिन । धारा, ट्वाइलेट, सबै ठाउँको याद मनमा बसेको छ । म कति हाँसे ? कति रोए ? कति नाँचे ? कति मरें ? कति बाँचे ? कसलाई सम्झेँ कसलाई बिर्से सबैभन्दा बढी थाहा छ कोठाको भित्तामा झुन्डिएको ठूलो ऐनालाई किनकि ऐनामा हेरेर नै म मेरो प्रतिरुपलाई नियाल्ने गरेको छु ।
आज फेरि भावुक बनाएको छ मन । सबै सबै चिजलाई एकचोटि फेरि छुन्छु । मध्य रातमा बिउँझिएर लाइट बाल्छु फेरि निभाउँछु । अध्यारो र उज्यालो बिचको अन्तरलाई महसुस गर्छु । सानो झ्यालको पर्दा सुर्क्याउँछु । अँध्यारो ब्याप्त रहेछ । झ्यालमा मेरो किरण थिएन । जो हरेक बिहान मलाई उठाउन आउँछ भएभरको लाली बोकेर । सोच्छु ,“ मेरो किरण ईन्देणीका सातै रंगहरुसँग खेल्दै होला । भोलि आउँने छ झलमल्ल उज्यालो बोकेर भो अहिले सुत्छु । घम्लङ् बिस्तरामा पल्टिन्छु । एकैछिनमा निदाउँछु । सुन्दर सपना देख्छु ,“ कोरोना भाग्दै भाग्दै धेरै टाढा जादै थियो । म हातमा उज्यालो किरण बोकेर लखेट्दै थिएँ। अचानक बिउँझन्छु । उज्यालो किरणले सानो झ्यालबाट चिहाइरहेको हुन्छ । किरणको ज्योतिलाई आफु भित्र समाहित गर्छु र म हतार हतार तल झर्छु अनि घरतिर लम्कन्छु । आफुलाई अँझ धेरै बुलन्द र सशक्त पाउँछु तब म मा कुनै पनि कुराको भय, त्रास, या पश्चाताप रहँदैन । कोरोना संक्रमितलाई देखेर भाग्नेहरु भागिरहन्छन् । निर्धक्क हिड्छु, म ठाडो शिर गरेर…….!(आइसोलेसनबाट उद्यमी शाहको अनुभूति)

प्रतिक्रिया

प्रतिक्रिया