उकालो चढ्दै संक्रमण, सापटीमा चल्दै भेरी अस्पताल

बाँकेमा कोरोना कहरले सन्त्रस्त पारिरहँदा त्यसको उपचारमा नेतृत्व लिइरहेको भेरी अस्पताल भने थलिएको छ । कोरोना कहर सुरु भएदेखि सफल व्यवस्थापन गरेको भेरीमा कम्प्युटर अपरेटर अरुण खनाललाई स्रोत नखुलेको १६ लाख बढी रकम सहित पक्राउ गरेदेखि अस्पताल थलिएको हो ।

‘अख्तियारको छायाँले अस्पताल पुरै गलेको छ’, कर्मचारीहरु भन्छन्, ‘जोखिम बढ्दै जाँदा अस्पताल नेतृत्वविहीन छ ।’ सम्बद्ध स्रोतका अनुसार, गत साता बुधबारदेखि मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा सहित आधा दर्जन कर्मचारी अख्तियारको बयानमा काठमाडौं पुगेका छन् । ‘लेखा पुरै खाली रहेको छ । लेखा अधिकृत माधव प्रसाद आचार्यसहित लेखा शाखाका सबै कर्मचारीलाई काठमाडौं अख्तियारमा बोलाइएकोमा मंगलबार स्टोर प्रमुख केशव पौडेललाई समेत झिकाइएको छ । पौडेल त्यसबीच विदामा रहेकाले थप कुरा बुझ्न अनुसन्धानका लागि बोलाइएको स्रोतको भनाइ छ ।

‘अस्पताल जस्तो संवेदनशील ठाउँमा घटना भएकाले अख्तियारले सोही अनुरुप छिटो टुङ्ग्याइदिनुपर्छ’, सरोकारवालाहरुको भनाइ छ, ‘दोषी हुन् भने कारवाही गरी नयाँ व्यवस्थापनको बाटो खोल्नुपर्छ, होइन भने छिटो टुंगो लगाएर काम गर्ने वातावरण बनाइदिनुपर्छ ।’

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल प्रमुख र लेखा प्रमुख समेत नहुँदा संवेदनशील अवस्थामा काम गर्न गाह्रो भैरहेको बताएका छन् । ‘तर, अख्तियारलाई छिटो टुङ्ग्याइदेऊ भनेर हामीले भन्न मिल्दैन,’ उनले भने, ‘अख्तियारले संवेदनशील अवस्था बुझेर छिटो टुङ्ग्याइदिनेमा विश्वस्त छौं ।’ उनका अनुसार, लेखा र स्टोरका कर्मचारी नहुँदा परेको समस्या समाधानका लागि करारमा कर्मचारी लिन पनि दरबन्दी अभावले सकिएन ।

‘सापटका भरमा काम चलाउनु परेको अवस्था छ’, लेखा फाँट बन्द हुँदा दैनिक खर्च धान्न गाह्रो भैरहेको प्रसंग उठाउँदै अध्यक्ष धितालले भने, ‘यसबारे मन्त्रालयलाई पनि जानकारी भैसकेको छ ।’ समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले अख्तियारको अनुसन्धानमा अस्पतालले सहयोग गरेकाले अस्पताल चलाउन अख्तियारले पनि छिटो, छरितो अनुसन्धान प्रक्रियालाई टुङ्गोमा पुर्याएर सघाउनु पर्ने बताए । ‘यो संवेदनशील अवस्थालाई अख्तियारले नजरअन्दाज गर्नु हुँदैन’, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठले अस्पताल मियो बिनाको दाइँ भैरहेको टिप्पणी गर्दै भने, ‘जोखिम बढ्दै जाँदा अस्पताल लामो समय नेतृत्व विहीन रहिरहनु ठूलो दुर्घटनाको निम्तो हो ।’

लक्षण सहितका बिरामी नेपालगन्ज उपमहानगरपालिकाका एक जना संक्रमित खजुरा स्थित आइसोलेसन अस्पतालमा भर्ना भए । दोस्रो दिन अवस्था बिग्रिएपछि अक्सिजन दिइएका उनको एक्सरे गर्नुपर्ने अवस्था आयो । क्यान्सर अस्पतालले प्रयोग गर्दै आएको एक्सरे कोरोनामा प्रयोग हुँदा संक्रमणको जोखिम हुने देखिएपछि समस्या भयो । अर्को एक्सरे मेसिन कसरी जुटाउने ?
दिनहुँ कोरोना संक्रमणका बिरामी थपिंदै गएपछि स्वास्थ्यकर्मीहरुको ओहोरदोहोर स्वभाविक रुपमा बढ्यो । अस्पतालका गाडी अख्तियारको बयानमा जाने कर्मचारीहरुले लिएर गए । ‘स्वास्थ्यकर्मी कसरी नेपालगन्ज–खजुरा गर्ने ?’, आर्थिक अभाव झेलिरहेका कर्मचारी भन्छन्, ‘न कार्यालय प्रमुख हुनुहुन्छ, न लेखा प्रमुख, सापटी र उधारोमा कतिञ्जेल चलाउने ।’

‘पूरै अस्पताललाई समस्या भएपछि हाम्रो डिपार्टमेन्टलाई मात्रै समस्या नहुने भन्ने कुरै भएन,’ भेरी अस्पताल नेपालगन्जका मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठले भनिन्, ‘लकडाउन छ, सबै कर्मचारी क्वाटरमा बस्नुहुन्न, कोही हवल्दारपुर त कोही कोहलपुरबाट डियुटीमा आउनु पर्छ ।’ उनले अस्पतालका दुई वटा गाडी काठमाडौं गएको र अर्को कोरोना अस्पतालका लागि खाना बोक्नका लागि मात्रै प्रयोग भएको जानकारी दिंदै भनिन्, ‘स्टाफ बोक्न कसलाई भन्ने समस्या रहेको छ ।’

मेट्रोन दुर्गा लक्ष्मी श्रेष्ठले सबै आर्थिक अधिकार भएको कर्मचारी नहुँदा पनि समस्या हुने बताइन् । ‘लेखा र स्टोर नहुँदा कसलाई भन्ने ?, समस्या हुन्छ’, उनले भनिन्, ‘आमा सुरक्षा कार्यक्रम चलिरहेको छ, कुनै औषधी स्टोरमा नहुँदा बिरामीलाई औषधी दिन नै समस्या हुन्छ ।’
कोरोना अस्पतालमा बिरामी बढिरहेको छ । ‘लक्षण सहितका बिरामी देखिन थालेका छन्’, उनले भनिन्, ‘भेरीले आइसोलेसन अस्पताल खजुराको व्यवस्थापन गरिरहेको छ, अब त्यहाँको व्यवस्थापन गर्ने कि यहाँको भन्ने पनि समस्या रहेको छ ।’ आर्थिक विना काम गर्न गाह्रो हुने गरेको उल्लेख गर्दै मेट्रोन श्रेष्ठले खजुराको आइसोलेसन अस्पतालमा रहेका बिरामीलाई सामान सप्लाई गरिरहनु पर्ने र सप्लायर्सलाई त्यसको भुक्तानी गर्नका लागि अधिकार प्राप्त कर्मचारी नहुँदा यी कार्यहरु प्रत्यक्ष प्रभावित हुनसक्ने बताइन् ।

गत सातादेखि लक्षण भएका कोरोना संक्रमित देखिन थालेकाले रेखदेख र उपचारमा थप ख्याल राख्नुपर्ने मेसु डा. खगेन्द्र शाहले जानकारी दिएका छन् । ‘कोरोना विशेष अस्पतालमा एक्सरे छ, तर त्यहाँ क्यान्सका बिरामीको पनि एक्सरे गरिने भएकाले त्यहाँ कोरोनाका बिरामीको एक्सरे गर्न मिलेन’, उनले भने, ‘त्यसैले त्यहाँ एक्स्ट्रा पोटेबल मेसिन चाहिएको छ ।’

नियमित खर्चका लागि नै समस्या भैरहेको भेरी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. शाहले बताएका छन् । ‘अहिले पीसीआर बढिरहेको छ, अहिलेसम्म खजुराको कोरोना अस्पतालमा लक्षण बिनाका संक्रमित हुनुहुन्थ्यो, अब लक्षण सहितका कोरोनाका संक्रमित उपचारमा रहनुभएकाले उपचारका क्रममा थप पूर्वाधारहरु आवश्यक पर्न सक्छ,’ उनले भने ।
धेरै कुराहरुमा आर्थिक कुरा जोडिएको उल्लेख गर्दै निमित्त मेसु शाहले सामान खरिदका लागि काम चलेपनि समस्या भने रहेको बताएका छन् । ‘सामान्य खर्च त चलिरहेका छ, मेजर खर्च गर्न सकिने अवस्था छैन, लामो समयसम्म यस्तै अवस्था रहे ठूलै समस्या हुन्छ’, उनले भने ।

भेरी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. खगेन्द्र शाहले को®ोना प®ीक्षणमा चुस्तता ल्याउन सरकारले अस्पताललाई पठाएको अटोमेटेड आ®एनए एक्सट्रयाक्सन मेसिन सञ्चालनका लागि अझै केही दिन लाग्ने बताएका छन् । ‘मेसिन इस्टलेसनकाका लागि काठमाडौंबाट यूटिलिटि आउँदै छ’, उनले भने, ‘मेसिन जडान पछि अहिले हातले गरिरहेको काम अब मेसिनले गर्छ, त्यसले परीक्षणमा तिव्रता आउनेछ ।’

प्रतिक्रिया

प्रतिक्रिया