२ जनाको हत्या योजना सहित प्रवेश गरिरहेका बेला प्रहरीको फन्दामा
बाँके नरैनापुर गाउँपालिका वडा नं.४ घोडदौरिया नाकाबाट नेपाल तर्फ हतियार सहित प्रवेश गरिरहेका एक भारतीय नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
भारतबाट मल तस्करी समेतमा भूमिका खेल्दै आएका र गत वर्ष नरैनापुर इलाका प्रहरी कार्यालयमा आक्रमण र तोडफोड कार्यमा समेत संलग्न रहेका सुपारी सूटर भारत जिल्ला श्रावस्ती थाना मल्हीपुर ग्राम पंचायत अस्नहरिया घरदौरिया बस्ने अं.वर्ष २२ का लल्लुराम धोबी पक्राउ परेका हुन् ।
उनी संगै सूटरको काम गर्दै आएका लल्लुरामका छोरा राम कुमार धोबी फरार भएको प्रहरीले जनाएको छ । नेपाली क्षेत्रमा विभिन्न तस्करी र रकम लिएर हत्या सम्बन्धी कारोबार गर्दै आएका बाबु छोरालाई खोजी सूचीमा राखिएको थियो, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी इन्चार्ज मान बहादुर बिसीले भने, पक्राउ नपरेको भए, नरैनापुर ४ बस्ने मेराज खाँ र भूरे भन्ने इस्लाम खाँको हत्या योजना उनीहरु संग थियो ।
पक्राउ परेका लल्लुरामबाट कटुवा पेस्तोलमा प्रयोग हुने गोली(कारतूस) थान ५ बरामद भएको प्रहरीले जनाएको छ । पेस्तो राम कुमार धोबीले लिएर भारतीय क्षेत्रमा फरार भएको प्रहरी भनाई छ ।
उनीहरु उपर ज्यान सम्बन्धी कसूर र हात हतियार खरखजाना मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।











