उपभोक्ता शिक्षा र बजार अनुगमनमा जोड
नेपालगंज उपहानगरपालिका अन्तरगतको हित संरक्षण समितिको बैठकले उपभोक्ता हित सम्बन्धि ११ बुदे कार्ययोजना पारित गरेको छ ।
समितिका संयोजक एवं नेपालगंज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यतामा बसेको बैठकले उपभोक्ता संचेतना कार्यक्रम, बिद्यालयमा उपभोक्ता शिक्षा, बजार अनुगमन लगायतका एक बर्षे कार्ययोजना पारित गरेको उपभोक्ता हित संरक्षण समितिका सदस्य सचिव एवं नगरपालिकाका अधिकृत बिमल गुरुङ्गले जानकारी दिए ।
समितिको बैठकले अत्यावश्यक बस्तु तथा सेवाको माग र आपुर्तिको क्षेत्रगत अवस्थाको बिश्लेषण गरि कार्यान्वयनमा ल्याउन क्षेत्रगत सरोकारवाला बिच अन्तरक्रिया गर्ने, बजारको माग र आपुर्तिको अवस्थाको बारेमा ढाँचा तयार गरि स्थलगत संर्बेक्षण गर्ने, बस्तु तथा सेवा आपुर्तिकर्ताका प्रतिनिधिहरुसंग अन्तरक्रिया गर्ने, कार्यतालिका बनाई नियमित बजार अनुगमन गर्ने, बस्तु र सेवाको स्थिति बारे नियमित तथा आवश्यकता अनुसार बजार अनुगमन गर्ने र बर्षभरि गरेका काम बारे गुबार्षिक प्रतिवेदन प्रकाशन गर्ने कार्ययोजना पास गरेको समितिकी संयोजक समेत रहेकी उपप्रमुख उमाथापा मगरले जानकारी दिईन ।
समितिको बैठकमा समितिका संयोजक एवं उपप्रमुख उमा थापा मगर, महानगरपालिका आर्थिक बिकाश समिति संयोजक मञ्जु नेपाली, उपभोक्ता संरक्षण समितिका सदस्य सचिव बिमल गुरुङ्ग, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौडले, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरिक्षक नेत्रा बोगटी, गुणस्तर तथा नापतौल कार्यालय नेपालगंज प्रमुख योगेन्द्र पौडेल, नेपालगंज उद्योग बाणिज्य संघका प्रवक्ता टंक धामी, जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत गणेश न्यौपाने र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जयराम चौधरी लगायतको सहभागिता रहेको थियो ।
बैठकमा समितिले तयार पारेको कार्ययोजनालाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न अन्य बिषयगत सरकारी कार्यालयसंग समन्वय गरेर अगाडी बढ्नु पर्ने र उपभोक्ता ठगिका घटना हुन नदिन उपभोक्ता शिक्षा र बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य वसन्त गौतमले जोड दिएका थिए ।











