
सतिश निरौला
साइकल सर्वाधिक सजिलो, सस्तो र सहज सवारी साधन हो । साइकलको आविष्कारसँगै मानिसको दैनिक दिनचर्या र कामकाजमा क्रान्तिकारी परिवर्तन आयो । कोशौकोस हिडेर पुग्नु पर्ने, कुन्टलौका भारी टाउकामा बोक्नुपर्ने लगायतका समस्या साइकलको आगमनसँगै सहज भएर आए । यातायातको चमत्कारिक साधनको रूपमा आएको साइकल आज सम्मपनि उति नै बिश्वासिलो, भरपर्दो र सजिलो यातायातका रूपमा मानिसको दैनिक जिवनमा देखापर्नुले अहिले पनि साइकलको महत्व देखाएकै छ ।
साइकल युद्धमा सैनिकका लागि समेत प्रयोग भएको, सेना र प्रहरीले पनि साइकल प्रयोग गर्ने गरेको इतिहास छ संसारमा । साइकलको संसार गज्जबको नै छ, रेडियो, घडी, टेपरिकर्ड, वाकमेन, टाइपराइटर, भिसिआर, भिसिपी, सिडि प्लेयर जस्ता आविष्कारलाई आज सूचना र प्रबिधिको क्षेत्रमा भएको बिकासले ठुलो धक्का दियो । तर, यातायातको क्षेत्रमा हवाईजहाज, हेलिकप्टर, ट्रेन, बस, जिप, कार, मोटरसाइकल जे जे आएपनि साइकलको महत्व र प्रयोग अझै पनि उत्तिकै छ ।
साइकल तराई र ग्रामीण क्षेत्रमा जति प्रयोगमा छ त्यति सहरी क्षेत्रमा देखिदैन तर आजभोलि दैनिक शारीरिक ब्याम, खेल र मनोरञ्जन अनि सौखका रूपमा शहरी क्षेत्रमा साइकलको प्रभाव बढ्दो छ । नेपालगन्ज शहर तराई भएको हुँदा यहाँ साइकलको प्रभाव अनि साइकल नचालाएका कमै भेटिन्छन् । ४० बर्ष उमेर काटेकाहरु प्राय तर नेपालगन्जमा हुर्केका ४० मुनिको पुस्तामा साइकलको प्रभाव कम नै छ । आजभोलि साइकल त्यो पनि गियर भएको अनि ब्रान्ड समेत हेरेर किन्ने कल्चर नेपालगन्जमा बढ्दै गएको छ, नेपालगन्जमा अहिले सबभन्दा बढी रुचाइएको र धेरैले छनौट गरेको ब्रान्ड हो ट्रेक, डेढबर्ष अघि नेपालगन्जमा नेपालगन्ज बाइसाइकल्स प्रालिले आफ्नो सेवा सुरु गरेदेखि भित्र्याएको यो ब्रान्ड पत्रिका भनेकै गोरखापत्र भन्ने प्रभाव जस्तै नेपालगन्जमा माउन्टेन बाइकको चर्चा हुनासाथ ट्रेक कै नाम लिइन्छ । छोटो समयमा नै नेपालगन्जमा ट्रेक ब्रान्ड र माउन्टेन बाइकिङ्ग कल्चर स्थापित भएको छ ।

झन्डै सय बढी मानिसहरूले अहिले नेपालगन्ज, कोहलपुर र खजुरा क्षेत्रमा माउन्टेन बाइकमा रम्नेहरु संख्या दिनप्रतिदिन बढ्दै गएको छ, नेपालगन्जमा साइकललाई खेल, स्वस्थ्य मनोरञ्जन र पर्यटनको बिकास र बिस्तारमा समेत हेर्ने गरिएको छ, साइकलवालाहरुको अगुवाई गर्ने नेपालगन्ज साइक्लिङ्ग क्लबले पर्यटन प्रवर्द्धनका लागि टुर दि ठाकुरद्वारको दुई सिरिज, नेपालगन्ज मेयर कप साइकल प्रतियोगिताको दुई सिरिज, विभिन्न अवसरहरुमा बिशेष साइकल यात्रा, नेपालगन्ज कोरा जस्तो महत्वपूर्ण साइक्लिङ्ग इभेन्ट र नियमित साइकल यात्राको लागि राइडर्शहरुसँग समन्वय गर्दै साइक्लिङ्गका गतिविधि अगाडि बढाउदै आएको छ । देशभर हुने साइक्लिङ्गका थुप्रै इभेन्टमा नेपालगन्जका साइक्लिस्टहरुले सहभागिता जनाउनुका साथै छिमेकी मुलुक भारतको श्रावस्ती र नैनितालसम्मको समेत यात्रा गएइसकेका छन् भने क्लबका खेलाडीले पोखरामा सम्पन्न दुवाथोलन र आठौं राष्ट्रिय खेलकुदमा क्रसकन्ट्री अन्तर्गतको बिधामा समेत नेपालगन्जबाट ३ जना साइक्लिस्ट सहभागी थिए ।

बाँके जिल्लामा नै एसको वरिपरि प्रशस्त आन्तरिक पर्यटकीय क्षेत्रहरू छन् र ती औधी रमाइला र मनमोहक छन् । अनि तिनि साँच्चै आन्तरिक पर्यटनका लागि उपयुक्त हुन् भन्ने बिषयको समेत नेपालगन्जका साइक्लिस्टहरु चर्चामा ल्याएका छन् । नेपालगन्जबाट २५ किलोमीटरपूर्व तर्फ लाग्दा लेक अर्थात् डाँडो भेटिन्छ भन्ने कुराको जानकारी नेपालगन्जमा वर्षौं देखि बस्दै आएका रैथानेले पनि सायदै थाहा पाएका छन् । निबुवाटार त्यही ठाउँ हो जहाँ मज्जाको हाइकिङ्ग दिनभरिलाई सम्भव छ । त्यहाँ टेन्टिङ्ग गरे रात बिताउन इच्छुकका लागि पनि त्यो उपयुक्त छ । अझ त्यो देखि माथि अर्को मनमोहक लेक छ जसलाई गाइलेक भनिन्छ । यस्ता थुप्रै ठाउँहरुको पहिचान साइकल यात्राको क्रममा नेपालगन्जका साइक्लिस्टहरुले गरेका छन् ।











