राष्ट्र बैंक नेपालगन्जले बैंकहरुको अनुगमन गर्ने भएको छ । कोभिड पछि सिर्जित समस्यापछि सरकारले घोषणा गरेको ब्याज अनुदान लगायतका विषय पालना भए नभएको बारे राष्ट्र बैंकले अनुगमन गर्ने भएको हो । सोमबार होटल व्यवसायीहरुले ब्याज अनुदान, पुनर्कर्जा लगायका विषय कार्यान्वयन नभएको गुनासो राखेका बेला राष्ट्र बंैक नेपालगन्जका निर्देशक मुक्ति प्रसाद सापकोटाले त्यसबारे बैंक सँगको समन्वयका लागि अनुगमन गर्ने बताएका हुन् ।
राष्ट्र बंैक नेपालगन्जका निर्देशकले राष्ट्र बैंकले भनेपछि बैंकले त्यसलाई पालना गर्नुपर्ने बताएका छन् । ‘राष्ट्र बैंकले भनेपनि त्यो पालना हुनैपर्छ’, निर्देशक सापकोटाले भने, ‘त्यसका लागि फलोअप, निर्देशन गर्नुपर्ने अवस्था नै आउनु हुँदैन ।’
निर्देशक सापकोटाले कुनै बैंकले पूर्व घोषित ब्याज छुट नदिएको भए स्टेटमेन्ट सहित लिखित उजुरी गर्न व्यवसायीलाई सुझाव दिएका छन् । ‘कसैले छुट पाउनु भएको छैन भने लिखित उजुरी गर्नुस् हामी त्यसका लागि हामी पहल गर्छौ’, उनले भने ।
निर्देशक सापकोटले होटल व्यवसाय क्षेत्रमा कोभिडको प्रभाव अन्य क्षेत्रमा भन्दा लामो समय रहने बताएका छन् । कोभिडका कारण ८०दिन कडाई र त्यसपछि मोडालिटी परिवर्तन गरेर लकडाउन खुकुलो बनाएको छ । लडकाउन खुकुलो भएपनि अन्य क्षेत्र जस्तो होटल व्यवसाय क्षेत्र सञ्चालनमा आउन सकेको छैन । राष्ट्र बंैक नेपालगन्जका निर्देशक सापकोटाले संक्रमणको जोखिम रहँदासम्म लकडाउन पूर्ण रुपमा हटेपनि होटल अझ गेष्ठ हाउस प्रभावित रहीरहने बताएका थिए ।











