दिनभरि मजदूरी गरेर घर जाँदा चर्काे गर्मीबीच अध्याँरोमा बस्नुपर्ने अवस्थाको अन्त गर्दै नेपालगन्ज १८ ले सुकुम्बासी वस्तीमा सोलार प्यानल उपलब्ध गराएको छ ।
विहीवार एक कार्यक्रमबीच नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ स्थित शान्तिनगर टोल नयाँवस्तीमा बसोबास गर्दै आइरहेका विपन्न समुदायका लागि वडाध्यक्ष दीपक कुमार वर्माले सोलार प्यानल हस्तान्तरण गरि उज्यालो कार्यक्रम शुभारम्भ गरेका हन् । वडा कार्यालयले आफ्नै पहल र प्रयासमा सोलार प्यानल वितरण गरेको वडासदस्य दिग्वीजय ढुंगानाले जानकारी दिए ।
वडाध्यक्ष वर्माले नगरभित्रैको वस्तीका बासिन्दा अध्याँरोमा बस्न नपरोस भनेर सोलार प्यानल सहयोग गरिएको जानकारी दिंदै विपन्न समुदायको बस्ती भएकाले नागरिकहरु अहिले पनि अध्याँरोमा बस्न बाध्य भएकाले आफुले संघीय मामिला मन्त्रालयमार्फत सहयोगका लागि अग्रसर भएको बताए ।
सोलारमार्फत उज्यालो वस्तीको परिकल्पना साकार भएकोमा निकै खुशी लागेको धारणा राख्दै वडाध्यक्ष बर्माले वस्तीका ५४ घरपरिवारलाई पुग्ने गरि सोलार प्यानल वितरण सुरु गरिएको बताए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत तराई–मधेस समृद्धि विकास कार्यक्रम अन्तर्गत गरिव, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रमा वैकल्पिक उर्जाको योजना वडा कार्यालयले ल्याएको हो । कार्यक्रम अन्तर्गत २५९ सोलार जडान गर्ने वडा कार्यालयको योजना रहेको छ । पाँच वटा बत्तिसहित एउटा पंखा समेत चल्ने क्षमताको सोलार प्यानल पाएपछि सुकुम्वासी बत्ति उज्यालो हुने विश्वासले गाउँलेहरुले खुशी व्यक्त गरे ।
अधिकाँशको ऐलानी जग्गामा घर भएका कारण मिटर नपाएपछि अध्याँरोमा बस्ने कि त छिमेकीको घरबाट लाइन तानेर गुजारा चलाइएको स्थानीय पूर्ण सुनारले जानकारी दिए । वडाले सहयोग गरेपछि सबैको घर उज्यालो हुने विश्वासले खुशी अर्का स्थानीय धनवहादुर बिटालुले ऐलानी जग्गामा घर भएका कारण धेरैले मिटर नपाउँदा निकै सास्ती भोग्नुपरेको बताए ।













