बाँकेका किसानले धान खेती सुरु गरेका छन् । छिटो बिउ रोपेका किसानले रोपाई सुरु गरेका हुन् । बाँकेमा ४६ हजार हेक्टरमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ ।
हरेक बर्ष किसानले धान काटेर थन्क्याइए पछि मात्रै समर्थन मूल्य तोक्ने सरकारले यसपटक धान लगाउनु अगावै समर्थन मूल्य तोकेको छ ।
मन्त्रीपरिषद्को मंगलबार बसेको बैठकले मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । यसबर्षका लागि मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य प्रति क्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको हो । आर्थिक वर्ष ०७६\७७ को तुलनामा प्रतिक्वीन्टल २ सय रुपैयाँ बढी मूल्य तोकिएको हो ।
बियाड र रोपाईलाई सिक्टाको पानी
सिक्टा सिचाईं आयोजना सञ्चालनमा आएपछि बाँकेका किसानले यसबर्ष बियाड राख्न र रोपाईका लागि पानी पाउने भएका छन् । कृषिका लागि आकाशे पानीको भरमा रहेको बाँकेमा सिक्टाका कारण यसबर्ष केही किसानहरुले सिक्टाको पानी पाउने भएका हुन् ।
सिक्टा सिंचाई आयोजनाको ६५ प्रतिशत काम सकिएको छ । मूल र शाखा नहरमा क्षमताको ५० प्रतिशत पानी यसबर्ष पठाइएको सिक्टा सिंचाई आयोजनाका प्रमुख लोक बहादुर थापाले जानकारी दिएका छन् । ‘बियाडका लागि पानी नहरमा छोडेका छौं, रोपाईका लागि पनि नहरमा पानी छाड्ने छौं’, उनले भने ।
पूर्वी नहरबाट २ हजार हेक्टरमा सिचाई पुग्ने आयोजना प्रमुख थापाले बताए । घुलनशील माटोका कारण यसअघि परीक्षणका क्रममा नहर भत्किएको थियो । जोखिम रहेको क्षेत्रमा सावधानीपूर्वक पानी छाडिएको आयोजना जानकारी दिएको छ ।













