लकडाउनको अवधीमा बाँकेका दुई अदालतमा ७० वटा मुद्दा दर्ता भएका छन् । लकडाउन पश्चात उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा ६ मुद्दा दर्ता भएका हुन् । ३ वटा कोभिड सम्बन्धी परमादेशको रिट निवेदन र ३ वटा बन्दी प्रत्यक्षिकरणको रिटका मुद्दा दर्ता भएको रजिष्ट्रार चिन्तामणी शर्माले जानकारी दिए । २ वटा बन्दीप्रत्यक्षीकरणका रिट मध्ये एक जारी भएको छ भने एक खारेज भएको छ । कोभिड सम्बन्धि रिटमा क्वारेन्टाइन ब्यवस्थापन, कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता, राहत स्वास्थ्य उपचार लगायतका बिषयमा सरोकारवाला बिपक्षीका नाममा अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
बाँके जिल्ला अदालतमा मिति २०७६ चैत्र २८ गते यता लागु औषध, सवारी ज्यान, बलात्कार, कर्तब्य ज्यान, गौवध, अबैध काठ ओसार पसार लगायतका ६४ वटा सरकारवादी फौजदारी मुद्दा दर्ता भएका छन् । लकडाउनको अवधीमा पनि फौजदारी मुद्दाको अनुसन्धान र अभियोजनको कार्य सुचारु निर्णय सर्वोच्च अदालतले गरे संगै गत चैत्र २८ देखि अभियोग दर्ता गरि थुनछेक आदेश सूरु गरिएको थियो । यस अवधीमा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढी लागु औषध मुद्दा दर्ता भएको पाइएको छ । यस अवधीमा ६ वटा जवरजस्ती करणी, १ वटा जवरजस्ती करणी उद्योग, २ वटा बाल यौन दुरुपयोग, १ वालबिवाह २ बहुबिवाहका मुद्दा समेत दर्ता भएको मुद्दा फाँटको रेकर्डबाट देखिएको छ ।
अदालतले कोभिड संक्रमण फैलिन नदिन उच्च सतर्कताका साथ मुद्दाको सुनुवाईको ब्यवस्था मिलाएको जनाएको छ । सेवा ग्राहीलाई दुवै अदालतको गेटबाट प्रवेश गरेसंगै साबुन पानीले हात धुने ब्यवस्था मिलाएको छ ।












