२०६० वैशाख १९ नेपालगन्जबाट सुर्खेतसम्म स्थलमार्ग र सुर्खेतबाट कालिकोलसम्म हवाई मार्ग हुँदै म र एकजना दिदी कालिकोट पुग्यौं । कालिकोटसम्मको यो यात्राको एउटै उद्देश्य थियो, कालिकोटको कोटवडासम्म पुग्ने, त्यहाँ बन्दै गरेको एयरपोर्टमा भएको नरसंहारको कथा संकलन गर्ने र संकटकालको समयमा महिलाहरुले भोग्नु परेको याताना र समस्याहरुलाई जनतासामु पर्याउने । माओवादी जनयुद्धपछिको दोश्रो संकटकाल देशभरि यथावत नै थियो र थियो “हटस्पट”को रुपमा कोटवडा । जहाँ बन्दै गरेको एयरपोर्टमा बम हानिएको कारण ३५ जना मजदुरहरु एकै चिहान भएका थिए भने एक हजार भन्दा बढी व्यक्तिहरुलाई माओवादी भन्दै सेनाले पक्राउ गरेको थियो । यो संगसंगै तत्कालिन समयमा चर्चामा रहेकी माओवादी नेतृ हिसिला यमी पनि कोटवडामै छिन् भन्ने हल्ला । जुन हाम्रो लागि अझ राम्रो खुराक थियो समाचार संकलनको निम्ति । समय सहज थिएन । कालिकोट, रुकुम, रोल्पा माओवादीको अखडा थियो । जनसरकारको राज्य संचालन भइरहेको क्षेत्रमा प्रवेश गर्नको निम्ति अनुमति चाहिन्थ्यो र त्यो अनुमति हामीले प्राप्त गरेका थियौं र सोही अनुसार यात्रा शुरु गरिएको थियो ।
सुर्खेत एयरपोर्टबाट हामी केही क्षणमै मान्मा झर्यौं । मान्मा कालिकोटको सदरमुकाम हो, जहाँ कुनै पनि नौलो मान्छेले पाइला टेक्यो भने आगोको मुस्लो झै सबैतिर फैलिहाल्थ्यो । हामी पुगेको सूचना पनि सबैतिर फैलियो । पुगेको केही क्षणमै जिल्ला प्रहरी कार्यालयबाट बुलावट आयो । हामी गयौं । डि.एस.पि जगतमान श्रेष्ठले हामीलाई नेपालगंज फर्किन आग्रह गर्नुभयो । हामीले “हामीसंग त्यहाँ जाने अनुमति छ । सुरक्षाको निम्ति हामीले स्थानीय जनसरकार देखी माओवादीका तत्कालिन प्रवक्ता कृष्णबहादुर महरालाई जानकारी गराएर हिडेका छौं” भनेपछि उहाँले जाने अनुमति दिनुभयो र संगसंगै भन्नुभयो “आफ्नो सुरक्षा आफै गर्नुहोला । शुभयात्रा”
तिला नदी एउटा लक्ष्मण रेखा थियो जसले कालिकोटलाई दुई भागमा विभाजन गरेको थियो । मान्माको डाँडाबाट हेर्दा तिलानदी वारी भएका गाउँहरुमा नेपाल सरकारको पकड थियो भने तिलानदी पारी रहेका गाउँहरुमा जनसरकारको पकड थियोे । र, हामी जनसरकारको पकड भएको ठाँउमा जाँदै थियौं । मान्माबाट हिड्दा हामीले एकजना भरिया र एकजना स्थानीय जानकार व्यक्ति हाम्रो टोलीमा थपेका थियौं जसले हाम्रो यात्रालाई सहज बनाउन हामीलाई सहयोग गर्दथ्यो । हामी चारजना मान्माबाट ठाडो ओरालो झर्र्दै तिलानदीको किनारमा पुग्यौं । तर नदी तर्ने पो कसरी ? पुल, युद्धमा भत्किसकेको थियो । पुलको नाममा दुई वटा मोटो बाबियोको डोरी वारीपारी थियो । जसमा बाँसका चिर्पटाहरु राखेर टेक्न मिल्ने बनाइएको थियो । त्यहि चिर्पटा पनि घामले सुकेर पाइला टेक्यो कि भाँच्चिने अवस्थामा थियो । डोरीको भरमा त्यति लामो नदी तर्न कस्सियौ । बीचमा पुग्दा नपुग्दै डोरीलाई हावाले हल्लाउन थाल्यो । वारीपारी डाँडा र बीचमा तिला नदी भएर होला, हावा त बेस्सरी चल्ने रहेछ । हाम्रो हात अलिकति पनि फुस्किएको भए हामी नदीमा बग्ने थियौं ।
नदी पारी रकु गाविस हुदै माओवादीद्धारा निर्मित ११ फिट अग्लो प्रवेशद्वारबाट हामी माओवादीको इलाकामा प्रवेश गर्यौं । हामी जति अगाडी हिड्दै गयौं त्यतिनै रातो झण्डाहरु बाँसको हाँगामा बाँधेर आँगनमा गाँडेको भेट्यौ । साना साना झुप्रा घरहरु, घरमा लागेका ताल्चा र आँगनमा गाँडेको रातो झण्डा के को प्रतिक होला भन्ने खुल्दुली हाम्रो मनमा बढ्दै गयो । एकजनालाई सोध्यौं, ओहो ! कुरा सुन्दा अचम्म लाग्यो र दुःख पनि । त्यो त ती व्यक्तिहरुको घर रहेछ जसले जनयुद्धमा ज्यान गुमाएका थिए । बाक्लै थिए त्यस्ता घरहरु । कुनै कुनै त गाउँ नै रातै देखिने । के प्रत्येक घरबाट शहीद भए होलान् त ? झन् अचम्म लाग्दो कुरा सुनियो । मान्मा सदरमुकाम डाँडामा छ । तिला नदी पारीको गाउँहरु फेदीमा छ । माथि डाडाँबाट लन्चर हान्दा जहाँ जसलाई पर्यो पर्यो । यसरी कहिले काँही त गाउँ नै रातो बन्न पुग्दो रहेछ । स्थानीयले भनेका कुरा थिए यी । अधिकाँश घरमा गाँडिएको रातो झण्डा पनि शायद त्यसैको प्रतिक थियो । कालिकोटको कोटवडा, मालकोट, लालु, रुक्सा, भर्ता यस्ता गाविसहरु थिए जो माओवादी द्धन्दबाट प्रत्यक्ष प्रभावित थियो र हामी यहि गाउँहरु हुदै अगाडी बढ्दै थियौ ।
जनयुद्धमा लागेका व्यक्तिहरु उमेरले हेर्दा साना थिए । बाल्यकाल नकाटेका तर पार्टी नेतृत्वमा जिम्मेवारी वहन गरिरहेका धेरै व्यक्तिहरु भेट्यौं । नदी पारीको ती गाउँहरु, ती डाडाँहरु सबै उजाड थिए । हाँस्नै बिर्सिएको जिन्दगी देखिन्थ्यो त्यहाँ । पाको देखिने व्यक्तिलाई उमेर सोध्दा जम्मा २५ वर्ष भन्ने, जबकी हेर्दा ५५ जस्तो लाग्ने । अभाव, डर, भोक, रोग र त्रासले ग्रसित भएर पनि होला उमेरभन्दा पहिले नै सबै पाका भइसकेका थिए ।
यात्राको तेश्रो दिन मेहलमुडि पुग्दा एकजना स्थानीयले जनसरकार प्रमुखले भेट्न बोलाउनु भएको खबर ल्याउनुभयो । जनसरकारलाई भेट्न घरबाट हिडेका हामी, अब भेट हुने भयो भन्ने सोच्दै खबर ल्याउनेको पछि लाग्यौं । हिड्दा हिड्दै साँझ पर्यो, तर अहँ कोही प्रमुख अगाडी आउनुभएन । अलिकति माथि–अलिकति माथि गदाँगर्दै धेरै उकालो पो चढिसकिएछ ।
रातपरेपछि एउटा घरमा बास बस्न भनियो । मेहलमुडिको उजेल गाउँमा बासबस्दा पो थाहा पायौं, हामी त “अपहरण”मा परिसकेका रहेछौ । हामीलाई नियमहरु भनियो । बाहिर निस्कियो भने आइपर्ने खतराको जिम्मेवारी आफै बन्नुपर्ने कुरा सुनाइयो । हामी झसंङ्ख भयौं । दिदी र म मुखामुख गर्यौं । भरिया दाई तीन दिनको यात्रामा पनि मुश्किलले बोल्नु भएको थियो । कालिकोटबाट थपिनु भएको साथी पनि ट्वाल्ल पर्नुभयो । हामीले केही मेसो पाउन सकेनौं । त्यतिबेला न मोबाइल थियो, न इमेल इन्टरनेट । गाउँलेसंग कुरा गर्न खोज्दा उनिहरु बोल्दैन थिए । न त हामीसंग भएको अनुमति पत्र नै कसैले खोज्थे ।
त्यो रात त्यसै वित्यो । विहान धारामा पुग्दा हामी नमुना वस्तु जस्ता बनेका थियौं । सबैले फर्कि फर्कि हेर्ने आँठवा अजुबा । अपहरणपछि हामी दिनभरि घरमा भित्र हुन्थ्यौं तर साँझ परेपछि “जनसरकार प्रमुखले बोलाउनु भएको छ” भन्दै घण्टौं हिडाँएर हामीलाई नयाँ ठाउँमा पुर्याईन्थ्यो र भोलीपल्ट त्यो गाउँको निम्ति हामी फेरी नमूना वस्तु बन्दथ्यौं । एकहप्तासम्म यहि दिनचर्या रह््यो । यसरी राती राती मात्र हिड्दै जाँदा हामी सिप्खाना पुगिसकेका थियौं । अर्को एउटा डाडाँ पार गरेपछि अछाम पुगिन्छ भन्थे स्थानीयहरु । यो एक हप्तामा एकपटक मात्र हामी जनअदालतमा उभिने मौका पायौं र हाम्रो दोष सुन्यौं । हाम्रो दोष थियो– कालिकोटबाट नयाँ व्यक्ति थप गर्नु, जो त्यतिबेला एमालेका कार्यकर्ता रहेछन् र हाल कालिकोटबाट विजयी सांसद पनि छन् । हामीले उनलाई एमालेको प्रतिनिधित्व गर्न लिएर गएका थिएनौं । बाटो देखेको स्थानीय पत्रकारको रुपमा लगेका थियौं तर उनलाई साथमा लैजादाँ हामीलाई “एमालेको जासुस” भन्ने आरोप लगाइएको रहेछ । त्यतिबेला एमालेका कारण दोश्रो संकटकाल लागेको सोच जनमानसमा थियो । यो आरोपलाई मेटाउन हामीले धेरै कोशिश गर्यौं । हामीसंग भएको रातो परिचयपत्र, माओवादी केन्द्रिय कार्यालयले दिएको भ्रमण अनुमति पत्र देखायौं तर उहाँहरुले हाम्रो कुरा सुन्नुभएन ।
सातौं दिनसम्म उहाँहरुले भने अनुसार गर्यौंं । जहाँ राख्नुभयो त्यहि बस्यौं, जे खान दिनुभयो त्यहि खायौं । उहाँहरुसंग बस्दा हामीले कुनै पनि शारीरिक याताना पाएनौं । हामीलाई कसैले कुनै दुव्र्यवहार पनि गरेन तर मानसिक पीडा धेरै थियो । कतिबेला कुन गाउँमा पर्याइने हो भन्ने डर र आउने समय कस्तो हुने हो कुनै अनुमान गर्न सक्ने अवस्था थिएन । एउटा उद्देश्य लिएर गएका हामी, अपहरणमा परेर बसेका थियौं । हामी अपहरणमा परेको कुरा हामी बाहेक हाम्रो घरपरिवार, संचारमाध्यम कसैलाई पनि थाहा थिएन ।
एकदिन विहान धारामा जाँदा अछाममा भइरहेको जनसरकार प्रमुखहरु आमसभा सकाएर जिल्ला फर्कदै हुनुहुन्छ भन्ने खबर पायौं । धारा छेउको पसले दाइले “सक्नुहुन्छ भने गाउँ छोड्नुस् । यहाँ तपाईहरुलाई खतरा छ” भन्ने सूचना पनि सुटुक्क दिनुभयो । सूचना पाएपछि हामीले तुरुन्तै गाउँ छोड्ने निर्णय गरयौं । जनसरकार प्रमुखहरु गाउँ फर्किए त्यसैपनि मरिन्छ बरु जति सकिन्छ हिडौं भन्ने सहमति भयो । हाम्रा सबै सामानहरु माओवादीहरुले कव्जा गरिसकेसकेका थिए । सामान नभएपछि भरिया हुने कुरा पनि भएन । बाँकी रहेका हामी तीनजना बाटो लाग्यौं ।
हामीलाई राती राती हिडाएर त्यो ठाउँमा पुर्याइएको थियो । रातीमा हिडेको बाटो, कता हो कता केही अनुमान गर्न सकेनौं । धन्न स्थानीय व्यक्ति हामीसंग भएको हुदाँ छोटो छोटो बाटो कुद्यौं । विहान भोकै शुरु भएको हाम्रो यात्रा कहिं कतै रोकिएन । कालिकोटको उजाड डाँडा, डाडाँको बीचमा एक भित्ताको गोरेटो बोटो । तल सुसाइरहेको तिला नदि र माथिबाट खसिरहेका साना साना ढुगाँहरुको बीचमा तीन प्राणी पछाडी नर्फिएर हिड्दै थिए । एउटा ढुंगा मात्र पनि हामी माथि खस्दा हामी सिधैं तल नदिमा पुग्थ्यौं ।
झमक्क रात परिसक्दा हामी नदिको किनारमा पुग्यौं । गाउँ बाहिरको छोटो बाटो हिडेको भएर होला बाटोभरि हामीले कसैलाई भेटेनौं । तर नदिको किनारमा पुगेपछि दुईजनासंग भेट भयो । हिड्दा हिड्दा थाकिसकेका हामीलाई ती व्यक्तिले “वारी नबस्नुस्, छिटो नदी पार गर्नुस्” भनेपछि डोरीको भरमा अध्यारो रातमा नदी पार गर्यौं । मरिने डरले होला यसपटक त हावाले हल्लाएको पनि थाहा भएन । अध्यारो छिप्पिसकेको थियो । हामी दुई दिदीबहिनीको हिडाइको चाल कमजोर भइसकेको थियो । हाम्रो हिडाई कमजोर देखेर होला, ती स्थानीय साथीले “हजुरहरुलाई भन्दा मलाई गाह््रो छ । मलाई मार्छन्, म लाग्छु हजुरहरु यहि ठाडो जंगल नछोडी आउनु” भन्दै छुट्टिए ।
“मर्ता क्या न कर्ता”, हामीसंग उपाय पनि थिएन । हामीलाई भन्दा उहाँलाई धेरै खतरा थियो । उहाँ हिड्नु भयो । मध्यरातमा हामी दुई बहिनी जंगलको बीचमा थियौं र हामीसंग थियो हिड्नु पर्ने ठाडो उकालो । तर हिड्न सक्ने हिम्मत थिएन । नदी पारी हेर्दा जंगलभरि टर्च बलेको देखिन्थ्यो । हामीलाई नै खोजेको हो कि भन्ने डरले बल्लतल्ल पाइला चाल्यौं । हिड्दै गर्दा जंगलको बीचमा एउटा घर भेट्यिो । अहिले सोच्दा लाग्छ शायद त्यो जंगल पछिको पहिलो घर थियो । मध्यरात भएपनि हामीले ढोका ढकढकायौं । बुढी आमैले ढोका खोल्नुभयो, हामीले बेलिविस्तार लगायौं । उहाँले अन्न राख्ने माथिल्लो तलामा लगेर हामीलाई लुकाउनुभयो । हाम्रो भाग्य बलियो रहेछ हामीले मद्दत मागेको घर शिक्षक स्व.गणेश बहादुर शाहीको रहेछ । उहाँलाई सेनाले मारेपछि घरमा एक्लै बुढी आमा बस्नु हुँदोरहेछ । र सेनाद्धारा छोरा गुमाएको भनेर त्यो घरमा कुनै पनि माओवादीले खानतलासी नगर्दो रहेछ । त्यहि घरमा रातको अन्तिम प्रहर हामीले काट्यौं ।
उज्यालो भयो, हामी बाँच्यौं । बुढी आमासंग विदा मागेर गाउँको बाटो हुदै मान्मातिर लाग्यौं । तर बाटोमा हामीलाई भेट्ने सबैको एउटै प्रश्न थियो, “राती माओवादीहरुले खोजेको दुईटी तिमीहरु हौं ? खोइ त अर्को साथी ?” जब यी प्रश्नहरु सुन्यौं अनि पो थाहा भयो, हाम्रो खोजी त मज्जैले भएको रहेछ । राती जंगलमा देखिएका टर्चका उज्यालोहरु हाम्रो जिन्दगीलाई अध्यारो बनाउन पो रहेछ र हामीले काटेको त्यो रात शहीद हुनबाट जोगिएको रात पो रहेछ । हामी मान्मा हुदै नेपालगंज पुग्यौं र संगै पुुग्यो हाम्रो अपहरणको कुरा । हामी विविसि र सि.एन.एनको समाचारको पात्र बनिसकेका थियौं । संकटकालको समयमा देशभित्र पहिलोपटक महिला पत्रकारहरु अपहरण परेको भन्दै राष्ट्रिय पत्रिकाहरु पनि सजिइ सकेका थिए ।
(नोट ः कालिकोट यात्राका सबै सूचनाहरु एकै लेखमा उल्लेख गर्न सम्भव छैन । यी सूचनाहरुलाई छिटै नै पुस्तकको रुपमा यहाँहरु समक्ष ल्याउने कोशिश गर्नेछु)












