दुर्घटनामा घाइते र मृतकको स्वाब परीक्षण गरिंदै

पुर्व पश्चिम राजमार्ग अन्र्तगत बाँकेको राप्ती सोनारीमा भारतबाट आएका नेपाली नागरिकहरु चढेको गाडी आइतबार राती दुर्घटना हुँदा १२ जनाको ज्यान गएको छ । २१ जना घाइते भएका छन् । दुर्घटनामा परेका भारतबाट आएका नेपाली भएकाले सबैको स्वाब परीक्षण गरिने भेरी अस्पताल नेपालगन्जले जानकारी दिएको छ । कोरोना रहे नरहेको पत्ता लगाउन स्वाब परीक्षण गर्न लागिएको हो । अस्पतालले उनीहरुको स्वाब लिने काम गरिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिएका छन् ।


भारतबाट फर्केका नेपाली नागरिकहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको फोर्स गाडि पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी २ ठोरि जंगलमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
गाडी दुर्घटना हुँदा ११ जनाको घटनास्थलमा र १ जनाको उपचारका क्रममा भेरी अस्पतालमा ज्यान गएको प्रजिअ कुरुम्वाङले बताउनुभयो । २१ जना घाइते भएका छन् घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।


भारतबाट आएकाहरुलाई लिएर नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी आइतबार राति १२ बजेतिर रोकि राखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ । हाइसले क्षमता भन्दा बढी यात्रु बोकेको थियो ।


दुर्घटनामा घाइते भएका २१ जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताउनुभयो । दुर्घटनामा ज्यान गएका १२ जनाको शव भेरी अस्पतालमा राखिएको छ ।

गाडिमा सल्यान सहित विभिन्न जिल्लाका नागरिक रहेको जनाईएको छ । दुर्घटनामा ज्यान गएकाहरुको नाम र ठेगाना संकलन गर्ने प्रयास भइरहेको छ । गाडीधनी आएपछि मात्रै दुर्घटनामा ज्यान गएकाहरुको परिचय खुल्न सक्ने बाँकेका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया