क्वारेन्टाइनमा अमानवीय व्यवहार

बाँकेको नरैनापुर गाउँपालिकामा क्वारेन्टाइनको संख्या १५ पुगिसकेको छ । भारतबाट आउने नेपालीको संख्या बढ्दै जाँदा स्थानीय सरकारले क्वारेन्टाइन पनि बढाउँदै लगेको हो । नरैनापुरको क्वारेन्टाइनमा शनिबारसम्म ६ सय ५० बढी व्यक्तिहरु रहेको जिल्ला प्रशासन कार्यालय बाँकेको तथ्यांकले देखाउँछ । क्वारेन्टाइनको संख्या बढाउँदै लैजानु पर्दा स्थानीय तहले मापदण्ड अनुसार क्वारेन्टाइन सञ्चालन गर्न सकेको छ । क्वारेन्टाइनका बस्नेहरुबाट निरन्तर गुनासो मात्र आएको छैन अधिकारकर्मीहरुले समेत अनुगमनका क्रममा मापदण्ड पूरा नभएको पाइएपछि अदालतमै रिट दायर भैसकेको छ । क्वारेन्टाइन मापदण्ड अनुसार नहुँदा खाना बस्नको उचित व्यवस्थापन हुन सकेको छैन भने क्वारेन्टाइनमै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने जोखिम पनि पाइएको अधिकारकर्मीहरुले बताउँदै आएका छन् । नरैनापुरमामात्रै कोभिड संक्रमितको संख्या ११४ पुगिसकेको अवस्थामा स्थानीय व्यक्तिहरुबाट भएको असहयोगका कारण स्थानीय सरकारले आफ्नो नियन्त्रणबाट अवस्था बाहिर गैसकेको भन्दै बाँके प्रशासन, प्रदेश तथा केन्द्र सरकारसँग गुहार लगाइसकेको छ । त्यसलगत्तै नरैनापुरमा अनिश्चितकालका लागि निषेधित क्षेत्र घोषणा गरि सेना परिचालन गरिएको छ ।


क्वारेन्टाइनमा बसिरहेका स्थानीय नागरिकले पशु जसरी क्वारेन्टाइनमा राखिएको भन्दै गुनासो गरेका छन् । नरैनापुर गाउँपालिका वडा नं. ४ मा रहेको क्वारेन्टाइनमा बसेका व्यक्तिले दैनिक नेपालगन्जको टेलिफोन सम्पर्कमा क्वारेन्टाइन बस्दा भोग्नु परिरहेको अप्ठ्यारो सुनाएका छन् । त्यहाँ ४३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । बैशाख २९ गतेदेखि उनीहरु क्वारेन्टाइनमा रहेका छन् । उक्त क्वारेन्टाइनमा मुम्बई, नागपुर लगायत भारतका विभिन्न ठाउँबाट आएका रहेका छन् ।


‘भारतबाट नेपाल प्रवेशसँग हामीले गाउँपालिकालाई सम्पर्क गर्यौं’, क्वारेन्टाइनमा रहेका ती व्यक्तिले भने, ‘बोर्डरबाट नै हामीलाई प्रहरी र स्थानीय तहले क्वारेन्टाइनमा राखेको हो ।’ मदरसामा क्वारेन्टाइन बनाएर राखे पनि कुनै सुविधा नरहेको उनले बताए । ‘बस्न, खान पिउन सबै समस्या छ’, उनले भने, ‘खाना घरबाट पनि आउँछ, यहाँ पनि पाइन्छ ।’ तर, क्वारेन्टाइनमा दिने खाना पशुलाई दिने जस्तो छ । ‘गाई, भैसी जस्तो गरी राखिएको छ, हामी कसरी संक्रमित हुनबाट जोगिन सक्छौं’, उनले भने, ‘यहाँबाट ६ पोजेटिभलाई लगिएको छ, उनीहरु हामीसँगै बस्थे ।’


गाउँपालिका प्रमुख पनि भेट्न आएको उल्लेख गर्दै क्वारेन्टाइनमा बसेका व्यक्तिले भने, ‘सय मिटर टाढाबाट हेरेर फर्किनुहुन्छ ।’ क्वारेन्टाइनमा रेखदेख गर्ने कोही नभएको बताउँदै उनले भने, ‘दुरी कायम गरेर खाना दिएर जान्छन् ।’ हामी बाहिरबाट आएकाहरुलाई राम्रोसँग देखभाल नहुने हो भने संक्रमित हुनसक्ने जोखिम रहेको सम्बन्धितले बुझ्न सकेनन् ।


अधिकारकर्मी, सञ्चारकर्मी पनि आएका थिए । उनले भने, ‘तर हामीले उनीहरुलाई ठिकै छ, भन्यौं, किनकी आएका एक, दुई दिन भएको थियो व्यवस्थापन गर्लान् भन्ने सोच्यौं ।’ सामान ल्याएको छैनन् भन्ने सोचेपनि अवस्था उस्तै रहेको उनले बताए ।


बाँकेमा दैनिक गर्मी बढ्दैछ । तापक्रम बढिरहेको छ । तर, क्वारेन्टाइनमा पंखा समेत नभएको गुनासो आइरहेको छ । ‘न पंखा छ, दुई वटा बत्ती मात्रै लगाइएको छ’, उनले भने ।


क्वारेन्टाइनमा के समस्या छ, कोही बुझ्न समेत नआउने गरेको भनाइ क्वारेन्टाइनमा बस्नेहरुको छ । ‘कसैको स्वास्थ्य कस्तो छ, रुघाखोकी, ज्वरो छ कि छैन भन्ने समेत चेक गर्न आउँदैनन्, नास्तापानी कसरी भैरहेको भनेर पनि सोधखोज हुँदैन’, उनले भने, ‘को सँग भन्ने, कोही सोध्न, बुझ्न नै आउँदैन ।’ ‘भारतबाट सास्ती बेहोरेर आयौं, भोकै प्यासै आयौं, हामीमध्येका कोही बिरामी पनि हुनसक्छन्, तर ख्याल कसैले राख्दैन’, उनले भने, ‘यहाँ १४ देखि ३४ बर्षसम्मका क्वारेन्टाइनमा रहेका छन् ।’ हामीलाई समस्या भएपछि दैनिक नेपालगन्जको नम्बर पत्ता लगाएर सम्पर्क गरेको उनले बताए । ‘समस्यामा छौं, हाम्रो कुरा सम्बन्धित निकायसम्म पुर्याइदिनुस्’, उनले भने ।


राती क्वारेन्टाइनबाट भागेर घर जाने गरेको कुरा बाहिर आइरहेको सन्दर्भमा उनले आफु बसेको क्वारेन्टाइनबाट कोही बाहिर नगएको बताए । ‘बाहिर मुसिबत उठाएर आयौं भने यहाँ १४ दिन किन नबस्ने ?’, उनले भने, ‘मरे हामी मर्छौं, अरुलाई किन मार्छौं, म एक जना संक्रमित रहेछु र हिडे भने पूरा गाउँ संक्रमित हुनसक्छ ।’ सजग हुनुपर्छ भन्ने थाहा भएको बताउँदै उनले भने, ‘मेरा कारण अरुलाई संक्रमण भयो भने म जिउँदो रहनुको मतलब के ?’


क्वारेन्टाइनमा रहेका मध्ये १० जना रोजामा छन् । रोजा बस्नेहरु दिनभर निर्जल व्रत बस्छन् । ‘साँझ कोही सोध्न आउँदैन पानी चाहियो भने, रोजा खोल्नका लागि सामाग्री नै पाइँदैन’, महान पर्व ईदको अघिल्लो साँझ उनले दैनिक नेपालगन्जसँग भावविह्ल हँुदै भने, ‘रमजानमा सामाजिक दुरी कायम गरेर नमाज पढ्छौं । यति गर्मीमा रोजा बस्छौं तर साँझ एक गिलास चिसो पानी पनि पाइएको छैन । मुसिबतमा बसेर पनि रोजा बसेका छौं, भगवानको प्रार्थना गरेर बसेका छौं । हामीले हमदर्द पाए बल्ल हामी बाँच्न सक्छौं ।’


‘भारतबाट आउनु पर्ने बाध्यता भनेको हामी जहाँ बसेका थियौं, मालिकले २५ हजार मासिक भाडा माग्यो । हामी ११ जना थियौं । सबै आयौं । दुई दिन, दुई रात पैदलै हिड्यौं । त्यसपछि आइसर गाडीमा ७÷८ हजार प्रतिव्यक्ति दिएर आएका हौं । भारतको जिल्ला अस्पतालमा चेक गरेर मात्रै हामी आएका थियौं । हामी हाम्रो रिपोर्ट कुरिरहेका छौं,’ उनीले सबैको प्रतिधित्व गर्दै सामुहिक स्वरमा भने, हामीलाई राम्रोसँग राखियोस् क्वारेन्टाइनमा ।

प्रतिक्रिया

प्रतिक्रिया