भारतबाट भित्रिएका नेपाली नागरिकलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्नुपर्ने प्रदेश सरकारको निर्णय छ । बाँके प्रशासनले पनि भारतबाट आउनेलाई सम्बन्धित स्थानीय तहमा पठाउँदै आएको छ ।
भारतबाट आउने पहाडी जिल्लाकालाई जमुनाहबाट बसको व्यवस्था गरेर सिधै सम्बन्धित जिल्ला पठाउने व्यवस्था मिलाइएको छ । अन्य जिल्लाका जान नपाएका र बाँकेकालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिंदै आएको छ । क्याम्पसबाट सम्बन्धित स्थानीय तहले आफ्ना नागरिक क्वारेन्टाइनमा राख्नका लागि लग्ने गरेको छ ।
हाल महेन्द्र बहुमुखी क्याम्पसमा रहेका नरैनापुर र कोहलपुरका बासिन्दालाई भने दुई पालिकाले बिहीबार दिउँसोसम्म लगेका छैनन् । कोहलपुरको बागेश्वरी क्याम्पसलाई क्वारेन्टाइन बनाएर लग्ने तयारी गरेपनि स्थानीयले विरोध गरेपछि क्वारेन्टाइन बन्न सकेन । स्थानीयले क्वारेन्टाइन बनाउन नदिने भनेपछि कोहलपुरका नागरिक अहिले पनि महेन्द्र बहुमुखी क्याम्पसमै रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले भने कोहलपुरले क्वारेन्टाइन बनाएर लैजाने भनेपनि लगि नसकेको बताइन् । नरैनापुरले पनि अझै लगिसकेको छैन । क्वारेन्टाइनमा रहेका नागरिकलाई सम्बन्धित स्थानीय तहले लगिदिने हो भने व्यवस्थापन गर्न सहज हुने बताउँछिन् । भारतबाट आउने र भारत जान खोज्नेलाई क्याम्पसको क्वारेन्टाइनमा राख्ने गरिएको छ, त्यसैले चाप घटाउँदै लग्नका लागि सम्बन्धित पालिकाले नागरिकले लगे व्यवस्थापन सहज हुने उनी बताउँछिन् ।











