संकटमा सेवा दिंदै भेरी अस्पताल

भेरी अस्पताल नेपालगन्जले लकडाउनका बेला पनि स्वास्थ्य सेवालाई जारी राखेको छ । अस्पतालले लकडाउनका कारण बन्द गरेको ओपिडि सेवा समेत सञ्चालनमा ल्याइसकेको छ । अप्ठ्यारोका बेलामा पनि भेरीले इमरजेन्सी सेवा भने पूर्ववत् सञ्चालनमा ल्यायो ।


‘संकटका बेला स्वास्थ्य सेवाका थप जिम्मेवारी सरकारी अस्पतालमा नै आउँछ’, भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले भने, ‘परिस्थिति जस्तो सुकै भए पनि हामीले स्वास्थ्य सेवा अवरुद्ध पार्न मिल्दैन ।’ उनले अस्पताल आउने बिरामीहरुलाई यसअघि इमरजेन्सी र अब ओपिडिबाट पनि सेवा सुरु गरेको जानकारी दिएका छन् । ओपिडि बन्द हुँदा पनि अस्पतालले इमरजेन्सी र प्रसुति सेवालाई भने निरन्तरता दिएको थियो ।


लकडाउनका कारण धेरै स्वास्थ्य संस्थाले आफ्नो सेवा बन्द गरे कसैले कटौती । नेपालगन्जमा कोरोना देखिएको अवस्थामा मेडिकलहरु समेत बन्द अवस्थामा थिए । त्यतिखेर उपचारका लागि भेरी नै केन्द्र रह्यो । त्यति मात्रै होइन भेरी अस्पतालले आफ्नै पहलमा कोरोना परीक्षणका लागि मेसिन ल्याएर नियमित परीक्षण गरिरहेको छ ।


भेरी अस्पताल नेपालगन्जले जेठ १ गतेदेखि ओपिडि सेवा सुचारु गरेको हो । त्यसअघि ७ हप्ता भेरीको ओपिडि बन्द थियो । अस्पतालले जोखिमका ओपिडि अवरुद्ध गर्नुपरेको प्रति क्षमासमेत मागेको छ ।


अस्पतालले कोरोना ठ्याक्कै यति समयमा नियन्त्रणमा आउला भन्ने अवस्था नरहेकाले अन्य सरुवा रोग जस्तै आत्मसात गर्नुपर्ने अभ्यस्त हुनुपर्ने बताएको छ । अस्पतालले सामाजिक सञ्जालमा लकडाउनले संक्रमित फैलिने क्रमलाई रोकेर तयारीका लागि समय दिए पनि समाधान भने नभएको पोष्ट गरेको छ ।


अस्पतालले सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सेवा लिने बिरामीहरुका लागि सुरक्षाका उपायहरु अपनाउन आव्हान समेत गरेको छ । अस्पतालले अनिवार्य माक्स लगाउन, अस्पताल प्रवेश गर्दा हात धुन, ओपिडिमा सेवा लिन आउँदा एक मिटरको दुरी कायम गर्न आव्हान गरेको छ ।
भेरी अस्पतालले ओपिडिको पर्चा विहान साढे ९ देखि १२ बजेसम्म वितरण तथा बिरामी परीक्षण १० बजेदेखि १ बजेसम्म गर्र्दै आएको जानकारी दिएको छ । ओपिडिबाट नयाँ ३० र फलोअपका १० जना गरी दैनिक ४० जना नबढ्ने गरी टिकट जारी भैरहेको अस्पतालले जानकारी दिएको छ । अस्पतालले ओपिडिको टिकटका लागि लामो समय लाइनमा बस्नुपर्ने झन्झट अन्त्यका लागि इसेवामा मार्फत टिकट काट्ने व्यवस्था मिलाउन लागेको समेत सूचित गरेको छ ।


भेरी अस्पताल नेपालगन्जले लकडाउन अवधीमा ओपिडि, इमरजेन्सी सँगै माइनर र मेजर अपरेशनको सेवा समेत दिइरहेको अस्पतालका मेसु डा. थापाले बताएका छन् । अस्पतालले बुधबार मात्रै ओपिड र इमरजेन्सी मार्फत १ सय ४६ जना बिरामीलाई सेवा दिएको बताएको छ । बुधबार ४० जनाको इमरजेन्सी ल्याब टेष्ट, ६ वटा नर्मल डेलिभरी, सिएस डेरिभरी १, मेजर अर्थोपेडिक सर्जरी ३, डाइलोसिस ४ र यूएसजी ५ वटा गरेको बताएको छ ।


ओपिडि सेवा सुरु भएपछि अस्पतालमा सेवा लिन आउनेको संख्या पनि बढ्दै गएको छ । मंगलबार ओपिडि र इमरजेन्सीमा सेवा लिनेको संख्या ८५ रहेको थियो भने ल्याब परीक्षण ३४ जनाको गरिएको थियो । मंगलबार पनि मेजर अर्थोपेडिक सर्जरी ४ र माइनर ३ वटा शल्यक्रिया भेरीमा भएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया