सकियो सकस, कोहलपुर लगियो नरैनापुरका कोरोना संक्रमित

गत सोमबार बाँकेको नरैनापुर गाउँपालिकामा एकै दिन ५९ जना कोरोना पोजेटिभ भेटिएपछि सुरु भएको व्यवस्थापनको सकस बुधबार राती सकिएको छ ।


आठ जना बिरामीको कन्ट्याक्ट टे«सिङ गर्दा ६० पोजेटिभ भेटिएका थिए । उनीहरुमध्ये एकको रिपोर्ट मृत्युपछि आएको थियो । बुधबार थप ५ जना कोभिड संक्रमित नरैनापुरमा थपिएका छन् ।


नरैनापुरका बिरामी प्राथमिक केन्द्रमा आइसोलेसन बनाएर राख्ने भनिएपनि पूर्वाधार नभएको भन्दै विरोध सुरु भएपछि स्थगित गरिएको थियो ।


त्यसपछि जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले मंगलबार २५ जना लाई लायन्स डेन्टल अस्पताल नेपालगन्ज र ३४ लाई कोहलपुर पिपिरी स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा राख्ने निर्णय गरेको थियो । तर, कोहलपुरमा कोभिड संक्रमित बिरामी राख्ने खबर बाहिरए लगत्तै स्थानीयले विरोध गरे । नरैनापुरमा समेत अफवाह फैलाइएपछि कोभिड संक्रमितका आफन्तले नेपालगन्ज लैजान नदिने भन्दै अवरोध गरेका थिए ।


कोभिडका बिरामीलाई कोहलपुरमा अवरोध हुने भएपछि क्षमता भन्दा बढी ५९लाई नै डेन्टल अस्पतालमा राखियो । उनीहरुको व्यवस्थापनको सकस बुधबार दिनभर पनि रह्यो ।


अन्तत बुधबार राती डेन्टल अस्पतालमा रहेका ३६ र थपिएका ५ जनालाई कोहलपुर पुर्याएर व्यवस्थापन गरिएको छ । यद्यपि, त्यहाँ स्थानीयले विरोध गरेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेर कोभिडका बिरामीलाई राखेको थियो ।


त्यसअघि कोहलपुरको तालिम केन्द्रको क्वारेन्टाइनमा रहेकाहरुको परीक्षण गरी नेगेटिभ आएपछि घर पठाइएको छ । (तस्विरहरु नरेश श्रेष्ठ, स्वास्थ्य कार्यालय)

प्रतिक्रिया

प्रतिक्रिया