अंग्रजी महिनाको त्यो दिसम्बरको आखिरी दिन संसारको यो युगको लागि बिर्सनै नसक्ने दिन भयो । विश्वभर त्राहीत्राही बनाउने गरि कोरोना कोभिड–१९ को शुरुआत भएको दिन । यो दिनले विश्व इतिहासमा छुट्टै पहिचान मात्रै बनाउने भएन कि यो दिनबाट शुरु भएको यो महाव्याधीले वर्तमान संसारका धेरै प्रचलित नियमहरु फेरि दियो । आज यसको प्रभाव नभएको कम्तिमा पनि यो भूमिमा कुनै देश रहेन । यो महाव्याधीका बारेमा नलेख्ने कलम पनि रहेन । यसका बारेमा चर्चा नगर्ने कुनै गल्ली, चोक, मोहल्ला या फेरि घर पनि रहेन । यो महाव्याधीको बारेमा आफ्ना राय सल्लाह शुल्क सहित र निशुल्क नपस्किने कुनै माध्यम पनि रहेन । अच्छा अच्छा शक्तिशाली सरकारहरु देखि लिएर व्यक्तिहरु पनि यसको वरिपरि आफ्नो शासनको जाम दलेर स्वाद लिनपर्ने बाध्यतामा आए । यस अघि आएका भनिएका विभिन्न रोग तथा महामारीहरुको यस्को जति शायदै चर्चा भए होला र शायदै यसरी संसारको नियममा कुनै परिवर्तन गरेको होला । तर आजको यो महाव्याधीले त धेरै कुराहरुलाई परिवर्तन गरिदिएको छ भने यस पछिको संसारको यो समाजको विधि, थिति, नियमहरु निकै फेरिने पक्का देखिन्छ ।

कोरोनाले अतितलाई जगाएको छ ः
जिउ रहे घीउ खाउँला भन्ने नेपाली उखानलाई आज कोरोनाले पुन सम्झाइ दिएको छ । ज्यान भन्दा ठूलो केहि होइन । तर यो मान्छे हो बिर्सिन्छ छिट्टै । मान्छेले त मर्नु पनि पर्छ भन्नेकुरा बिर्सेको भान परेको थियो तर यसले आज आफ्नो ज्यान भन्दा प्यारो केहि रहेनछ भन्ने कुरालाई पुनः सम्झाइ दिएको छ । धर्म त अफिम हो, यो नशा हो, सँस्कार सँस्कृति भनेको मिथ्या हो, यो भ्रम हो पुराना कुराहरु सबै मास्नु पर्छ अनि मात्रै हामी सभ्य र बिकसित भइन्छ भन्नेहरुका पनि आज कता कता आँखा खोलिदिएको छ । उनीहरुको त्यो बोलीमा आज भिन्नता आएको छ । हाम्रा पूर्खाले धन सम्पति पैसा आदीको आफ्नो जीउ र परिवारभन्दा ठूलो महत्व छैन भन्ने कुरालाई आधुनिकताको नाममा र सम्पन्नताको नाममा चटक्कै नकार्दै आमा बाबु, स्वास्नी छोराछोरी घर परिवारबाट समाज लगभग बिरानो बनेको थियो । आफ्ना छोराछोरी र परिवारलाई भन्दा अन्यत्रै कुरामा बढि समय दिने गरेको यो समाजलाई एक पल्ट घरतिर, परिवारतिर, छोराछोरीको वात्शल्यतिर पर्काइदिएको छ ।


सभ्य, सम्पन्न, स्वच्छ र संसार जगतलाई पाल्ने व्यक्तिहरु नै गाउँमा बस्छन् त्यसैले नै उत्तम खेती हो भन्ने हाम्रो अकाट्य सोंचलाई नकादैं यसलाई पुरानो र काम नलाग्ने भन्दै गाउँ भनेको संसारमा सबैभन्दा असभ्य व्यक्तिहरु बस्ने समाज, ठाउँ हो भन्ने सोंचमा अहिलेको यो महाव्याधीले बञ्चरो हानेको छ । यस्तो सोंचमा परिवर्तन ल्याएको छ । अब शहरहरुले डस्दै गर्दा र भीडले पोल्दै गर्दा जब शहरमा जीवन कष्टकर महसुस भयो गाउँको सम्झना ल्याएको छ । गाउँको महत्वलाई पुनः जगाएको छ । कृषि गर्नेहरु आजको यो बिपत्तिमा पनि भोको बस्न नपरेको खबर सुन्न पाएकोमा आफुलाई शहरीया सभ्य भन्न हिच्किचाएको छ । यो सोंचबाट गाउँको महत्व पुनः जगाएको छ । पैसाको धाकले आज काम गरेन, रोगलाई छेक्न सकेन । यसकारण पैसा साधन हो साध्य होइन भन्ने जीवन ज्ञान अब अवश्य नै सबैलाई आउनु पर्छ र पैसाका लागि गरिने धेरै अनैतिक कार्यहरु प्रति नकारात्मक सोंच आउन अझै बाँकी छ ।


आज कोरोनाले संसारलाई उदाङ्गो बनाएको छ । संसारका शक्तिहरुका दावा पनि आज नाङ्गिएका छन् । स्वास्थ्यमा नम्बर एक भनेर आफुलाइ दावा गर्नेहरु पनि छियाछिया परेका छन् । विज्ञानको चरम बिकासको दावालाइ पनि खोलिदिएको छ । प्रकृतिको महाबिनास गर्दा पनि एैया नगर्ने मनुवा आज कोठाभित्र पसेको छ । प्रकृति चराचरले आफ्नो स्वतन्त्रतालाई अंगाल्न पाएका छन् । आज यो रोगको ओखती त थाह छैन तर मान्छेहरु निको पनि भएका खबर छन् त्यो कसरी भयो त बीना ओखती ? प्रश्नको उत्तर आएको छैन । मान्छे आज आफै चकित छ कि यो रोग कसरी आफै निको पनि भैरहेको छ भनेर । कुनै दैवी लिला नमान्नेहरु पनि आज प्रकृतिको आफ्नो शक्ति देखेर धन्य हो तिमी हे प्रकृति भन्न बाध्य हुँदै अतितका कल्पनामा आफ्नो भविष्य खोजिरहेका छन् ।


कोरोनाले हरेक क्षेत्रमा नेपालीलाई अवसर पनि ल्याएको छ ः
हाम्रा पूर्खाले भनेको ‘उत्तम खेती, मध्यम व्यापार र नीच नोकरी’ लाई पनि त हामीले गलत नै भन्यौं । किनकि अहिलेको विकासको अवधारणा र पश्चिमाले दिएको अर्ती नै उत्तम नोकरी अर्थात सेवा क्षेत्रको आय र व्यापारबाट हुने आयबाट नै देशको सम्पन्नताको कसी लाउने पद्धतिमा विश्वास बसेको थियो । शहर कत्रो बनाउने र गाउँलाई कति आत्म निर्भर बनाउने भन्ने पनि कोरोनाले ल्याएको अवसर हो । खेतीपाती गर्न आवश्यक छ, यो भन्दा अर्को उत्तम कार्य नै छैन भन्नेमा जनजन र सरकारले पनि अब सोंच्न बाध्य हुनै पर्छ । बिना कुनै कारण लखरलखर हिँड्ने परिपाटीको अब अन्त्य हुन आवश्यक छ । यो पनि एउटा अवसर नै हो जसका कारण मान्छेहरु खास खास काम परेकोमा बाहेक नहिँडेमा उत्पादनमा लाग्ने अवसर मिल्छ ।
आज बसाइ सराइको चरम उत्कर्ष भएको अवस्थामा यो त्यति दिर्घ कालिन र राम्रो होइन भन्ने कोरोनाले आज सिकाएको पाठ हो । यो पाठबाट बसाइसराइ गर्ने भन्दा भएकै ठाउँमा विभिन्न अवसरहरुको बिकास गर्ने तर्फ सरकार पनि लागेमा देशको ठूलो समस्याको अन्त गराउन सक्ने अवसर हुनेछ ।


नेपालको उद्योग व्यवसायहरु धेरैजसो अर्काको देशबाट आउने कच्चा पदार्थमा निर्भर छन् । नेपालले त्यस्ता उद्योगहरु भन्दा कृषिजन्य उद्योगहरु, मल बीउ, कृषि यन्त्र, कृषि प्रशोधन, प्याकेजिङ आदीका उद्योगहरुलाई बढि प्राथमिकता दिएर रोजगारी का साथै दिगो अर्थतन्त्रको बिकास गर्ने अवसर यो कोरोनाले दिएको छ ।


बाह्य पर्यटनको भरोसाले मात्रै देशको पर्यटनबाट हुने आम्दानी बढ्न नसक्ने कुरा कोरोना पहिलेको अवस्थाले देखाएको थियो । जहाँ आठ अर्ब पर्यटनबाट आम्दानी हुँदा नेपालीहरु बाहिर घुम्न जाँदा एघार अर्बको विदेशी मुद्रा साटेकोमा यो क्षेत्रपनि हाम्रो लागि नाफाको नभएकोमा अब आन्तरिक पर्यटनका योजना बनाएर देशको विदेशी मुद्रा भण्डारमा पर्ने चाप कम गर्दै पर्यटनलाई नाफातिर लैजाने र आन्तरिक रोजगारी बढाउने अवसर पनि कोरोनाले ल्याइदिएको छ ।


देशको अर्थतन्त्र बिगत दुइदशक देखि मात्रै विप्रेषणमा निर्भर हरेकोमा अब मख्ख परिरहने अवस्था रहेन । वैदेशिक रोजगारीको पेशा व्यक्ति र राज्य, दुबैका लागि अहिले उत्तम रहेनछ भन्ने देखिएको परिप्रेक्ष्यमा अब सानोतिनो भएपनि आफ्नै देशमा काम गर्नुपर्ने महसुस सबैलाई गराएको छ । यो मौकालाई सरकार र व्यक्तिले अवसरको रुपमा लिएर आफ्नै देशमा खेतीपाती, ज्याला मजदुरी जे हुन्छ गर्ने बानी बसाल्नु पनि एउटा अवसर हो । नेपालका ठूला शहर देखि गाउँगाउँमा र तराइतिरका उद्योगहरु, निर्माणका क्षेत्रमा, अटोमोबाइल ग्यारेजहरुमा, नाइ मोची, तरकारी फलफुल बिक्रेता देखि कवाडीको का मगर्नेहरु मात्रै (एउटा अनौपचारिक तथ्याङ्क अनुसार) बीस लाखका हाराहारीमा रहेको बताइन्छ । नेपालीहरु प्राय यी कामहरुमा लाज मान्ने जुन परम्परा छ यस सोंचलाई मात्रै परिवर्तन गर्ने हो भने त्यति नै नेपालीहरुले रोजगार पाउने र ती इण्डियनहरुबाट बाहिरीने रकम आफ्नै देशमा रहने छ । सोंचमा परिवर्तन ल्याउने यो भन्दा उपयुक्त अवसर अर्को हुनै सक्दैन ।


आज हामीहरुको बानी रुमाले भएको छ । हातमा पैसा भयो कि पार्टी गरि हाल्ने । आज कमाउने आजै उडाउने । ऋण खोजेर पनि भोज गर्ने चलन भनेकोलाई मैले यहाँ रुमाले जिन्दगी भनेको छु । यो रुमाले जिन्दगी बाँच्न रमाउनेहरुले कोरोनाकालमा केहि शिक्षा पाएका छन् । आज मात्रै राम्रो भएर हुँदो रहेनछ भोलीको लागि अर्थात दुइचार महिनाको लागि घरखर्च, अन्नपानी जोहो गर्नुपर्ने रहेछ भन्ने पक्कै पनि बुझेका छन जस्तो लाग्छ । यो बुझेका कारण अबका दिनमा रुमाले जिन्दगी जिउने भन्दा आफुलाई पक्कै पनि फरक गर्ने छन् । अबका दिनमा बचत गर्ने बानीमा बृद्धि हुनेछ । यसले अर्थतन्त्रमा सकारात्मक उर्जा थपिने र लगानीका लागि रकम बाह्य ऋणको भर पर्ने सरकारको स्वभावमा पनि परिवर्तन आउन सक्छ । यदि यसो भएमा यो पनि ठूलो अवसर नै हुने छ ।


हाम्रो पद्धति त सहि रहेछ यो कुरा कोरोनाले पुष्टि गर्यो । यो गलत थियो भनेर पैंठाजोरी कसरी गर्ने ? अझैपनि हाम्रा पूर्वजहरुले बसालेको थिती गलत हो भनेर कसरी भन्ने ? स्वास्थमा अब एलोपेथिक मात्रै अँगाल्ने भन्दा हाम्रो आयुर्वेदलाई खोज गरेर, हाम्रा आफ्ना जो मौलिकता हुन त्यसको अनुसन्धान गरेर उपयोग गर्ने अवसर पनि कोरोनाले ल्याइदिएको छ । अब त अरुकै पछाडी मात्रै कतिसम्म दौडी रहने ? यसको उत्तर अब खोज्ने बेला आएको छ । हाम्रा खानपान, हाम्रो कृषि प्रणाली, हाम्रो बसाइ व्यवस्थापन, हाम्रो प्रकृति पूजनको पद्धतिको महत्वलाई संरक्षण सम्बद्र्धन र प्रवर्धन गर्ने बाटो राज्यले खोज्ने र रोज्ने बेला अब पनि नआए कहिले आउने ? देशको सीमा खुला हुँदा भएको अहिलेको व्यथाले सीमाहरु बन्द गर्न पर्ने शिक्षा कोरोनाले सकिाएको छ । यो अवसर हो नेपालका लागि कि भारत र चीनसँगको सीमा सदाका लागि बन्द गरेर सीमित मात्रै नाका कायम गर्ने । यो त आफ्नो भूमिको संरक्षण गर्ने असाध्यै राम्रो अवसर हो ।


हाम्रो शिक्षा सधैं विदेशीका लागि मजदुर उत्पादन गर्ने भयो । कोरोनाले अब आफ्नो लागि आफै जनशक्ति उत्पादन गर्ने शिक्षाको आवश्यकता महसुस गरायो । यसलाई पनि अवसरका रुपमा किन नलिने ? शिक्षालाई नेपाल सुहाँउदो नेपालको आवश्यकतामा आधारित बनाउँदै विद्यार्थीहरुलाई किताबी ज्ञान भन्दा बढि जिवन भोगाइ र गराइको व्यवसाययुक्त शिक्षा दिने, कक्षाकोठा भन्दा बढि फिल्डमा र अनुसन्धानमा लगाउने अवसर मिलेको छ । गुरुकुलीय शिक्षामा झैं जहाँ न राजा न प्रजा कसैलाई पनि बीना भेदभाव सबै कार्यमा दक्ष बनाइन्थ्यो त्यस्तै समतामूलक शिक्षा, आत्मनिर्भर शिक्षाको आज अवसर जुटेको छ ।


हामी सधैं बहुराष्ट्रिय कम्पनीहरुको पक्षपोषण गर्दै आफ्नो देशका साना साना लगानीकर्ताहरु, साना पूँजीपतिहरु, आफ्ना स्वदेशी उत्पादकहरुलाई हेप्ने मार्गमा गयौं । यिनीहरुलाई संरक्षण र सम्बद्र्धन गर्ने चेष्टा गरेनौं । आज कोरोनाका बेला यिनीहरु सामथ्र्यवान भएको भए रोजगार गुम्ने मात्रै थिएन रा्ज्यकोषमा पनि यिनीहरुको राम्रो योगदान हुने रहेछ भन्ने लागेको हुनुपर्छ । अब पनि विदेशी लगानी र बहुराष्ट्रिय कम्पनी भन्दा भरपर्दा आफ्नै देशका आफ्नै नागरिकका संस्थान हुन्छन्, उनीहरुको पूँजी हुन्छ भन्ने पाठ सिकेको हुनुपर्छ । यसतर्फ संरक्षण र सम्बद्र्धनको नीति लिनु पर्छ । यो नीति लिने अहिले नै उपयुक्त समय हो । अवसर हो ।


र अन्तमा कोरोना कोभिड–१९ अवश्य पनि एउटा यस युगको महाव्याधी हो यसलाई राम्रो भन्न त सकिँदैन । तर पनि यसका आफ्ना नकारात्मक पाटाहरु हुँदाहुँदै पनि यसले संसारको आजको समाजको सोंचाइ, खवाइ, बसाइ, हिँडाइ, काम गराइ देखि विभिन्न व्यवहारमा परिवर्तन ल्याउँदै छ । यो परिवर्तन भित्र नकरात्मक भन्दा सकारात्मक कुराहरु बढि नै हुनेछन् । यी सकारात्मक कुराहरुलाई हामीले पनि अवसरको रुपमा लिँदै त्यसतर्फको यात्रा प्रारम्भ गर्न सक्यौं भने हाम्रो समाज पनि अति नै आत्मनिर्भर हुनुका साथै नेपालीको भविष्य पनि उज्वल हुनेमा शंका छैन ।

प्रतिक्रिया

प्रतिक्रिया