लकडाउनमा दुर्घटना, तीनको ज्यान गयो

लकडाउनका कारण धेरै समस्याहरु सिर्जना भैरहे पनि दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षतिमा भने कमी आएको छ ।

कोरोना भाइरसको संक्रमणका कारण गत चैत्र ११ गतेदेखि मुलुक लकडाउनको अवस्थामा रहेको छ । अत्यावश्यकीय बाहेकका सवारी साधन चलेका छैनन् । जसले गर्दा दुर्घटनाबाट हुने जनधनको क्षतिमा कमी आएको छ । यद्यपि, लकडाउन पछि बाँकेमा भएको दुर्घटनामा ३ जनाले ज्यान गुमाएका छन् ।


जिल्ला ट्राफिक कार्यालय बाँकेको चालु आ.व.को पाँच महिनामा ३३ जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । यसले एक महिनामा दुर्घटनामा ६ जना भन्दा बढीको ज्यान जाने गरेको देखिन्छ ।


गत चैत्र ११ गते लकडाउन भएपछि दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । उनीहरु अत्यावश्यक काममा हिडेका थिए । ३ मध्ये १ डियुटी सकेर फर्किएका प्रहरी हुन् ।
गत फागुनमा बाँकेमा भएको १५ वटा दुर्घटनामा ७ जनाले ज्यान गुमाएका थिए भने १८ जना घाइते भएका थिए । चैत्र भएको ६ वटा दुर्घटनामा २ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी हवल्दार किरण चन्दले जानकारी दिएका छन् । बैशाखमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ । बैशाखमा ७ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।


ट्राफिक प्रहरीको जरिवाना असुली र कारवाहीको संख्यामा पनि कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले फागुन महिनामा २ हजार ५ सय सवारीसाधनलाई कारवाही गरेर ३ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । त्यसपछि चैत्र ११ गतेसम्म १ हजार १ सय ५० वटा सवारी साधनलाई कारवाही गरेको छ । चैत्र ११ मा लकडाउन सुरु भएपछि जरिवाना असुली रोकिएको छ ।


चालु आ.व.को साउनमा ७, भदौमा ४, असोजमा ५, कार्तिकमा ६ र मंसिरमा सबैभन्दा बढी ११ जनाको दुर्घटनामा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ । दुर्घटनामा चौपायाहरुको समेत मृत्यु भएको छ । चालु आ.व.को ५ महिनामा १० वटा पशु चौपायाको दुर्घटनामा परी मृत्यु भएको छ । बाँकेमा साउनदेखि मंसिरसम्म कुल ८६ वटा दुर्घटना भएका थिए । जसमा ७३ जना गम्भीर र ६१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार किरण चन्दले जानकारी दिएका छन् ।


जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको भएको प्रहरीको तथ्यांक रहेको छ । पाँच महिनाको अवधीमा ६६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । उक्त अवधीमा १ सय ११ वटा सवारी साधन दुर्घटनामा परेका थिए । ६ वटा ट्रक, १ टिप, ११ जिप, २ ट्याक्टर, ४ वटा टेम्पो र ६ वटा साइकल दुर्घटनामा परेका थिए ।


बढी जसो दुर्घटनाका तिव्र गति र चालकको लापरवाहीले हुने गरेको तथ्यांक जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्यांकले देखाएको छ । आ.व. ०७५/०७६ मा बाँकेमा ९९ सय वटा दुर्घटना भएको तथ्यांक ट्राफिक प्रहरीको छ ।


जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार, गत आ.व.मा दुर्घटना विश्लेषण गर्दा प्रमुख कारण तिव्र गति, चालकको लापवारही रहेको पाइएको थियो । आ.व. ०७५/०७६ मा तिव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ वटा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गत आ.व.मा ओभरटेकका कारण ७, मापसेका कारण ५, यान्त्रिक कारणले २, सडकको कारणले ३ र चौपायाको कारणले ३ वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


बाँकेमा गत आ.व.मा भएका दुर्घटनामा ६० जनाले ज्यान गुमाएका छन् । गत आ.व.मा दुर्घटनामा ७५ जना गम्भीर घाइते भए । जसमा ४२ पुरुष, १४ महिला र ४ बालक रहेका छन् । उक्त अवधीमा ४५ पुरुष, २३ महिला, ७ बालक र १ बालिका गम्भीर घाइते भएको तथ्यांक प्रहरीमा छ । ८६ जना साधारण घाइते भएका थिए । साधारण घाइते हुनेमा ५४ पुरुष, २९ महिला र ३ बालिका रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया