शाहिदा बानो शाह

“कट्टरवाद”आज संसारमा यो शब्दलाई इस्लाम संगै जोडेर बढी चर्चा भइरहेको छ । जताततै इस्लामलाई एकाध अतिवादी सोच भएका व्यक्तिहरुले बदनाम गर्ने प्रयास गरीरहेछन् । जब की इस्लाम शान्तिको धर्म हो इस्लाम मानवताको धर्म हो, जसको कट्टरतासंग कुनै सरोकार नै छैन तथापि आज इस्लामलाई धर्म मान्ने मुस्लिमहरुलाई घृणाको दृष्टिले हेरिन्छ । त्यसकारण यहां कट्टरवाद र इस्लामलाई केलाएर सुक्ष्म अध्ययन गर्नु अति नै आवश्यक छ । हामी आज इस्लाम बारे सूक्ष्म अध्ययन गरी इस्लाम को वास्तविकता र यथार्थतालाई समाज सामु साझा गर्नेछौं जसले गर्दा इस्लाम र मुसमलमान बारे फैलाईएको झुठ्ठा कुराको पर्दाफाश होस् र समाजमा सही जानकारी पुगोस् ।

हामीले  कट्टर , कट्टरता  वा कट्टरवादी भन्नाले के हो यो बुझ्न जरुरी छ । कट्टरताको परिभाषा यदि हेर्ने हो भने आफ्नो नीजि स्वार्थका कुनै व्यक्ति समुह संगठनले कसैलाई डराउने धम्काउने वा नोक्सान पुर्याउने कार्य हो ।


अब कट्टरवाद भन्दाखेरि कसैलाई डराइ धम्काइ वा नोक्सान पुर्याइ आफ्नो नीजि स्वार्थ पुरा गर्नु हो भने कट्टरवादी भनेका कसैलाई डराउने धम्काउने वा नोक्सान पुर्याउने व्यक्ति समुह वा संगठन हो । यहां कट्टरता कट्टरवाद र कट्टरवादी को हुन् भनी प्रष्ट भयो ।

अब इस्लाम भनेको के हो भनी बुझ्नका लागि धेरै हदीश शरीफका उदाहरण र हजरत मोहम्मद सल्लल्लाहो अलैहेवसल्लमको जीवनी स्वंय मानवताको उत्कृष्ट उदाहरण हो । तर अहिले यहां हदीश शरीफका केही उदाहरणहरु  र केही महत्वपूर्ण घटनाहरुमाथि प्रकाश पारेपछि प्रष्ट हुनेछ की इस्लाम साच्चिकै शान्ति मानवता र भाइचाराको धर्म हो ।

इस्लामलाई राम्ररी बुझ्नका लागि सर्वप्रथम केही हदीश शरीफ हेरौं जसमध्ये हदीश शरीफको मफूम छ ।


१. इस्लाम धर्म प्रवर्तक हजरत मोहम्मद  सल्लल्लाहो अलैहेवसल्लम बिहान निस्किने बेला हरेक दिन एक यहुदी वृद्धाले उहांमाथि आफ्नो घरको फोहोर फाल्ने गर्थिन् । एक दिन उनी जब त्यहांबाट निस्किए तब उनीमाथि फोहोर फालिएन् । उहांले ती वृद्धाका छिमेकीसंग सोध्नुभयो की के ती वृद्धा कही गएकी छिन् । छिमेकीले भने होइन् तिनी बिरामी छिन् । यति सुन्दासाथ हुजुर पुरनूर सरवरे कायेनात वृद्धाका घर जानुभयो र उसको हालखबर सोध्नुभयो ।
यो इस्लाम नै हो जहां बदलाको भावना नराखी द्वेष नराखी आफुमाथि फोहोर फाल्नेको हालखबर लिने शिक्षा दिइन्छ ।

२. एउटा अर्को हदीश शरीफको मफूम पनि छ । एक पटक नबी करीम बिहानपख निस्किनु भयो । उहांले एउटी वृद्धा जो आफ्ना सरसामान सहित घर बाहिर बसेर कुरिरहेकीथिईन् । कोही आओस् त उसलाई भनेर यो सामान उठाउन भनुं किन भने तिनी असध्यै वृद्ध थिईन् त्यत्रो सामानको बोझ उठाउन सक्ने उनीमा क्षमता थिएन् । त्यही बेला हजरत मोहम्मद सल्लल्लाहो अलैहेवसल्लम उताबाट निस्किनु भयो अनि वृद्धालाई सोध्नुभयो आमा कतै जान लाग्नु भएको छ ? उनले जवाफ दिईन् हां यो शहर छाडेर अन्तै जान लागेकीछु । त्यसपछि नबी करीमसल्लल्लाहो अलैहेवसल्लमले फरमाउनु भयो उसो भए म मद्दत गर्दिऊ त ? वृद्धाले हां भनिन् अनि वृद्धाका सामान आफ्नो टाउकोमा राखी संगै हिड्न लाग्नुभयो । केही बेर पछि सोध्नु भयो आमा यो शहर किन छाड्न लाग्नु भयो त के कारण छ ? वृद्धाले भनिन यहां एक जना मुहम्मद नामको व्यक्ति छ जो जादुगर छ । उसले सबलाई आफ्नो बसमा वसीकरण गरिहाल्छ । जो ऊसंग भेट्छ उसैको भइहाल्छ उसको धर्म अपनाइ हाल्छ । म त्यही व्यक्तिको डरले यो शहर छाड्न लागेकी हुं किनभने कुनै दिन यदि ऊ मसंग भेटिहाल्यो भने मलाई पनि आफ्नो धर्ममा लिइहाल्छ त्यसकारण म यहांबाट टाढा जान लागेकी हुं । बाटोभरी उसले नबीकरीमको बारे आफ्नो नराम्रो भनाइ राखि उनलाई नराम्रो भन्दै गई । केही बेर पछि उसको स्थान आयो जहां उसलाई रोकिनु थियो । उनी भनिन् बाबु तिमीले मेरो यत्रा सामान बोकेर यहां सम्म पुर्यायौ तर तिम्रो नाम भनेनौ । अनि नबीसल्लल्लाहो अलैहेवसल्लमले भन्नुभयो म त्यही मुहम्मद सल्लल्लाहो अलैहेवसल्लम अर्थात अल्लाहको रसूल हुं जसका बारेमा अघि सम्म भन्दै हुनु हुन्थ्यो । वृद्धा लज्जित भइन् र भनिन् मैले गलत कुरा सुनेकी हुनाले तिमी र तिम्रो धर्मलाई नराम्रो ठानेर यहांबाट जादैं थिए तर जब तिमीले आफ्नो बारे नराम्रा कुरा सुनेर पनि निस्वार्थ मेरो मद्दत गर्यौ भने पक्कै तिम्रो धर्म सच्चा छ जसले मानवताको पाठ सिकाउंछ मलाई पनि तिम्रो धर्ममा लेऊ ।
यो हो इस्लाम जसले मानवता सिकाउंछ ।

३. हदीश शरीफको मफूम छ की एक पल्ट एक जनाको छोरा हरायो र छोरा नभेटिए पछि उनी नबीकरीम कहां हाजिर भए र अर्ज गरे ऐ अल्लाहका रसूल मेरो छोरा हराएको छ भेटिरहेको छैन् के गरुं ?


नबीकरीम सल्लल्लाहो अलैहे वसल्लम  फरमाउनुभयो की फलाना बगैचामा तिम्रो बच्चा खेलिरहेकोछ गएर ल्याऊ । तर त्यहां गएपछि तिमीले तिम्रो बच्चालाई “छोरा” नभन्नु उसलाई “अंगालो नहाल्नु” उसलाई “काखमा न उठाउनु” ।
व्यक्तिले आश्चर्य साथ बडा विनर्मताका सोधे या रसूल्लाह ऊ मेरो छोरा जो हराएको थियो उसलाई देखेपछि माया त स्वाभाविक लाग्छ अनि मैले मेरो छोरालाई छोरा नभन्ने उसलाई अंगालो नहाल्ने उसलाई काखमा नउठाउने किन होला कृपया प्रष्ट पार्नु हुन आग्रह गर्छु ।
व्यक्तिको जवाफमा सरवरे कायेनात नूरे मुजश्शम हजरत मोहम्मद  सल्लल्लाहो अलैहेवसल्लम फरमाउनुभयो ” तिम्रो हराएको छोरा भेटिए पछि माया लाग्नु स्वाभाविक नै हो तर त्यस बगैंचामा शहीदहरुको (युद्धमा मिरिएकाहरुको) बच्चा पनि संगै खेल्दैछन् । तिमीले यदि मायाले आफ्नो बच्चालाई मायाले छोरा भनी बोलायौ भने ती अनाथ बच्चाहरुलाई आफु अनाथ भएको कुराले चित्त दुख्छ । यदि तिमीले आफ्नो बच्चालाई मायाले काखमा उठाउछौं भने ती टुहुरा बच्चाहरुलाई आफ्नो बुवाको कमी महशुस हुन जान्छ र तिनीहरुको मन दुख्नेछ । त्यस कारण घर लगेर जति माया स्नेह लुटाउनुछ लुटाउनु तर त्यहां ख्याल गर्नु की ती अनाथ बच्चाहरुको चित्त नदुखोस् ।”
जुन इस्लामले अनाथ बच्चाहरुलाई छोरा शब्दले बोलाउदां आफ्नो बावुको कमी महशुस भइ मन दुखि न होस् भनी पाठ सिकाउंछ ।
त्यस धर्मले कब कुनै बच्चालाई अनाथ बनाउने कार्यलाई सही भन्छ । इस्लामले कसैको अनाहकमा चित्त दुखाउनबाट परहेज गर्न भनेछ । त्यस कारण कसैको ज्यान लिने व्यक्ति कदापि मुस्लिम होईन् र इस्लामसंग उसको कुनै सरोकार छैन् । यदि कसैले यस्तो गर्छ भने इस्लामको नजरमा ऊ अपराधी हो र सजायको भागिदार हो । अर्थात इस्लामले कसैलाई आफ्नो बोली व्यवहारले दुखी नबनाऊ भनेर  नर्मीको पाठ सिकाउंछ ।

४. एउटा उदाहरण यहां अरु हेरौं इस्लामको आधारस्तंभ मध्ये नमाज पनि एक हो । जन्नतको कुंजी (स्वर्ग द्वार खोल्ने सांचो) हो नबीपाकसल्लल्लाहो अलैहेवसल्लमको आंखाको सूकुन हो । अल्लाहको नजिक सबभन्दा मन पर्ने कार्य हो । त्यसको बारेमा फरमान छ की उत्कृष्ट नमाज त्यो हो जसको वुजू उत्कृष्ट हो । तर त्यही उत्कृष्ट नमाज र उत्कृष्ट वुजूका लागि फरमान छ की वुजू गर्दा आवश्यकता भन्दा बढी पानी खेर फाल्नु हुदैंन् । यदि उत्कृष्ट वुजूका नाममा बढी पानी खेर फालियो भने त्यो गलत हो ।


अब भन्नुस् जुन धर्मले नमाज पढ्न गरिने वूजूका लागि आवश्यकता भन्दा बढी पानी बगाउन मनाही गरेकोछ त्यो धर्मले कसैलाई अनाहक गाली गर्ने र सताउने इजाजत कसरी दिन्छ, कसैको आंखाबाट आंशु र जिउबाट रगत बगाउने कार्यको इजाजत कसरी दिन सक्छ ।

५. ओहदको घमासान युद्धमा  मदनी आका हजरत मुहम्मद मुस्तफ़ा सल्लल्लाहु अलहै वसल्लमका आत्मीय हजरत हमज़ा (रदीयल्लाहु अन्हु) सिंह सरह अगाडि बढिरहनुभएको थियो । जता उनका पाइला बढ्दथे शत्रु  दायां-बांया  यसरी सर्ने गर्थे जसरी  तेज़ लहरको धाराले लेउ सर्छ ।


आज हजरते हमज़ा रदीयल्लाहू अन्हु हरेक खतराबाट नडराई लडिरहनु भएको थियो । धेरै पहिला अर्थात ओहदका लागि जित्नु भन्दा पनि धेरै पहिला देखि नै सबलाई थाहा थियो की हमज़ा (रदीयल्लाहू अन्हु) को तलवार  अगाडि टिकना सहज छैन् । सामुन्नेबाट उहांलाई हराउन सहज कार्य थिएन त्यसकारण त हिंदाले नरभक्षीलाई एक पहाड़को गुफाभित्र लुकाएर राखे थिई कि जुन बेला हमज़ा उताबाट हिड्नुहोला अचानक उनीमाथि आफ्नो वाणबाट आक्रमण गरी उहांलाई शहीद गरदेओस् ।”


हिंदाले नरभक्षीलाई विश्वास दिलाउदैं भनेकी थिई “म तिमीलाई यति धेरै उपहार दिनेछु जतिको तिमले कल्पना नि गर्न सक्दैनौ मात्र हमजा को मृत्यु भइहालोस्”- (मआजल्लाह)
अबू सुफियानकी पत्नी बीवी हिंदाको संकल्प थियो यो- “ऐ मेरो खुदा हुबुल——(हिंदाले आफ्नो भगवानका अगाडि झुकेर संकल्प गरी)”म वाचा गर्दछु की  हमज़ा शहीद भएमा  म उनको नाक – कान काटेर त्यसको माला बनाएर लाउंछु , म उनका कलेजो चपाएर आफ्नो हृदयलाई शान्ति पुर्याउंछु।  “
र दुर्भाग्यवश यस्तो नै भयो ।
हजरते हमज़ा रदीयल्लाहू अन्हु दुश्मनहरुलाई हराउदैं जतिखेर गुफा नजिक पुग्नुभयो
जहां त्यो नरभक्षी लुकेर बसेको थियो ।
वहशीले आफ्नो वाणले आक्रमण गर्यो जुन वाण हजरते हमजाको नाइटोभित्र प्रवेश गर्ने वित्तिकै उहां भुंइमा ढलिहाल्नुभयो।
एक घाइते सिंह सरह फर्केर हेर्नुभयो ऊ आफ्नो हासीरहेको थियो ।
हजरत हमज़ा उठ्न सक्नु भएन र उहांका आंखाहरु बिस्तारै बन्द भइहाले। केही बेरपछि  हुज़ूर (सल्लल्लाहू अलय्ही वसल्लम)आफ्ना काकालाई खोज्दै लाश सम्म पुग्नुभयो उहांका आंखा रसाए लाशको दुर्गति देखेर । किन भने उनको काका हजरत हमजाको छाती चिरिएको थियो ,कलेजो चपाइएको थियो  अनि नाक र कान काटिएका थिए ।

तर युद्धको जीतपछि जब मक्कामा इस्लामका परचम फहरियो र हुज़ूर (सल्लल्लाहु अलैही वसल्लम)ले क़ाबा शरीफमा एक अल्लाहको बड़ाईको ऐलान गर्नुभयो ।
तब कोही थिएन जो इस्लामलाई को चैलेंज गर्न सकोस् । तिनै व्यक्तिहरु हूल का हूल इस्लाममा प्रवेश गरिरहेका थिए जसले दिएका घाउ अझै  ताज़ा नै थिए। उहां एक पाकीज़ा(पवित्र) मुस्कानका साथ सबलाई “माफ” गरिरहनु भएकोथियो ।
उनलाई पनि जसले मुहम्मद सल्लल्लाहो अलैहेवसल्लम माथि माटो फालेका थिए ।
उनलाई पनि जसले उहांमाथि थूकेका थिए  (सुम्मा नऊजूबिल्लाह)
उनलाई पनि जसले उनका आफन्तलाई शहीद गरेका थिए । तर किन ?
उतिखेर सबै कुरा उहांकै हाथ मुबारकमा थियो उहांले जसलाई जुन सजाय दिन सक्नु हुन्थ्यो  को थियो र उहांलाई रोक्ने तर सबैलाई माफ गर्नु भयो ।
किन भने उहांलाई अल्लाहले  “रहमतुल्लिल मुस्लीमीन नभई रहमतुल्लिल आलामीन” अर्थात  मुलसमानहरुका लागि रहमत (कल्याण गर्न) नभई सम्पूर्ण मानवजातिका रहमत (कल्याण गर्न) बनाएर पठाउनुभयो ।त्यसकारण युद्धमा विजय पछि माफी पाउनेहरुमा अबू सुफियान र हिंदा पनि थिईन् । जसले हजरत मोहम्मद सल्लल्लाहो अलैहेवसल्लमका काकालाई शहीद गरी उहांको लाशको दुर्गति गरेकी थिईन् ।

६. अर्को उदाहरण यहां करबलाको युद्ध र त्यसपछिको घटना बारे संक्षिप्तमा बयान गर्नु उचित होला यसले अझ प्रष्ट हुनेछ कि इस्लाम वास्तवमा शान्तिको धर्म हो ।
इस्लामी वर्ष अनुसार पहिलो महिना मुहर्रमुलहराम हो । जसको आफ्नै विशेषता छ तथापि यहां अलिकति प्रकाश मात्र पार्ने हो । जब करबलाको युद्धमा इमाम हुसैन अलैहिस्सलाम (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लमका नाती)को पुरै परिवार र साथीभाईहरुलाई भोकै पानी नदिएर प्यासै ६ महिनाका दुधमुखे बालक अली असगर अलैहिस्सलामलाई समेत शहीद गरियो । युद्ध पश्चात जब केही समय पछि उनका परिवारलाई शहीद  गर्ने व्यक्ति जो तिर्खाले व्याकुल थियो उहां कहां आयो अनि पानी माग्यो । इमाम हुसैन अलैहिस्सलामका छोरा इमाम जैनुलाबदीन अलैहिस्सलामले उसलाई पानी दिनुभयो उसले भन्यो अझै तिर्खा लागेछ उहांले फेरी पानी दिनुभयो उसले फेरी भन्यो अझै तिर्खा लागेछ उहांले फेरी पानी दिनुभयो । उसले पानी माग्दै जांदा इमाम जैनुलाबदीन अलैहिस्सलाम दिदैं गर्नु भयो । ऊ आश्चर्य चकित भइ भन्यो “शायद तपाईले मलाई चिन्नु भएन् ।”
इमाम जैनुलाबदीन अलैहिस्सलामले फर्माउनुभयो “हां चिनेछु तिमीले करबलाको युद्धमा मेरा परिवारजनलाई एक थोपा पानी नदिएर प्यासै शहीद गरेका थियौं ।”
उसले भन्यो ” जब तपाईले मलाई चिनिसक्नुभयो अनि पानी किन दिनुभयो जबकी मैले तपाईको परिवारजनलाई पानी न दिएर प्यासा शहीद गर्ने व्यक्ति हुं ।” 
इमाम जैनुलाबदीन अलैहिस्सलाम फर्माउनुभयो त्यो तिम्रो व्यवहार र संस्कार थियो यो मेरो अर्थात इस्लामी संस्कार हो ।” 

७. हजरत मोहम्मद सल्लल्लाहो अलैहे वसल्लमको फरमान छ ” तिम्रो खाना हराम छ यदि तिम्रो छिमेकी भोकै सुतेछ ।” यहां फरमानमा छिमेकी शब्द मात्र छ अर्थात त्यो छिमेकी मुस्लिम पनि हुन सक्छ र गैर मुस्लिम पनि हुन सक्छ । भनाइको अर्थ यो कि छिमेकीको शब्दमा मानवता समेटिएकोछ । अर्थात त्यो छिमेकी मानव हो र एक मानव यदि भोको छ भने तपाईको खाना हराम भइहाल्छ । जुन धर्मले सम्पूर्ण मानवको भोकको ख्याल राखि मुस्लिमलाई खाना खुवाउने आदेश दिन्छ त्यो धर्मले कसैलाई घरबार बिहीन टुहुरा बनाउने आदेश कसरी दिन सक्छ ।

हो यदि कसैले मानवता विरोधी कार्य गर्छ भने ऊ दोषी हो र उसलाई सजायको भागीदारी बनाउनुपर्छ तर एक व्यक्तिको कार्य लाई लिएर सम्पूर्ण समुदायलाई नै दोषारोपण गर्नु कदापि उचित कार्य होईन् । यहां मात्र यति भन्न चाहें कि
माथिका यी हदीश शरीफ र युद्धका घटनाले प्रष्ट पारेछ कि इस्लामले क्षमादानको पाठ सिकाउंछ । तर आज इस्लाम बारे गलत प्रचार प्रसार गरी बदनाम गर्ने कार्य गरिन्छ ।

यहां माथिका उल्लिखित उदाहरणहरुले यो कुरा प्रष्ट छ की इस्लाम वास्तवमा शान्तिको, समानताको , प्रेमको , आत्मियताको , भाइचाराको र मानवताको धर्म हो यसको कट्टरता संग कुनै लेनादेना छैन, त्यस कारण इस्लाम कट्टरवाद होइन ।

प्रतिक्रिया

प्रतिक्रिया