कोरोन भाइरस विश्वभरि महामारीको रुप लिएको छ । यो कुराबाट हामी सबै नेपाली अवगत नै छौ । हाल नेपालमा संक्रमितको संख्या ९ पुगेको र १ जनामा पहिलो पटक अर्को व्यक्तिबाट सरेको पुष्टि भई नेपाल दोस्रो चरणमा प्रवेश गरेको छ । यो अत्यन्तै दुखद पक्ष हो । अगामी दिनहरुमा थप केहि बढनसक्ने अनुमान गरिएको छ र हाल यो रोग बिरुद्ध खोप व औषधि नरहेकोले यो रोगको संक्रमणबाट बच्ने उत्तम उपाय सामाजिक दूरी नै हो ।
रोग लाग्नबाट बच्नु र बचाउनु नै वर्तमान परिस्थितिमा सबै भन्दा ठुलो धर्म कर्म हो । यही मान्यताका साथ हाम्रो देशले कोरोना नियन्त्रणको लागी जारी गरेको हरेक नीतिनियम र रणनीतीको पूर्ण पालना गर्न गराउन हामी लागेका छौं र यो हाम्रो दायित्व पनि हो । तर वर्तमान परिवेशमा सामाजिक सञ्जालमा कारोनाको संक्रमण फैलाउनमा मुस्लिम समुदायको अहम भुमिका रहेको जस्तो अभिव्यक्ति आइरहेकोले केही कुरा लेख्न मन लागेको छ । दिल्लीको निजामुद्दीन मर्कजमा आयोजना गरिएको तबलिगी जमातको इज्तिमा कुनै नयाँ कार्यक्रम नभई वर्षभरि चल्ने नियमित प्रक्रिया हो ।
संसार कोरोनाको संक्रमणसंग लडिरहेको समयमा विदेशी पहुनाको उपस्थितिमा कार्यक्रमको आयोजना गर्नु मुर्खतापूर्ण कदम हो । आयोजकले संकटप्रति गरेको वेवास्ताका कारण त्यहाँबाट पनि भारतको विभिन्न राज्यमा संक्रमण फैलियो यो तितो सत्य हो तर जमात मात्र नभई कार्यक्रम र मर्कजबारे सरकारलाई जानकारी हुंदा हुदै वेवास्ता गरि स्थिति गम्भीर बने पछि ध्यान दिनु सरकारको पनि कमी कमजोरी थियो । भारतमा ट्रम्पको स्वागत, मध्यप्रदेशमा सपथ ग्रहण, कनिका कपूर सहभागी भएको कार्यक्रम, समयमै लकडाउनको निर्णय नहुनु, रोजगारका क्रममा घर बाहिर रहेका नागरिकहरुको व्यवस्थापन र लक डाउनको उल्लंघन लगायतका विभिन्न कारणले समेत भारतमा जोखिम बढेको सहजै बुझ्न सकिन्छ । नेपालमा पनि यसै विषयलाई लिएर मुस्लिम समुदायप्रति नकारात्मक धारणा बनाउने गरि केही व्यक्तिले गरेको कुप्रचार दुखद कुरा हो । दिल्लीको घटना सार्वजनिक भएको दिनदेखि नै नेपाली मुस्लिमहरु यसतर्फ सचेत भएर समुदायमा खटिएको जानकारी गराउन चाहन्छु ।
लकडाउन शुरु भएपछि यसलाई सफल पार्न सबै गम्भीर भएका छन् । सभा, इज्तेमाहरू भएका छैनन् । यो पुरै मानव सभ्यताको रक्षा र देशको सुरक्षाको लागि काम हो । बिरगन्ज र नेपालगन्ज लगायतका ठाउँमा दिल्लीको कार्यक्रमबाट फर्किएका नेपाली मुस्लिमहरु सरकारको निर्देशन पालना गर्दै क्वारेटाइन हुने र जाँचमा पूर्ण सहयोग गरेका छन् । जाँच भएका सबैको रिपोर्ट निगेटिभ आएको छ । तब्लीकी जमातका जिम्मेवार व्यक्तिहरुले लकडाउन भन्दा पहिले कुनै पनि मस्जिदमा जमात आएको व्यक्तिहरुलाई स्थानीय प्रशासनको समन्वयमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्ने, इमाम (मौलाना), मोअज्जीन र आवश्यक कर्मचारीबाहेक कुनै पनि व्यक्तिलाई मस्जिद भित्र बस्न नदिने, मस्जिदमा एमाम र अन्य आवश्यक कर्मचारीहरुले मात्र नमाज अदा गर्ने र जुमाको नमाजको सट्टा आ–आफ्नै घरमा जोहरको नमाज अदा गर्ने काम समुदायले गरिरहेको छ । तर पनि भारतीय सन्चार माध्यमलाई आधार बनाएर अनावश्यक रुपमा शंका गर्नु व आरोप लगाउनु गलत हो ।
नेपाल प्रवेश गर्न पाउनु पर्ने माग गर्दै सिमामा आन्दोलन हुंदा एक हजार जनाको त्यो भीडमा सहभागी व्यक्ति धनगढीमा कोरोना संक्रमित भेटियो तर त्यस विषयमा हामी गम्भीर भएर छलफल गरेका छैनौ । सरकारले लकडाउन घोषणा गरेको अवधिमा प्रहरीलाई छलेर हामी नागरिक बजार घुम्ने क्रम जारी छ तर हामी गम्भीर छैनौ । क्वारेन्टाइनबाट व्यक्ति भागेर जान्छन् त्यो चर्चाको विषय बन्दैन । संकटमा अरुको देखासिखीमा पटाखा पट्काउने, हुल जम्मा गर्ने लगायतको कार्य भयो तर यसको चर्चा हुदैन । तर भारतीय सञ्चार माध्यममा तब्लीगी जमातलाई लिएर समाचारको नकारात्मक चर्चा बढि छ । जबकि माथि उल्लेखित सबै घटना अज्ञानताका सिकार भएका व्यक्तिका कारण भएका हुन । यो संकटको घडिमा पूरा देश एक ढिक्क हुनुपर्नेमा सामाजिक रुपमा दूरी पैदा हुने खालका गतिविधी गर्नु चिन्ताको विषय हो । धार्मिक रुपमा कुनै पनि धर्मले समाज व राष्ट्रलाई समस्यामा पार्ने गतिविधी गर्न छुट दिदैन । यदि यस प्रकारका गतिविधी हुन्छ भने त्यसको मुख्य कारण हो सचेतनाको अभाव र निरक्षरता ।
नेपालमा आउने कुनै पनि बिपत्तीले कुनै धर्म व समुदाय बिशेषलाई मात्र क्षति गर्दैन सवैलाई गर्छ । भारतीय मिडियाहरूले समाचारलाई जुनप्रकार अतिरञ्जित गरेर प्रस्तुत गरेका छन् यसलाई आधार बनाएर नेपाली मुस्लिम समुदाय प्रतिको धारणा तय नगर्न सबैलाई अनुरोध गर्दछु । राष्ट्रिय संकटको घडिमा नेपाली मुस्लिम समुदाय पनि गम्भीरताका साथ सहयोग गरिरहेको जानकारी गराउन चाहन्छु । अन्त्यमा बिहीवार मुस्लिम समुदायले मनाउने पर्व शबेबरातको अवसरमा राती मस्जिदहरुमा जाग्राम बसि इबादत गर्ने र कब्रस्तानमा पुगेर आफ्ना पुर्खाहरुका लागी प्राथना गर्ने लगायतका गतिविधीहरु लाई यस वर्ष स्थगित गरि घरमै बसेर इबादत (प्रार्थना) गर्न र विश्वमै महामारीको रुप धारण गरेको कोरोना भाइरसबाट मुक्ति पाउनका लागि अल्लाहसंग दुवा गर्न सबैमा अपील गर्दछु ।
हारुन मुस्लिम संगठन नेपाल, प्रदेश ५ का इन्चार्ज हुन्











