बाँकेमा लगाइएको गहुँ खेती काट्नका लागि तयार भएको छ । किसानहरुले गहुँ काट्न सुरु गरेका हुन् । लकडाउन रहेपनि किसानहरु कटानीका लागि खेतमा पुगेको पाइन्छ । यद्यपि, कतिपयले घर बाहिर निस्कन नहुने भएकाले केही दिनपछि गहुँको कटानी सुरु गर्ने बताएका छन् ।
बाँकेमा पछिल्लो बर्षहरुदेखि गहुँ खेती गर्ने क्रम बढ्दै गएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकाल बताउनु हुन्छ । यस बर्ष बाँकेमा झण्डै २१ हजार ७६ हेक्टरमा गहुँ खेती भएको अनुमान रहेको छ । अघिल्लो आ.व. २०७५÷०७६ मा १९ हजार १ सय ६० हेक्टरमा भएको गहुँ खेतीबाट ५७ हजार ४ सय ८० मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
‘मसुरो, केराउ, चना खेती घट्दो र गहुँ खेती बढ्दो क्रममा रहेको पाइन्छ’, ढकाल भन्छन्, ‘दैनिक उपभोग्य वस्तु भएको र सिचाईको सुविधा बढ्दै गएकाले पनि गहुँ खेतीतर्फ किसान आकर्षित भएका हुन् ।’











