जमुनाह : अझै भित्रिंदै सयौं नेपाली

भारतले गत मंगलबारदेखि देशलाई पूर्ण रुपमा लकडाउन गरेको छ । मानिसहरुलाई अत्यावश्यक काम बाहेक घरबाट बाहिर निस्कन बन्देज छ । तर, त्यसको पालना भने हुन सकेन । किनकी केही घण्टाको समय दिएर २१ दिन लकडाउन गरिएको थियो । त्यसले भारतमा भित्र आन्तरिक र विदेशी कामदारहरु आफ्नो गन्तव्य फर्किन पाएनन् । भारतबाट भारतकै विभिन्न ठाउँ तथा नेपालबाट त्यहाँ गएका लाखौं कामदारहरुको भीड बसपार्कमा लाग्न थाल्यो ।
मानिसहरु हिडेर तथा बसको सहायताबाट अहिले पनि घर फर्किरहेका छन् । भारतको केन्द्र सरकारले राज्य सरकारलाई सीमा बन्द गर्न भने पनि घर फर्किनेहरुका कारण त्यो प्रभावकारी हुन सकेको छैन ।


लकडाउनको झण्डै एक साता हुँदा पनि सयौं नेपाली अझै फर्किरहेका छन् । सोमबार विहान पनि भारतको रुपैडिहामा सयौं नेपाली बाँकेको जमुनाह हुँदै छिर्नका लागि लामबद्ध भएर बसिरहेका छन् । भारतीय अधिकारीहरुले नेपाली अधिकारीको समन्वयमा उनीहरुलाई नेपाल पठाउने भनेको रुपैडिहाबाट पत्रकार सन्तोष शुक्लाले नेपालगन्जन्यूजलाई बताएका छन् ।
भारतबाट फर्कनेहरुले अनेकौं दुःख भोगेर नेपाल फर्किएको बताएका छन् । कतै हिडेर त कतै बसको यात्रा गरेर उनीहरु रुपैडिहासम्म आइपुगेका हुन् । नेपाल प्रवेश गरेका नेपालीलाई प्रशासनले बस मार्फत सम्बन्धित जिल्ला पठाइदिने गरेको छ ।


भारतबाट फर्किने नेपालीलाई रोक्न नसकिने र उनीहरु भित्रिदा जोखिम बढिरहेको अवस्था अझै विद्यमान रहेको छ । भारतबाट भित्रिने नेपालीलाई यहाँ आएपछि निगरानीमा राख्न अत्यावश्यक रहेको छ । यद्यपि, आउने सबैको सीमामा स्वास्थ्य चेकजाँच भने हुँदै आएको छ ।

सबै तस्विर : सन्तोष शुक्ला/नेपालगन्जन्यूज

प्रतिक्रिया

प्रतिक्रिया