
अहिले देश पूर्णतया लकडाउनमा छ । कतिपय जिल्लामा कफुर्यु लगाइएको छ । बाँकेमा जनता कफुर्युका नाममा लकडाउन आव्हान गरिएको छ । बुधबार लकडाउनको दोस्रो दिन । विहान र दिउँसोको समिक्षा गर्ने हो भने पूर्णतया लकडाउनको पालना भएको पाइन्छ । तर, साँझको अवस्था हेर्ने हो भने त्यसले सतर्कताप्रति स्पष्ट लापरवाही देख्न सकिन्छ ।

लकडाउन गर्नुको अर्थ मानिसहरु घरमै बसुन् । समुहमा नभेटुन्, भीडभाड नहोस् भन्ने हो । जसले संक्रमणको जोखिमलाई घटाउँछ । तर, मानिसहरुको बुझाई दिनभर घरमा बसेपछि लकडाउनको पालना भयो । लकडाउन हाम्रा लागि भन्दा पनि राज्यले थोपरेको जस्तो भान साँझ बजारमा देखिने भीडले पारेको छ ।
बुधबार साँझ किराना पसल, नास्ता पसल, तरकारी बजारमा थेगिनसक्ने खालको भिड देखियो । यसले दिनभरको प्रयास बालुवामा पानी सरह साबित हुने जोखिम देखिन्छ । किनमेलको उद्देश्य नभएकाहरु पनि दिनभर घरमा बसेको भन्दै खुट्टा तन्काउने बहानामा हिड्ने, समुहमा भेला भई चर्चा, छलफल गर्दै आएको पाइन्छ ।

प्रशासनले खाद्यान्न, तरकारी, दुधका पसललाई बन्द गरेको छैन । त्यो मानवीय हिसाबले ठिक होला । तर, भोलि भयावह स्थिति देखिने हो भने ढोका थुनेर बस्नु पर्ने अवस्था आउँछ भन्ने पनि बुझ्नु पर्दछ ।
त्यसैले मानिसहरुले आफुलाई चाहिने रासन १४ दिनका लागि पहिले नै खरिद गरेर राख्नुपर्छ । यो जोखिमको समय हो । कतिपयसँग एकैपटक खरिदका लागि आर्थिक अभाव हुनसक्छ । तर, जसरी बिरामी पर्दा पैसा खोजेर पनि उपचार गरिन्छ । त्यसैगरी १४ दिनलाई खाद्यान्न जोहो गरेर राखी घरबाहिर ननिस्कनु उपयुक्त हुन्छ ।

कुनै अप्रिय अवस्था आएमा खाना होइन भोकै पर्ने अवस्था पनि आउन सक्छ । त्यसैले होला, तेज प्रकाश दीक्षित सामाजिक सञ्जालमा लेख्छनु, नुन रोटी खाउँला तर घर बाहिर निस्केर सरकारलाई अप्ठ्यारोमा पार्दिन ।












