यतिबेला संसारको ध्यान एउटै बिषयमा छ त्यो हो, कोभिड–१९ अर्थात कोरोना भाइरस । कोरोनाको कहरका बीचमा यो साइकल गाथा लेखिरहदा त्यससँगै जोडिएर लेख्न मन लाग्यो । साइकलको महत्व यो बेला झन् धेरै बढेको छ, साइकलमा एक्लै यात्रा गर्दा सार्वजनिक यातायात प्रयोग गरेर यात्रा गर्दाको जोखिमबाट जोगिन सकिन्छ ।
साइकलको नियमित प्रयोग अर्थात दैनिक कम्तीमा पनि १५/२० किलोमिटर साइक्लिङ्ग गर्नु आफैंमा एउटा ब्यायाम हो । नियमित साइक्लिङ्ग गर्नेहरूको स्वस्थ्य अवस्था पक्कै पनि केही न केही राम्रो नै हुन्छ अरुको तुलनामा । साइक्लिङ्ग स्वास्थ्यका दृष्टिकोणबाट हेर्दा बहुउपयोगी साधनको रूपमा नै लिन सकिन्छ । सुगर, प्रेसर, मुट सम्बन्धि समस्या र जोर्नीको दुखाईको समस्यामा पनि साइकल निकै नै फाइदामन्द साबित भएको छ । अहिले देखिएको कोभिड–१९ को समस्यामा यो भाइरसले बढी कम प्रतिरोधात्मक क्षमता भएकाहरुलाई प्रभावित बनाएको तथ्यांकहरु बाहिर आएका छन् नियमित साइक्लिङले इम्युन पावर अर्थात प्रतिरोधात्मक क्षमता बढाउने समेत बिश्वास गरिएको छ ।
अहिलेको साइकल गाथामा मैले नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व सभापति प्रेम केसीसँग गरेको अनलाइन संवादलाई यहाँहरु सँग राख्ने जमर्को गरेको छु । उमेरले झण्डै ५० को नजिक पुग्न लागेका केसीको दैनिकी बिहान ५ बजेको साइक्लिङ्गबाट हुन्छ । चाहे जस्तो परिस्थिति र मौसम किन नहोस् घर बाट निस्केर ५ः३० मा धम्बोजी पुगेर अन्य साइक्लिस्टलाई पर्खिने र फोन गर्दै उठाउनुहुन्छ उहाँ । उहाँको साइक्लिङ्ग प्रतिको लगाव र निरन्तरतासँग सबै चकित छन् भने साइक्लिङ्गका कारण उहाँ आफ्नो फेरिएको दैनिकीबाट निकै नै खुशी समेत हुनुहुन्छ ।
२०४० सालमा पहिलोपटक साइकलको डन्डा समाएका केसी नेपालगन्जमा नै हुर्केका कारण साइकल प्रति अभ्यस्त भएपनि पछिल्लो समय साइकल चलाउन छाडिसक्नुभएको थियो तर हिजोआज सहरमा बढ्दै गएको साइक्लिङ्ग कल्चरले फेरि साइक्लिङ्गमा जोडिदा आफुलाई रमाइलो लागेको र स्वस्थ्यता समेत आर्जन भएको उहाँको अनुभव छ । साइक्लिङ्ग गर्नुपूर्व उहाँको शरीर र अहिले साइक्लिङ्गमा जोडिएपछिको शारीरिक अवस्था निकै फरक देख्न सकिन्छ, अजङ्गको ज्यान, ठूलो भुँडी अनि १०० केजी माथिको तौल सधैं तनाव हुन्थ्यो उहाँलाई ।
उहाँले सुनाउनु भयो, साइक्लिङ्ग गरेको ९० दिनमा नै १० केजी तौल घटेको र पेट समेत घटेको अनि शरीरमा फुर्ती आएको छ । उहाँको प्रेसर पनि अहिले मेन्टेन छ भन्नुहुन्छ उहाँ, शारीरिक आरोग्यतासँगै पावर ( शक्ति) समेत बढेको अनुभव छ उहाँसँग । १०० केजीको तौलबाट घटेर यो १ बर्ष मा ७० केजी र ३७ को कम्मर घटेर ३२ मा पुगेको छ उहाँको । बाँके जिल्लाको सबै गाउँ ठाउँका भित्री बाहिरी सडकमा साइकल गुडाइयो सायद साइक्लिङ्गमा नलागेको भए कहिले देखिन्थ्यो होला ती ठाउँ अनि त्यहाँको रहनसहन र जिवनशैली उहाँले सुनाउनु भयो ।
सहरिया जीवनशैलीका मानिसहरूले त झन् नियमित साइक्लिङ्ग गर्नुपर्ने उहाँको सुझाव छ । मानिस धनसम्पत्ति अनि घरपरिवारका लागि विभिन्न काम ८ देखि १२ घण्टा सम्म गर्छन् । तर, आफ्नो निजी स्वास्थ्यको चासो कमै गर्छन् । बिस्तारामा सुतेर जाने समय हरेक बिहान आफ्नो लागि छुट्याएर नियमित २ घन्टा साइक्लिङ्ग गरे शारीरिक र मानसिक रूपमा स्वस्थ्य भइने हुँदा उहाँले साइक्लिङ्ग गज्जबको माध्यम भएको बताउदै साइक्लिङ्गमा जोडिन सबैलाई आग्रह समेत गर्नुहुन्छ ।











