अढाई बर्षपछि खोल्यो वाणिज्यले नविकरण

वाणिज्य कार्यालयमा लामो समयदेखि रोखिएको फर्मको नविकरण सुचारु गरिएको छ । वाणिज्य कार्यालयले नविकरणको म्याद गु्रजेका फर्महरुको जरिवाना लिएर पनि नविकरण नगरिदिएपछि व्यवसायीहरु मर्कामा परेका थिए । अढाई बर्षदेखि म्याद गुज्रेका फर्म नविकरण नहुँदा बैंकबाट ऋण लिन तथा बोलपत्र तथा टेण्डर दाखिला गर्न समस्या हुने गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राईभेट फर्म रजिष्ट्रेशन (१२ औं संशोधन) नियमावली, २०७६ मार्फत नविकरणको म्याद गुजारेका उद्योगी, व्यवसायीलाई फर्म नवीकरणको व्यवस्था मिलाएको हो ।


व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ तथा विभिन्न जिल्लाका व्यवसायी आबद्ध संघहरुले म्याद गुज्रेका फर्म नविकरणका लागि सरकारसँग पहल गर्दै आएका थिए । वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले फागुन १९ को निर्णय बमोजिम म्याद गुज्रेका फर्मको नविकरण सुचारु गरिएको पत्र प्राप्त भएको जानकारी दिएका छन् । तर, फर्मका नविकरणका लागि निश्चित अवधी तोकिएको छ । ‘वि.सं. २०७७ असार मसान्तसम्म म्याद गुज्रेका फर्महरु जरिवाना सहितको शुल्क तिरेर नविकरण गराउन सकिनेछ’, प्रमुख पौडेलले भने ।

सरकारले यसअघि नविकरण म्याद गुज्रेका फर्म नविकरणका लागि २०७४ बैशाख २५ गतेदेखि २०७४ असार मसान्तसम्म समय दिएको थियो । तर, त्यतिखेर पुनः म्याद थपिने आशामा धेरै फर्मले नविकरण गराएका थिएनन् । वाणिज्य कार्यालय नेपालगन्ज अन्तर्गत हाल २९ हजारको हाराहारीमा फर्म दर्ता रहेका छन् । जसमा १७ हजार जति फर्मको नविकरण म्याद गुज्रिएको वाणिज्य कार्यालयका प्रमुख पौडेलले जानकारी दिएका छन् । ‘दैनिक जसो व्यवसायीहरु नविकरणबारे बुझ्न आउने गर्नुहुन्छ’, पौडेलले भने, ‘पछिल्लो समय करिब २ हजार व्यवसायीहरुले नविकरणका लागि हामीसँग सम्पर्क गर्नुभएको थियो ।’ उनले व्यवसायीका लागि अवसर भएकाले सदुपयोग गर्न आग्रह समेत गरेका छन् ।


नेपालगन्ज उद्योग वाणिज्य संघले पनि पटकपटक जिल्ला स्थित वाणिज्य कार्यालय, प्रदेश स्थित मन्त्रालय र केन्द्रमा मन्त्रालयसँग फर्म नविकरण खोलिदिनका लागि पहल गर्दै आएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले संघको निरन्तर प्रयासले फर्म नवीकरणको वातावरण बनेकाले यसको समयमै सदुपयोग गर्न सम्पूर्ण उद्योगी, व्यवसायीमा आह्वान गरेका छन् । ‘नेपालगन्ज उद्योग वाणिज्य संघले पटक–पटक सरकारसंग नविकरण खुलाउन माग गर्दै आएको परिप्रेक्ष्यमा गरिएको नयाँ व्यवस्थाले बाँके लगायत देशभरका उद्योगी, व्यवसायीलाई राहात महसुस गराउने’ अध्यक्ष मन्सुरीले प्रतिक्रिया दिएका छन् ।


यसअघि घरेलु तथा साना उद्योग कार्यालय प्रदेश अन्तर्गत रहेकाले प्रदेश सरकारले निर्णयसँगै नविकरण खुलेको छ । वाणिज्य कार्यालय नरहेको जिल्लामा वाणिज्य कार्यालयले गर्ने नविकरण सम्बन्धी काम घरेलु कार्यालयले गर्दै आएको छ । त्यस्ता जिल्लामा समस्या नभएपनि वाणिज्य कार्यालय रहेका जिल्लामा भने नविकरणको समस्या समाधान हुन सकेको थिएन । वाणिज्य कार्यालय संघ अन्तर्गत पर्ने र संघीय सरकारले त्यस सम्बन्धी नीतिगत निर्णय नगर्दा नविकरणमा समस्या भएपनि अब सरकारले निर्णय गरेकाले फर्म नविकरण हुने भएका हुन् ।


सघाउन हेल्प डेस्क

वाणिज्य कार्यालय नविकरण म्याद गु्रजेका फर्महरुको नविकरण गर्ने भएपछि व्यवसायीहरुलाई सघाउने उद्देश्यले नेपालगन्ज उद्योग वाणिज्य संघले हेल्पडेस्क सञ्चालन गर्ने भएको छ । आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी वाणिज्य कार्यालयमा हेल्पडेस्क सञ्चालनमा ल्याउन लागेको संघका महासचिव चिरञ्जीवि ओलीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया