नेपालमा भित्र्याउन प्रतिबन्ध रहेको साना ग्याँसका सिलिण्डर नेपालगन्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । बाँके भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले अवैध रुपमा भित्र्याएर स्थानीय बजारमा साना ग्याँसका सिलिण्डरहरु बिक्री वितरण हुँदै आएको छ । नेपालमा साना सिलिण्डर ल्याउन नपाइने भएकाले त्यसको गुणस्तर परीक्षण र प्रमाणीकरण हुँदैन ।
त्यसैले सोमबार जिल्ला प्रशासनको नेतृत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले ग्याँस बिक्रेतालाई लक्षित गरी अनुगमन गरेको छ । ‘उपभोक्तालाई तोके बमोजिमको मापदण्ड अनुसार ग्याँस बिक्री भए नभएको अनुगमन गरिएको हो,’ वाणिज्य कार्यालय नेपालगन्जका प्रमुख कृष्ण पौडेलले भने ।
संयुक्त बजार अनुगमन समितिले शुक्रबार पाँच वटा ग्याँस बिक्रेताको पसल अनुगमन गरेको थियो । ‘जसमा तीन वटा पसलले मापदण्ड विपरित साना ग्याँसका सिलिण्डर बिक्री गरेको पाइएको छ’, वाणिज्य कार्यालयका प्रमुख पौडेलले भने, ‘उनीहरुलाई प्रति फर्म २० हजारका दरले जरिवाना गरेका छौं ।’ पौडेलले तीन फर्मलाई ६० हजार जरिवाना गरेको जानकारी दिंदै पुनः मापदण्ड विपरितका सिलिण्डर बेचेको भेटिएमा थप कारवाही अगाडि बढाउने बताए । ‘पुनः अनुगमन गरी निर्देशन पालना गरे÷नगरेको फलोअप पनि गर्नेछौं’, उनले भने ।
अनुगमनका क्रममा नेपालमा अनुमति प्राप्त ग्याँसका सिलिण्डरहरु तोकिएको तौल बमोजिम नै भेटिएको पौडेलले बताएका छन् । तर, ग्याँस पसलले तौल गर्ने तराजु नराखेको पाइएकाले राख्न निर्देशन दिइएको उनले बताएका छन् ।
नेपालमा अनुमति नभएका साना ग्याँस सिलिण्डरको प्रयोग गर्नु जोखिमपूर्ण हुने पौडेलले जानकारी दिए । ‘उपभोक्ताले पनि साना ग्याँस सिलिण्डरको प्रयोग गरी जोखिम लिनु उचित होइन’, उनले भने ।
भारतले अघोषित नाकाबन्दी लगाएका बेला बजारमा साना ग्याँसका सिलिण्डर अवैध रुपमा भित्रिएका थिए । नेपालमा ग्याँसको अभाव भएपछि त्यतिबेला उपभोक्ताहरुले भारतीय बजारमै पुगेर पनि साना सिलिण्डर खरिद गरी ल्याएका थिए । अभावका कारण नियामक निकायले समेत नेपालगन्ज बजारमा अवैध सिलिण्डर बिक्रीमा चासो देखाएको थिएन । साना सिलिण्डरहरु उपभोक्ताले खाना पकाउन र बत्तीबाल्नका लागि प्रयोग गर्दै आएका छन् ।
साना सिलिण्डर रिफिल गर्ने व्यवस्था नेपालमा रहेको छैन । व्यवसायीहरुले अवैध रुपमा ठूलो सिलिण्डरबाट सानो सिलिण्डरमा ग्याँस रिफिल गर्दै आएका छन् । यसरी ठूलो सिलिण्डरबाट सानोमा ग्याँस रिफिल गर्दा दुर्घटनाको जोखिम समेत रहने गर्छ ।
संयुक्त अनुगमन टोलीमा वाणिज्यका कृष्ण प्रसाद पौडेल, भुमिराम ढकाल, जिल्ला प्रशासन कार्यालयका महेश्वर पौडेल, जिल्ला गुणस्तर तथा नापतौल कार्यालयका रामसुरत चौधरी, उपभोक्ता हित संरक्षण मंचका प्रभात सिंह ठकुरी र नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी ईन्चार्ज सुर्यबहादुर वोगटी सहभागी रहेका थिए ।











