बसन्त शर्मा
साइमण्ड निक क्रिश्चियन धर्म मान्ने एक क्यानेडियन मित्र हुन मेरा । एक दिन कफी पीउँदै उनले सुखका बारेमा गफिने मुड बनाए ।
कति काम र दुःखको मात्रै कुरा गर्ने । ल आज सुखका कुरा गरौं ।
उनि यो विषयमा प्रज्ञा शक्ति सहितका दृढ सोंच भएका ब्यक्ति हुन भन्नेमा म ढुक्क छु ।
कुरा कहाँबाट शुरु गर्ने भन्ने उल्झनमा थिएँ,
र साइमण्ड निक पनि त्यस्तै अवस्थामा थिए ।
कफी पिउँदै साइमण्ड निकले सुख कस्तो हुन्छ ?
भनेर सोझै प्रश्न तेस्र्याउँछन । अनि शुरु हुन्छ गफिनेक्रम ।
मैले प्रश्नको जवाफ महाभारतको शान्ति पर्वमा उल्लेख भएको यो हरफले जवाफ दिदैं भनें ‘सर्वस्य सुखमीप्सितम’ । अर्थात सुख सबैको प्रिय हुन्छ ।
मलाई थाह छ साइमण्ड निक हिन्दू धर्मावलम्वीको एउटा ग्रन्थ महाभारतको विषयका एक अध्येयता हो । महाभारतको शान्ति पर्व ३ सय ६५ अध्यायको छ ।
शान्तिपर्वलाई धर्म, दर्शन, राजनीति र आध्यात्म ज्ञानका बारेमा रहेको भ्रमलाई स्पष्ट पारिएको रुपमा लिइन्छ ।
गफिंंदै जाँदा हाम्रो मानसिक वृत्तिमा पुग्छ कुरा । मानिसको मानसिक वृत्ति तीन प्रकारको हुन्छ भन्ने कुरा मनोविज्ञानले दर्शाउँछ । भावना (feeling), प्रज्ञा शक्ति ( Intellect) र शंकल्प शक्ति (will) यी तीन मानसिक वृत्तिका कुराहरुसँग कसरी परिचित हुने ? भन्ने प्रश्नले जो कोहीलाई घोत्लिन बाध्य बनाउँछ ।
गजब त के छ भने संकल्प शक्तिमा भावना र प्रज्ञा जोडिएरै पो आउने गर्दछ । यसरी भन्दा कुनै एक शक्तिलाई प्राथमिकतामा राख्दा अर्को शक्तिले पनि सँगसँगै काम शुरु गर्छ । त्यस्को मूल कारण भनेको सरल भाषामा भन्दा कुनै बेला कुनै एउटा शक्ति प्रधान भएर अघि बढ्छ त कुनै खास समयमा अर्को शक्ति हावी हुन्छ त्यसमाथि ।
साइमण्ड निक मलाई तँ कुन शक्तिको पुजारी होस भनेर गिज्याउँछ, बिच्च बिच्चमा ।
यत्तिकैमा मैले साइमण्ड निकलाई कर्तब्य शास्त्रको बारेमा थोरै कुरा
बताएँ । त्यही कर्तब्य शास्त्रको मूल कडी भनेको संकल्पसँग जोडिएको हुन्छ ।
साइमण्ड निक, फेरि बिच्चमा प्रश्न राख्छ, रिजल्ट के हो यस्को ?
म जवाफमा साइमण्ड निकलाई संकल्पको अन्तिम परिणाम भनेको क्रिया हो भनेर बुझाउने प्रयासमा रहन्छु । त्यही क्रियाले नै हाम्रो नैतिकतालाई निर्धारण गर्छ भन्ने सम्म कुरा पुग्छ ।
सायद साइमण्ड निक मेरो जवाफबाट सन्तुष्ट हुन्छ ।
मैले साइमण्ड निकलाई केही बेरको ब्रेकका लागी स्कन्क अनानिजको गीत सुन्न भनें –
‘आइ होप यु आर फिलिगं ह्याप्पी नाउ,
आइ सि यु फिल नो पेन यट अल इट सिम्मस,
आइ ओण्डर ह्वाट यु आर डुइङ नाउ,
आइ ओण्डर इफ यु थिंक अफ मी यट अल……….’
साइमण्ड निकले रिल्याक्स फिल गदै फेरि त्यही गीतको अर्को लाइन गुनगुनायो–
‘डु यु स्टिल प्ले द सेम मुभ्स नाउ,
अर आर दोज स्पेसीअल मुड्स फर समवान एल्स……….’
साइमण्ड निकले कुरा फेरि सुखका बारेमा थाल्यो । म उस्लाई एक कदम अझैं अगाडी सुखवादका बारेमा सम्म बताउन खोज्दै छु ।
केही बेरका लागि हामी संकल्प शक्तिलाई अलग गरेर हेरौं त !!
अब भावना र प्रज्ञा शक्ति यी दुई वृत्तिको अनुकुलताबाट नै आत्म सम्भावनाको स्थिति पैदा हुन्छ ।
साइमण्ड निक प्रश्न गर्छ :
साँच्चिकै आत्म सम्भावना कसको अनुकूलतामा हुन्छ त ?
जवाफमा (म भन्छु): यही पत्ता लगाउन त दुनियाँमा अनेकौं बहस भइरहेका हुन्छन् । पश्चिममा अरिस्टीपश, ऐपीक्युट्स, हब्स लगायतकाहरु एकातर्फ छन भने पूर्वमा चार्वक, वेद छन् ।
कसैले सुखको खोजि नै कर्तब्य हो भन्छन् । यस्तो भन्ने मानिसहरु भावना प्रधान हुन्छन भन्ने मान्यताको विकास भयो । तिनैहरु नै सुखवादी हुन अर्थात (Hedonist) हेडोनिष्ट हुन् ।
सुखवादका कुरा रोकेर म फेरि मानिसका बारेमा फर्किन्छु, तर फेरि सुख सँग आप्mनो केही सम्बन्ध नभएको बताउने मानिसहरुको पनि कमी छैन यो दुनियाँमा । कतिपय त यस्ता मानिस पनि छन विश्वमा जो आफ्ना इच्छा र चाहनाको प्रतिकुल चल्नुलाई पुरुषार्थ ठान्दछन् । जो आफ्नो बुद्धि वा प्रज्ञालाई महत्व दिन्छन् ।
साइमण्ड निकले अलिकति कन्प्mयुजन पैदा भएको भन्दै कुराकानीलाई थप सरलता पैदा गर्न आग्रह गर्छ,
त्यसो भए अझैं बुझिने भाषमा भन्दा, संसारमा भावना र प्रज्ञा दुवैलाई सन्तुलनमा राखेर दुवैको वृत्तिमा साँचो रुपमा आत्म सम्भावना खोज्नेहरु पनि छन् । सुख खोज्नेहरु पनि बडो गजबका छन् । केहीलाई लौकिक सुख चाहिएको छ । जो यहींको जिन्दगी जिउनलाई काफी होस । तर केही मानिसहरु फेरि स्वर्गीय सुख प्राप्तिको खोजमा आप्mनो जिवनको लक्ष्य बनाएर कुदेको कुदेइ छन् ।
ति मध्य पनि कति त आफ्नो ब्यक्तिगत सुख नै सबथोक हो भन्ने मान्यताले ग्रसित छन् । अनि एकथरी आँफु ब्यक्ति सँगै पुरै समाज सुखी होस भन्ने मान्यता राख्दछन् ।
अब साइमण्ड निक प्रश्न गर्छ :
के त्यसो भए मानिस यहाँ अरुलाई आप्mनो सुखको लागि उपयोग गरिरहेका छन त ?
केही हद सम्म त्यो पनि हो ।
म जवाफलाई अली फराकिलो बनाउन चाहन्थें, अधिकाशं सुखको विषयमा सोंच्ने मानिसहरुको मूल प्रवृत्ति उपयोगितावाद अर्थात ( Utilitarianism ) हो । र जो आफ्नो मात्रै सुख हेर्छ त्यो स्वार्थवाद हो ।
तिमीलाई के मा सुख मिल्छ ?
साइमण्ड निकको प्रश्न थियो ।
‘तत्सुखं यत्र निर्वातिः’
मैले जवाफ दिएँ,
अर्थात स्वतन्त्रतामा सुख छ मलाई ।
बँसाईलाइ विट मार्दै भन्छु :
आइ होप यु आर फिलिगं ह्याप्पी नाउ……
साइमण्ड निकको जवाफ :
आई ओण्डर इफ यु आर डुइगं नाउ…..।











