नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी तीन बर्षे कार्यकालका लागि आज शनिबार मतदान भैरहेको छ । निर्वाचनका लागि दुई प्यानलबाट ३८ जना र एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । संघमा अध्यक्ष, दुई उपाध्यक्ष र सदस्य गरी कुल १९ पदका लागि ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । संघमा निर्वाचित कार्यसमितिबाट महासचिव, कोषाध्यक्ष लगायत पदाधिकारी चयन गरिंदै आएको छ ।
संघका अध्यक्ष नन्दलाल वैश्यले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् । ‘शनिबार ९ बजेदेखि मतदान सुरु भएको छ’, अध्यक्ष वैश्यले भने, ‘मतगणना भने आइतबार हुनेछ ।’
समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार छन् । समावेशीबाट सदस्यमा भिम रानाभाट, टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डेले उम्मेदवार छन् ।
समावेशीले बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष), सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके) तथा एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीलाई उम्मेदवार बनाएको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले ललित कुमार रौनियार अध्यक्ष, तपेन्द्र विक्रम शाह उपाध्यक्ष उद्योग र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतको उम्मेदवार बनाएको छ । साझाले सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदारलाई उम्मेदवार बनाएको हो । वस्तुगतमा बद्री श्रेष्ठ र सलाउद्दिन जसगढ, एशोसिएट तर्फ सञ्जय अग्रवाल र राजेश मास्केलाई उम्मेदवार बनाइएको छ ।
संघमा एक जनाले सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । रमेश कुमालले सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचनको प्रचारप्रसार २४ घण्टा अगावै रोकिएको भएपनि शनिबार अबेर सम्म दुवै प्यानलका उम्मेदवार मतदातासँग मत मागिरहेको पाइन्थ्यो । आपसी भेटघाट, मोबाइल सम्पर्कबाट उनीहरुले मतदाता आफ्नो पक्षमा पार्न लागि परेका थिए ।
चार सय बढीको परिचय पत्र संघमै
नेपालगन्ज उद्योग वाणिज्य संघमा कुल ३ हजार ४६ मतदाता रहेका छन् । मतदानको अघिल्लो दिन शुक्रबार साँझसम्म पनि सबैले मतदाता परिचय पत्र लगिसकेका छैनन् ।
संघका अनुसार, अझै साढे ४ सय मतदाता परिचय पत्र वितरण गर्नुपर्नेछ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले आज शनिबार निर्वाचनका दिन पनि संघबाट मतदाता परिचय पत्र वितरण गर्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् । ‘सबैले आफ्नो परिचय पत्र प्राप्त गरुन् भनेर शनिबार ३ बजेसम्म मतदाता परिचय पत्र संघबाटै वितरण गर्ने व्यवस्था मिलाइएको हो’, अध्यक्ष वैश्यले भने ।
संघ अध्यक्ष वैश्यले मतदाता सूचिमा रहेका कुनै पनि व्यवसायी मतदानबाट वञ्चित नहोस् भनेर नेपाल सरकारले जारी गरेको नागरिकता, लाइसेन्स जस्ता परिचय पत्रबाट पनि मतदानको व्यवस्था मिलाएको बताएका छन् ।











