आज पनि सिमा पारी रुपैडियाको बजारमा उस्तै रौनक छ । आज पनि सिमा काटेर नेपाल प्रवेश गर्नासाथ यातायात ब्यवसायीले जबर्जस्ती यात्रु बोकेर नेपालगन्जका मुख्य ग्राहकहरुलाई नेपालगन्ज देख्नै नदिई गन्तब्य पु¥याएकै छन् । सरकार घरधनीसंग होइन ब्यवसायीसंग घरबहाल कर असुल्छ । आज पनि राज्यको करको दायरामा नआएका आनाधिकृत ब्यवसायीहरुको शहरमा बोलबाला छ । आज पनि लाखौंको सामान बिभिन्न बहानामा भन्सारबाट सिधै उपभोक्ताहरुले भित्र्याईनै रहेका छन् । आज पनि बैंकहरुले फकाएर सस्तो ब्याजदरमा ऋण बोकाउने र बिस्तारै ब्याज बढाउंदै लगेर ब्यवसायीमाथी शोषण गरि नै रहेको छ । र आज पनि अण्डर बिलका बिषयमा राज्य मौन बसेर ब्यवसायीलाई कुनै पनि बेला फंसाउने बल्छी थापेरै बसेको छ ।
सन्दर्भ उद्योग बाणिज्य संघ निर्वाचन
त्रिभुवन चोक पुर्वलाइन । रानी तलाउको छेउमा गोलाकारको एउटा पुरानो संरचनाको पहेंलो घर । घरमा २ वटा कोठा । एउटामा ब्यापारीको कारोबारी गड्डी जस्तै बस्ने टेबल अनि केही थान कुर्ची । अर्को कोठामा दुईथान टेबल, २ थान दराज, एक थान फोटोकपी मेसीन छरप्रस्ट कागजपत्रहरु र टेबलमा एकजना पाको मान्छे । २०५५/०५६ साल सम्म नेपालगन्ज उद्योग ब्यापार संघको आकार यस्तै थियो । एउटा अफिस थियो अनि अफिसमा एकजना परिपक्क प्राणरत्न श्रेष्ठ दाजु । ब्यापार संघ भने पनि, पदाधिकारी भने पनि, कार्यसमिति भनेपनि ब्यवसायीहरुले प्राण दाईलाई चिन्थे । १ वा २ जना अरु कर्मचारी पनि थिए । तर उनीहरुलाई त्यति चिन्न जरुरी हँुंदैन थियो ।
त्यसो त कन्हैयालाल टण्डन अध्यक्ष रहेको एउटा कार्यसमिति पनि थियो । तर संघको कार्यालयमा अक्सर नभेटिने कन्हैया टण्डन सहितको नेतृत्वले झण्डै १६ वर्ष संघको निर्वाचन नै नगरेपछि ब्यापार संघका पदाधिकारीहरुलाई धेरै ब्यवसायीहरुले चिन्दैन थिए । संघको सिफारिस बिना फर्म दर्ता हुंँदैन थियो । सिफारिस लिन संघको कार्यालय पुग्दा सिफारिस सजिलै बनाईदिन्थे प्राण दाईले । तर सदस्यता बन्ने कुरा ग¥यो भने सिफारिस भए पुग्छ किन सदस्य बन्नु प¥यो र ? भन्ने जवाफ आउंथ्यो । कर नै ग¥यो भने सदस्यता बल्ल तल्ल दिइन्थ्यो ।
०४६ सालको परिवर्तन संगै पेशागत संघ संगठनहरु सक्रिय भएको देखिएपछि नेपालगन्जमा पनि ब्यवसायिक संस्थालाई बलियो र सबैको पहुंचको बनाउनु पर्छ भन्ने चर्चा चल्न थाल्यो ।
उद्योग बाणिज्य महासंघको सदस्य रहेको जिल्ला उद्योग बाणिज्य संघको मान्यता पाएको नेपालगन्ज उद्योग ब्यापार संघलाई सक्रिय बनाउनु पर्छ भन्ने सबै तिरबाट आवाज उठेपनि कसरी सक्रिय बनाउने भन्ने निष्कर्ष भने २०५० पछि खोज्न थालियो । संगठित रुपमा संघको सदस्यता लिने र संघको साधारणसभामा भाग लिएर सक्रिय नेतृत्व बनाउने अभियान थालियो । सम्भवतः नेपालगन्जको धम्बोझीमा रहेको निराला होटल र भेरी अञ्चल बस ब्यवसायीसंघको सभाकक्षमा ब्यवसायीहरुको भेला भएको थियो । भेलामा गौरीशंकर ट्रेडर्सका संचालक माधव मैनाली जो त्यति बेला राजनीतक र आर्थिकरुपमा निकै सक्रिय देखिन्थे उनलाई सदस्य बन्ने अभियानको नेतृत्व गर्न भनिएको थियो । तर, मैनालीले आफुलाई आएको त्यो प्रस्ताव उनकै नातेदार ब्यवसायिक साझेदार अच्युत प्रसाई तिर सारिदिए । भेलाले अच्युत प्रसाईको नेतृत्वमा ब्यवसायिक बिकास केन्द्र गठन गरियो र केन्द्रकै नेतृत्वमा संघमा सदस्य बन्ने अभियान चलाउने र संघको नेतृत्वलाई साधारणसभा र निर्वाचनको लागि दवाब दिने निर्णय ग¥यो । भेलामा ब्यवसायीहरुको साझा मुद्दाहरु टिपोट गरेर यो लेखकले भुईंमा झरेको याक चुरोटको बट्टाको पछाडी लेखेर बोल्नकालागि अच्युत प्रसाईलाई दिएको त्यो पलको याद अझै ताजा छ ।
संघका ब्यवसायीको लगातार दबाब पछि पद्य्म ज्योतीको नेतृत्वमा रहेको उद्योग बाणिज्य महासंघले नेपालगन्ज उद्योग ब्यापार संघको कार्यसमिति बिघटन गरि तदर्थ समिति गठन ग¥यो । अच्युत प्रसाई, सतिशचन्द्र अग्रवाल लगायतको मनोनयन भयो र १६ वर्ष पछि ०५३ सालमा संघको निर्वाचन भयो । संस्थापन पक्षबाट बिजयमान पति र नयां सदस्यहरुको प्रतिनिधित्व गर्दै अच्युत प्रसाई निर्वाचनमा लडे । अच्युतजीको जीत भयो । आधुनिक नेपालगन्ज उद्योग बाणिज्य संघको उदय पनि उनकै नेतृत्वको टिमबाट सुरु भयो ।
संघको नाममा रहेर पनि उपभोग गर्न नसकेको अहिले संघको भवन रहेको जग्गा संघको स्वामित्वमा ल्याउने, अत्याधुनिक भवन बनाउने, संघलाई सबैको साझा संस्थाको रुपमा बिकास गर्ने, ब्यापार मेला गर्ने जस्ता रचनात्मक कामको थालनी त्यहि नेतृत्वबाट सुरु भयो । संस्थाको आन्तरिक अवस्था सुधार भएर गए पनि ब्यवसायीहरुको मुल मुद्दाबाट भने फेरिपनि नेतृत्व पनि चुक्दै गयो । संघको नेतृत्व लिने बेला गरिएका धेरै प्रतिबद्धताहरु नेतृत्वले छाड्दै गयो । मूलभुतरुपमा सिमा पारिको बजारका कारण सुक्दै गएको नेपालगन्जको ब्यवसायलाई सुधार गर्ने बिषयमा, राज्यले घरधनीबाट असुल्नु पर्ने घरभाडा कर ब्यवसायीसंग असुल्ने नतिरे नविकरण नगरिदिने बिषयमा, राज्यलाई कर नतिरि अनाधिकृत फुटपाथ ब्यवसाय गर्ने र कर, घरभाडा साथै घरभाडा कर समेत तिर्न बाध्य पारिएका ब्यवसायीको बिषयमा संघ बोल्दै बोलेन । पटक्कै बोल्न सकेन ।
माओवादी युद्ध चर्केको बेला यसै पनि ब्यवसाय आक्रान्त थियो । बरु संघको भवनमा अमेरीकन लाइब्रेरी खोल्ने, गैरसरकारी संस्थासंगको साझेदारीमा कण्डम दिवस मनाउने, राजनीतिक बिषयमा साझेदारी गर्ने जस्ता गैर ब्यवसायिक कर्ममा क्रियाशील बन्यो । संघको अग्लो भवन त बन्यो तर ब्यवसायीको संघ प्रतिको आशा भने अग्लो भवनले थिच्दै गयो । ठुलो संघर्षबाट स्थापित नेतृत्व ब्यवसायिक मुद्दाबाट टाढिंदै गयो ।
अच्युत प्रसाईको दोस्रो कार्यकाल पछि सतिशचन्द्र अग्रवाल अध्यक्षमा निर्वाचित भए । निवर्तमान अध्यक्षको हैसियतले प्रसाई संघको एउटा उपसमितिको संयोजक थिए । ब्यवसायीहरुको उकुसमुकुसलाई सम्बोधन गर्दै यो लेखकले २०६१ साल असोज १८ गते नेपालगन्जको स्थानीय दैनिकमा एउटा लेख प्रकाशन ग¥यो । तत्काल म सोहि पत्रिकामा स्तम्भ लेख्ने गर्दथिएँं । सुक्दै गएको ब्यवसायलाई प्राण दिन संघको नेतृत्व असफल हुंदै गएको बिषयमा लेख केन्द्रित थियो । संघको नेतृत्वलाई त्यो लेख पाच्य भएन । आतंकित बनेको संघका पदाधिकारीहरुले अच्युत प्रसाईको नेतृत्वमा रहेको उपसमिति मार्फत संघको साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय ग¥यो ।
मेरो नाममा रहेको एउटा फर्म मार्फत म संघको सदस्य थिएँं । कारबाही संगै ब्यवसायी र मिडीया आन्दोलित भयो । स्थानीय पत्रपत्रिकाका पानाहरु कारबाहीका बिषयमा भरिन थालेपछि संघ कारबाही फिर्ता गर्न बाध्य भयो । त्यस लगत्तै भएको साधारणसभाले बिधान संशोधन मस्यौदा समितिको सदस्यमा मलाई चयन ग¥यो । जुन बिधान अन्तर्गत अहिले सम्म संघ चलिरहेको छ । सोहि मस्यौदा समितिले नेपालगन्ज उद्योग ब्यापार संघलाई बाणिज्य संघ बनायो । बस्तुगत, एशोसिएटको ब्यवस्था ग¥यो । अध्यक्षमा उम्मेदबार बन्न एक कार्यकाल कार्यसमितिमा बसेको हुनुपर्ने, आफु उपस्थित हुन नपाउंदा प्रोक्सी मतदाता पठाउन पाउने लगायतको ब्यवस्था नयां बिधानमा गरियो । त्यस लगत्तै भएको निर्वाचनमा पुनः संस्थापन पक्षलाई पराजित गर्दै दामोदर आचार्यको नेतृत्वमा कार्यसमिति बन्यो ।
आधुनिक उद्योग बाणिज्य संघको प्रादुर्भाव भएपछि पनि नेपालगन्जका ब्यवसायीहरुले ६ जना अध्यक्षहरुको नेतृत्व पाइसकेको छ । अच्युत प्रसाई, सतिशचन्द्र अग्रवाल, दामोदर आचार्य, सुनिल कुमार शर्मा, कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल बैश्यले संघको नेतृत्व गरिसकेका छन् । के यी अध्यक्षहरुको कार्यकालमा ब्यवसायीका मुद्दाहरुमा संघ केन्द्रित हुन सक्यो त ? निर्वाचनको संघारमा आइपुग्दा ब्यवसायीहरुले नेतृत्वसंग यी प्रश्नहरु गर्न आवश्यक छ । संघको कार्यालयमा फोटो झुण्ड्याउनका लागि मात्र अध्यक्ष बन्ने वा ब्यवसायीको नेता बन्ने ? उम्मेदवारलाई यो प्रश्न गर्न जरुरी छ ।
आज पनि सिमा पारी रुपैडियाको बजारमा उस्तै रौनक छ । आज पनि सिमा काटेर नेपाल प्रवेश गर्नासाथ यातायात ब्यवसायीले जबर्जस्ती यात्रु बोकेर नेपालगन्ज देख्नै नदिएर, नेपालगन्जका मुख्य ग्राहकहरुलाई नेपालगन्ज देख्नै नदिई गन्तब्य पु¥याएकै छन् । आज पनि स्थानीय सरकार घरधनीसंग होइन ब्यवसायीसंग घरबहाल कर असुल्छ । आज पनि राज्यको करको दायरामा नआएका अनाधिकृत ब्यवसायीहरुको शहरमा बोलबाला छ । आज पनि लाखौंको सामान बिभिन्न बहानामा भन्सारबाट सिधै उपभोक्ताहरुले भित्र्याई नै रहेकाछन् । आज पनि बैंकहरुले फकाएर सस्तो ब्याजदरमा ऋण बोकाउने र बिस्तारै ब्याज बढाउंदै लगेर ब्यवसायीमाथी शोषण गरिनै रहेको छ । र आज पनि अण्डर बिलका बिषयमा राज्य मौन बसेर ब्यवसायीलाई कुनै पनि बेला फंँसाउने बल्छी थापेरै बसेको छ ।
संघको निर्वाचनमा भाग लिइरहँंदा ब्यवसायीका मुद्दाहरुलाई प्राथमिकतामा राखेर उम्मेदवारहरुसंग बहस गर्न आवश्यक छ । साना र मझ्यौला ब्यवसायीका मागका बिषयमा भन्दा अहिलेको निर्वाचनमा उम्मेदवारहरु पनि राजनीतिक मुद्दामा केन्द्रित भएको देखिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई रिझाउनु अहिलेको ब्यवसायिक मुद्दा हुन सक्दैन । ब्यवसायीको निर्माचनमा दलहरुको त्यति चासो नहुनु पर्ने हो, तर नेपालगन्जमा ब्यवसायीलाई कम दलका स्थानीय नेताहरुलाई बढी चुनाव लागेको देखिएको छ । नगरमा रहेका सबै नागरिकको अभिभावककारुपमा रहेका नगर प्रमुख र उप प्रमुख ब्यवसायिक उम्मेदवारको ¥यालीमा हिंडिरहेका छन् । प्रचार सचिवालयहरुमा मतदाता कम दलका कार्यकर्ता बढी देखिन्छन् ।
२०२४ सालको बैठकीले ओमकारमल खेतानको अध्यक्षतामा संघ गठन भएको भनिएपनि खेतानलाई अध्यक्ष बनाउन बनेको बैठकी तदर्थ समितिका अगुवा नाम याद भएन दिवाकर खनालका पिताको इतिहास भने ओझेलमा पारिएको छ । ५० वर्षको इतिहास बोकेको नेपालगन्जको बाणिज्य संघले ५० वर्ष पछि कोल्टे फेर्नै पर्दछ । समयानुकल यतिबेला नेपालगन्जमात्र बजार रहेन भन्ने कुरा उम्मेदवारहरुलाई याद छ की छैन त्यो उनीहरुले जानुन् । तर पछिल्लो समय बजार बनेको बाँंकेका बिभिन्न बजारहरुको प्रतिनिधित्व हुने गरि संघको सांगठनिक संरचना पुनरलेखन नगर्ने हो भने नेपालगन्ज उद्योग बाणिज्य संघले जिल्ला उद्योग बाणिज्य संघको हैसियत गुमाउने निश्चित छ । बैजापुरका ब्यवसायी हुन् वा नरैनापुरका, चांदनी चौकका ब्यवसायी हुन् वा गौघाटका । सबै बजारका ब्यवसायीहरुलाई नेपालगन्ज उद्योग बाणिज्य संघले नेतृत्व गर्न सके मात्र संघ जिल्ला उद्योग बाणिज्य संघ बन्न सक्ने छ । निर्वाचनको माहोलमा यति मात्र भनौं । शुभकामना ! (खजुराका स्थायीवासी पत्रकार कर्माचार्य संघको विद्यमान विधानका मस्यौदाकार समितिका तत्कालिन सदस्य हुन् )











