बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा गाभ्नका लागि नेपालगन्जमा सुरुवात भएको अभियान योजनाबद्ध तरिकाले सशक्त रुपमा अगाडि बढ्ने भएको छ । बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न नेपालगन्जमा गठन भएको समितिको बैठकले अभियानलाई तार्किक निष्कर्षमा पु¥याउनका लागि योजनाबद्ध तरिकाले जाने निर्णय गरेको हो ।
प्रदेश ५ को राजधानी बाँके र बर्दिया जिल्लाका लागि पायक पर्ने ठाउँमा नभएको र बिभिन्न हिसावले बाँके र बर्दिया जिल्ला पछाडि परेको भन्दै पछिल्लो समय बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्ने विषयमा अभियान सञ्चालन हँुदै आएको छ ।
बाँके र बर्दियाबाट कर्णाली प्रदेशको राजधानी दूरीका हिसाबले पनि नजिक पर्ने र यहाँका उद्योगी, व्यवसायीको कारोबार पनि कर्णाली प्रदेशसँग भएकाले यो अभियानको सुरुवात गर्दै बाँकेका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी लगायत सम्मिलित समन्वय तयारी समिति गठन भएको थियो । मंगलबार नेपालगन्ज उप–महानगरपालिकामा बसेको उक्त समितिको बैठकले अभियानलाई तिब्रता दिनका लागि बिभिन्न निर्णयहरु गरेको नेपालगन्ज उपमहानगरपालिका प्रवक्ता तथा समितिका सदस्य प्रमोद रिजालले जानकारी दिए । बैठकले अभियानलाई सफल बनाउन बिभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ ।
पहिलो चरणमा माघ १३ गते बाँके र बर्दिया जिल्लाका स्थानीय तहका प्रमुख र उप–प्रमुखहरुसंगको संयुक्त बैठक गर्ने, माघ १५ गते पेशागत संघ, संस्थाहरु, नागरिक समाज, युवा विद्यार्थी संगठनहरुसंग बैठक गरी अभियानमा सबैलाई एक्यबद्धता गराउने, दुई जिल्लालाई कर्णाली प्रदेशमा गाभ्ने विषयमा बृहत छलफल गरेर सुझाव संकलन गर्ने योजना बनाइएको प्रबक्ता रिजालले बताए ।
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समावेश गर्ने विषयमा अवधारणा पत्र तयार गरि पर्चा पम्प्लेटका रुपमा वितरण गर्ने र बिभिन्न राजनीतिक दल, संघ संस्था, निकाय र बिशेषज्ञहरुबाट सुझाव संकलन गरि अभियानलाई सशक्त ढंगले अगाडि बढाउने नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले बताए । राणाले एक वर्षदेखि नेपालगन्जलाई राजधानी नबनाए कर्णाली प्रदेशमा गाभ्ने आन्दोलनको नेतृत्व आपूmले गर्ने बताउँदै आएका छन् । पहिलो चरणमा सबैसंगको समन्वय बैठक बसी सुझाव तथा राय संकलन गर्ने र सबैलाई अभियानमा एक्यबद्धता गराउने र त्यसपछि चरणबद्ध र योजनाबद्ध तरिकाले अगाडि बढ्ने गरि छलफल भएको नेकपा बाँकेका सदस्य रत्न खत्रीले जानकारी दिए । पहिलो चरणामा बिभिन्न संघ संस्था र निकाय संग छुट्टाछुट्टै छलफ, अन्तरक्रिया तथा बैठक गर्ने र त्यसपछि सर्वपक्षीय भेला गरेर अभियानलाई आन्दोलनको रुपमा अघि बढाउने रणनीति बनाउने बैठकले निष्कर्ष निकालेको छ ।
बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गर्ने अभियान अन्र्तगत दुबै जिल्लामा हस्ताक्षर अभियान संकलन गर्ने, दुवै जिल्लामा संघ र प्रदेशका सांसदहरुसंग बैठक तथा छलफल गर्ने र संकलन गरिएको हस्ताक्षर सहितको ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाउने विषयमा समेत बैठकमा छलफल भएको छ ।
बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. राणाले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समावेश गर्ने विषयमा विभिन्न ब्यक्ति तथा क्षेत्रबाट सहयोग भइरहेको जानकारी गराएका थिए । सबै राजनीतिक दलका शिर्ष नेताहरु, कर्णाली प्रदशेका मुख्यमन्त्री महेन्द्र शाही, कर्णाली प्रदेशका प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रमुख सचेतक जीवन शाही, बाँके र बर्दियाका सांसदहरु लगायतसंग यो विषयमा आफुले बारम्बार कुरा गरिरहेको नगर प्रमुख डा. राणाले बताए । संघीय संसदमा समेत यो विषयलाई प्रवेश गरिसकिएको बताउँदै उनले भने, ‘सबै क्षेत्रबाट सहयोग प्राप्त भएको छ, हामी सफल भएरै छाड्छौं ।’
बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बाँके र बर्दिया कर्णालीमा समावेश हुने विषयमा तयार पारिएको अवधारण पत्र प्रस्तुत गर्दै कर्णालीमा जानुपर्ने आधारहरुको वारेमा जानकारी गराएका थिए ।











