नेपाल सरकारले भ्रमण बर्ष २०२० को अस्ति पुष १६ गते बुधबारका दिन निकै तामझामका साथ उद्घाटन गरि सकेको छ । निकै ठूलो आशा र अपेक्षा सहित यो भ्रमण बर्षलाई सफल बनाउने उद्घोष गरिएको छ । काठमाडौंको दशरथ रंगशालामा निकै उत्साहका साथ महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भ्रमण बर्षको उद्घाटन गरिएको छ भने देशका सातवटै प्रदेशबाट समेत भ्रमण बर्ष २०२० को निकै उत्साहका साथ उद्घाटन गरिएको छ ।
यस अवसरमा पर्यटन मन्त्रीद्धारा दीप जलाउन पनि अनुरोध भयो । यस अघि झैं जब भ्रमण बर्षको घोषणा गर्दाका बखतका उद्देश्यहरुलाई फेरिपनि दोहोराइएको छ । यसका साक्षी रहेका देशका सबै प्रमुख व्यक्तित्वहरुलाई यो भ्रमण बर्षले पक्कैपनि ठूलो आशा जगाएको हुनुपर्छ । जगाउनु पर्ने त देशका सबै जनताहरु, व्यापारीहरु र अझ बिषेश गरि पर्यटन व्यवसायीलाई पनि हो , जसले गर्दा देशले चाहेको अर्थतन्त्रमा सकारात्मक उछाल आओस, अनि राजश्व बढ्नुका साथै रोजगारीको पनि सृजना होस् । यहि आशासँगै संघीय सरकारले निकै तामभमmामका साथ झण्डै ६ करोड खर्च गरेर अंग्रेजी सालको जनवरी महिनाको १ गते यानि अस्ति २०७६ साल पुष १६ गतेका दिन भ्रमण बर्ष २०२० को शुरुआत गरेको छ । यो भ्रमण बर्षबाट देशको समृद्धिको आधारशीला राख्ने र यस पछिका १० बर्ष भ्रमण दशक हुने पनि घोषणा भएको छ ।
यो भ्रमण बर्ष मनाउँदै गर्दा, नेपाल आउने पर्यटक कुन देशका हुनेछन ? के कति बिदेशीले नेपाल भ्रमण गर्नेछन ? त्यी पर्यटकहरुले नेपालमा औसतन कति दिन बिताउनेछन ? औसत कति रकम खर्च गर्नेछन ? भन्ने तमाम प्रश्नहरुको जवाफ खोज्ने प्रयास गर्नै पर्छ र त्यसैका आधारमा देशलाई पर्यटनले के कस्तो फाइदा र बेफाइदा हुनेछ भन्ने आँकलन गरिने छ । यो सबै कुराको अहिले नै आँकलन गरेर लेख्ने वा भनी हाल्ने बेलापनि होइन । यसका लागि त कम्तिमा पनि यो कार्यक्रम शुरु भएको ४ देखि ६ महिना हेर्नै पर्ने हुन्छ । हाल यहाँ गतका बर्षहरुमा भएका केहि दृष्टांन्तहरुलाई केलाएर र आफ्ना र केहि पर्यटन व्यवसायीका अनुभवहरुलाई सँगालेर यो लेख तयार पार्ने जर्मको गरेको छु ।
नेपालमा भ्रमण गर्ने पर्यटनको चर्चा हुन थालेको ठ्याक्कै इतिहास भेटिंदैन । तर पनि सन् १९५३ मा संसारको उच्च हिमशिखर सगरमाथाको आरोहण गरेका एडमन हिलारी र तेन्जिङ्ग नोर्गे शेर्पाको चर्चासँगै पर्यटनको चर्चा भएको पाइन्छ । त्यसपूर्व सम्भवत नेपालमा यसरी पर्यटन नै भनेर नभनिएता पनि बिभिन्न समयमा बिदेशीले नेपाल मात्रै घुमघाम नभएर काम बिषेशले भ्रमण गर्ने गरेका भने थुप्रै उदाहरण छन् भने नेपालीले पनि बिदेशतिर घुमेका उदाहरणहरु छन । तर काम बिषेशले बाहेक नेपाल भ्रमण गर्ने पर्यटकहरु धार्मिक पर्यटक नै हुन्थे । नेपालीहरुले आन्तरिक भ्रमण गर्ने परम्परा खासै थिएन यद्दपि बिभिन्न धार्मिक स्थलहरुको भ्रमण जस्तै बालाचर्तुदशीमा पशुपतिनाथको दर्शन र सतबीज छर्ने,(मोक्षत्र) कालीगण्डकीको उद्गम स्थल मुक्तिनाथको भ्रमण, बिभिन्न नदिहरुमा मकरस्नान र अन्य मुख्य अवसरमा स्नान गर्न जाने बाहेक त्यति अन्य भ्रमण हुँदैनथ्यो । यो भ्रमणमा प्रायजसो उमेर पुगेका, बृद्धबृद्धाहरु, धर्मकर्ममा लाग्ने बेला भएकाहरु हुन्थे भने उमेर भएका युवापुस्ताको यो बिषयमा खासै चासो थिएन । उनीहरुको भ्रमण आफ्ना नातागोता कहाँ बिभिन्न चाडपर्व बिषेशमा भेटघाट या चाड मनाउन जाने सम्म मात्रै सिमित थियो । युवा पुस्ताको चासोमा नपरेकोले पनि शायद यो पर्यटन, पर्यटक भन्ने कुराको खासै महत्व थिएन पनि ।
विश्व पर्यटनको इतिहास हेर्ने हो भने अहिले झण्डै ४५ बर्ष भैसकेको छ । सन् १९७४ मा स्पेनको राजधानीमा संयुक्तराष्ट्रसंघको एक बिशिष्टिकृत संस्थाको रुपमा विश्व पर्यटन संगठन (ग्ल्ध्त्इ) को स्थापना गरि पर्यटनलाई प्रबद्धन गर्न लागिएको पाइन्छ । त्यस पछिका ४३ बर्षमा सन् २०१७ को एउटा रिपोर्ट अनुसार बिश्वका झण्डै १६० देश यसका सदस्य भएका छन् भने नेपाल यस संगठनमा सन् १९७५ मा नै प्रवेश गरेको देखिन्छ । आज यो व्यवसाय विश्व अर्थतन्त्रको एउटा मेरुदण्ड नै बनेको छ । विश्वका कतिपय देशको सकल घरेलु उत्पादको मूख्य हिस्सा नै पर्यटन व्यवसाय भएको छ । नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आधिकारिक वेवसाइडमा उल्लेख भए अनुसार बिक्रम सम्बत २०१६ सालमा नै नेपालमा पनि विदेशी पर्यटकको आगमन सँगै पर्यटनको क्षेत्रलाई व्यवस्थित गर्न पर्यटन बोर्डको स्थापना भएको पाइन्छ । तर यसलाई बिभिन्न समयका राजनीतिक उठापटक, मन्त्रालयहरु फोड्ने र जोड्ने, विभिन्न समितिहरुका प्रतिबेदनहरु आदि इत्यादि अनुसार फेरबदल गर्दै सन् १९९८ मा (बिक्रम संबत २०५७ सालमा ) संसदबाट कानून बनाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्र्तगत रहने गरि नेपाल पर्यटन बोर्ड बनाइयोे र यसले पर्यटन क्षेत्रमा व्यवस्थापन गर्ने विधिवत जिम्मा पायो ।
नेपालको इतिहासमा भ्रमण बर्ष घोषणा भएको यो पहिलो भने होइन । यस भन्दा अगाडी नै सन् १९९८ र २०११ मा नेपालले भ्रमण बर्ष मनाई सकेको छ । यद्दपि पहिला घोषणा भएका भ्रमण बर्षका र यस पटक घोषणा भएको भ्रमण बर्षमा फरक छ । सबै तीनवटै भ्रमण बर्षका मुख्य उद्देश्यहरुमा मिल्ने कुरा एउटा साझा के हो भने बढि भन्दा बढि बिदेशी पर्यटकलाई नेपाल भित्र्याउने र देशको अर्थतन्त्रमा थप उर्जा ल्याउनुका साथै रोजगारीको पनि सृजना गर्नु नै हो । तर यसले निर्धारण गरेका लक्ष्यहरुमा तथ्यांकीय भिन्नता भने रहेको छ । सन् १९९८ को नेपाल भ्रमण बर्षले “A sustainable habitat through sustainable tourism” भन्ने नारा राखेको थियो भने यस भ्रमण बर्षबाट हरेक नेपालीको तनमनमा नेपालको पर्यटनको महत्व बुझाउने, नेपालको मुख्य व्यवसायको रुपमा पर्यटनलाई स्थापित गर्ने र नेपाल विश्वमा नै एउटा प्राकृतिक सुन्दरताले भरिपूर्ण भ्रमण योग्य गन्तव्य हो भन्ने विश्व समुदायलाई चिनाउने जस्ता लक्ष्यहरु राखिएकोमा २०५२ साल देखि नेपालमा चलेको हिंसात्मक गतिबिधिका बीच पनि सरकार आफ्नो उद्देश्य प्रति निकै सफल भएको देखिन्छ । त्यस भ्रमण बर्षमा ४,६३,६८४ जना विदेशीले नेपालको भ्रमण गरेको तथ्याङ्क रहेको छ । त्यस बर्षमा विगत १९९७ को तुलनामा झण्डै १० प्रतिशत पर्यटक बढेको देखिन्छ ।
नेपालले अर्को (दोस्रो ) भ्रमण बर्ष सन् २०११ मा मनाइएको थियो । त्यस भ्रमण बर्षको “Naturally Nepal, once is not enough!” : मुख्य स्लोगन रहेको थियो । लक्ष्य थियो १० लाख पर्यटक नेपाल भित्र्याउने र यसबाट नेपालको अर्थतन्त्रको रुपान्तरण पर्यटन तर्फ गर्ने आर्थिक लक्ष्य पनि राखिएको थियो । तर सरकारले चाहेको विगतको बर्ष सन् २०१० को तुलनामा झण्डै दुईगुणा (१२,०५,७३४) पर्यटन आगमन गराउने भन्ने लक्ष्य पुरा भएन । त्यस भ्रमण बर्षमा जम्मा ७,३६,२१५ जना मात्रै बिदेशी पर्यटक नेपाल आएको सरकारको तथ्याङ्क रहेको छ । यद्दपि सरकारले तय गरेको आफ्नो संख्यात्मक लक्ष्य भन्दा ३० प्रतिशत कम प्राप्त भयो तथापि गत बर्षको तुलनामा २२.११ प्रतिशत बढि पर्यटक भित्रिए । यसरी लक्ष्य प्राप्त नहुनुका जे पनि कारण होलान तर त्यो एउटा सबक थियो र अहिले भ्रमण बर्ष २०२० को घोषणा गर्दै गर्दा र २० लाख पर्यटकको आगमन सुनिश्चित गर्न खोज्दै गर्दा हिजोको सिंहावलोकन गर्दै हिजोका कमि कमजोरी पक्कैपनि सुधार गरिएको होला भन्ने आशा गर्नु पर्दछ ।
नेपालमा पछिल्लोे भ्रमण बर्ष २०११ देखिको पर्यटनको बृद्धि दरलाई हेर्ने हो भने सन् २०११ को तुलनामा २०१२ मा बृद्धि जम्मा ९ प्रतिशतले भएको थियो भने त्यस यता सन् २०१५ तक यो दर घटेको देखिन्छ । २०१५ मा त २०१४ को तुलनामा ३१ प्रतिशतले घटेको देखिन्छ । तर २०१६ पछि यो दर बढेर २०१८ मा आइपुग्दा झण्डै २५ प्रतिशतले बढ्न गई यो संख्या ११,७३,०७२ पुगेको थियो । २०१७ को सरकारी तथ्याङ्क अनुसार उक्त बर्ष आएका कुल ९,४०,२१८ जना बिदेशी पर्यटकको संख्या हेर्दा दक्षिण एशियाली पर्यटकको मात्रै संख्या २,३५,२५३ रहेको छ भने चीनियाँ पर्यटकको संख्या १,०४,६६४ रहेको छ साथै यूरोपियन र अमेरिकन पर्यटकको संख्या जम्मा २,९१,४१० रहेको देखिन्छ । यसमा पनि गैर आवासीय नेपाली अमेरिकनहरुको संख्या पनि उल्लेख्य रहेको पाइन्छ । जब कि दक्षिण एशियाली देशमा मात्रै त्यो बर्ष २,२८,४५,१०० बिदेशी पर्यटक आएको एउटा पर्यटन रिपोर्टमा उल्लेख गरिएको छ । नेपालमा आएका कुल बिदेशी पर्यटकको संख्या भारतीय पर्यटकलाई छोड्ने हो भने मात्रै ३ प्रतिशत हो । यसरी हेर्दा बिदेशी मुद्रा आर्जन गर्ने बढि आम्दानी गराउने पर्यटकको संख्या कुल नेपाल आएका पर्यटक संख्याको जम्मा ३१ प्रतिशत मात्रै हो । अब यो भ्रमण बर्ष २०२० मा सरकारले तय गरेको पर्यटक भित्र्याउने संख्या पुर्याउन पनि सन् २०१८ को तुलनामा ८,२६,९२८ पर्यटक बढाउनु पर्ने हुन्छ यो लक्ष्य पुरा गर्न झण्डै ४२ प्रतिशतले बृद्धि गर्नुपर्ने हुन्छ । नेपालको पर्यटक आगमनको बेलाबेलाको तथ्याङ्क हेर्दा अधिकतम बृद्धि दर ४० प्रतिशत सम्म रहेकोले यो लक्ष्य त्यति महत्वकांक्षी पनि होइन ।
नेपाल भ्रमण गर्ने अधिकांश पर्यटकको उद्देश्य पाराग्लाइडिङ, बन्जी जम्प, पर्वतारोहण, राफ्टिङ, जंगल सफारी, धार्मिक भ्रमण र बिभिन्न कुराको प्रचार प्रसारको स्वयंमसेवकको लागि हुने गर्दछन् । यसमा देशलाई सबैभन्दा बढि आम्दानी गराउने पारिवारिक भ्रमण र आफ्नो र आफ्ना बच्चाबच्चीहरुको छुट्टी मनाउने पर्यटकको संख्या सारै नगन्य रहेको पाइन्छ जुन बढि खर्च गर्ने पर्यटकमा पर्छन । यी माथि उल्लेखित पर्यटक भनेका पर्वतारोहण गर्ने, जंगल सफारी गर्ने, पाराग्लाइडिङ, बन्जी जम्पीङ गर्नेहरु त्यसपछि खर्च गर्ने पर्यटक नै हुन । यस मध्ये पर्वतारोहण गर्ने पर्यटक सबैभन्दा बढि दिन नेपाल बस्छन जसका कारण देशलाईृ अतिरिक्त राजश्व, होटलहरु, पोर्टरहरु, आदिको आम्दानी पनि बढ्ने गर्छ । नेपालमा हाल बिदेशी पर्यटकको सरदर नेपाल बसाइ १२.६ दिनको रहेको छ भने औसत तोकिएको खर्च प्रति पर्यटक प्रतिदिन रु. २९०१ रहेको छ । यो रकम अरु दक्षिण एशियाली देशहरुको भन्दा निकै सस्तो हो तथापी यति रकम पनि औसत पर्यटकले खर्च गरेको पाइँदैन ।
अब यस पर्यटन बर्षलाई सफल बनाउन के गर्ने र कसरी आम्दनी बढाउने भन्ने तर्फ लाग्न सबैले धेरै गम्भीर भएर सोच्न जरुरी छ । बिगतका जस्ता गतिबिधि र व्यवस्थापनको तौर तरिकाले पर्यटकको संख्या त बढ्ला तर आम्दानी भने बढ्ने छैन । भारतीय लगायत दक्षिण एशियाली पर्यटकको आगमनले देशले खासै आम्दानी गर्न सकेको अवस्था छैन । किन कि अधिकाशं भारतीय पर्यटकहरु सस्तो होटलहरु, धर्मशाला खोज्ने गर्छन, भने खानपानमा शाकाहरी हुने या चिउरा भुजा उतैबाट बोकेर आउने या आफै बनाएर खाने हुँदा बढि खानपीनमा खर्च नगर्ने गरेको सामान्यतया देखिन्छ । कतिपय भारतीय पर्यटक त आफ्नो सवारी साधान ल्याउने या फेरि सार्वजनिक साधन प्रयोग गर्ने हुँदा टेक्सी वा टुर अपरेटरले आम्दानी कम गर्ने गर्छन । पछिल्लो समय यूरोपियन पर्यटकहरु प्नि पर्यटन व्यवसायीको भाषामा झोले (खर्च नगर्ने प्रवृतिका) पाराका आउने गरेको पाइन्छ । यो पङ्तिकार मार्दी हिमालको एक हप्ते पदयात्रामा जाँदा त्यस्ता अधिकांश बिदेशी पदयात्रीहरु भेटिए जो बीना कुनै पर्यटन गाइडको यात्रा गरिरहेका थिए।
कतियप पर्यटक पैसा बचाउन कै लागि टुर गाइड बीना हिंडेको र जंगलमा बराल्लिएका थिए भने बसेको होटलमा उनीहद्धारा खानामा औसत रु.५०० प्रति छाकका दरले मात्रै खर्च गरेको पनि पाइयो, जबकि आम नेपाली पर्यटकहरुको त्यहाँ औसत खाना खर्च रु. ९०० प्रति छाक रहेको पाइयो । त्यो क्षेत्रमा भ्रमण गर्दा आतिथ्यता गर्न पस्किने भोजन, पेय पदार्थ समेत उहि पश्चिमा, पिज्जा, बर्गर, चाउमीन, बियर र हुस्की नै पाइयो । त्यहाँ नेपाली मौलिक खानपीन, नेपाली मौलिक पेय पदार्थ, नेपालको परम्परागत भोजन र यहाँको स्थानीय उत्पादनको ब्रान्डिङ गरेको पनि पाइएन । यस्तो अवस्थामा नेपालको आर्थिक अवस्थामा कस्तो परिवर्तन आउने हो ? यसको पनि सम्बन्धित सरोकारवालाहरुले गहिरिएर सोंच्न आवश्यक देखिन्छ । यो अवस्था हेर्दा यस्ता किसिमका पर्यटकहरु भित्राएर संख्या मात्रै बढाएर सरकारले निर्धारण गरेको संख्यात्मक लक्ष्य त पुरा होला तर आर्थिक उन्नति र पर्यटनबाट अर्थतन्त्रमा पुर्याउने सकरात्मक लक्ष्य प्राप्त हुने कुरामा शंका गर्ने प्रयाप्त ठाउँ रहेको छ ।
देशका पर्यटन व्यवसायीको आम्दानी र श्रम बजारमा रोजगारी बढाउने तर्फका कार्यमा सबै सरोकारवालाहरुले आवश्यक ध्यान पुर्याउँदै यो भ्रमण बर्ष २०२० लाई बास्तविक सफल पार्न आउँ सबैले हातेमालो गर्दै सकरात्मक सहयोग गरौं । नेपालको प्राकृतिक सौन्दर्यता, ऐतिहासिक सम्पदाको र नेपाली उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङ गरौं । नेपाल भ्रमण बर्षलाई अबिस्मरणीय बनाऔं ।











