सत्यवादी राजा हरिसचन्द्रसँग दाँजिएको सारङ्गीको बाजाको सत्यता अब गाउँमा बज्न छोडेको छ, बजेपनि त्यसको रहस्य बुझ्ने मान्छे छैनन्, अनि त्यो गला र कलालाई निरन्तरता दिने पुस्ता छैन ।
‘आमाले सोध्लिन नी खोई छोरा भन्लिन …’,१
गोली लाग्यो साथीको नारीमा, बास मेरो कपासे घारीमा,
हरर मुग्लान काटेर, बाँचे घर फर्कौंला निरमयाँ पसिनाले पैसा साटेर, २
जेठ महिना उन्नाइस गते शुक्रबारको दिन, श्री बिष्णुको सवारी भो राजारानी लिन,
के भयो र कसो भयो भगवानले जानून, राजा मर्दा न्याय छैन कस्तो रैछ कानून…३’
यी प्रतिनिधी गीतका पङ्तिहरु हुन जुन समय कालसँगै विभिन्न गन्दर्भहरुले रचेर नेपाली समाजमा आफ्नो सारङ्गीको कलाको धुन र गलाको स्वरसँगै पस्किने गर्दथे । तर आज समय फेरिएको छ, पुस्ता फेरिएको छ, हाम्रो मौलिकताको धरातल भासिएको छ । अब यी कलाकारहरु देशमा घटेका घटनाहरु सँगालेर, त्यो मनमा गुँथेर गीतका माला उनेर गाउँ गाउँ र घर घरका दैलो दैलोमा सुनाउँदै हिँड्दैनन्, बरु पचासको उमेर सेरोफेरोका पुस्ताहरु मात्रै कतै न कतै यस पेशालाई बचाउन भनौं या आफ्नो पेट पाल्न गाडीहरुमा, सहरका चोक र आकाशे पुलहरुमा, पर्यटकीय गल्लीहरुमा आधुनिक गीतका भाकासँग मेल खाने धुनसँगै हिँड्दै छन् तथापि भोलि यो कसलाई हस्तान्तरण गर्ने भन्ने निधो नभएको मध्यबिन्दुमा बसेर आफ्नो पुख्र्यौली पेशाको तिलाञ्जलीको पखाईमा दिन बिताउन बाध्य हुँदैछन् ।
यो हप्ता दाङ्ग तुलसीपुर र सुर्खेतका केहि गन्दर्भहरु हाम्रो घर आँगनमा सारङ्गी रेट्दै आइपुगेको देख्दा मलाई ती दिनहरु सम्झना आए जब देशका ठुलाठुला घटना, बाढी पहिरो, जनधनको क्षति, हत्या र दुर्घटनाका समाचारका कथाहरुलाई गीती शब्दको फुर्कोमा उनेर गन्दर्भहरु आउँथे हामीहरु उफ्रि उफ्रि खुशी हुँदै ताली बजाउँथ्यौं । तर आज मलाई त्यो बेलाको सम्झना त आयो, तर उफ्रेर ताली बजाउनु परेन, किन कि आज म प्रविधीको बिकाससँगै संसारसँग जोडिएको छु, पलपलका खबरसँग वाकिफ छु, आज त्यो सारङ्गीको महत्व त मैले पनि बिर्सिसकेको रहेछु या फेरि मलाई पनि त्यो बेलिबटन पतलुन भै सकेको रहेछ । तर पनि मलाई मेरो बालकपन र अतितको त्यो मन फर्केर आयो, मौलिकताको शक्तिको झल्कोले झस्कायो अनि सारङ्गी त्यो हिजोको रेटाइ र आजको रेटाइ बीच भिन्नता जाँच्ने उत्सुकता जाग्यो र मैले ती गन्दर्भहरुलाई केहि क्षण सारङ्गी रेट्न अनि केहि त्यस्ता क्षणहरुका बारेमा गीतका फुर्काले माला उनी दिन अनुरोध गरें । उनीहरुको वन तथा वातावरण सम्बन्धी सानो गीत थियो नमासौं है वन जंगल ….

बाउन्न बर्षीय सुशील गन्दर्भ र पचपन्न बर्षीय दिल बहादुर गन्दर्भ नेपाल गन्दर्भ कला संगीत मञ्चका कलाकारहरु द्धय दाङ्गको गादिवाहा सामुदायिक वन उपभोक्ता समूहका सदस्य पनि रहेका उनीहरु वन तथा वातावरण जोगाऔं भन्ने सन्देश सहित मेची महाकाली संगीत यात्रामा निस्केको बताएका थिए । परापूर्वकालदेखि आफ्ना बाबुबाजेले अँगालेको यो पेशामा उनीहरु सानै उमेर देखि नै लागेको बताए । उनीहरुको भनाई अनुसार सारङ्गी बनाउन चाहिने काठ खमारी र मलागीरी आजकल त्यति प्रशस्त मात्रामा नपाउने र त्यो पनि मध्ये पहाडी भेकमा मात्रै पाउने तर ती काठहरु पाउने जंगलहरु सामुदायिक वनमा परिणत भैसकेको हुँदा राम्रो सारङ्गी तयार गर्न काठ पाउनै गाह्रो भएको गुनासो गरेका थिए ।
नेपालमा जोसुवा प्रोजेक्ट नामक संस्थाले गन्दर्भहरुको संख्या हाल झण्डै ६६०० रहेको बताएको छ । जसका अनुसार नेपालको मध्य पहाडी क्षेत्रमा यिनीहरुको बाक्लो संख्या रहेको पाइन्छ । संख्यागत रुपमा हेर्ने हो भने भेरीमा १३०० लुम्बिनीमा १२०० राप्तीमा १२०० गण्डकीमा १२०० नारायणीमा ६०० बागमतीमा ४०० धौलागिरीमा २०० मेचीमा २०० सेतीमा ८० महाकालीमा ६० कर्णलीमा ४० र कोशीमा ४० जनसंख्या रहेको देखाएको छ भने अर्को एउटा तथ्याङ्कमा गन्दर्भहरु भारतमा पनि ५०० को हाराहरी संख्यामा रहेको बताइएको छ । परापूर्वकाल देखि हिन्दु धर्म मान्ने गन्दर्भ समुदायलाई धर्म परिवर्तन गराई झण्डै २०० जनालाई इसाई धर्ममा आस्था राख्ने बनाएको पनि यसै संस्थाको तथ्याङ्कमा देखिन्छ । यो संस्थाले गन्दर्भहरु भारतबाट नेपाल आएको बताएता पनि प्रख्यात लोक गायक झलकमान गन्दर्भका भनाइ अनुसार यो समुदायको प्रमुख थलो गोर्खा हो भन्ने छ र यहिँबाट नै यो समुदायका मानिसहरु देशका बिभिन्न ठाउँमा सरेका हुन ।
पौराणिक रुपमा विष्णु पुराणका अनुसार कश्यप ऋषि र उनकी पत्नी अरिष्ताबाट शुरु भएको गन्दर्भ समुदाय मानवजाति मै बिशेष सीपयुक्त मानवको रुपमा गणना भएको पाइन्छ । भनिन्छ यिनिहरुलाई कला र संगीतको बिशिष्ट शक्ति प्रदान छ । यिनिहरुको बास सधै स्वर्गमा हुने गर्दथ्यो, यिनिहरुलाई स्वर्गमा संगीतकार र यिनिहरुका पत्निहरुलाई अप्सरा भनिन्थ्यो । भागवत गीता (१०ः२६) मा गन्दर्भलाई चित्ररथलाई प्रमुख गन्दर्भ भनिएको छ । गन्दर्भहरु भगवान र मानवका बीच खबर आदानप्रदान गर्ने माध्यमको रुपमा पनि कार्य गर्दथे । आजको युगमा त्यो कार्य पत्रकार, गीतकार, संगीतकार र फिल्मी कलाकारले गर्ने गर्दछन् । गन्दर्भको नामबाट नै हिन्दु वैवाहिक परम्परा जसमा बिना अविभावकको सहमतिमा या गीतको माध्यमबाट हराएर या प्रेम गरेर विवाह गर्ने गरिन्छ भने त्यसलाई गन्दर्भ विवाह भन्ने गरिन्छ । यसरी हेर्दा परापूर्वकाल देखि नै स्वतन्त्र बाँच्ने, आफ्नै गला र कलाको भरोसामा बाँच्ने यो समुदाय आजपनि आफ्नो पौरखमा त्यो पनि दुनियाँलाई खुशी पारेर, दुनियाँका बेदनालाई शब्द र गीतका माध्यमबाट पस्केर बाँच्ने गरेको इतिहास रहेको छ । नेपालको एकिकरणको बखत राजा पृथ्वीनारायण शाहलाई शत्रुहरुको बारेमा खासखास जानकारीहरु पुर्याउने र गुप्तचरको कार्य गरेर ठूलो कार्य गरेको पनि इतिहास भेटिन्छ । नेपालका सबैखाले आन्दोलनहरुमा होस या फेरि देश र समाजले भोगेका तीता मिठा अनुभवहरु समेत यो समुदायको कला र गलाले सडकमा गाउँघरमा पुर्याएर सुसूचित गरेका र उत्साह थपेका उदाहरणहरु रहेका छन् ।

यसरी हेर्दा त गन्दर्भहरुको पौराणिक कालमा स्वर्गमा मनोरञ्जन गराउने देखि देशको एकिकरणसम्म निकै महत्वपूर्ण कार्य रहेको पाइन्छ । यति महत्वपूर्ण गौरव बोकेको यो गन्दर्भ समुदाय आज आफ्नो थातथलो, आफ्नो मौलिक पेशाबाट बिमुख हुन बाध्य भैरहेको छ । आजकलको युवापुस्ताले यो पेशालाई अँगाल्न नसकिरहेको मात्रै होइन चाहेको पनि छैन । यी मैले भेटेका गन्दर्भहरुको भनाई अनुसार उनीहरुका सन्तानहरु प्नि मनग्य रहेछन् । तीन तीन भाइ छोराहरु भएका उनीहरु नै यो पेशामा आफ्ना सन्तानलाई आवद्ध गराउन सकेका छैनन् । यद्दपि आफुहरुले बीस पच्चीस जनालाई यो पेशा प्रति तालिम दिएको बताउने उनीहरुले यसलाई पुस्ता हस्तान्तरण गर्न गन्दर्भ संग्रहालय बनाउने र यसको पुस्ता हस्तान्तरण गर्न खोजेको बताए । यो सुन्दा गन्दर्भको पेशाको संरक्षण कसरी हुने भन्नेमा निकै शंका गर्ने ठाउँ छ ।
आज हरेक कुरामा र हरेक संघ संगठन कित्ताकाटको राजनीतिबाट अछुतो रहेको छैन यो कुरा यो पेशा अँगालेर हिँडेका गन्दर्भहरुमा पनि देखियो । राजनीतिक पार्टीको झण्डा नबोकेसम्म कुनैपनि पेशागत संघ संगठनलाई बढाउन र संरक्षण गर्न नसकिने कथा यिनीहरुले बताइ रहँदा यो देशमा बढेको अति राजनीतिकरणले कतिसम्म हाम्रो मौलिकता मास्न भूमिका खेलेको छ भन्ने बुझ्न गाह्रो हुँदैन ।
अब आफुहरुको जीवन यसरी नै बित्यो तर अबको पुस्ता त यो पेशामा कुनै रुचि राख्नै नचाहेको र सरकारले यो पेशालाई बचाउन कुनै पनि प्रोत्साहन गरेको पाइएको देखिँदैन । आज बचेखुचेको यो पेशा अँगालेकाहरुले आफ्नो जीवनोपार्जन जसोतसो सुकुम्बासीमा बसेर, बिभिन्न विद्यालयहरुमा या बसहरुमा सारङ्गी रेट्दै गीत गाएर धानेको छ तर यति मात्रैले यो पेशाको निरन्तरता हुन सक्दैन । आज कसैसँग सारङ्गीको धुन सुन्ने चाहना र समय छैन । बरु क्याबरे डाँन्सबारमा जाने, अँग्रेजी गीत संगीत सुन्ने, चोक चोकमा बसेर एक कप चिया खाँदै संसार जित्ने डिँङ् हाँक्ने, हजार कपका गफ गर्ने र भट्टिहरुमा दारुपानी खाएर जीवन र पैसाको नास गर्ने प्रसस्तै चाहना पनि छ समय र पैसा पनि उब्जिन्छ तर हाम्रा मौलिक संगीतहरु र यसका साधकहरुको संरक्षण गर्ने र भावी पुस्तामा हस्तान्तरण गर्ने चासो खासै कतै देखिँदैन । हामी सबैले यो कुरालाई सबैका सामु ल्याउनु पर्ने र यसलाई जीवन्त राख्ने वातावरण तयार गर्नुपर्ने देखिन्छ ।
आफ्नो पुख्र्यौली परम्पर।गत पेशा गर्न अहिले गन्दर्भका युवापिँढीलाई लाज लाग्छ, उनीहरु पनि समाजका अन्य समुदाय झैं पेशा परिवर्तन गर्न, धन सम्पत्ति कमाउन, देश विदेश जान र भिन्दै पहिचानका साथ बाँच्न चाहन्छ । यो चाहनाले यो पेशा प्रति न त कुनै चासो छ न यसलाई अर्को पुस्तामा हस्तान्तरण गर्न सजिलो छ !
देशले भ्रमण बर्ष २०२० मनाउन लागेको छ । हाम्रो चाहना छ २० लाख पर्यटक भित्र्याउने, अनि भ्रमण बर्ष सफल पार्ने तर यसो गर्दै गर्दा नेपाल आउने पर्यटक कस्ता हुनेछन्, उनीहरुलाई हामीले के पस्किने छौं त्यो के छ त ? नेपालको बिकास हेर्न, यहाँका कुनै गगनचुम्बी भवन हेर्न या फेरि त्यहि पिज्जा बर्गर र वाइन खान या फेरि उहि पाश्चात्य संगीत सुन्न नेपाल आउनु पर्ने कुनै कारण छैन । यी कुराको नेपाल भन्दा सहज, सुलभ र भव्य त अरु नै देशमा रहेको छ फेरि नेपाल नै किन आउनु पर्यो ? यदि हामीले हाम्रा मौलिक संस्कृतिलाई, हाम्रो मौलिक खानपानलाई, हाम्रो नेपाल मात्रको मौलिक संगीतलाई विश्व सामु पुर्याउने र पर्यटकहरुलाई पस्किने हो भने मात्र हाम्रो चिजको ब्रान्डिङ् गर्न सकिने छ , यस्तो ब्रान्डिङले मात्र हाम्रा खानपान, पेय पदार्थ, हाम्रा मौलिक गीत संगीत मात्रै होइन हाम्रो संस्कृतिको जगेर्ना हुन्छ र विश्वभरिबाट पर्यटक यसैका लागि नेपाल आउनेछन । यो पेशामा पनि आफ्नो भविष्य उज्जवल छ भन्ने आशा जागेमा नयाँपुस्ता पनि आकर्षित हुनेछ र आज आएको पुस्ता हस्तान्तरण गर्न गाह्रो भएको नेपाली मौलिक संगीतको साइनो लम्बिने छ । यसमा सबै तहका सरकार र सबै सरोकारवालहरुको सामूहिक चासो हुन जरुरी छ ।
स्मरण रहोस कि मौलिकता बिनाको बिकास भौतिक मात्रै हो त्यसमा कुनैपनि अपनत्व र पहिचान रहने छैन । आफ्नोपन मेटेर, आफ्नो संस्कृति र मौलिकता मासेर समृद्धिको परिकल्पना के को समृद्धि हो त्यो पनि सुस्पष्ट हुनुपर्छ । यदि समय मै सोच पुगेन भने महाभूल हुनेछ ।











