नेपालगन्ज उद्योग वाणिज्य संघको २८औं साधारणसभा
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगन्जलाई जीवन्त सहरको संज्ञा दिएका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघको २८ औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री भट्टराईले नेपालगन्ज विकासको गतिमा अगाडि नै रहेको उल्लेख गर्दै जीवन्त सहर भएको बताएका हुन् ।
साधारणसभामा संघीयता पछि नेपालगन्ज पछाडि पर्दै गरेको भन्दै चिन्ता व्यक्त गरेपछि मन्त्री भट्टराईले भने, ‘राजधानी नभए पनि नेपालगन्ज सहर मृत होइन, जीवित सहरकै रुपमा अघि बढेको छ ।’ मन्त्री भट्टराईले नेपालगन्ज पर्यटकीय ट्रान्जिट र औद्योगिक नगर भएको बताएका थिए । ‘नेपालगन्ज राजधानी नभए पनि राजधानीसरह यसको विकास हुन्छ र भइरहनेछ,’ मन्त्री भट्टराईले भने, ‘हामी हिजोका सोचाइँबाट मुक्त भएर अघि बढौं । यहाँ धेरै सम्भावनाहरु छन् ।’
मन्त्री भट्टराईले पूर्वाधार र पर्यटनको विकासका लागि छलफल गर्न नेपालगन्ज आएको बताए । नेपालगन्ज हिजोका दिन भन्दा फेरिइसकेको मन्त्री उनले बताए । ‘नेपालगन्ज हिजोको जस्तो छैन’, मन्त्री भट्टराईले भने, ‘तीन दशकमा धेरै विकास भैसकेको छ ।’ उनले हिजोको अवस्थामा नेपालगन्ज नरहेको बताउँदै अबको १० बर्षमा थप फड्को मार्ने बताए ।
मन्त्री भट्टराईले मुलुक बदलिएको बताउँदै मुलुकले राजनीतिक स्थायित्व पाएको बताए । ‘यो उद्योगी, व्यवसायीका लागि पनि मौका हो’, मन्त्री भट्टराईले भने, ‘यो मौका गुमायौं भने भविष्यमा पछुताउनु बाहेक अर्को विकल्प हुँदैन । उनले राजनीतिक, अन्तर्राष्ट्रिय हिसाबले अनुकुल बन्दै गएको बताए । ‘विदेशका थुप्रै राष्ट्र प्रमुख, लगानीकर्ता नेपाल आउनु त्यसैको उदाहरण हो’, मन्त्री भट्टराईले भने ।
मन्त्री भट्टराईले उद्योगी, व्यवसायी र सरकार एकै सिक्काको दुई वटा पाटो भएको बताए । ‘सरकार बलियो भयो भने निजी क्षेत्र पनि बलियो हुन्छ’, मन्त्री भट्टराईले नेकपा नेतृत्वको सरकारले व्यवसायीहरुको सधै सम्मान गरेको बताउँदै भने, ‘आर्थिक क्षेत्र कमजोर भए देश बलियो होला भन्ने कल्पना पनि गर्न सकिंदैन ।’
मन्त्री भट्टराईले दुई तिहाईको स्थायी सरकार मुलुककै समृद्धिको लागि अवसर भएको बताए । उनले स्थायी सरकार भएकाले मुलुकमा समृद्धिका धेरै कामहरु हुने र आगामी निर्वाचनहरुमा पनि कम्युनिष्टकै सरकार बन्ने भएकाले उद्योगी व्यवसायीहरुले कसैलाई चन्दा दिनुपर्ने अवस्था नरहेको बताए । उनले भने, ‘अब देशमा कम्युनिष्टकै सरकार चल्छ । हामी दयामायाले अरुलाई सरकार चलाउन दिनेवाला छैनौं । तर त्यसका लागि सरकारले नागरिकप्रति जवाफदेही भएर काम गर्नुपर्छ । हामी अब चन्दा माग्दैनौं, राम्रो काम गरेर भोट मात्रै माग्छौं । अब हामीलाई चन्दा होइन भोटमात्रै दिनुहोला । कसैले चन्दा माग्यो भने सोझैं इन्कार गरिदिनुस् ।’
विगतमा देश भित्र उब्जिएको परिस्थितिका कारण नेपालगन्जले प्रदेश राजधानी बन्ने अवसर गुमाएको मन्त्री भट्टराईले बताए । मन्त्री भट्टराईले बाँके प्रदेश ५ मा परिसकेकाले अब तत्काल त्यो परिवतर्न गर्न सम्भव नरहेको बताए । ‘हाम्रा उत्तेजना र आवेशले प्रदेश फिर्ता हुन सक्दैन,’ मन्त्री भट्टराईले भने, ‘हिजोका हाम्रा सोचाइँ र उत्तेजनाका कारण नेपालगन्जले राजधानी गुमाएको हो । अब फिर्ता हुन सक्दैन ।’
मन्त्री भट्टराईले नेपालगन्जलाई पश्चिम नेपालका सुन्दर गन्तव्यहरु जोड्ने स्वर्गको रुपमा चित्रण गर्दै भ्रमण वर्ष आउन केही समयमात्रै बाँकी रहेकाले यसलाई सफल बनाउन यहाँका उद्योगी व्यवसायीले सरकारलाई पूर्ण सहयोग गर्नुपर्ने बताएका थिए । उनले भने, ‘भ्रमण बर्ष आइसक्यो, पर्यटनको ट्रान्जिट नेपालगन्जका उद्योगी व्यवसायीहरुले सरकारलाई सकेजति सहयोग गर्नुस् ।’ उनले पश्चिम नेपालका सुन्दर पर्यटकीयस्थल मानसरोवर, रारा, से–फेक्सुण्डो, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न र कर्णाली लगायतका नदीहरुमा ¥याफ्टिङ्ग गर्न, अन्य पर्यटकीय क्षेत्रको घुमफिरका लागि नेपालगन्ज स्वर्गका रुपमा रहेको बताए । ‘नेपालगन्ज पर्यटकहरुका लागि स्वर्गभूमी हो । पश्चिम नेपाल घुम्न यही आउनुपर्छ,’ उनले भने ।
नेपालगन्जलाई पर्यटकीय र औद्योगिक सहरका रुपमा थप विस्तारका लागि सरकारले आफ्नो तर्फबाट गर्नसक्ने पहल र कामहरुलाई तीव्रता दिने उनले बताए । ‘प्रदेश राजधानी नपाए पनि नेपालगन्ज पछि परेको छैन । यसमा यहाँका नागरिकहरु आत्तिनुपर्ने, निराश हुनुपर्ने छैन,’ उनले भने, ‘नेपालगन्ज पर्यटकीय र औद्योगिक सहरकै रुपमा विकास हुन्छ ।’
मन्त्री भट्टराईले नेपालगन्जले विगतमा देशको अर्थतन्त्रलाई मजबुत बनाउन, अन्तर्राष्ट्रिय सम्बन्ध स्थापनामा खेलेको भूमिका प्रति अभार व्यक्त गरेका थिए ।
‘पर्यटन र उद्योगले बाँकेको विकास’

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले संघीयताका कारण बाँके, बर्दिया आर्थिक रुपमा पछाडि पर्ने चिन्ता सुरु भएको धारणा राखेकी छन् । ‘प्रदेशको पुच्छरमा पर्दा यहाँका जनता संघीयताबाट खुशी हुन सकेनन्’, नेपालगन्ज उद्योग वाणिज्य संघको २८ औं साधारणसभामा बोल्दै अध्यक्ष राणाले भनिन्, ‘अब यस क्षेत्रको विकासका लागि औद्योगिक क्षेत्र र पर्यटकीय विकास आवश्यक देखिएको छ ।’ अध्यक्ष राणाले विकासमा अगाडि बढिरहेको बाँके संघीयतापछि अझ पछाडि परेको अवस्था रहेको बताइन् ।
संघीयतापछि बाँकेमा रहेका धेरै सरकारी, गैर सरकारी कार्यालयहरु सरेर जाँदा त्यसको प्रतिकुल प्रभाव परेको अध्यक्ष राणाले बताइन् । ‘प्रदेश राजधानी भनेर उद्योगहरु पनि बुटवल तर्फ सर्दै गैरहेको अवस्था छ’, अध्यक्ष राणाले भनिन् ।
भारतको उत्तरप्रदेशसँग बाँके जोडिएको क्षेत्र भएकाले यहाँ औद्योगिककरण र पर्यटक विकासको ठूलो सम्भावना रहेको अध्यक्ष राणाले बताइन् । त्यसैले बाँकेमा प्रोसेसिङ उद्योगहरु सञ्चालनको आवश्यकता औंल्याउँदै पुरानो ढंग व्यवसायीले परिवर्तन गर्नुपर्ने उनले बताइन् । पर्यटक आकर्षक गर्नका लागि बाँके, बर्दियामा थुप्रै प्राकृतिक, धार्मिक पर्यटकीय स्थल रहेकाले त्यसको प्रवद्र्धन गर्न आवश्यक रहेको अध्यक्ष राणाले बताएकी थिइन् ।
अध्यक्ष राणाले सरकारले व्यवसायीका समस्या सुनेर त्यसको समाधानका लागि ठोस कदम चाल्नु पर्ने बताएकी थिइन् । उनले जटिबुटी निकासी लगायतका क्षेत्रमा व्यहोर्नुपरेको समस्या केही सहज भए पनि समस्यालाई पूर्णरुपमा अन्त्य गर्नका लागि सरकारले ठोस् पहल गर्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले सरकारको व्यवसायी प्रतिको धारणा परिवर्तन आउन नसकेको बताए । उनले राज्यलाई कर तिरेर अर्थतन्त्रमा योगदान पुर्याउने व्यवसायीलाई अझै पनि राज्यले हेर्ने दृष्टिकोण परिवर्तन नगरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।
मुलुक संघीयतामा गएपछि नेपालगन्जको आर्थिक अवस्था खस्कदै गएकोमा चिन्ता गर्दै अध्यक्ष वैश्यले बाँकेलाई आर्थिक रुपमा बलियो बनाउनका लागि आन्तरिक उडान तथा नेपालगन्ज–दिल्ली उडानका लागि पहल गर्न सरकारसँग आग्रह गरेका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीले स्वागत गरेको कार्यक्रममा बार्षिक प्रतिवेदन महासचिव अजय टण्डनले प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका सदस्यहरुको तर्फबाट बोल्दै व्यवसायी भीम रानाभाटले व्यवसायी एकतामा जोड दिएका थिए । उनले व्यवसायिक मुद्दा र आपसी हितका सम्बन्धमा छलफल गर्न व्यवसायीहरु सधै प्रतिबद्धत भएर तयार रहनुपर्ने धारणा राखेका थिए ।
ओविराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा संघीय सांसद महेश्वर गहतराज, पूर्णकुमारी सुवेदी, प्रदेशसभा सदस्य नमूना केसी, आइपी खरेल, मो. याकुव अन्सारी, नेपालगन्ज नगर प्रमुख डा. धवल समशेर राणा, उपप्रमुख उमा थापा, विभिन्न राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार सिराज खान तथा व्यवसायिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
साधारणसभाको औपचारिक कार्यक्रम पछि सञ्चालित बन्द सत्रले संघको आर्थिक तथा बार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
रक्तदान र सुगर जाँच शिविर

नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गरेको २८ आंै साधारणसभामा जुमा स्पोर्टस् क्लबले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । शनिबार भएको रक्तदानमा २५ पिन्ट रगत संकलन भएको क्लब अध्यक्ष भीम बहादुर रानभाटले जानकारी दिएका छन् ।

साधारणसभामा सुगर तथा ब्लड प्रेस निशुल्क चेकजाँचको व्यवस्था पनि मिलाइएको थियो । भवानी कालिका पोलिक्लिनिक एण्ड हर्ट सेन्टरले ९३ जनाको सुगर र २ सय जतिको ब्लड प्रेसर चेकजाँच गरेको प्रबन्ध निर्देशक प्रसिद्ध ढकालले जानकारी दिएका छन् ।












