Monday, May 11, 2026
घर ब्लग पृष्ठ 301

परीक्षार्थीका लागि शिक्षक टिप्स

एसईई आउन हप्ता दिन बाँकी छ । यो परीक्षाले विद्यार्थी माथिल्लो कक्षामा जान योग्य छ कि छैन भन्ने कुरा निर्धारण गर्ने भएकाले यो समय विद्यार्थीहरुका लागि अत्यन्तै महत्वपूर्ण छ । र, अभिभावकहरुलाई पनि त्यतिकै चासो र चिन्ता हुने गर्छ ।

सबैजना राम्रो नतिजा ल्याउने गरी तयारी गरिरहेका हुन्छन् । फलामको ढोका मानिने यस परीक्षामा विशिष्ट अंक ल्याउने सबैको लक्ष्य हुन्छ । तर, विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा जति एकाग्र भएर अध्ययन गर्छन् वर्षको शुरुवात देखि नै उनीहरु त्यसैगरी पढाइमा विल्कुलै लागि पर्दैनन् ।

खासमा यो मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । भनिन्छ–‘धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर ।’

अन्तिम समयमा राम्रो नतिजा ल्याउने दबावमा विद्यार्थीहरु तनाव लिइरहेका हुन्छन् । जसका कारण परीक्षा सप्रिने भन्दा पनि झन विग्रने जोखिम बढी हुन्छ । कहिलेकाहीँ घण्टौं पढेपनि दिमागले केही टिप्दैन । कहिले दिमागले टिपिसकेको कुरा पनि परीक्षामा लेख्दै गर्दा बिर्सिइन्छ ।

परीक्षा सकेर बाहिर निस्किसकेपछि मात्रै अहो यसको उत्तर त यो पो हो भनेर याद आउँछ । विद्यार्थी तनावमा हुन्छ । यसले अर्को दिनको परीक्षामा समेत असर गर्ने गर्छ । खासमा यो मस्तिष्कको क्षमता भन्दा पनि हाम्रो परीक्षा तयारीमा भरपर्ने कुरा हो । भनिन्छ–‘धेरै कडा मिहिनेत नगर बरु चाहिँदो र बुद्धिमानी ढङ्गले मिहिनेत गर ।’

त्यसैगरी ‘स्मार्ट’ तरिकाले पढ्ने हो भने हामीले सजिलैसँग पढ्न सक्छौं र पढेको कुरा याद गर्न सक्छौं । यो लेखमा आसन्न एसईईको तयारीमा रहेका विद्यार्थीलाई लाभ पुर्याउन सक्ने सुझाव दिन खोजिएको छ । 

पुराना प्रश्नपत्रको अध्ययन गरौं

विद्यार्थीहरुले पुराना प्रश्नपत्रमा खासै ध्यान दिएको पाइदैन । तर परीक्षाका लागि पुराना प्रश्नपत्रको अध्ययन निकै जरुरी मानिन्छ । पुराना प्रश्नपत्रको अध्ययन गर्ने बानीले परीक्षाको फरम्याट कस्तो हुन्छ भन्ने मात्र प्रष्ट पार्दैन उत्तर कसरी दिने वा कस्ताकस्ता प्रश्नहरु बढी महत्वपूर्ण छन् भन्ने जान्न पनि सहज हुन्छ ।

कुन प्रश्नलाई कति समय दिने भन्ने पनि यसले सहयोग पु–याउँछ । यस्तै प्रत्येक समूहमा दिइएका कति प्रश्नमध्ये कतिवटा प्रश्न कति समयावधीमा हल गर्नुपर्ने र तिनका पूर्णाङ्क कति हुन् भन्ने बारे पनि जानकारी हुन्छ । त्यसैले पुराना प्रश्नपत्र अध्ययन गरौं । 

सकेसम्म समूह बनाएर पढौं

परीक्षाको समयमा धेरैले झ्याल ढोका नै बन्द गरेर कोठाभित्र एकलै अध्ययन गर्ने गरेका छन् । यो कसैको बानी पनि हुन्छ एकान्तमा बसेर पढ्ने वा अध्ययन गर्ने । एकान्तमा बसेर बढ्दा आफुलाई सहज लाग्छ भने एकान्तमै बसेर पढौं । तर सकेसम्म परीक्षाको तयारीमा जुटेका विद्यार्थीले समूह बनाएर अध्ययन गर्दा राम्रो हुन्छ । कहिले आफूले प्रश्न सोध्ने र कहिले आफूलाई प्रश्न सोध्न सकिन्छ । यसो गर्दा आत्मविश्वास बढ्छ । साथै पढेको कुरा स्पष्टसँग बुझ्न सकिन्छ । 

लेख्दै अध्ययन गर्ने गरौं

अध्ययन गर्ने बेला कतिपयले पाठ वाचन गर्ने गरेको देखिन्छ । कतिपयले त पुरै पाठ नै कण्ठ गरेका पनि हुन्छन् । पाठ कण्ठ गर्ने र वाचन गर्ने शैली प्रभावकारी नहुन पनि सक्छ । घोकन्ते विद्या भन्दा पनि बुझेर अध्ययन गर्नु राम्रो हो । त्यसका लागि विद्यार्थीले पढेको कुरा सम्झन वा बुझ्नका लागि लेख्ने विधि उपयुक्त हुन्छ । पढ्दै गर्दा सँगसँगै लेख्ने ग¥यो भने लेखन गति पनि बढ्दछ ।

विहान पढ्ने गरौं 

कक्षामा शिक्षकले पढाएको विषयलाई घरमा आएर राम्रोसँग अध्ययन गर्ने बानी विद्यार्थीका लागि उपलब्धिमूलक हुनसक्छ । अव समय कम छ । त्यसैले परिक्षामा मात्र पढ्ने विद्यार्थीहरुले अफ्ठयारो बिषय वा अफ्ठयारो लाग्ने सामग्रीहरु बिहानै उठेर पढ्नुपर्छ । फ्रेस दिमागले पढ्दा सम्झन सजिलो हुन्छ । तर परीक्षा आयो भन्दैमा विद्यार्थीहरू निरन्तर पुस्तक र नोट बुकमा मात्र केन्द्रित हुनुहुँदैन । नियमित रुपमा ब्रेक लिनुपर्छ ।

रातमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले दिनमा धेरै थकाइ मार्ने र दिनमा पढ्दा सम्झन सजिलो हुने विद्यार्थीले रातमा थकाइ मार्ने गर्नुपर्छ । जुन समयमा पढे पनि नियमित ब्रेक भने लिनुपर्छ । विद्यार्थीले हरेक शीर्षक पूरा अध्ययन गर्नुपर्छ । किताबका सबै पाठ पढ्ने समय छैन भनेपनि कम्तीमा पढेका शीर्षकहरुको चाहिँ पूर्ण अध्ययन गर्नुपर्छ । 

पर्याप्त मात्रामा सुतौं र स्वास्थ्यको ख्याल गरौं

परीक्षा नजिकिन थाल्यो भने टुप्पी कसेर पढ्ने गरिन्छ । अभिभावकहरुले पनि आफ्ना बालबालिकालाई त्यसैगरी पढ्न प्रेरित गरिहेका हुन्छन् । परीक्षाका नाममा  निद्रा मारेर पढ्दा दिमाग फ्रेस नहुने समस्या हुन्छ । यसले स्वास्थ्यमा पनि समस्या निम्त्याउन सक्छ । परीक्षाको तनाव, अनिन्द्रा, खानपानमा अनियमितताको कारण धेरै बिद्यार्थीलाई यसबेला स्वास्थ्य समस्या देखापर्न सक्छ । त्यसैले सही समयमा सुत्ने, उठ्ने गर्नुपर्छ ।

अभिभावकहरु अध्ययनको वातावरण बनाऔं

विद्यार्थीहरुको परीक्षाको नतिजा राम्रो वा नराम्रो हुनुको पछाडि उनीहरुको एकल भूमिका मात्र हुदैन । यसमा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुन्छ ।

अभिभावकहरुले घरमा त्यहीअनुसारको वातावरण सिर्जना गरिदिनुपर्छ । परीक्षाको समय विद्यार्थीहरु अध्ययनमा तल्लीन हुन्छन् । यस्तो बेला अभिभावकहरु घरमा झै–झगडा गर्छन् भने छोराछोरीको मन मस्तिष्कमा नकारात्मक प्रभाव पर्छ ।

अभिभावकको हरेक नकारात्मक गतिविधिले अध्ययनमा जुटेका छोराछोरीमा गम्भीर असर पर्छ । त्यसैले अध्ययनको राम्रो वातावरण सिर्जना गरिदिनुपर्छ । राम्रो वातावरणका लागि शान्त ठाउँ भएर मात्र पुग्दैन, घरपरिवारको व्यवहार पनि आत्मीय र प्रेरणादायी हुन जरुरी छ । 

परीक्षाको दिन दिमागलाई प्रेसर दिने कामै नगरौं

परीक्षाको दिन दिमागलाई प्रेसर दिने काम कदापी गर्नु हुँदैन । जसका कारण परीक्षा राम्रो नहुन सक्दछ । परीक्षाको दिन, परीक्षाको समय आवश्यक पर्ने कलम, पेन, पेन्सील, इरेजर, स्केल, प्रवेश पत्र जस्ता सामाग्री भुल्नुहुँदैन ।

परीक्षाको दिन परीक्षा समयभन्दा ठिक १५/२० मिनेट अगाडि परीक्षास्थल पुग्नुपर्छ । किनभने एसईई परीक्षा आफुले अध्ययन गरेको भन्दा अर्को विद्यालयमा दिनु पर्ने हुन्छ ।

यस्तो अवस्थामा परीक्षाको पहिलो दिन ३० मिनेट अगाडि नै पुग्नु पर्छ । किनभने आफ्नो सिट कहाँ छ ? विद्यार्थीको भिडभाड हुने भएकाले सिट स्थान खोज्न समय लाग्न सक्छ । अन्य दिन पनि परीक्षा समयभन्दा १५/२० मिनेट अगाडि पुग्नु पर्छ ।  प्रशनपत्र राम्ररी अध्ययन गरेर मात्रै उत्तर दिनुपर्छ ।
(शैक्षिक क्षेत्रमा लामो अनुभव बटुल्नुभएकी शशि स्वार नेपालगन्जमा एबीसी स्कूल सञ्चालन गर्नुहुन्छ )

एमटीबी च्यालेन्ज–२०२३ : रुपा र जंगु बने च्याम्पियन

बाँकेको गाभरमा शनिवार भएको एमटीबी च्यालेन्ज–२०२३ मा रुपा थारु र जंगु थारु क्रमशः आफ्नो विधामा प्रथम भएका छन् ।


क्रसकन्ट्री ओलम्पिक विधामा भएको खेलमा महिलातर्फ रुपा र पुरुषतर्फ जंगुले उपाधि हात पार्न सफल भएका हुन् ।
जिल्ला साइक्लिङ संघको आयोजना भएको लुम्बिनी प्रदेश स्तरीय खेलमा महिला सहभागी ६ जनापुरुष १३ जनागरी जम्मा १९ जना खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।


आयोजकले दिएको जानकारी अनुसार, ४.५ किलो मिटरको दुरी भएको ट्रेलमा भएको प्रतियोगितामा महिलातर्फ निर्धारित २ ल्याप ५१ मिनेट ४१ सेकेण्डमा पार गर्दै रुपाले प्रथम स्थान हासिल गरिन् ।

उक्त दुरी १ घण्टा १० सेकेण्डमा पार गर्ने एसी श्रेष्ठ द्वितीय र १ घण्टा २ मिनेट २ सेकेण्डमा लक्षमा पुग्ने रिमा थारुले तृतीय स्थान लिन सफल भएका हुन् ।


त्यसैगरी सोही रुटमा निर्धारित ३ ल्याप ५२ मिनेट २७ सेकेण्डमा पार गर्र्दै पुरुषतर्फ जंगु प्रथम स्थानमा पुगे । ५३ मिनेट २७ सेकेण्डमा साइकल कुदाएर गन्तव्यमाा पुग्ने देव बहादुर बोहोरा द्वितीय र ५६ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्ने शिव प्रसाद थारु तृतीय स्थान लिन सफल भए । बिजयी खेलाडीहरुले नगद, मेडल तथा प्रमाण पत्रप्राप्त गरेका छन् ।


बिजयी खेलाडीहरुलाई पुरुस्कार सहित प्रमाण पत्र बैजनाथ गाउँपालिका वडा १ का वडा अध्यक्ष रुप बहादुर मल्ललगायतले सम्मान गरे ।


त्यसअघि बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाहीले झण्डा उचालेर प्रतियोगिताको शुरुवात गरेका थिए ।
बाँके जिल्ला साईक्लिङ संघको आयोजना पहिलो पटक यसरी प्रदेशस्तरीय प्रतियोगिता गरिएको हो ।


नेपाल साईक्लिङ संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा प्रदेश खेलकुद परिषद लुम्बिनी, जिल्ला खेलकुद विकास समिति बाँके, बैजनाथगाउँ पालिका, कोहलपुर नगरपालिका, राप्तिसोनारी गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा गाउँपालिकाले साझेदारी गरेको संघका अध्यक्ष गगन थापाले जानकारी दिए ।


अध्यक्ष थापाका अनुसार, जुवलोजिकल सोसाईटी अफ लण्डन (जेड एस एल),पर्यटन विकास परिषद रुपन्देही, ओम एडभरटाईजिङ नेपालगन्ज, केटिएम सिटी, कौशिल्या अस्पताल कोहलपुर, बैजनाथपालिका स्तरीय साईक्लिङ संघ, नेपालगन्ज साईक्लिङ क्लबले पनि आयोजनामा साझेदारी गरेका छन् ।


दैनिक नेपालगन्ज र खबरगन्ज मिडिया पार्टनर रहेको एमटीबी च्यालेन्जको पहिलो संस्करणका लागि रारा राधा रानीमहिला मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति, गाभर भ्याली सामुदायिक होमस्टे, नाटा बाँके च्याप्टर, नेपालगन्ज साईक्लिङ संघ, नेपालगञ्ज बाइसाइकल, इश्वरी युनाइटेड र हट एण्ड चिल्ली रेष्टुरेण्टको प्राविधिक तथा आर्थिक सहयोग रहेको अध्यक्ष थापाले जानकारी दिए ।


‘बाँके जिल्ला साइक्लिङ संघ, साइक्लिङ खेलकुदलाई बढावा दिदैं, खेलकुद पर्यटनलाई विकास गर्ने उद्देश्यले स्थापना भएको संस्था हो,’ अध्यक्ष थापाले आयोजना सफल भएको भन्दै स्थापनाकालको छोटो समयमा साइकिलिङ खेलका पूर्वाधार तयार गर्ने देखि खेलाडीहरुलाई प्रशिक्षित गर्ने र देशमा हुने विभिन्न प्रतियोगितामा पठाउने काम संघले गरेको जानकारी दिए ।

प्रथम कोहलपुर गोल्ड कपको आज फाइनल

उपाधिकालागि क्यामरुन र काठमाडौं भिड्दै, मैत्रीपूर्ण खेलमा पत्रकारले जोडे चार गोल


बाँकेको कोहलपुरमा आयोजित प्रथम कोहलपुर गोल्ड कपको उपाधिका लागि आज शनिवार फाइनल खेल हुँदैछ । ब्वाइज यूनियन क्लब काठमाडौं र विदेशी क्लब क्यामरुन आज उपाधिका लागि भिड्ने भएका हुन् ।


विहीवार भएको दोस्रो सेमिफाइनलबाट हिमालय शेर्पालाई हराउँदै एफसी क्लब क्यामरुन फाइनलमा पुगेको थियो भने आयोजक रेसिङ्ग साहारा क्लब कोहलपुरलाई रोकेर ब्वाइज यूनियन क्लब काठमाडौंले फाइनलका लागि यात्रा सुनिश्चित गरेको हो ।


यसैबीच, शुक्रवार विश्राममा रहेका खेलाडीलाई पत्रकार र आयोजकले मैत्रीपूर्ण खेल प्रदर्शन गरेका छन् । स्थानीय जनप्रतिनिधिसँग भएको मैत्रीपूर्ण खेलमा पत्रकारका तर्फबाट कुमार श्रेष्ठले २, अशोक भण्डारीले १ र भगतराम चौधरीले पेनाल्टी शुटआउट गरि ४ गोल जोडेका थिए ।


पहिलो पटक कोहलपुरमा भएको गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख र दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको राखिएको छ । गोल्ड कपमा सहभागी हुने अन्य टिमलाई १ लाख २० हजार प्रदान गरिने आयोजक रेसिङ साहारा क्लबले जनाएको छ । क्लबका अध्यक्ष चक्र क्षेत्रीको नेतृत्वमा पहिलो पटक यति ठुलो फुटबल प्रतियोगिता कोहलपुरमा आयोजना गरिएको हो ।


‘दर्शकको आकर्षण र हौसलाले हामीले गरेको निर्णयलाई ठिक सावित गरेको छ,’ उद्घाटन देखि सेमिफाइनलसम्म हजारौं दर्शकले खेलको आनन्द लिएकोमा उत्साहित आयोजक रेसिङ साहाराका टिम प्रशिक्षक जनक केसीले भने, ‘फाइनलको तयारी पनि त्यसै अनुसार गरिएको छ ।’

न्यायको पर्खाईमा नगुमेको धैर्य

सभाकक्षमा प्रचण्ड उपनामका तत्कालिन विद्रोही नेता हालका प्रधानमन्त्री पुष्पकमल दाहालको भरिलो मुस्कानसहितको तस्विर छ, त्यसैमूनि तत्कालिन विद्रोहकालका बेपत्ता आफन्तको खोजीमा रुवाबासीको कारुणिक दृष्य ।


कुनैबेलाका उप–प्रधान तथा शान्ति मन्त्रालय चलाइसकेका राष्ट्रपति रामचन्द्र पौडेलसँगै टांगिएको प्रधानमन्त्रीको तस्विरतिर सायदै कसैको ध्यान गयो, सबैको ध्यान न्यायको पर्खाईमा धैर्य नगुमाएका द्वन्द्वपीडितका क्रन्दनमा थियो ।

शुक्रवार राप्तीसोनारी गाउँपालिकाको सभाकक्षमा आयोजित ‘सत्यको अधिकारका लागी अन्तर्राष्ट्रिय दिवस सम्बन्धी कार्यक्रम’ मा न्यायको पर्खाईमा नगुमेको धैर्य देखाउँदै पीडितहरु राज्यसँग गुहारको पुनरावृत्ति गरे ।


बिगत २७ बर्ष देखि आफन्त गुमाएका पीडितले बेपत्ता आफन्तको बारेमा कुनै सत्य तथ्य थाहा पाउन नसकेको भन्दै पीडितहरुले पीडितहरुको न्यायका लागी पहल गरिदिन जनप्रतिनिधि र अधिकारकर्मी समक्ष अनुरोध गरेका थिए ।


सेतै फुलेकी बाँके राप्ती सोनारी फत्तेपुरकी राजरानी गोडिया बेपत्ता छोरा ब्रम्हदिन गोडियाको स्थिति पत्ता लगाइदिन माग गरिन्् । आफ्ना सामुन्ने मञ्चासिन जनप्रतिनिधि तथा अधिकारकर्मीहरुलाई सबै कुरा थाह होला जसरी उनले रुँदै भनिरहिन्, ‘लौन छोराको अवस्था पत्ता लगाई दिनुस् ।’ कारुणिक स्वरमा भन्दै गइन्, ‘हामी कुवाको भ्यागुता केही थाहा पाउदैनौ, बेपत्ता पारिएको छोरा ब्रम्हदिन जमिनमा छ की आसमान कहाँ छ ?’


कार्यक्रममा उपस्थित राजरानी मात्रै होइन मनबिर घर्ती, बिर बहादुर वलि, देव बहादुर डिसी, सुशीला भण्डारी लगायतका द्वन्द्व पीडितले बेपत्ता आफन्तको बारेमा सत्य थाहा नपाउदा रातदिनको मानसिक पीडामा बस्नु परेको भन्दै सिघ्र सार्वजनिकको माग गरे । विभिन्न ठाउँबाट ट्याक्टरमा कष्टकर यात्रा गरेर कार्यक्रममा पुगेका पीडितहरुले अझै न्यायको आश नमारेको दृष्य प्रष्ट पारे ।


अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसका सन्दर्भमा अधिकारवादी संस्था एडभोकेसी फोरमले राप्ती सोनारी गाउँपालिकासंगको सहकार्यमा बाँकेको अगैयामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सत्य थाहा पाउने अधिकारमा राज्यको दायित्व बिषयमा अन्तरक्रिया कार्यक्रम राखेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेल, उपाध्यक्ष मनिषा सिंह थारु, मानव अधिकार आयोगका अधिकृत दयाराम पाठक, एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक वसन्त गौतम, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, नेपालगन्ज उच्च बारका पूर्व अध्यक्ष अधिवक्ता बल बहादुर चन्द, नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष रुपा गहतराज लगायत, नागरिक समाजका प्रतिनिधि मञ्चासिन थिए ।


मानव अधिकार उल्लघंनका पीडितहरुले घटनाका बारेमा सत्य तथ्य थाहा पाउने र न्याय पाउनमा वकालत गर्ने दिवस रुपमा सत्यको अधिकार दिवसलाई लिइन्छ । तर दिवसका अवसरमा आयोजित कार्यक्रममा उपस्थित पीडितहरुले द्वन्द्व सकिएको यतिका बर्षसम्म पनि न्यायको अनुभूति गर्न नसकेको भन्दै स्थानीय सरकारसंग आफुहरुलाई लक्षित कार्यक्रम ल्याउन माग पनि गरे ।


द्वन्द्व पीडितहरु देव बहादुर डिसी, सिमा चौधरी, मनबिर घर्ती लगायतले पीडितका लागी कहिल्यै खुसीको दिन नआएको, बेपत्ताका आफन्तको बारेमा कुनै सत्य तथ्य जानकारी नभएको, द्वन्द्वले छाडेको शारिरीक तथा मानसिक पीडामा बाँच्नु परेको बताएका थिए ।


सरकारले हालै ससदमा पेश गरेको बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगका बारेमा आफुहरु जानकार नभएको, बिगतका आयोगहरुले पीडितका लागी कुनै काम नगरेकाले न्याय पाइन्छ भन्ने कुराको बिश्वास हराउदै गएको उनीहरुको दुःखेसो थियो ।


गाउँपालिकाबाट ठुलो सख्यामा उपस्थित द्वन्द्व पीडितहरुले शान्ति प्रक्रियालाई चाडै टुंगोमा पु¥याउनु पर्ने, गाउँगाउँमा आएर घटनाको बास्तविक सत्य तथ्य बताई न्याय र मेलमिलापको वातावरण बनाउनु पर्ने माग गरेका छन् ।


स्थानीय सरकारका प्रतिनिधिसंग गाउँपालिकाकै सभाकक्षमा आफ्ना कुरा भन्न पाएकोमा केही राहत महसुस गरेको बताए । उनीहरुले गाउँ पालिकामा कति द्वन्द्व पीडित छन् भन्ने बारेमा यकिन तथ्याङ्क संकलन गरि पीडितलाई लक्षित वर्ग मानी बजेट बिनियोजन गर्र्न र त्यसका आधारमा पालिकाले निशुल्क सिफारिसको ब्यवस्था मिलाउन आग्रह गरेका थिए । द्वन्द्व पीडितका लागी शिक्षा स्वास्थ्यमा बिशेष ब्यवस्था गर्न उनीहरुको माग छ ।


द्वन्द्व पीडित संजाल राप्ती सोनारीका संयोजक देब बहादुर डिसीले संसदमा पेश भएको बिधेयकमा संशोधन आवश्यक रहेको बताउँदै बिधेयक सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानूनी मापदण्ड बमोजिमको हुनु पर्नेमा जोड दिए ।
सशस्त्र द्वन्द्वमा छोरा बेपत्ता पारिएका काशिराम थारुले स्थानीय सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने भन्दै पीडितको न्यायका लागी निशुल्क कानूनी सहायताको प्रवन्ध मिलाइनु पर्ने माग राखे ।


ऋर्का पीडित, राप्ती सोनारी ९ का दण्ड बहादुर कुमालले द्वन्द्वकालमा छोरा कमल कुमाललाई बेपत्ता पारिएको हालसम्म अन्तरिम राहतसम्म पाउन नसकेको पीडा सुनाउँदै राज्यले स्पष्ट पार्नुपर्ने धारणा राखे ।


द्वन्द्व पीडित सिमा चौधरीले लामो समयसम्म न्याय नपाउँदा पीडितहरुमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको र उनीहरु मानसिक आघातमा रहेकोले मानसिक स्वास्थ्य सम्बन्धी सेवाको प्रवन्ध मिलाउनु पर्नेमा जोड दिइन् । द्वन्द्वपीडित परिवारलाई योग्यता र क्षमता अनुसार रोजगारी र उपयुक्त शिपको ब्यवस्था हुनु पर्ने भनाइ चौधरीले राखिन् ।


द्वन्द्व पीडित सिता शाहीले केन्द्रले पीडितका लागी केही नगरेकोमा अव स्थानिय सरकार आशाको केन्द्र रहेको उल्लेख गर्दै खानलाउन, पढ्न नपाएकालाई हेर्नका लागी स्थानिय सरकारले अभिभावको भूमिका निर्भाह गर्नु पर्नेमा जोड दिइन् ।

द्वन्द्व पीडित डम्मर शाहीले पीडितलाई न्याय दिन ढिला गर्न नहुने बताउँदै पीडितहरुले गणतन्त्र ल्याउन गरेको योगदान उचित कदर गरिनु पर्ने बताए ।


कार्यक्रममा एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले न्यायको पर्खाइमा बसेका पीडितका अवस्था दर्दनाक भएको बताउँदै सत्य, न्याय र परिपुरणको अधिकारका लागी राज्यले दायित्व लिनु पर्ने बताए ।

सरकारले संसदमा पेश गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधनको आवश्यकता रहेको जनाउँदै गौतमले बिधेयकका सम्बन्धमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो समेत रहेकाले विधेयकलाई संसदको संसदीय समिति प्रणाली अन्तर्गत पीडित लगायतका सरोकारवालासँग अर्थपूर्ण परामर्श गरी संक्रमणकालीन न्यायसँग सम्बन्धित सर्वोच्च अदालतका आदेश तथा अन्तर्राष्ट्रिय मापदण्डहरु समेतलाई ध्यानमा राखी त्रुटीपूर्ण प्रावधानहरु सच्याएर मात्र विधेयक पारित गर्नु पर्नेमा जोड दिएका थिए ।


‘विधेयकमा समेटिएका कतिपय व्यवस्थाहरु मानव अधिकारका मुल्य मान्यता र पीडितको न्यायका टृष्टिले गम्भीर त्रुटीहरु रहेकोले उक्त त्रुटिहरु सच्याउनु पर्ने अधिवक्ता गौतमले बताए ।


‘गम्भीर मानवअधिकार उल्लंघनको परिभाषा, क्षमादान, फौजदारी जवाफदेहीता लगायतका विषयमा विधेयकमा रहेका गम्भीर त्रुटीपूर्ण प्रावधानहरुलाई नसच्याई पारित गरिए संक्रमणकालीन न्याय प्रक्रिया थप जटिल बन्ने र यसको अन्तर्राष्ट्रियकरण हुन सक्ने भएकाले यसबारे सम्बद्ध पक्ष बेलैमा सोध्नु पर्ने गौतमले भनाइ थियो ।


‘सरकारद्धारा संसदमा पेश गरिएको विधेयकमा गरिएको ‘मानवअधिकारको उल्लंघन’ र ‘मानवअधिकारको गम्भीर उल्लंघन’ भनि गरिएको बर्गीकरणले दण्डहीनतालाई प्रश्रय दिने र हिंसालाई प्रोत्साहन गर्दछ । हत्या, यौनजन्य हिंसा, यातना, अपहरण तथा शरीर बन्धक, अंगभंग एवं अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुन विपरित गरिएका जुनसुकै कार्य लगायतका युद्ध अपराध तथा मानवता विरुद्धका अपराध समेत क्षमायोग्य हुने गरी राखिएका प्रावधानहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन र नेपालको सर्वोच्च अदालतले स्थापित गरेका नजीर तथा सिद्धान्त विपरित रहेको’ पीडित तथा अधिकारकर्मीहरुको भनाई छ ।


कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका नेपालगन्ज कार्यालयका अधिकृत दयाराम पाठकले ढिला गरि न्याय पाउनु न्याय नपाउनु सरह भएकाले बिस्तृत शान्ति सम्झौता र पीडितको अधिकार बमोजिम पीडितहरुलाई न्यायको प्रत्याभुति गराउनु पर्नेमा जोड दिए । द्वन्द्वकालिन घटनाका सम्बन्धमा आयोगले अनुसन्धान गरेर कारवाहीका लागी नेपाल सरकारलाई सिफारिस गरेको भए पनि कार्यान्वयनमा समस्या रहेको उल्लेख गर्दै अधिकृत पाठकले स्थानिय सरकारले आफ्नो पालिकामा रहेका पीडितको बिवरण संकलन गरि उनीहरु लक्षित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका थिए ।

इन्सेकका लुम्बिनी प्रदेश संयोजक भोला महतले बिस्तृत शान्ति सम्झौता भएको १६ बर्ष ब्यतित भैसक्दा समेत पीडितहरुले न्यायको अनुभूति गर्न नसकेको बताए । मानव अधिकार उल्लघंनका घटना कुनै कुनै रुपमा अभिलेखित भएको पीडितहरुले न्यायको लडाईमा आफुहरुको साथ रहेको बताएका थिए ।

ठुलो सख्यामा द्वन्द्वपीडितहरु सहभागी कार्यक्रममा सहभागी अधिकारकर्मीले आफ्ना धारणा राख्दै न्यायको सुनिश्चिततामा भइरहेको ढिलाईको आलोचना गर्दै पीडितले स्थानीय सरकारसँग सम्मान, पहिचान र सहयोगको अपेक्षा गरेका थिए भने पालिका अध्यक्ष, उपाध्यक्षले पीडित लक्षित कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएका थिए ।

न्यायिक प्रक्रियामा पालिकाको सहयोग
राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले सशस्त्र द्वन्द्वपीडितलाई न्याय प्राप्तीका लागी अदालतसम्म जान पालिकाले सहयोग गर्ने जनाएका छन् ।


शुुक्रवार आयोजित ‘सत्यको अधिकारका लागी अन्तर्राष्ट्रिय दिवस सम्बन्धी कार्यक्रम’ मा सहभागी सशस्त्र द्वन्द्वपीडितहरुसँग निकैबेर उनीहरुका पीडा सुनेर आफ््ना धारणा राखेका पालिका अध्यक्ष पौडेलले जो जहाँबाट पीडित भए पनि उनीहरुले न्याय पाउनु पर्नेमा जोड दिदै गम्भीर मानव अधिकार उल्लघनमा संलग्नलाई आममाफी दिन नहुने बताए । ‘न्यायिक प्रक्रियामा पालिकाले सक्दो सबैखालको सहयोग गर्छ,’ पौडेलले भने ।


द्वन्द्व पीडितको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका अध्यक्ष पौडेलले त्यसका लागी पालिका स्तरिय द्वन्द्व पीडितको संजाल गठन गरिएको जानकारी दिए ।


पालिकाको निर्णयबाट कोही पनि असन्तुष्टि हुने वातावरण सृजना हुन नहुनेमा जोड दिंदै पीडितको स्वाभिमान र सम्मान गर्ने खालका कार्यक्रम ल्याइने प्रतिबद्धता जनाए ।


शिक्षा दिक्षा, सामाजिक सुरक्षासंगै सम्मानित जीवनका लागी द्वन्द्वपीडित संजालसंग मिलेर काम गर्न राप्तीसोनारी गाउँपालिका तयार रहेको अध्यक्ष पौडेलले स्पष्ट पारे ।


उपाध्यक्ष मनिषा सिंह थारुले राप्ती सोनारी गाउँपालिकाले पीडितहरुको सवाल सम्बोधनका लागी एक संजाल गठन गरेको जानकारी दिइन् । पालिकामै संजालको बैठक बस्ने गरेको भन्दै उपाध्यक्ष थारुले पीडितका सवाल सम्बोधनका लागी आगामी बर्ष देखि बजेट छुट्याइने प्रतिबद्धता जनाइन् ।

गाभरमा साइकल दौड: प्रतिष्पर्धासँगै साहसिक रोमान्स

बाँकेको पर्यटकीय क्षेत्र गाभरमा भोलि शनिवार प्रदेश स्तरिय साइकल दौड प्रतियोगिता गरिने भएको छ ।

बाँके जिल्ला साइक्लिङ संघले पहिलो पटक यसरी प्रदेश स्तरिय साइकल दौड प्रतियोगिता आगोजना गर्न लागेको हो ।

विहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष गगन थापाले साइकल खेलको प्रतियोगितात्मक आवश्यकता तथा महत्वका बारेमा जानकारी दिए ।

अध्यक्ष थापाले पर्यटकीय क्षेत्रको प्रसार प्रचारसँगै साइकल खेल प्रति रुचि बढाउन प्रतियोगिताको आयोजना गरिएको बताए । लुम्बिनी प्रदेश स्तरिय एमटीभी च्यालेन्ज २०२३ नाममा हुने आयोजना रोमाञ्चक हुने आयोजकको भनाइ छ ।

शनिबार विहान ७ बजे हुने खेलमा १८ जना खेलाडीले सहभागिता जनाउने लुम्बिनी प्रदेश स्तरिय एमटीभी च्यालेन्ज २०२३ का संयोजक कविराम बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा बाँके सहित दाङ र रुपन्देहीबाट खेलाडीहरुले सहभागिता जनाउने भएका हुन् ।

संयोजक बुढाथोकीका अनुसार, ७ जना महिला खेलाडी सहित १८ जनाले भाग लिने तय एमटीभी च्यालेन्ज चार किलोमिटरको दुरीमा रहेको ट्रयाकमा हुनेछ ।

साइकल दौड प्रतियोगिता संचालन गरिने ट्रेलको मर्मत कार्य पनि भैसकेको आयोजक बाँके जिल्ला साइक्लिङ संघका अध्यक्ष थापाले जानकारी दिएका छन् ।

गाभर सामुदायिक होम स्टेका अध्यक्ष कृष्णलाल चौधरीले साइकल ट्रेल जंगलभित्र रहेकाले एक किसिमको च्यालेन्ज महसुस हुने बताए । खेलाडीलाई समस्या हुन नदिन प्रतियोगितामा समन्वय गरिरहेको पनि चौधरीको भनाइ छ ।

नेपालमा अहिले साइक्लिङका ४ विधामा खेलहरु खेलाइने भएपनि संघले आयोजना गरेको प्रदेश स्तरिय खेलमा एक्ससिओ फर्मेटमा पहिलो पटक खेलाउन थालिएको संघले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

प्रतियोगितामा भाग लिन आउने खेलाडीहरु एक दिन अघि नै खेल हुने स्थानमा पुगिसक्ने र ट्रयाकमा आफ्नो साइकल परिक्षण गर्ने गरि तयारी गरिएको आयोजकले जनाएको छ । त्यसका लागि पर्यटकीय क्षेत्र गाभरले आयोजनालाई आतिथ्यता गर्दैछ ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद्का सदस्य नरेन्द्र थापा, केन्द्रीय साइकल संघका कमिसार शैलेन्द्र डंगोलले आफ््ना धारणासँगै सम्बन्धित विषयमा कुरा राखेका थिए । प्रतियोगिताको प्राविधिक नेतृत्व गरिरहेका कमिसार डंगोलले गाभरको ट्रेललाई खुलेर प्रशंसा गरे । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिातका क्रममा बनाइएको उक्त ट्रेल निकै रोमाञ्चक रहेकाले खेलाडीहरुले प्रतिष्पर्धासँगै साहसिक रोमान्स अनुभूत गर्ने बताए ।

सत्यको अधिकार दिवस मनाइयो

२४ मार्च अर्थात आज अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवस । मानव अधिकार उल्लघंनका पीडितहरुले घटनाका बारेमा सत्य तथ्य थाहा पाउने र न्याय पाउनमा वकालत गर्ने दिवस हो ।


दिवसका अवसरमा शुक्रवार मानव अधिकारवादी सस्था एडभोकेसी फोरमले राप्ती सोनारी ाउँपालिकासंगको सहकार्यमा अगैयामा जनप्रतिनिधि, नागरिक समाज र पीडितसंग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।


त्यस अवसरमा फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले न्यायको पर्खाइमा बसेका पीडितका अवस्थाबारे अवधारणा प्रस्तुत गरे । कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक र सत्य थाहा पाउने अधिकारमा राज्यको दायित्व बिषयमा छलफल गरिएको हो ।


हरेक वर्ष मार्च २४ लाई मानवअधिकार उल्लङ्घनका पीडितहरूको मर्यादाको लागि सत्यको अधिकारको लागि अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइन्छ । सन् १९८० मार्च २४ मा मारिएका एल साल्भाडोरका मानवअधिकार उल्लङ्घनका विरुद्धमा आवाज उठाउने पादरी ओस्कर अर्नुल्फो रोमेरोको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न संयुक्त राष्ट्र संघले २१ डिसेम्बर २०१० मा यो दिवस मनाउने घोषणा गरे अनुसार यो दिवस मनाउन लागिएको हो ।


अन्तर्राष्ट्रिय सत्य दिवस गम्भीर र व्यवस्थित मानवअधिकार उल्लङ्घनका पीडितहरूको सम्झनामा र सत्य र न्यायको अधिकारको महत्त्वलाई बढावा दिनको लागि मनाइने गरिन्छ । यसका साथै जीवनको रक्षा, मानव मर्यादाको प्रवर्द्धन र सबै प्रकारको हिंसाको विरोध गर्ने सिद्धान्तहरूको रक्षा गर्दै मानवअधिकारको प्रवर्द्धन र संरक्षणको संघर्षमा आफ्नो जीवन अर्पण गर्ने र आफ्नो जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय सत्य दिवस मनाइन्छ ।


नेपालमा १० वर्ष लामो सशस्त्र द्वन्द्वपछि वृहत शान्ति सम्झौता भएको १६ वर्ष पुगेको छ । वृहत शान्ति सम्झौताको दफा ५.२.५ अन्तर्गत मानवअधिकार उल्लङ्घन र मानवता विरुद्धको अपराधका घटनाको सत्यतथ्य छानबिन गर्न र सामाजिक मेलमिलापको अनुकूल वातावरण बनाउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरिएको थियो जसको दायित्व मानवअधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूको समन्वयमा पीडित र तिनका परिवार र समग्र समुदायमा विश्वास निर्माणका उपायहरू विकास गर्नु रहेकोमा त्यसो हुन सकेको छैन ।


सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न हालै संंसदमा पेश भएको विद्येयकलाई पीडितहरूसँग वृहत र अर्थपूर्ण परामर्श गरी परामर्शहरूमा उठेका पीडितहरूका सिफारिसहरू समावेश गर्दै अन्तराष्ट्रिय मानवअधिकारका मान्यता र सिद्धान्तसमेतलाई मध्यनजर गरी संशोधन गर्नु पर्ने आवाज उठिरहेको छ ।


कार्यक्रममा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, इन्सेकका प्रदेश संयोजक भोला महत, पीडितका प्रतिनिधिहरुले आफ्ना धारणा राख्दै न्यायको सुनिश्चिततामा भइरहेको ढिलाईको आलोचना गरे । पीडितले स्थानीय सरकारसँग सम्मान, पहिचान र सहयोगको अपेक्षा गरेका थिए ।

काष्ठ व्यवसायी आन्दोलित: लिलामी प्रक्रियाबाट अलग

सरकारले अघि सारेको नयाँ विधिबाट नेपाली काष्ठको मुल्य बढ्ने जोखिम औल्याउँदै बाँके जिल्लाका काष्ठ व्यवसायीहरु आन्दोलित भएका छन् ।

उनीहरुको छाता संगठन, नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बाँकेले सरकारको काष्ठ लिलामी प्रक्रियाबाट अलग हुँदै पुरानै विधिबाट काष्ठ मापन गर्न दबाब सिर्जना गरेको हो ।


‘यो विदेशी प्रविधिलाई प्रोत्साहनका लागि ल्याइएको विधि हो, यसले नेपाली काष्ठलाई निरुत्साहित गर्छ,’ नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बाँकेका अध्यक्ष टेक बहादुर पुनले बाँकेबाट आन्दोलन शुरु गरिएको जानकारी दिंदै भने, ‘अब यसले देशव्यापी रुप लिन्छ ।’


‘क्वाटर गर्थ’ विधिद्वारा गोलियाको मात्रा निकालिंदै आएकोमा सरकारले नयाँ नियमावली तयार गरि ‘हुबर’ विधिबाट गोलिया काठको मापन गर्ने प्रावधान ल्याएपछि व्यवासायी आन्दोलित भएका हुन् ।


‘यसले पहिलेको भन्दा बढी काठमा परिमाण देखाउँछ, अध्यक्ष पुनले आन्दोलित हुनुपर्ने कारणबारे भने ‘यसो हुँदा अब बजारमा नेपाली काठको परिणाम २७/२८ प्रतिशतसम्म बढ्ने र सोही अनुसार मूल्यवृद्धि हुनसक्छ ।’


नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बाँकेले साबिककै क्वाटर गर्थ फर्मुला बिधिबाट काठ नापजाँचको व्यवस्था नभएसम्मका लागि गोलिया काठको लिलामी प्रक्रियाबाट अलग हुने घोषणा गरेको छ । बुधवार बसेको संघको बैठकले उक्त निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिए ।


‘वन नियमावलीमा भएको त्रुटीका कारण अझै काठ तथा फर्निचर आयात बढ्न सक्छ,’ अध्यक्ष पुनले त्यसविरुद्ध बुधबार नेपाल वन पैदावर उद्योग व्यवसायी संघ बाँकेले डिभिजन वन कार्यालय बाँकेमा ज्ञापन पत्र बुझाएको जानकारी दिंदै भने, ‘वन नियमावली २०७९ मा समावेश गरिएको काठ नापजाँच गर्ने नयाँ फर्मुला (हुबर गर्थ) खारेज गरेर साबिककै फर्मुला (क्वाटर गर्थ) लागु गरिनुपर्छ ।’


संघका अध्यक्ष पुनको नेतृत्वमा गएको टोलीले डिभिजन वन कार्यालयका निमित्त डिभिजनल वन अधिकृत गणेश खड्कालाई ज्ञापन पत्र बुझाएको हो ।


टोलीमा नेपाल बन पैदावर उद्योग व्यवसायी संघ बाँकेका बरिष्ठ उपाध्यक्ष दुर्गबहादुर (राजु) राना, महासचिव बिक्रम सिंह सिजापती लगायत कार्यसमितिका सदस्यहरु र काठ व्यवसायी सहभागी रहेको संघले जनाएको छ ।


१८ अर्ब रुपैयाँको काठजन्य वस्तु आयात भएको बेला सरकारले त्यसको निरुत्साहन गरोस् भन्ने व्यवसायीहरुको माग छ । तर, नेपालको कुल भूभागमध्ये ४५ प्रतिशत क्षेत्रफल वनले ढाकेकोे तथ्यांकमा काठजन्य वस्तु निर्यातबाटै अर्बौं रुपैयाँ आर्जन गर्न सक्नेमा उल्टै आयातमा खर्च भइरहेको छ ।


भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा १७ अर्ब ८२ करोडका काठ र फर्निचर आयात भएको छ । तर, यो अवधिमा निर्यात भने ७१ करोड ८४ लाख रुपैयाँको मात्र छ । योभन्दा अघिल्ला आवको पनि अवस्था यस्तै हो । आर्थिक वर्ष २०७७/०८८ मा १५ अर्ब १८ करोडका काठ तथा फर्निचर आयात भएकामा निर्यात १६ करोड ५६ लाखको मात्र भएको थियो ।


विभागका अनुसार २०७०/०७१ यताको ९ आर्थिक वर्षमा काठ र फर्निचर आयातमा मुलुकबाट ६५ अर्ब ८४ करोड बाहिरिएको छ । यही अवधिमा १ अर्ब ९४ करोड ७५ लाखका मात्र काठ तथा फर्निचर निर्यात भएको देखिन्छ ।


नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अनुसार, मुलुकमा वार्षिक १० करोड घनफिट काठ आवश्यक पर्छ । पछिल्ला नौ वर्षमा सबैभन्दा धेरै काठ उत्पादन भएको वर्ष २०७८/०७९ हो । यो वर्ष पनि स्वदेशी मागको २१ प्रतिशतमात्र काठ आपूर्ति भएको छ ।

बाँकेका दीपकको फुटबलमा ‘अन्तर्राष्ट्रिय डेब्यू’

नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा विजयी सुरुवात गरिरहँदा बाँके खजुराका दीपकराज सिंह ठकुरीले नेपाली सिनियर राष्ट्रिय फुटबल टोलीबाट बुधवार अन्तर्राष्ट्रिय डेब्यू गरेका छन् ।


सातादोबाटो युथ क्लबाट शीर्ष डिभिजन लिग खेल्ने दीपकले प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओसविरुद्धको खेलमा ८२ औं मिनेटमा मैदान प्रवेश गर्दै अन्तर्राष्ट्रिय डेब्यू गरेका हुन् ।


बाँके खजुरा – २ रिमझिम चोक निवासी ठकुरी केपी ओली कप फुटबलमा उत्कृष्ट प्रदर्शन गरेर सम्भावनाका स्ट्राइकर देखा परेका थिए ।


बुधवार नेपालका तर्फबाट चार खेलाडीले लाओसविरुद्ध डेब्यू गरेका छन् । जसमा सनिस श्रेष्ठले सुरुवाती लाइनअपमा पर्दै राष्ट्रिय टिममा डेब्यु गरे ।


त्यस्तै, मणि लामा र दिपक सिंह ठकुरीले दोस्रो हाफमा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । मणिले ७३ औँ मिनेटमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गर्दा उनले नवीन लामालाई सब्स्टिच्युट गरेका थिए ।


त्यस्तै, दिपकराज सिंह ठकुरीले भने ८२ औँ मिनेटमा गोल स्कोर नवयुग श्रेष्ठलाई सब्सटिच्युट गर्दे मैदान प्रवेश गरेका थिए । त्यस्तै, सुमित श्रेष्ठले इन्जुरी समयमा डेब्यु गरे। उनले आयुष घलानको स्थानमा टिममा स्थान बनाउँदै डेब्यु गरे ।


नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलमा विजयी सुरुवात गरेको छ । नेपालले लाओसलाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा अर्को एक गोल थपेको थियो ।


नेपाललाई अग्रता दिलाउने क्रममा अनन्त तामाङले पहिलो गोल गरेका थिए । उनले खेलको ३० औँ मिनेटमा एरिक विष्टको कर्नरमा आकर्षक हेड गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका हुन् । अनन्तको यो करिअरको तेस्रो अन्तराष्ट्रिय गोल हो ।
नेपालले दोस्रो हाफमा अग्रता दोब्बर बनायो ।

नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाउनले क्रममा ५६ औँ मिनेटमा ३५ यार्डबाट गरेको प्रहार लाओसका गोरक्षक सौभान्शोकले राम्रो जज गर्न नसक्दा गोलमा परिणत भएको थियो। नवयुगको यो करिअरको आठौँ अन्तर्राष्ट्रिय गोल हो । पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका अन्य केही राम्रा अवसर चुकाउँदा लाओस तथा नेपालले थप गोलका अवसर गुमाएका थिए ।

यसअघि नेपालले लाओससँग २०१६ मा नेपालले दुई पटक प्रतिस्पर्धा गरेको थियो। पहिलो पटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २०१६ मे १६ मा भिडेको नेपाल दोस्रो पटक १२ नोभेम्बर मा एएफसी सोलिडारिटी कपमा लाओससँग भिडेको थियो ।
दुई टिमबीचको यो तेस्रो भेट हो ।

पहिलो खेलमा १–१ गोलको बराबरी भए पनि दोस्रो पटक एएफसी सोलिडारिटी कपमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

उक्त प्रतियोगिता नेपालले जितेको थियो। मकाउलाई हराउँदै नेपालले उपाधि जितेको थियो । यसअघि नेपालले गत डिसेम्बरमा पाकिस्तानविरुद्ध दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेलेको थियो । जुन खेलमा नेपालले १–० को जित निकालेको थियो ।

नेपालगन्ज आइपुग्यो पशुपति–पञ्चकोशी यात्रा

‘पञ्चकोशी भारतीय पर्यटकको गन्तव्य’

धार्मिक तथा ऐतिहासिक महत्व बोकेको दैलेखको पञ्चकोशी तिर्थ स्थललाई भारतीय हिन्दु धर्मालम्बीहरुको गन्तव्य बनाउन जोड दिइएको छ ।


पञ्चकोशी तिर्थ स्थललाई मुलुकको संघीय राजधानी सँग जोड्ने अभियानका लागि प्रसिद्ध शक्तिपीठ पशुपति नाथ मन्दिरदेखि थालिएको पञ्चकोशीसम्मको यात्रा मंगलवार नेपालगन्ज आइपुगेको छ । त्यसक्रममा प्रसिद्ध शक्तिपीठ नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आइपुगेका अभिन्यता यात्रीहरुले पञ्चकोशी तिर्थ स्थललाई आन्तरिकसँगै वागेश्वरीसम्म आइपुग्ने भारतीय श्रद्धालुहरुको गन्तव्य बनाइ दिन आग्रह गरे


मनघरी फाउण्डेशनको आयोजना र दैलेखी सेवा समाज काठमाडौ, दुल्लु नगरपालिका, भैरवी गाँउपालिका, नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशको सहकार्य पशुपति देखि पञ्चकोशी यात्रा सुरु गरिएको हो ।


‘वागेश्वरीसम्म आइपुगेका श्रद्धालुलाई पञ्चकोशी तिर्थ स्थल पु¥याउन तपाईहरुको भूमिका हुन्छ,’ कर्णाली प्रदेश सभाका सांसद घनश्याम भणडरीले वागेश्वरीका मूल महन्त चन्द्रनाथ योगीसँग भने । कर्णाली प्रदेश धार्मिक, ऐतिहासिक, संस्कृति तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण क्षेत्र भएको भन्दै सांसद भण्डारीले प्रचूर पर्यटकीय सम्भावना रहेको पञ्चकोशी तिर्थ स्थल क्षेत्रको उचित प्रचार–प्रसारका लागि यात्रा गरिएको बताए ।


पर्यटकीय हिसाबले महत्वपूर्ण रहेका स्थानलाई नेपाल तथा विश्व माझ थप चिनाउनु आवश्यक ठानेर संघीय राजधानी काठमाडौसंग जोड्ने अभियान चलाइएको यात्राका परिकल्पनाकार वरिष्ठ फोटो पत्रकार भरतबन्धु थापाले भने ।


पर्यटकीय क्षेत्रको पहिचान स्थापित गर्न विगतमा पनि फाउन्डेसनले संघीय राजधानी काठमाडौंदेखि दाङ, जाजरकोट, रुकुम, सल्यान हुँदै डोल्पाको फोक्सुण्डोसम्म यात्रा आयोजना गरेको थियो । ‘पश्चिम नेपालको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने छ,’ पत्रकार थापा भन्छन् ।


विश्वसम्पदा सूचिकृत स्थल पशुपतिदेखि धार्मिक तथा ऐतिहासिक स्थान पञ्चकोशीसम्म यात्रा गर्दा बागमती प्रदेशको पशुपति, गण्डकी प्रदेशको देवाघाट, लुम्बिनी प्रदेशको लुम्बिनी र बागेश्वरी, कर्णाली प्रदेशको देउती बज्यै, काक्रेविहार, पञ्चकोशी समेटिनेछ ।


यात्रा पश्चात संघीय राजधानी काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यात्राका दौरान कैद गरिएका तस्वीर र भिडियो प्रदर्शनी गरिने आयोजक मनघरी फाउण्डेशन जनाएको छ । यात्रा आज बुधवार सुर्खेत पुगेको छ ।

प्रेस सेन्टरले गर्यो बाँकेको प्रशिक्षण

प्रेस सेन्टर नेपाल बाँके शाखाको प्रशिक्षण तथा बनभोज कार्यक्रम आयोजना गरेको जनाएको छ । अध्यक्ष राजेश आचार्यका अनुसार, एक महिने संगठन सुदृढिकरण अभियान अन्तर्गत मंगलवार कोहलपुरस्थित कोहलपुर पार्कमा प्रशिक्षण कार्यक्रम गरेको हो ।

गत माघमा प्रेस सेन्टर बाँकेको नयाँ नेतृत्व चयन भएलगत्तै १ महिने संगठन सुदृढिकरण तथा बिस्तार अभियान संचालन गरीएको थियो । अभियान अन्तर्गत बाँकेका ६ वटा पालिकामा बैठक, भेला तथा प्रशिक्षणसँगै पुनर्गठनको अभियान संचालन गरीएको प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यले जानकारी दिए । मंगलवार जिल्लास्तरीय प्रशिक्षण तथा बनभोज कार्यक्रम आयोजना गरेर पहिलो चरणको अभियान सम्पन्न गरीएको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी ९नमुना० ले प्रेस सेन्टरलाई जिल्लाकै अग्रणी संस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएकी थिईन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी मन्त्री नमुनाले संचारकर्मीहरुको क्षमता विकास तथा ब्यवसायीक दक्षता अभिबृद्धिका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाईन ।

कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य नरेन्द्र न्यौपानेले जनयुद्धको रापबाट उदाएको शक्तिका रुपमा प्रेस सेन्टर नेपालले बाँके जिल्लामा खेलेको भुमिका उल्लेखनिय भएको उल्लेख गर्दै आगामी दिनमा थप शसक्त ढंगले अगाडी बढ्ने विश्वास ब्यक्त गरे । जनपक्षिय पत्रकारीताको माध्यमबाट आम नागरीकलाई थप सुसुचित गर्दै समाजमा हुने हरेक किसीमका बिसंगतीका बिरुद्धमा कलम चलाउन समेत उनले आग्रह गरे ।

संगठनलाई पालिका स्तरसम्म बिस्तार गर्ने अभियान अन्तर्गत बाँकेका ६ वटा पालिकामा कमिटि बिस्तार हुनु आफैमा खुसीको कुरा भएको भन्दै बाँकी पालिकामा समेत संगठन स्थापित गर्न सबै लाग्नुपर्ने प्रेस सेन्टर नेपाल केन्द्रिय निति तथा परामर्श समितिका सदस्य शुसिल लामिछानेले बताए ।


कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नरेन्द्र पाण्डे ९जेम्स०, प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्ले, प्रदेश सचिव गजेन्द्र गुरुङ लगाएतले प्रशिक्षणमुलक मन्तब्य राखेका थिए ।