‘समृद्ध नेपाल निर्माणमा युवा आन्दोलनको कार्यदिशा’ कस्तो हुने ? नेकपा एमाले निकट राष्ट्रिय युवा संघले खुल्ला निबन्ध आव्हान गरेको छ ।
चैतको अन्तिम साता नेपालगन्जमा हुने नवौँ राष्ट्रिय सम्मेलनको सन्दर्भ पारेर युवा संघले खुल्ला रुपमै धारणा लिन खोजेको हो ।
उत्कृष्ट धारणालाई रु दस हजार राशीको पुरस्कारसहित ‘समृद्ध नेपाल निर्माणमा युवा आन्दोलनको कार्यदिशा’ विषयक खुल्ला निबन्ध लेखन प्रतियोगिता आयोजना गरिएको एमाले बाँकेका इन्चार्ज, प्रतिनिधिसभा सदस्य सुर्य ढकालले जानकारी दिए ।
न्यूनतम एक हजार शब्ददेखि तीन हजार शब्दसम्म हुनुपर्ने धारणासहितको निबन्ध रचना गरी प्रतियोगितामा सहभागिता जनाइएमा उत्कृष्टताका आधारमा प्रथम पुरस्कार दस हजनर,द्वितीय पुरस्कार सात हजार, तृतीय पुरस्कार पाँच हजार र सान्त्वना पुरस्कार पाँच जनालाई जनही दुई हजारका दरले प्रदान गरिने युवा संघले जनाएको छ ।
‘समृद्ध नेपाल निर्माणमा युवा आन्दोलनको कार्यदिशाका लागि बृहत्तर धारणा लिन र राजनीति बाहिरका युवाहरुलाई पनियी विषयसँग जोड्न सिर्जनात्मक प्रयोग गर्न खोजिएको हो,’ युवा नेता, सांसद ढकालले दैनिक नेपालगन्जसँग भने ।
आगामी २७ देखि २९ चैतसम्म बाँकेमा राष्ट्रिय युवा संघले नवौं महाधिवेशन गर्ने निर्णय गर्दै विभिन्न समिति, उप समिति गठन गरि तयारी गरिरहेको छ ।
नेपाली कांग्रेसको किसान महासंघमा बाँकेकी ऋचा लुईटेल मनोनित भएकी छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा लुईटेलसहित १७ जना सदस्य मनोनित गरेका हुन् ।
नेतृत्वमैं बसेर काम गर्ने अवसर आएको छ, यो अवसरलाई खेर जान दिन्न, किसानका पक्षमा राजनीतिक प्रतिफल उपलब्धताका लागि लाग्छु । ऋचा लुईटेल केन्द्रीय सदस्य नेपाल किसान महासंघ
‘नेतृत्वमैं बसेर काम गर्ने अवसर आएको छ,’ महासंघको केन्द्रीय सदस्यमा मनोनित भएपछि लुईटेलले भनिन्, ‘यो अवसरलाई खेर जान दिन्न, किसानका पक्षमा राजनीतिक प्रतिफल उपलब्धताका लागि लाग्छु ।’
गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा सुर्खेतका प्रेमबहादुर घले, काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल, काठमाडौंका ईश्वर गिरी, कैलालीका डा. जितु उपाध्याय लगायत रहेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वसन्त ऋतुमा प्रकृतीले नौलो काँचुली बदल्छ । आजभोली सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा लालीगुरास फुलले वनै भरी राताम्य भएका हुन्छन । काफल र ऐसेलुले बनै भरी पाकेका हुन्छ । यो दृष्यले घुमफिरमा जाने पर्यटकहरूलाई लोभ्याइ दिन्छ । यात्रामा आफ्नै हातले काफल र ऐसेलु टिपेर खादा त्यसको मज्जा छुट्टै हुन्छ ।
घुमफिरको लागि सुदूरपश्चिममा सुन्दर र मनै लोभ्याउने ठाउँहरू धेरै छन । तर प्रचार प्रसार नहुदा सुदूरपश्चिम प्रदेशका धेरै पर्यटकीय स्थलहरू ओझेलमा परिरहेका छन । सुदूरपश्चिममा तीर्थाटनका पर्यटकियस्थलहरू मात्र होइन घुमफिर गर्दा पर्यटकहरूले हिमाल देखि पहाडी भूगोल, सुन्दर खेतीयोग्य फाँट, उपत्यका, भित्री मधेश र तराईका मैदानी भागहरू अवलोकन गर्न सक्दछन् ।
पर्यटकहरूले सुदूरपश्चिममा घुमफिर गर्दा देउडा सस्कृतिको डेउडा गीत र नाच पनि हेर्न पाउछन् । देउडा गीत सुदूरपश्चिममा गाईने प्रचलित लोक गीत हो । डेउडा सस्कृतिको बारेमा थाहा नभएका पर्यटकहरू रुचि पूर्वक डेउडाको बारेमा अध्ययन गर्न पाउछन् ।
डेउडा भाषा, डेउडा गीत, लोक डेउडा खासगरी बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डोटी र डडेलधुरामा देउडा सस्कृति देख्न पाइन्छ । डेउडा गीत एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई डेउडा खेल अथवा न्याउले खेल पनि भनिन्छ । विशेष गरी समूहमा प्रस्तुत हुने डेउडाले पछिल्लो समय कैलाली र कञ्चनपुरमा पनि देउडा सस्कृति पुगेको छ ।
डेउडा खेल खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदीमा प्रस्तुत गरिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई डेउडा नामकरण गरिएको मानिन्छ । डेउडा गीत र नृत्य हेर्नको लागि खास गरी दशै तिहार र गौरा पर्वमा पुग्न सके राम्रो हुन्छ ।
सुदूरपश्चिम नेपालको भाषा, कला र संस्कृति मात्र होइन, पर्यटकीय गन्तव्यको खोजीमा यात्रा गर्ने पर्यटकहरूका लागि कतिपय गन्तब्यहरू भूस्वर्ग मानिन्छ । डडेलधुरामा ऐतिहासिक अमरगढी किल्ला,उग्रतारा मन्दिर, घटाल बाबा र ऐतिहासिक अजमेरुकोट जस्ता सम्पदामा पर्यटकहरू पुग्ने गर्दछन् ।
डोटीको शैलेश्वरी मन्दिर, अछामको रामारोशन, बैजनाथ, बाजुराको बडिमालिका, नाटयश्वरी, बुढानन्दा, बझाङको सुर्मादेवी र सैपाल हिमाल, बैतडीको निंगलाशैनी, त्रिपुरासुन्दरी, मेलौली भगवती, पाताल भुवनेश्वर, र दार्चुलाको अपिनाम्पा संरक्षण क्षेत्र र मल्लिकार्जुन आदी स्थानमा पर्यटकहरू तीर्थाटन, अवलोकन र घुमफिरमा जान रुचाउछन् । खप्तड, रामारोशन, बझाङ र दार्चुलाको भूगोलको अपी र सैपाल हिमाल सुदूरपश्चिम पुगेपछि दृष्यावलोकन गर्न पर्ने स्थलहरू ह्ुन ।
अछाम, बाजुरा, बझाङ र डोटी चार जिल्लाको संगम स्थलमा रहेको खप्तड क्षेत्र सुदूरपश्चिम पुगेपछि धेरै पर्यटकहरू पुग्ने इच्छा गर्दछन् । खप्तड धार्मिक तथा पुरातात्विक दृष्ट्रिकोणले समेत निकै महत्वपूर्ण मानिन्छ । खप्तडमा २५ मैदान र वरिपरि ५३ वटा थुम्काहरू छन् । खप्तड पुगेपछि जताततै रंगीचंगी फूल र डाँफे, मयुरले पनि पर्यटकहरूलाई रोमाञ्चक बनाइ दिन्छन् । खप्तड पुग्न अछाम, बाजुरा, बझाङ र डोटी चारै जिल्लाबाट मार्गहरू छन् ।
सुदूरपश्चिम प्रदेश कर्णाली नदी र महाकाली नदीको बिचमा नौ वटा जिल्ला पर्दछ । सुदूरपश्चिममा दार्चुला, बझाङ र बाजुरा हिमाली जिल्लामा पर्दछ भने पहाडी जिल्लामा डडेलधुरा, बैतडी, डोटी र अछाम पर्दछन ।
तराईमा कैलाली र कञ्चनपुर पर्दछ भने महाकाली पारी दोधरा चादनी नगरपालिका समेत सुदूरपश्चिममा पर्दछ । तर सबै जिल्लाहरूमा भाषा र सस्कृति भने एउटै रहेको छ । सुदूरपश्चिमको भाषा र सस्कृतिका बारेमा थाहा नभएका पर्यटकहरूलाई भने अनौठो पनि लाग्न सक्दछ । तर बुझने प्रयास भयो भने घुमफिरमा असजिलो हुदैन । सुदूरपश्चिम घुमफिरको लागि प्याकेज कार्यक्रम बनाउदा राम्रो हुन्छ । घुमफिरको लागि एक्लै भन्दा पनि समूहमा जादा राम्रो हुन्छ ।
प्याकेज बनाउदा सुदूरपश्चिमका सबै जिल्ला घुमफिर गर्ने कि ? तराई अथवा पहाडी र हिमाली कुन कुन जिल्लामा जाने ? अथवा सबै जिल्ला एकै पटक घुमफिर गर्ने हो भने समय र घुमफिरको लागि पैसाको जोहो पनि त्यसै किसिमले गर्नु पर्ने हुन्छ । सुदूरपश्चिमका सबै जिल्लामा अहिले सडक सञ्जाल जोडिएको छ ।
कतिपय ठाउमा ग्रामीण क्षेत्रमा समेत सडक मार्ग पुगेको छ । तर ग्रामीण क्षेत्रका प्राय सबै सडकहरू कच्ची छन । तर पनि हिउदको समयमा साना बलेरो र स्कारपियो जस्ता गाडीहरू चल्दछन् ।
सुदूरपश्चिम प्रवेश गर्ने आजभोली धेरै बाटोहरू छन् । पूर्व पश्चिम राजमार्गको कर्णाली चिसापानी, दैलेख र अछामको सिमानामा पर्ने राकम कर्णालीको पुल र कालिकोट को कर्णाली नदीको खुलालुघाट देखि बाजुराको कोल्टी हुदै पनि प्रवेश गर्न सकिन्छ ।
सुर्खेतको पश्चिम क्षेत्र सुदूरपश्चिम जोडने कर्णाली नदीमा दुई वटा पुल अर्थात चौकुनेको चिप्लेघाट र मोहन्यालको सोल्टा अर्थात कुइने जोडने दुई वटा पुल नयाँ वर्षसँगै सन्चालनमा आउँदैछन । अब सुदूरपश्चिम घुमफिर गर्नका लागि पर्यटकहरूले यो मार्ग समेत प्रयोग गर्न सक्ने छन् । तर पर्यटकहरू सुदूरपश्चिमका तराईका जिल्ला घुमफिर गरी पहाडी जिल्लामा जान भने कर्णाली चिसापानीबाट प्रवेश गर्दा सजिलो हुन्छ । कर्णाली चिसापानीको पुल तर्नासाथ सुरुहुन्छ कैलाली जिल्ला ।
कैलाली जिल्लामा धेरै ठाउँमा पर्यटकको लागि घुमफिर गर्ने स्थलहरू भएका छन । कैलालीमा पर्यटकहरूलाई लोभ्याउने टिकापुरको पार्क, घोडाघोडी ताल र कर्णाली चिसापानीको पुल पर्दछन ।
यी सबै ठाउ पर्यटकलाई आकर्षण गर्ने स्थल हुन । जुन कारणले गर्दा आजभोली कैलाली जिल्लामा स्वदेशि मात्र होइन विदेशि पर्यटकहरू पनि घुमफिरको लागि पुग्ने गर्दछन । कर्णाली पुल केहि बर्ष अगाडी सम्म सुदुरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने गर्दथियो ।
यो पुल आज भन्दा २६ बर्ष अगाडी निर्माण भएको हो । यो पुललाई तार पुल पनि भनिन्छ । पुलको बिचमा एउटा खम्बा र त्यसमा स्टीलका तारहरूले बाधेर ट्रसलाई अडयाईएको छ । कर्णाली नदी पुलको भाग सकिना साथ दुई भागमा बिभाजन भएर बग्दछ । स्थानीय बोलीचालीमा यसरी छुट्टीएर बनेको पानीको भागलाई पश्चिम तिरको पानीलाई कर्णाली र पूर्व तिरको पानीको भागलाई भेरी भन्ने गरिन्छ । चिसापानी व्यापारी केन्द्र पनि हो ।
चिसापानी पुगेपछि पर्यटकको रोजाइ माछा चाखेर टीकापुर जाने हुन्छ । माछाको स्वादका पारखीका लागि चिसापानीमा माछाका परिकार बनाउने धेरै होटलहरू छन । कर्णाली चिसापानीको पुलमा फोटा नखिच्ने पर्यटक बिरलै हुन्छन । कतिपय पर्यटक चिसापानी देखि कर्णाली नदिबाट ¥याफटिङ गर्दै टीकापुर जान रुचाउछन ।
राजमार्गको लम्कीबाट १८ कि.मि.दक्षिणमा रहेको टिकापुर पार्क आजभोली पर्यटकहरूको गन्तब्य बनेको छ । यहाँ ८० प्रकारका गुलाब फूल र विभिन्न प्रजातिका बिरुवाहरू अवलोकन गर्न सकिन्छ ।
घोडाघोडी ताल कैलालीको मध्यवर्ती क्षेत्रघोडी ताल विश्वरामसार सूचीमा सूचीकृत एउटा महत्वपूर्ण ताल हो । यो ताल दुई हजार पाँच सय ६३ हेक्टरमा हातको पञ्जा आकारमा फैलिएको छ । हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन । करिब २ सय ४५ प्रजातिका चराचुरुङ्गी, गोही, पानी हाँस, जंगली धान लगायतका लागि यो क्षेत्र अत्यन्त रमणीय र आकर्षक मानिन्छ ।
बिश्व रामसार सुचिमा सुचिकृत नेपालको ताल मध्य कैलाली जिल्लाको घोडाघोडि ताल धामिर्क र पर्यटकिय सुन्दर स्थल हो । कैलाली पुग्ने अथवा जिल्ला बाहिरका पर्यटकहरू पुर्व पश्चिम राजमार्ग भएर कैलाली पुग्न थाले भने घोडाघोडी नपुग्ने विरलै हुन्छन । घोडाघोडी तालको आकार ७ कोणमा फैलिएको छ । घोडाघाडी ताल कर्णाली चिसापानी पुल देखि ३७ किलोमिटर दुरीमा पर्दछ ।
कञ्चनपुर जिल्लामा पर्ने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिंगेका साथै अन्य जीव–जन्तुहरू पनि प्रशस्त देख्न पाइन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ, खरायो, हात्ती, गैँडालगायत विभिन्न प्रजातिका चरासमेत हेर्न पाइन्छ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटाभित्र आधा दर्जनभन्दा बढी तालहरू छन ।
दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । दोधारा चाँदनीको पुलमा बर्सेनि हजारौं पर्यटकहरू पुलको अवलोकन गर्न पुग्दछन । कञ्चनपुर जिल्लाको घुमफिर गर्दा बेतकोट र लिंगा पुग्न सके राम्रो हुन्छ । लिंगा पुग्न दैजीबाट करिब ५ किलोमिटर उत्तरतर्फ जानुपर्छ ।
शिवलिंगको स्वरूपजस्तै पहाडका डाँडा भएकाले यसलाई लिंगा भनिएको हो । मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ पर्यटकहरू लिगा जाने गर्दछन् । लिंगाबाट करिब ६ किलोमिटर उत्तरतर्फ बेतकोट तालको अवलोकन गर्न सकिन्छ ।
कैलाली र कञ्चनपुर घुमफिर पछि अत्तरियाबाट डडेलधुरा जादा बाटोमा गोदाबरी पर्दछ । गोदाबरी सुदूरपश्चिम प्रदेशको राजधानी तोकियको ठाउ पनि हो । अत्तरिया देखि ७ किलोमिटर उत्तरतर्फ रहेको गोदावरीमा बजरंगवली हनुमानको मूर्ति निर्माण भएको छ ।
गोदावरीमा भएको बजरंगवली हनुमानको मूर्ती हेर्न पर्यटकहरूको घुइँचो लाग्ने गर्दछ । गोदावरीको हनुमान मन्दिर ५२ फिट अग्लो मूर्ति नेपालकै सबैभन्दा अग्लो मूर्ति मानिन्छ । गोदावरीबाट २२ किलोमिटरमाथि चुरे नगरपालिकाको खाँनीडाडा प्राकृतिक रूपमा मनोरम स्थल हो ।
चिसो मौसममा गर्मी र गर्मी मौसममा पनि चिसो अनुभव गर्न पाइने खानीडाँडाबाट पहाडका रमणीय दृश्य देख्न सकिन्छ । चुरे श्रृखलाको सबैभन्दा उच्च भागमा रहेको खानीडाँडाबाट सैपाल हिमाललाई प्रत्यक्ष रूपमा हेर्न सकिन्छ ।
धनगढीबाट डडेलधुरा १ सय २८ किलोमिटर पर्छ । डडेलधुरा बजार पुग्नु भन्दा ३ किलोमिटर वर स्याउली बजार पर्दछ । स्याउलीबाट डोटी, अछाम र बाजुरा जाने र डडेलधुरा, बैतडी, बझाङ र दार्चुला जाने सडक छुट्टीन्छ । डडेलधरामा ऐतिहासिक महत्व बोकेका थुप्रै भौतिक संरचनाको अवलोकन गर्न सकिन्छ ।
तीर्थाटन पर्यटकहरूका लागि डडेलधुरामा उग्रताराको मन्दिर र घटाल बाबाको मन्दिर, भागेश्वर, जोगबुडा उपत्यकामा रहेको भगवान परशुरामको मन्दिर पुग्न सके राम्रो हुन्छ । उग्रतारा मन्दिर डडेलधुरा बजार देखि ४ किलोमिटर पश्चिमपट्टि डडेल्धुरा–बैतडी राजमार्गको पश्चिमतिरको अग्लो रमणीय फाँटमा रहेको छ । अमरगढी किल्ला डडेलधुराको ऐतिहासिक किल्ला हो ।
ऐतिहासिक दृष्टिले यो किल्ला महत्वपूर्ण मानिने भएकाले किल्लाको अवलोकन गर्नका लागि पर्यटकहरू पुग्ने गर्दछन् । डडेलधुरामा अजयमेरुकोट दरबारले पनि एउटा छुट्टै इतिहास बोकेको छ ।
डेलधुराबाट ८३ किलोमिटरको यात्रापछि बैतडी पुग्न सकिन्छ । बैतडी नपुग्दै बाटोमा पर्दछ खुर्पे बजार । खुर्पे बजार देखि छुट्टीन्छ बैतडी र बझाङ जाने सडक । खुर्पे देखि बझाङ १०५ किलो मिटर पर्दछ भने बैतडी ४५ किलो मिटर पर्दछ । तीर्थाटन पर्यटकहरूका लागि बैतडी पुग्नै पर्ने जिल्ला मानिन्छ ।
नेपालमा उपत्यका पछि सबैभन्दा धेरै मन्दिर भएको जिल्लाका रूपमा बैतडीलाई लिइन्छ । बैतडी अमर शहीद दशरथ चन्दको जन्मथलो पनि हो । बैतडीमा रहेका प्रसिद्ध भगवतीका मन्दिरहरूमा त्रिपुरा सुन्दरी, निङ्गलाशैनी, मेलौली र डिलाशैनी भगवती मन्दिर, जगन्नाथ देवता, भूमेश्वर महादेवको गुफा, पाटनको ठाकुर उदयदेव मन्दिर, कृष्ण मन्दिर, शिवनाथ मन्दिर हुन ।
बैतडी पुगेपछि धेरै पर्यटकहरू मेलौलीको मन्दिरमा पुग्ने गर्दछन् । मेलौली बैतडीको सदरमुकामबाट करिवन २४ किलो मिटरको दुरीमा पर्दछ । हिमाल अवलोकन गर्ने पर्यटकहरूका लागि दार्चुलाको अपि हिमाल आधार शिविरसम्म पदयात्रा रमाइलो हुन्छ । जहाँ अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा, बबईलगायतका हिउँचुली लहरै रहेका छन ।
चमेलिया नदी अपि र नम्पा चुलीको काखबाट बहन्छ । डडेलधुरा, बैतडी हुँदै दार्चुलाको बिटलेसम्म बसमा र त्यस पछि ७ दिन पदयात्रा पछि अपि बेस क्याम्प पुगिन्छ । दार्चुला र बैतडीको सीमा छुटयाएर बग्ने चौलानी नदीको किनारमा गोकुलेश्वर पर्दछ । गोकुलेश्वर दार्चुला जादा घुमफिर गर्ने रमणीय प्राकृतिक स्थल हो । दार्चुला जादा व्यास उपत्यका र नेपालकै चर्चित ठाउँ कालापानी पुग्न सके राम्रो हुन्छ ।
बझाङ सुन्दर र मनोरम पर्यटकीय स्थल भएको जिल्ला हो । बझाङमा धेरै पर्यटकीय स्थलहरूमा मठ मन्दिरहरू पर्दछन् । त्यो बाहेक हिमाल, ताल, झरना तथा तत्कालिन राजाले प्रयोग गरेका पुराना दरवार पनि बझाङ पुगेपछि घुमफिर गर्ने स्थलमा पर्दछन् । बझाङ जादा सुर्मा सरोवार ताल, खप्तड ताल, ऋषि कुण्ड पुग्न सके राम्रो हुन्छ । बझाङ पुग्ने पर्यटकहरूले बाजुराको घुमफिर गर्दा यो मार्ग धेरै छोटो पर्दछ ।
बाजुराको बडिमालिका सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल हो । अर्को तर्फ बुढीनन्दा र छेडेदह पनि पर्यटकहरू घुमफिर गर्ने ठाउँ हुन । भूस्वर्गको उपमा पाएको बडिमालिका बाजुराको मात्र नभएर नेपालकै उत्कृष्ट गन्तव्य हो । भगवान शिवले लामो समय बसोबास गरेको मानिने बडिमालिका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसाबले पनि महत्वपूर्ण छ ।
नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन । बडिमालिका समुद्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बाजुराको सदरमुकाम मार्तडी देखि बडिमालिका पुग्न दुईदिनको पैदल यात्रा गर्न पर्दछ ।
डडेलधुराको स्याउली बजार देखि उत्तरतर्फ यात्रा गरे पछि पुगिन्छ डोटीको सिलगढी । सुदूरपश्चिममा बैतडीको झुलाघाट देखि अछामको राकम कर्णाली सम्म सबै सडक मध्यपहाडी लोक मार्गमा पर्दछ ।
डोटीमा घुमफिर गर्नेस्थल धेरै छन् । तर पनि डोटी पुगेपछि जगदम्बा शैलेश्वरी, योगेश्वर, कालभैरवका मन्दिरहरू, ठूला केदार र डोटीको उत्तरतर्फ रहेका पाँचवटा गुफा, जसलाई अखङ्गाल गुफा पनि भनिन्छ पुग्न सके राम्रो हुन्छ । शैलेश्वरी मन्दिर सिलगढीमा पर्दछ । शैलेश्वरीको मन्दिर तीर्थाटन मात्र नभएर प्रकृतिको सुन्दरताको आनन्द लिन सकिन्छ । शैलेश्वरी मन्दिर परिशर देखि दिपायल लगायत डोटीका धेरै ग्रामीण क्षेत्र अवलोकन गर्न सकिन्छ ।
सिलगढीबाट पूर्व लागेपछि अछामको साफेबगर पुगिन्छ । साफे बगर देखि बाजुरा जाने सडक छुट्टीन्छ । साफे देखि बाजुराको मार्तडगढी ५७ किलो मिटर पर्दछ । अछाममा साफे बगरको वुढी गंगाको तटमा रहेको वैद्यनाथ मन्दिर र रामारोशन पुग्नै पर्दछ । रामारोशन मगलसेन बजार देखि ४० किलो मिटरको दुरीमा पर्दछ ।
तपाईलाई कान सम्बन्धी समस्या छ भने कहाँ पुग्नुहुन्छ ? पक्कै पनि नेपालगन्जको फुल्टेक्रामा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र नै भरपर्दो स्वास्थ्य संस्था हो कान उपचारका लागि । पश्चिम नेपालमा कानको मात्रै उपचार गर्ने अस्पतालका रूपमा रहेको कान अस्पताल अहिले विवादको दलदलमा फसिरहेको छ, अस्पतालमा रहेको विवाद र आरोपप्रत्यारोप छताछुल्ल हुँदै गएको छ ।
हाल बार्षिक ३० हजार बढीको कान जाँच गर्ने तथा एक हजारको कानको शल्यक्रिय गर्दै आएको अस्पतालले विगतका बर्षमा विभिन्न दुरदराजका गाउँसम्म पुगेर शिविर समेत सञ्चालन गर्दै आएको थियो । स्थापनाको सुरुमा नियमित सेवा बाहेक बार्षिक २ पटक शिविरबाट छानिएका कानका विरामीको शल्यक्रिया गर्दै आएको अस्पतालले अहिले नियमित रूपमा शल्यक्रिया समेत गरिरहेको छ ।
कान अस्पतालका रूपमा परिचित ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रले पहिले नेपालगन्ज आँखा अस्पताल परिसरबाट सेवा दिने गर्दथ्यो । त्यसअघि पनि कान सम्बन्धी सेवा दिंदै आएका व्यक्तिहरू नै कार्यक्रम फेजआउटको अवस्थामा एउटा समूहले सञ्चालनका लागि कार्यसमिति बनाउने, आँखा अस्पतालको भवन भाडा दिएर प्रयोग गर्न दिने प्रस्ताव राखेपछि त्यहाँबाट सेवा सुरु भयो ।
२०५७ सालमा फत्तेवाल आँखा अस्पतालबाट समुदायमा आधारित कान स्वास्थ्य कार्यक्रम ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा बाँकेका तत्कालिन ५ गाविसका लागि सुरुवात भएको उक्त संस्थाको सुरुवातको समय देखिनैं पुरण स्वास्थ्य सहायकको रूपमा कार्यरत रहेका थिए ।
२०५८ साल देखि २०६४ साल सम्म नेपाल रेडक्रस सोसाइटीको अन्धोपन तथा स्वास्थ्य प्रबद्र्धन कार्यक्रम अन्र्तगत सञ्चालन भएको उक्त सेवालाई २०६५ सालमा पुरण लगायतकै पहलमा कान स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्य गर्ने, प्राथमिक श्रवण पुनस्र्थापना सेवा प्रदान गर्ने लगायतका उद्देश्य राखी स्थापना भएको ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा संस्था २०६५ चैत्र ७ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा दर्ता भएको थियो ।
नेपालगन्जका समाजसेवी अजित कुमार शर्मा भन्छन्, ‘केही बर्ष आँखा अस्पतालमा बसेपछि भाडाको घरमा सरेको ब्रिनोज कान अस्पताल, पछि विदेशी दाताको सहयोगमा सुविधासम्पन्न भवन बनाएर सरेको हो ।’ उनले ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्र स्थापनादेखि नै अगुवाई गरिरहेका पुरण बहादुर थारुको अथक प्रयासले अस्पताल आजको अवस्थामा आइपुगेको बताउँछन् ।
‘कान अस्पताल बनाउने क्रममा म पनि थिए, अस्पताल बनाउनुमा पूरणको भूमिका अग्रणी र महत्वपूर्ण रह्यो’, उनले भने, ‘निल वेयर भन्ने बेलायती नागरिकको सहयोगमा अस्पताल भवन बन्यो, अहिले विवादले चिन्ता बढाएको छ ।’ उनले सामुदायिक अस्पताल भएकाले आम नागरिकले अस्पतालप्रति चासो राख्नुपर्ने र अस्पताल पारदर्शी ढंगले सञ्चालन गर्नुपर्ने बताए ।
ब्रिटेन नेपाल अटोलोजि सर्भिसको सहयोगमा सन् २०१३ सालमा शिलान्यास भई सन् २०१५ सालमा संस्थाको भवन नेपालगन्जको फुल्टेक्रामा निर्माण भएको थियो । अस्पतालले सन् २०१६ साल देखि आफ्नै भवनबाट सेवा सुरु गरेको हो । सुरुवाती कालदेखि संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरण बहादुर थारुलाई गत माघमा निलम्बन गरेपछि विवाद सार्वजनिक भएको हो । ‘मिति २०७९ माघ १६ गते मलाई एकाएक निलम्वन गरिएको पत्र बुझाएर कार्यकक्षमा ताला लगाइयो, १७ गतेबाट कार्यालय जान रोकियो’, पुरणले भने ।
सहज, सुलभ र पश्चिममै कान उपचारमा ख्याती कमाइरहेको अस्पतालमा अहिले विवाद देखिएको छ । विवाद बढ्दै जाँदा आइतबार सचेत नागरिक समाजको ब्यानरमा अस्पताल विहान ७ बजे तालाबन्दी गरिएको थियो । यद्यपि, प्रहरीको पहल र अस्पताल पुगेका सेवाग्राहीको दबाबमा अस्पतालको ताला खोलिएको थियो । त्यसबारे जिल्ला प्रशासन कार्यालय बाँकेमा समेत उजुरी परेकाले थप छलफल हुने बताइएको छ ।
तालबन्दीका क्रममा तत्कालीन कार्यकारी प्रमुख थारुले अस्पतालको आन्तरिक अव्यवस्थालाई उजागर गर्न खोजेपछि आफुलाई स्पष्टिकरणका नाममा कारवाही गरिएको बताए । ‘संस्था, संस्थाको विधान अनुसार चलेन, संस्था कार्यसमितिको मनपरी चलेको छ’, उनले भने, ‘स्थापनादेखि न बार्षिक पारदर्शी रूपमा साधारणसभा भयो, न त संस्थामा सदस्यता थप्ने काम नै भयो, सुरु देखि जो थियो, उनीहरू नै कार्यसमितिमा रहेका छन् ।’ उनले कार्यसमितिलाई अस्पतालको सामाग्री हिनामिना समेत गरेको आरोप लगाएका छन् ।
थारुले अस्पतालको जेनेरेटर लगेर घरमा राखेको, अस्पतालमा पुरानो सिसिक्यामेरा जोडेर नयाँको बिल बनाई भुक्तानी लिएको, अस्पतालका पुराना सामाग्री गायब बनाइएको लगायतका आरोप लगाएका छन् । ‘म पुनर्बहाली हुनका लागि आन्दोलित भएको होइन, स्थापनादेखि जोडिएको संस्था पारदर्शी ढंगले चसोस्, यसमा आम नागरिकको पनि चासो बढोस् भन्ने मेरो उद्देश्य हो’, तालबन्दी गर्न पुगेका पुरणले भने ।
पुरणले संस्थाको बिषयमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गरेको बताएका छन् । उनले दर्ता भएको उजुरीमा संस्था बिद्यान बिपरित सञ्चालन भईरहेको, संस्थामा चरम अनियमितता, मनोमानी रहेको उल्लेख छन् ।
स्थानीयले राम्रो अस्पताललाई विवाद नगरी पारदर्शी ढंगले चलाउनु पर्ने धारणा राखेका छन् । पुरण माथि अस्पतालभित्र आफ्नो औषधी पसल सञ्चालन गरेको आरोप पनि छ । यद्यपि, उनले कर्मचारीलाई हप्कीदप्की गरेको, तलब वृद्धि नगरेको लगायतको आरोप व्यवस्थापनले आफुमाथि लगाएको बताए ।
‘विवाद दुई पक्ष बीच रहेपनि यसले अस्पतालको सेवा प्रभावित हुनुहुँदैन, अस्पताल पारदर्शी ढंगले चल्न आवश्यक छ, यसतर्फ स्थानीय र प्रशासन दुवैको सक्रियताको आवश्यकता अहिले छ’, स्थानीय भन्छन् ।
सिलाई कटाई व्यवसाय सञ्चालन गर्न युवा महिलालाई सामाग्री वितरण
बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा गुलरिया नगरपालिकाका उपमेयर सावित्रा गौतम, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य, गुलरिया नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मुम बहादुर मल्ल र प्लान नेपालका गोमा वलि चौधरीले ११ जनालाई सिलाई कटाई सामाग्री वितरण गर्नुभयो ।
सोही परियोजना अन्तर्गत ६५ दिन सिलाई कटाई तालिम प्राप्त गरेका गुलरियाका ११ जना युवा महिलालाई सिलाई कटाई व्यवसायका लागि मेसिनसहित २२ वटा सामाग्री वितरण गरिएको हो ।
सो अवसरमा बोल्दै गुलरियाकी उपमेयर सावित्रा गौतमले युवा महिलाको आर्थिक शसक्तिकरणका लागि यो परियोजना निकै उत्कृष्ट रहेको जनाउँदै तालिम र सामाग्री दुबै प्रदान गरिएकोले उनिहरुको व्यवसाय चल्ने र आर्थिक अवस्था बलियो हुने निश्चित रहेको बताउनुभयो ।
१८ देखि २४ वर्ष उमेर समुहका युवा महिला र किशोरीलाई ६५ दिनसम्म सिलाई कटाई तालिम दिएर व्यवसायका लागि वितरण गरिएका सामाग्रीहरुमा सिलाई मेसिन, कटिंग काउन्टर टेबल, सामान्य टेबल, आइरन, कैंची, ओभरलक मेसिन, कुर्सि, काठको स्केल, सुई, हेंगर लगायत विभिन्न प्रकारका कपडा र मेसिनको तेल लगायतका २२ प्रकारका सामाग्री रहेका छन् ।
सामाग्री वितरण गरिएका हरेक महिलालाई ६६ हजार ३३५ रुपियाँ बराबरको सामाग्री वितरण गरिएको क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकीले बताउनुभयो ।
६५ दिनको तालिम प्राप्त गरेपछि व्यवसाय सञ्चालनका लागि यति धेरै सामाग्री पाउँदा निकै खुशी लागेको र व्यवसायलाई अतिनै मन लगाएर सञ्चालन गर्ने प्रतिवद्धता सामाग्री पाउने महिलाहरुले व्यक्त गर्नुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, वडा नम्बर ५ का वडा सदस्य रतन बहादुर ठकुराठी, नेपाली उपभोक्ता संरक्षण महासंघका कृष्ण प्रसाद पाण्डे, बाँके युनेस्को क्लबका अनुगमन अधिकृत अनुप बर्मा, कार्यक्रम संयोजक गोविन्द लामिछाने र फिल्ड सुपरभाइजर कन्चन दहितको पनि उपस्थिति रहेको थियो ।
स्थानीय साहित्यका पाठकलाई भर्खरै जस्तो लाग्छ, दिला शाहले दशैं शिर्षकको पहिलो कविता दैनिक नेपालगन्जमा प्रकाशित गरेको । त्यसयता अहिलेसम्म उनले कविता संग्रह, संयुक्त गजल संग्रह शंखनाद, गीतिएल्वम स्पन्दन पाठकमाझ ल्याइसकेकी छन् ।
मानबहादुर शाह र स्व. देवा शाहको कोखबाट २०४० सालमा सल्यान शारदा नगरपालिका–१५ माल्नेटा चवरगाउँमा जन्मिएकी उनी नेपालगन्जकी स्थायी बासिन्दा हुन् ।
सानै देखि साहित्य सिर्जनामा रुचि राख्ने उनको पहिलो कथा परदेशी पनि धेरै पुरानो भएको छैन । यसबीच साहित्यिक छवि उज्यालो बनाउँदै आएकी दिलाले कथाकारको परिचय स्थापित गराउँदै ‘अँध्यारो बस्तीकी नायिका’ प्रकाशमा ल्याएकी छन् ।
‘नेपाली साहित्यमा नयाँ लेखकको आगमन, बगैंचामा नयाँ फूलको बोट टुसाएजस्तो, वसन्त ऋतुमा नयाँ पालुवा पलाएजस्तो, आकाशमा नयाँ तारा चम्केजस्तै हो,’ वरिष्ठ कथाकार महेशविक्रम शाहले ‘अँध्यारो बस्तीकी नायिका’लाई स्वागत गर्दै भनेका छन् ।
‘अँध्यारो बस्तीकी नायिका’ कृतिबाट कथाकारको प्रष्ट परिचय बनाउन सफल कृतिकारलाई नेपाली साहित्यको रंगीचंगी फूलबारीमा स्वागत गरेका मदन पुरस्कार विजेता कृतिका श्रष्टा महेशविक्रम शाहले शनिवार कृति विमोचन गर्दै भने, ‘कथासंग्रहले दिला शाहलाई कथाकारको रुपमा चिनाएको छ ।’
‘ज्याक्सन हाइट’,‘अफ्रिकन अमिगो’,‘सिपाहीकी स्वास्नी’, ‘काठमान्डुमा कामरेड’ ‘छापामारको छोरो’ लगायतका उम्दा कृतिका सर्जक महेशविक्रमले दिलाको पहिलो कृतिमा सम्पे्रषण गर्न खोजिएको भावका आधारमा मुलतः प्रतिकात्मकता, मनोविश्लेषण, नारी पात्र प्रधानता, पितृसत्ताप्रति विद्रोह, वैदेशिक श्रमबाट सिर्जित सामाजिक समस्या ज्येष्ठ नागरिकका मनोभाव आदि तत्वहरु भेट्न सकिने बताए । कृतिको खुलेर तारिफ गरेका उनले ‘अँध्यारो बस्तीकी नायिका’मा विषयवस्तु, संरचना, प्रस्तुति, शैली, पात्र छनोट, दृष्टिबिन्दु प्रति सन्तोष व्यक्त गरे ।
औसत साहित्यिक कार्यक्रम भन्दा पृथक र भव्य सहभागितामा वरिष्ठ कथाकार महेश बिक्रमसँगै, कृतिकारका श्रीमान दिनेश चन्द, बुबा मान बहादुर शाह, बास नेपाल अध्यक्ष लुना बुढाथोकी, निर्देशक नमस्कार शाह, कथाकार शाहका दुई छोरा दिपेश र दिवाले संयुक्तरुपमा कृतिको विमोचन गरेका हुन् ।
शिखा वुक्सले प्रकाशन गरेको ‘अँध्यारो बस्तीकी नायिका’ मा डेढ दर्जन कथा समेटिएको कृतिकार दिलाले बताइन् । विमोचन कार्यक्रम बास नेपालले आयोजना गरेको हो । उनी बासकी केन्द्रीय सचिव हुन् ।
क्षयरोग नियन्त्रण कार्यमा लामो समय देखि क्रियाशिल संस्था दामियन फाउन्डेशनलाई क्षयरोग नियन्त्रणका क्षेत्रमा उल्लेख्य योगदान गरेवापत दीर्घ रण समुन्द्र बम स्वर्ण पदक २०२३ बाट सम्मान गरिएको छ ।
फाउन्डेशनका कन्ट्री डाइरेक्टर डा. सुशील कोइरालाले शुक्रवार राजधानी काठमाडौंमा उक्त पुरस्कार ग्रहण गरेका हुन् । यो पुरस्कार पूर्व स्वास्थ्य सचिव डा दीर्घसिंह बमले सन् २०१० मा स्थापना गरेका हुन् ।
विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले शुक्रबार आयोजना गरेको विशेष समारोहमा फाउन्डेसनलाई पुरस्कृत गरिएको हो ।
केन्द्रका अनुसार, क्षयरोग नियन्त्रणका लागि उत्कृष्ठ कार्य गर्ने व्यक्ति र संस्थालाई गरी दुईवटा स्वर्ण पदक प्रदान गरिएको थियो ।
क्षयरोगमा देशभरि कार्यरत व्यक्तित्वबाट उत्कृष्ठ कार्य गर्ने अरु आठ जनालाई पनि पुरस्कृत गरिएको छ । टिवि फ्रि इनिसिएटिभ कार्यक्रम लागू भएका २५ पालिका मध्ये तीन पालिकालाई पनि पुरस्कृत गरिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाले पालिका स्तरीय कृषि राणनीति बनाउन लागेको छ । त्यसका लागि कारितास नेपालले अध्ययन सर्वेक्षण सुरु गरेको हो ।
कृषि योग्य भूमि रहेको राप्तीसोनारीमा आउने एक महिनाभित्र कृषि रणनीति निर्माणका लागि कारितासका प्राविधिक विज्ञ खटिइसकेका छन् ।
‘समग्र कृषिको विकासका लागि उपयुक्त हुने राणनीति तयार गरी पालिकालाई हस्तान्तरण गरिनेछ’, कारितास नेपाल पश्चिम कार्यालयका प्रमुख जनक शर्माले भने, ‘त्यसका लागि आवश्यक काम सुरु भैसकेको छ ।’
पालिकाले कृषि रणनीतिलाई लिएर शुक्रबार सरोकारवालाहरू बीच योजना तर्जुमा गोष्ठी पनि गरेको छ ।
‘रणनीतिमा टेकेर कृषि विकासका आगामी योजनाहरू बनाउँदा उत्पादन बढ्ने विश्वास गरिएको छ’, पालिका अध्यक्ष तप्त बहादुर विष्टले त्यसका आधारमा आगामी पाइला चालिने जानकारी दिंदै भने ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटाले रणनीतिका आधारमा पालिका अगाडि बढ्ने बताए । एक महिनादेखि विज्ञ टोलीले गरिरहेको अध्ययनको आधारमा तयार हुने रणनीति आगामी जेठसम्म पालिकालाई हस्तान्तरण गरिसकिने कारितासका प्रमुख शर्माले जानकारी दिए ।
त्यसका लागि अमेरिकी कारितासका विज्ञ डा. निलम, रवि भट्टराई लगायतको टोलीले पालिकामा अध्ययन अनुसन्धान गरिरहेको शर्माले बताए । ‘यसका आधारमा अरुपालिकाहरुमा पनि रणनीति बनाउन साझेदारी गरिनेछ’, शर्माले भने ।
कोहलपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि एफसी क्लब क्यामरुन (क्यामरुन) ले उचालेकोे छ ।
शनिबार भएको फाइनल प्रतियोगितामा ब्वाइज यूनियन क्लब काठमाडौं शुन्यमै सिमित राखेर अफ्रीकी क्लब क्यामरुनले सात लाख रुपिया नगद, प्रथम कोहलपुर गोल्डकपको उपाधि र शिल्ड उचालेकोे हो ।
काठमाडौंले ३ लाख ५० हजार रुपैयाँसहित उप विजेताको शिल्ड ग्रहण गरेको छ । प्रतियोगिताको निर्धारित समयमा क्यामरुनका ११ नम्बर जर्सीका खेलाडी रिचर्ड विल्सन र ७ नम्बर जर्सीका मोसेस टुमले १/१ गोल जोडेका थिए । टुम प्रतियोगिता अवधिभरको सर्वोत्कृष्ट खेलाडी, बेष्ट फरवार्ड घोषित हुँदै नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा उदाउँदो खेलाडीमा रेसिङ साहारा क्लबका मुकेश घर्ती गुरुङ, गोल्डकप कै उत्कृष्ट खेलाडी कप्तान हरि कठायतलाई प्रदान गरिएको छ । बेष्ट मिड फिल्डरमा क्यामरुनका जिओ एल्डो, बेष्ट डिफेन्डरमा ब्वाइज यूनियन क्लबका मनोज श्रेष्ठ, बेष्ट किप्परमा ब्वाइज यूनियन क्लबकै मनोज परियारले हात पारे । उनीहरू सबैलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजक रेसिङ साहारा क्लबका टिम प्रशिक्षक जनक केसीले जानकारी दिए ।
भव्य दर्शक सहभागिताबीच भएको प्रतियोगिताको समापनमा कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, रेसिङ साहारा क्लबका अध्यक्ष चक्र क्षेत्री र कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाललगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
पहिलो पटक कोहलपुरमा आयोजना गरिएको यति ठुलो फुटबल प्रतियोगितामा देश र विदेशका ८ टिमको सहभागिता थियो । ४ गतेदेखि सञ्चालन गरिएको प्रतियोगिता कोहलपुर नगरपालिका – २ स्थित १३ विगाहमा रेसिङ साहारा क्लब कोहलपुरको आयोजनामा भएको हो ।
उद्घाटन खेलदेखि फाइनलसम्म सहभागी हजारौं दर्शकको क्रेजले प्रतियोगिताको आकर्षण बढाएको आयोजक टिमका प्रशिक्षक केसीको भनाइ छ ।
बर्दिया, ठाकुरद्वारा। बर्दिया राष्ट्रिय निकुञ्जको आयोजनामा चैत्र ११ गते शनिबारदेखि तीनदिने बाघ सम्बन्धी राष्ट्रिय गोष्ठी देखि सुरु भएको छ ।
गोष्ठीमा देश भित्रका निकुञ्जका प्रतिनिधि साथ देशका बाघ सम्बन्धित कार्य गर्ने संघ संस्थाका प्रतिनिधि को प्रतिनिधित्व रहेको छ ।
कार्यक्रमा निकुञ्ज विभागका महानिर्देशक डा. महेश्वर ढकालले बाघको संरक्षण नै प्रमुख चुनौती रहेको र अबका दिनमा मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पीडित परिवारलाई आश्रित कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनु पर्ने उनले बताए।
स्थानीय समुदायको संरक्षण र जीवनस्तर कसरी माथि उठाउने भन्ने विषय पनि अबको मुख्य सवाल बन्नुपर्ने महानिर्देशक ढकालको भनाइ छ ।
कार्यक्रममा सम्बोधन गर्दै महानिर्देशक डा. ढकालले राहतसँगै बिमा योजना लागू गर्नुपर्नेमा जोड दिएका थिए ।
बाघको आक्रमण हुनसक्ने स्थानहरूमा क्यामेरा लगायतका उपकरण जडान गरी प्रभावकारी रूपमा बाघको ट्र्याकिङ गर्न जरुरी रहेको वन मन्त्रालयका सह-सचिव डा. रामचन्द कँडेलले बताए ।
लुम्बिनी प्रदेश वन मन्त्रालयका सचिव उद्धव घिमिरेले स्थानीय सरकारहरूले समेत मानव वन्यजन्तु व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
ठाकुरबाबा नपा का नगरप्रमुख तिलक लम्सालले बाघको उचित स्थान बर्दिया रहेको भए पनि अब बर्दियाको जङ्गलमा के कति बाघ को संख्या रहन सक्छ यसको अनिवार्य वैज्ञानिक अध्ययन गर्नु बताए। सन २०१८ पछि निरन्तर बाघबाट मानवीय क्षति बढ्नुको कारण को अध्ययन गर्नुपर्ने समेत लम्सालले भने । मध्यवर्ती क्षेत्रका स्थानीयलाई दिगो आयमुलक आय आर्जनका व्यवसाय गर्न तिर प्रोत्साहन गर्न समेत लम्सालले अनुरोध गरे ।
गोष्ठीमा डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले एकीकृत बस्ती व्यवस्थापन गर्न तिर पनि ध्यानाकर्षण गराए। उनले पथ्थरबोझी र डाँडागाउँ स्थानान्तर तिर समेत ध्यान दिनुपर्ने बताए।
कार्यशाला गोष्ठीमा विश्व वन्यजन्तु कोषका डा. शान्तराज ज्ञवाली, पर्सा चितवन बाँके र बर्दियाका प्रमुख संरक्षण अधिकृत, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।