कोहलपुरमा क्रिकेट स्टेडियम बनाउन बजेट माग

बाँकेको कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण कार्य सुरु गर्न बजेट माग गरिएको छ । खेलकुद विकास परिषद् प्रदेश ५ का अध्यक्ष भीम ओलीले बिहीबार खेलकुद मन्त्री जगत विश्वकर्मासँग भेट गरी डिपिआर अनुसार कोहलपुरमा क्रिकेट स्टेडियम निर्माण अगाडि बढाउन माग गरेका हुन् ।


अध्यक्ष ओलीले मन्त्री विश्वकर्मालाई बुझाएको ज्ञापनपत्रमा आगामी आर्थिक बर्ष २०७६÷०७७ को बजेटबाटै डिपिआर अनुसार कोहलपुर क्रिकेट स्टेडियम निर्माण कार्य अगाडि बढाउने कार्यको सुनिश्चितता खोजिएको छ । ‘मन्त्रालयले सचिवालयको दर्ता नं. १६५ मा अभिलेखिकरण गरी सुनुवाई गर्ने प्रतिबद्धता जनाएको छ’, मन्त्री विश्वकर्मासँगको भेटपछि अध्यक्ष ओलीले दैनिक नेपालगन्जसँग भने, ‘यसका लागि सरोकारवाला सबैसँग आवश्यक लबिङ्गका लागि अनुरोध गरिएको छ ।’


आठौं राष्ट्रिय खेलकुदका क्रममा निर्माण भएका भौतिक पूर्वाधारहरुलाई अन्तिम रुप दिने बजेट रकमान्तरका लागि राजधानी काठमाडौं पुगेका अध्यक्ष ओलीले मन्त्रालयले बजेट रकमान्तर तयारी गरेको जानकारी पनि गराए । कोहलपुर क्रिकेट स्टेडियमका लागि ६८ करोड लागतमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न पूर्वाधारको डिपिआर राष्ट्रिय खेलकुद परिषद्का प्राविधिकले तयार गरेका छन् । मन्त्री विश्वकर्मासँगको भेटअघि अध्यक्ष ओलीले राखेपका सदस्य सचिव केशव कुमार विष्ट, मन्त्रालयका सचिव कृष्ण देवकोटा, सहसचिव अण प्रसाद न्यौपाने लगायतका अधिकारीहरुसँग पनि प्रत्यक्ष भेटघाट गरी त्यसबारे अनुरोध गरेको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया