फेरान टोरेस र लामिन यामलले दोस्रो हाफमा गरेको गोलको मद्दतमा बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा स्थान बनाएको छ ।
गएराति सम्पन्न खेलमा बार्सिलोनाले रेसिङ सान्टानडारलाई उसकै घरेलु मैदानमा २–० ले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा खेलमा पकड जमाउँदै दुई गोल गर्न सफल भयो ।

६८औँ मिनेटमा फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा लामिन यामलले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
यसअघि नै रियल मड्रिड अल्बासेटेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको अवस्थामा बार्सिलोना अब उपाधिको प्रबल दाबेदारका रूपमा देखिएको छ ।
यस्तै, अर्को खेलमा भ्यालेन्सियाले बुर्गोसलाई २–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । हालसम्म बार्सिलोनासहित ला लिगाका सात क्लब र सेगुन्डा डिभिजनको अल्बासेटे गरी कुल आठ टोलीले क्वाटरफाइनल यात्रा तय गरिसकेका छन् ।
कोपा डेल रे क्वाटरफाइनलको ड्र जनवरी १९ मा हुने छ भने खेलहरू फेब्रुअरी ३ देखि ५ तारिखसम्म सञ्चालन हुनेछन् ।











