मकवानपुर प्रहरीले विभिन्न स्थानबाट खैरो हेरोइनसहित छ जनालाई पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० स्थित सडकखण्डबाट शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका दुई जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–३ घर भई हाल हेटौँडा–४ मा बस्दै आएका २३ वर्षीय रोहन कुशवार र इटहरी उपमहानगरपालिका–१० घर भई हाल हेटौँडा–४ मै डेरा गरी बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन्।
प्रहरीले खानतलासीका क्रममा कुशवारको साथबाट १४० मिलीग्राम खैरो हेरोइन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजुप्रसाद कुर्मिले जानकारी दिनुभयो। दुवै जनाविरुद्ध लागुऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, मकवानपुरको बकैया गाउँपालिका–७ बाट पनि तीन ग्राम २८० मिलीग्राम खैरो हेरोइनसहित चार जना पक्राउ परेका छन्। प्रहरीले शङ्कास्पद अवस्थामा बसेको सूचनाका आधारमा स्थानीय विजय भोलनको घरमा छापा मार्दा ३४ वर्षीय विजय भोलन, २३ वर्षीय विशाल लोप्चन, बकैया–३ का ३४ वर्षीय सञ्जीव लामा तथा जितपुर सिमरा उपमहानगरपालिका–१६ का १९ वर्षीय विजय मोक्तानलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका चारै जनाविरुद्ध पनि लागुऔषध कसुर मुद्दामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।











