आगामी बजेटका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता राष्ट्रियसभामा प्रस्तुत

राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्ले ले आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्ताव बाहेक) प्रस्तुत गर्नुभएको छ।

अर्थमन्त्री डा. वाग्लेले प्रस्तुत गर्नुभएको प्रस्तावमा पाँच सिद्धान्त र पाँच प्राथमिकता समावेश गरिएको छ। विनियोजन विधेयकका सिद्धान्तहरूमा सुशासनको लाभांश, अर्थतन्त्रको पुनःसंरचना, सन्निकटताका लागि एकीकृत पूर्वाधार, सर्वव्यापी सामाजिक उन्नयन र मध्यमवर्गको विस्तार तथा सौम्य शक्तिको सुदृढीकरण रहेका छन्।

त्यसैगरी, विधेयकका प्राथमिकतामा सेवा प्रवाहका लागि कानुनी तथा संस्थागत सुधारसँगै सूचना प्रविधिको समुचित उपयोग, आर्थिक वृद्धिका क्षेत्रगत स्रोतको पुनःप्राथमिकीकरण, भौतिक पूर्वाधार विकासका लागि बहुपक्षीय पुँजी परिचालन, अवसरको समानताका लागि सामाजिक लगानी तथा बहुआयामिक अन्तरराष्ट्रिय सम्बन्धको विविधीकरणलाई समेटिएको छ।

सरकारले प्रस्तुत सिद्धान्त र प्राथमिकताका आधारमा आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्नेछ।

प्रतिक्रिया

प्रतिक्रिया