नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन परिणामलाई लिएर असन्तुष्ट पक्षले गुहार लगाएको न्यायिक प्रक्रिया लम्बिएको
छ ।
गत भदौं २ गते भएको निर्वाचनको मतगणना आउँदै गर्दा महासचिवको मत विवादित भएपछि पुनःमतगणना माग गरेको एउटा पक्षले सुनुवाई नभएपछि अदालत अदालत गुहारेको प्रक्रिया लम्बिएको हो ।
न्यायिक प्रक्रिया लम्बिंदै गदार्द बढी मत पाएर निर्वाचित घोषित भएका पदाधिकारीको प्रमाणपत्र वितरण तथा सपथ ग्रहणसमेत अन्योलमा परेको छ ।
‘सम्भवतः आगामी असोज ४ गते अदालतको निर्णय आउँछ,’ बुधवार निर्णय आउने आशमा अदालत पुगेका संघका अध्यक्ष अब्दूल वाहिद मन्सुरीले दैनिक नेपालगन्जसँग भने, ‘हामी त्यही आशमा छौं ।’
१ हजार ९ सय २६ मत प्राप्त गरेका समावेशी प्यानलका उम्मेदवार भीमबहादुर रानाभाटलाई निर्वाचन आयुक्तले विजेता घोषणा गरेका थिए । उक्त घोषणा अनुसार साझा प्रजातान्त्रिकका टंक प्रसाद शर्माले १ हजार ९ सय २० मत पाएका थिए ।
‘अदालतले केही कागजपत्र मगाएको छ,’ बुधवारको बहसपछि यसअघिकै अन्तरिम आदेशलाई निरन्तरता दिएको जानकारी दिंदै विर्नाचन समितिका सदस्य, अधिवक्ता माधव शर्माले भने । उनका अनुसार, अदालतले मतगणना मुचुल्कालगायतका थप कागजपत्र मगाएको हो ।
रानाभाटलाई विजयी घोषणा गरेपछि मतगणना पूरा नहुँदै घोषणा गरिएको भन्दै शर्मा पक्षधर साझा प्रजातान्त्रिक समूहले आयुक्तसहित निर्वाचन समितिका ४ जनालाई बन्धक बनाउँदै तालाबन्दी गरेपछि पुनः मतगणना गर्ने सहमति गरेर ताला खोलिएको थियो । पुनःगणनाको निर्णयलाई समावेशी समूहले भने अस्वीकार गरेको थियो । तालाबन्दी खुलाउन गरिएको सहमति निर्वाचन समितिले पालना गरेन ।
छ मत अन्तरले रानाभाटलाई विजेता घोषणा गरिएको परिणाममा केही मत गन्नै बाँकी रहेको दावीसहित पुनःमतगणना माग अस्वीकार गरिएपछि शर्मा अदालत पुगेका हुन् ।
‘निर्णयकालागि आवश्यक अपुग कागजात अदालतले पुनः मगाएको हो,’ रिट निवेदकका तर्फबाट कानुनी बहस गरिरहेका अधिवक्ता इश्वरी ज्ञवालीले दैनिक नेपालगन्जसँग भने, ‘सपथ र प्रमाणपत्र वितरण गर्न निर्वाचन समितिबाट गरिएको मागमा दावी पुगेन, रोकियो ।’
बुधवारको इजलासमा पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, अधिवक्ता प्रहलाद कार्की, लोकबहादुर शाहलगायतले अधिवक्ता ज्ञवालीसँगै बहस गरेका थिए ।