बाँकेमा आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि चार दिनका लागि विद्यालय बन्द गरिएको छ । बाँकेका नेपालगन्ज, कोहलपुर, खजुरालगायतका स्थानमा आँखा पाक्ने रोगबाट बढी विद्यार्थी तथा बालबालिका प्रभावित भएका छन् ।
![](https://www.nepalgunjnews.com/wp-content/uploads/2023/08/school-scketh.jpg)
बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीमा आँखा पाक्ने समस्या देखिएको छ । विद्यार्थीमा आँखा पाक्ने रोगको प्रकोप बढेपछि निजी तथा संस्थागत विद्यालय बन्द गरिएको प्याब्सन नेपालगन्जका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर थापाले उपमहानगरका अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकाले विद्यालय चार दिन बन्द गर्ने निर्णय गरिएको बताउनुभयो । शुक्रबारसम्म यहाँका विद्यालय बन्द रहने छन् ।
आँखा पाक्ने रोगबाट बालबालिका बढी प्रभावित भएका छन् । उपमहानगरका वडास्तरका आधारभूत स्वास्थ्य सेवा केन्द्र र उपमहानगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आँखा पाक्ने समस्याका बिरामी बढी आउने गरेका पाइएको छ ।
बाँकेको खजुरा गाउँपालिकाले पनि बुधबारदेखि चार दिनसम्म विद्यालय बन्द गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनुभयो ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिकाले बुधवारदेखिनै बिद्यालय बन्द गरेका थिए भने जानकी गाउँपालिकाले समेत आज विहीवारबाट विद्यालय बन्द गरिएको जनाएको छ ।
जानकीका शिक्षा प्रमुख कृष्णा कुमारी भण्डारीले अधिकांश बालबालिकामा आँखा पाक्ने सङ्क्रमण देखिएकोले त्यसलाई थप फैलिनबाट रोक्न निजी र सामुदायिक सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरिएको बताउनु भयो ।
भण्डारीका अनुसार, आँखा पाक्ने सङ्क्रमण वृद्धि हुँदै गएकोले विद्यालयबाट नै अन्य बालबालिकामा पनि सर्ने सम्भावना रहेकोले साउन २५ देखि २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।